भर्खरै :

भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – ३

  • माघ ३०, २०८२
  • सुरेश ढकाल, सञ्जीव पोखरेल
  • विचार
भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – ३

भक्तपुर विकास परियोजना, सार्वजनिक शौचालय र स्थानीय धारणा
भक्तपुर विकास परियोजना
(बीडीपी) २०३१ सालमा सुरु भयो । स्थानीयहरूले यसलाई ‘जर्मन प्रोजेक्ट’ भने । ‘स्थानीय जनताको जीवनस्तर सुधार्ने’ र ‘ऐतिहासिक नगर एवम् यसको धार्मिक वास्तुकला संरक्षण तथा पुनर्निर्माण गर्ने’ फराकिलो उद्देश्य राखिएको थियो (ग्रीभ, २००२ः २८५) । यी उद्देश्य पूरा गर्न जर्मन प्रोजेक्टले भक्तपुरमा झन्डै २० वर्ष काम ग¥यो । यस अवधिमा त्यसले धेरै मन्दिरको पुनर्निर्माण ग¥यो । यसले नगरभित्र बाटोमा इँटा बिछ्यायो । यसबाहेक, ‘प्रोजेक्ट’ ले नगरवासीहरूको जीवनमा सुधार ल्याउन टेवा दियो । शारीरिक काम गर्ने धेरै श्रमिकलाई अस्थायी जागिर दिएर, निर्माणको तालिम दिएर र भविष्यमा आयस्रोतको रूपमा प्रयोग गर्न मिल्ने सीप सिकाएर यसले खासगरी किसानहरूको जीवनमा सुधार ल्यायो (हाछेथु, २००४) । कतिपय नगरवासी र भक्तपुरको बारेमा अध्ययन गरिरहेका विद्वानहरू नगरको भौतिक हुलिया फेर्न र भक्तपुरमा सामाजिक र आर्थिक परिवर्तन ल्याउनमा ‘प्रोजेक्ट’ ले उल्लेख्य योगदान रहेको दाबी गर्छन् (हाछेथु, २००४) । यसरी जर्मन प्रोजेक्टले व्यापक मान्यता र लोकप्रियता आर्जन ग¥यो, विशेषगरी भक्तपुरबाहिर ।
यी विकास र संरक्षणका कार्यक्रमसँगै जर्मन प्रोजेक्टले भक्तपुर नगरको सरसफाइमा पनि यथेष्ट ध्यान दियो । यसको ७० प्रतिशत विकास बजेट संरक्षण तथा सरसफाइमा विनियोजन गरिएको थियो । यो तथ्यबाट भक्तपुरको सफाइलाई ‘प्रोजेक्ट’ ले धेरै महत्व दिएको देखिन्छ । अझ भित्री नगरका प्रत्येक घरधुरीले निजी चर्पी बनाउनका लागि ‘प्रोजेक्ट’ बाट १५ सय नगद प्राप्त गरेका थिए । यसबाहेक ‘प्रोजेक्ट’ ले नगरभित्र ढलनिकास बनायो र २० भन्दा बढी सार्वजनिक शौचालय निर्माण ग¥यो (ग्रीभ, २००२) ।
आज भक्तपुरका धेरै मानिसको नजरमा जर्मन प्रोजेक्टको सफलता एक बनावटी यथार्थ थियो, एउटा मिथक थियो । ‘प्रोजेक्ट’ का धेरैजसो विकास कार्यमा स्थानीय जनताको अपत्यार र प्रतिकारको दाग लागेको थियो । त्यस्तै, सफाइका लागि यसले गरेका कार्य पनि खोटरहित छैनन् । ‘प्रोजेक्ट’ ले योजना बनाउँदा, विकास कार्य गर्दा र पुनर्निर्माण कार्यक्रम चलाउँदा स्थानीय ‘विज्ञ’ सँग सल्लाह नलिएको भन्ने भनाइ धेरै सुनिन्छ । यो टिप्पणीलाई जर्मन प्रोजेक्ट सहभागितामूलक, जनमैत्री र संस्कृतिमुखी थिएन, जसले गर्दा यो भक्तपुरको इतिहास र परम्पराको संरक्षणमा गम्भीर थिएन भनी देखाउन प्रमाणको रूपमा अघि सारिन्छ (सागर श्रेष्ठ, भनपा सम्पदा संरक्षण विभाग) । उदाहरणको लागि, बाटोमा ढुङ्गाको साटो इँटा बिछ्याउने ‘प्रोजेक्ट’ को निर्णयलाई लापरबाही र ‘मुख्र्याइँ’ को दसी मानिन्छ ।
जर्मन प्रोजेक्टले निर्माण गरेका चर्पीहरूबारे स्थानीय जनताको भनाइ अझ रोचक छ । केही स्थानीय जनताले हामीलाई सुनाएअनुसार ‘प्रोजेक्ट’ ले निर्माण गरेका सार्वजनिक चर्पी सुँगुरले प्रयोग गर्थे रे ¤ती नगरवासीको भनाइमा भक्तपुरका नगरवासीले खासगरी दुई कारणले ती चर्पीको प्रयोगमा रुचि देखाएनन् । पहिलो, भक्तपुरको कम्युनिस्ट पार्टी स्थानीय जनताले ‘प्रतिक्रियावादीहरू’ ले निर्माण गरेको भौतिक संरचना प्रयोग गरेको हेर्न चाहँदैनथ्यो । किनभने, जर्मन प्रोजेक्ट सोही प्रतिक्रियावादको हिस्सा थियो । दोस्रो, स्थानीय जनताले ‘अरूसँगै’ चर्पी जाने कामलाई सजिलो मानेनन् ।
नगरलाई सफा गर्ने जर्मन प्रोजेक्टका प्रयासहरूको यस्तो विश्लेषणले एउटा तथ्यतर्फ औँल्याउँछ – भक्तपुरको फोहर व्यवस्थापन एउटा विकास एजेन्डा मात्र होइन, बरु विमति जनाउने तरिका पनि हो । स्थलगत अध्ययनको क्रममा हामीलाई एउटा कुरा पहिल्यै बताइएको थियो – स्थानीय कम्युनिस्ट पार्टीलाई नरुचाउने नगरवासीहरूले भक्तपुर नगरपालिकालाई पनि रुचाउँदैनथे । त्यसैले तिनले घरका झ्यालबाट सडकमा फोहर फाल्थे । यसबाट स्थानीय जनताले किन जर्मन प्रोजेक्टले निर्माण गरेका सार्वजनिक चर्पी प्रयोग गर्न रुचाएनन् भनी बुझ्न सजिलो हुन्छ । ‘प्रोजेक्ट’ ले बनाएका सार्वजनिक चर्पी पछि भत्काइयो । स्थानीय जनतालाई घरभित्रै निजी शौचालय बनाउन प्रोत्साहन गरियो ।
भक्तपुरको तस्बिर बदल्ने ती बीस वर्ष
हामीले तर्क राख्यौँ, भक्तपुरको रूपान्तरित तस्बिर लामो ऐतिहासिक प्रक्रियाबाट गुज्रेको छ । यो नेमकिपाको नेतृत्वमा उदाएको र सुदृढ बनेको कम्युनिस्ट राजनीतिसँगै क्रमशः विकसित भएको छ । अब हामी भक्तपुरलाई एक रूपान्तरित छवि प्रदान गर्ने विगत २० वर्षमा आएका परिवर्तनहरूलाई प्रस्तुत गर्ने प्रयास गर्छौँ । हामीले भक्तपुरका धेरै स्थानीय जनतासँग विगत २५ वर्ष वा एक पुस्तामा उनीहरूले देखेका प्रमुख परिवर्तनहरूबारे प्रश्न ग¥यौँ । हाम्रो प्रश्नमा उनीहरूले प्रस्ट भाषामा राजनीतिक क्षेत्रमा परिवर्तन आएको र यसले गर्दा फोहर व्यवस्थापन, स्वास्थ्य र सरसफाइ, शिक्षा र चेतना, जीवनस्तर आदिमा परिवर्तन आएको बताए ।
एक रैथाने विद्वान र राजनीतिक विश्लेषक डा. हाछेथु तर्क गर्छन्, “भक्तपुरको सामाजिक र आर्थिक क्षेत्रमा भएको आधुनिकीकरणले नगरको राजनीतिमा परिवर्तन ल्याउन संयोजित भूमिका खेलेको छ । दलविहीन पञ्चायती शासनमा भएको २०३९ सालको स्थानीय निर्वाचनमा भनपाको नेतृत्व ज्यापू समुदायको हातमा गयो । त्यो निर्वाचन नेतृत्व परिवर्तनको लागि एउटा कोसेढुङ्गा हो (हाछेथु, २००२) ।”
नेतृत्व परिवर्तन : शक्ति सम्बन्धमा बदलाव
२० वर्षदेखि भक्तपुर नगरपालिकामा नेमकिपा हाबी हुँदै आउनु एउटा ‘विचित्र पक्ष’ हो (बराल, २००४) । तथापि, जनतामा अब नगरपालिका र अन्य स्थानीय निकायमा आफ्नै जनप्रतिनिधि छन् भन्ने साझा भावना पाइन्छ । दलविहीन पञ्चायत व्यवस्थाअन्तर्गत स्थानीय निकायको निर्वाचनमा नेमकिपा सहभागी हुनुभन्दा अगाडि यस्ता पदमा उच्च जातका नेवार र गैरनेवारहरू हुन्थे । झन्डै आधा शताब्दीअघि भक्तपुरमा कम्युनिस्ट राजनीति भित्र्याउने व्यक्तिहरू पनि उच्च जातका नेवार नै थिए । यसरी २०३९ सालको स्थानीय निर्वाचनसम्म उच्च जातका नेवारहरूकै दबदबा थियो । त्यो निर्वाचनमा एकाएक स्थानीय निकायको नेतृत्व उच्च जातबाट स्थानीय किसानहरूमा आएको देखियो । गैरराजनीतिक तप्का मानिने किसानहरू नेतृत्वमा आउनु भक्तपुरे राजनीतिमा एउटा कायापलट नै थियो ।
२०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनस्र्थापना भयो । यसपछि भक्तपुर नगरपालिकामा किसानहरूको सहभागिता र प्रतिनिधित्व ह्वात्तै बढ्यो । यसको कारण भक्तपुरको राजनीतिक प्रक्रियाभित्र फेला पार्न सकिन्छ । यो प्रक्रियामा होमिएको थियो – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) । विसं. २०२० र ३० को दशकमा नेमकिपा भूमिसुधार आन्दोलनमार्फत गरिब र भूमिहीन किसानहरूको हकहित रक्षामा निकै सक्रिय थियो । यसले गर्दा नेमकिपाका राजनीतिक गतिविधिहरूमा किसानहरूको सहभागिता एकाएक बढ्न पुग्यो । यसकारण, २०३९ सालपछि जब नेमकिपाले स्थानीय तहको निर्वाचनमा भाग लियो र सफलता हासिल गर्दै गयो, निर्वाचित अधिकांश जनप्रतिनिधि किसान समुदायका हुनु स्वाभाविक थियो ।
०३९ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका भनपाका ६८.४२ प्रतिशत जनप्रतिनिधि किसान समुदायका थिए । २०५६ सालको स्थानीय तहको निर्वाचनमा यो प्रतिशत बढेर ७८.९४ पुग्यो । त्यो निर्वाचनमा नगरका १७ वडामध्ये १५ मा नेमकिपाका उम्मेदवारले वडा अध्यक्ष पद जिते । साथै, नगरपालिकाको मेयर र उपमेयर पदमा पनि नेमकिपा नै विजयी भयो ।
नेतृत्व परिवर्तनले भक्तपुरका जनताको सामाजिक र आर्थिक जीवनका धेरै क्षेत्रमा प्रभाव पारेको छ । जसमध्ये धेरैलाई स्थानीय जनताले अत्यन्त सह्राएका छन् । २० वर्षदेखि भक्तपुरलाई मूलतः किसान समुदायले प्रतिनिधित्व गर्दै आएको छ । यसले सकारात्मक परिवर्तन ल्याउने दूतको रूपमा सफल भूमिका खेलेको देखिन्छ । यी परिवर्तनहरू किसानहरूको जीवन र भनपाको समग्र विकासमा गजबले प्रतिबिम्बित भएका छन् । अबका अनुच्छेदहरूमा हामी यी परिवर्तनमध्ये केहीलाई रेखाङ्कित गर्नेछौँ । यी परिवर्तनलाई नेतृत्वदायी राजनीतिक दलको राजनीतिक इच्छाशक्ति र भनपाको विकासको लागि उसले लिएको विशिष्ट नीतिको परिणाम मान्न सकिन्छ । भनपाले आफ्नो दैनिक काम कारबाहीमा प्रजातान्त्रिक अभ्यासहरू कायम गर्नमा निपुणता देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले दशकौँ लामो भ्रष्टाचारविरोधी अडान र पारदर्शिताका लागि भक्तपुर नगरपालिकालाई ‘स्वाभिमानको द्वीप’ (क्ष्कबिलम या क्ष्लतभनचष्तथ) नामक विभूषणले सम्मानित गरेको छ ।
सफा भक्तपुर
स्थानीय सरकारले व्यापक लोकप्रियता कमाएको एउटै क्षेत्र सफाइ हो । तर, ‘सफा भक्तपुर’ भनपाको एजेन्डा मात्र होइन उसका प्रयासहरूको परिणाम पनि रहिआएको छ । भक्तपुरमा सफाइ आन्दोलनको लामो इतिहास छ । तर, अहिले उद्देश्य बदलिएको छ । विगतमा सफाइ आन्दोलनलाई जनतालाई सङ्गठित गर्न र जनसमूहबिच ‘कम्युनिस्ट’ विचारधारा प्रचार गर्न प्रयोग गरिएको थियो । आज जनस्वास्थ्य प्रवद्र्धन गर्न र धेरै पर्यटकलाई आकर्षित गर्न सफाइमा जोड दिइँदै छ । यद्यपि, यी दुवै अर्थमा जनताको सहभागिता निर्णायक मुद्दा रहेको छ । आज सफाइ नगरपालिकाको कार्यसम्पादन नाप्ने नापो बनेको छ ।
नगरपालिकामा फोहर व्यवस्थापन गर्नका लागि भनपाले परम्परागत १९६ जना सफाइ कर्मचारी खटाएको छ । यी सफाइकर्मीलाई ‘पोडे’ भनिन्थ्यो । यी सफाइकर्मीमध्ये ६४ जना परम्परागत पोडे जातिका छन्, जो तथाकथित अछुत हुन् । बाँकी १३२ जना किसान र गैरकिसान नेवार हुन् ।
काठमाडौँबाहिर बसोबास गर्ने नेवारहरूका लागि यो अभ्यास अनौठो लाग्ला । पोडेबाहेक अरूलाई फोहर सङ्कलनको काममा लगाउनुलाई नेवारहरू वर्जना ठान्छन् । तर, भक्तपुरमा फोहर उठाउने काममा पोडेइतरका जातिको संलग्नता विगतमा चलेको राजनीतिक घटनाक्रमको परिणाम हो । २०३९ सालको स्थानीय तहको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरू झन्डै सबैजसो पदमा निर्वाचित भएपछि भनपाका परम्परागत पोडे कुचीकारहरू हडतालमा उत्रेका थिए । यी पोडेहरू नेमकिपाबाहेकका दलका समर्थक थिए । हडतालमा उनीहरूले पूरा गर्नै नसकिने माग अघि सारेका थिए । समस्याको गाँठो फुकाउन भनपाले परम्परागत पोडे कुचीकारलाई स्थानीय गैरपोडे नेवारहरूले विस्थापित गर्ने निधो ग¥यो ।
गैरपोडेहरूले फोहर सङ्कलनको नयाँ पेसा गर्नु एउटा सशक्त पाइला थियो  । यसलाई नेवारहरूको परम्परागत मूल्यमान्यताविरुद्ध विद्रोह मानिन सक्थ्यो । यसकारण, भनपाका गैरपोडे कर्मचारीहरूले चर्को आलोचना खेप्नुप¥यो । फोहर सङ्कलनमा संलग्न कर्मचारीहरूलाई यदाकदा सामाजिक बहिष्कार समेत गरियो । यस्तो सङ्गीन घडीमा भनपाले फोहर सङ्कलनलाई ‘शुद्ध’ कार्यका रूपमा चित्रण गर्ने प्रयास ग¥यो । उसले फोहर सङ्कलनको कामलाई अछुत पोडेहरूको परम्परागत जातीय स्तरबाट अलग गर्ने भरपुर प्रयास ग¥यो । यो लक्ष्य पूरा गर्नका लागि भनपाले माओ र गान्धीका जीवनबाट उदाहरण दिएर फोहर सङ्कलनको कामलाई एउटा महत्वपूर्ण समाजसेवाको रूपमा प्रोत्साहन र महिमामण्डनसमेत ग¥यो । भनपाले आफ्नो मासिक पत्रिकामा महान् राजनीतिक नेता, लेखक तथा अन्य महत्वपूर्ण व्यक्तित्वसँगै सरसफाइ मजदुरहरूका तस्बिर पनि प्रकाशित ग¥यो । यसैगरी भनपाले सबै वडा अध्यक्षहरू, ब्राह्मणलगायत उच्च जातिका मानिस र डाक्टर, इन्जिनियरजस्ता प्रतिष्ठित नागरिकहरूलाई कुचोले सडक बढार्न उत्साहित ग¥यो । वडा अध्यक्षहरूको हकमा यो काम अनिवार्य थियो । भनपाको तथ्याङ्कअनुसार हाल नगरका ७२ प्रतिशत घरमा व्यवस्थित शौचालय छन् ।
फोहर सहरबाट सफा सहरमा भक्तपुरको रूपान्तरण बाहिरियाहरूले देख्ने तथ्य मात्र होइन । भक्तपुरे जनताकै लागि पनि यो सबैभन्दा प्रशंसनीय तथ्य हो । दरबार स्क्वायरनजिकै खौमामा पुस्तक पसल राखेका पुराना राजनीतिक कार्यकर्ता जनता प्रसाद मित्राले पुराना घटनाहरू सम्झिए – उहिले भक्तपुर नगरमा प्रत्येक वर्ष बर्खा याममा हैजा फैलिन्थ्यो र त्यसले धेरै भक्तपुरेहरूको ज्यान लिन्थ्यो । अहिले नगरवासीहरू यो समस्याबाट मुक्त भएका छन् । किनभने, अहिले नगर सफा भइसकेको छ ।
शिक्षा र सफाइ
सफाइका साथै भनपाले नगरवासीहरूबिच शिक्षालाई प्रवद्र्धन गर्न उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ । सम्भवतः नगरवासीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्न विभिन्न सफल आयोजनाहरू चलाउने दायित्व बोकेको देशको एकमात्र नगरपालिका हो – भक्तपुर नगरपालिका । कामरेड बिजुक्छेँ आफ्नो पार्टी र भनपाले किन शिक्षामा जोड दियो भनी कारण खुलाउनुहुन्छ । उहाँ अक्षर नचिन्ने जनतालाई सङ्गठित गर्नुपर्दा आफूले भोगेका समस्याहरू सम्झिनुहुन्छ । निरक्षर जनताले पार्टीका दस्ताबेज र पर्चा पढ्न नसक्दा संगठन गर्न सजिलो थिएन । यही तीतो अनुभवले गर्दा कम्युनिस्ट कार्यकर्ताहरूले ‘अनौपचारिक शिक्षा’ को अभियान सुरु गरे । यसकै बलमा कामरेड बिजुक्छेँको शब्दमा अहिले भक्तपुरका जनता देशभित्र र विश्वका विभिन्न भागमा के भइरहेको छ भन्ने विषयमा जानकार छन् ।
शैक्षिक क्षेत्रमा भनपाले हासिल गरेको सफलता भक्तपुर नगरको बढ्दो साक्षरता दरबाट थाहा पाउन सकिन्छ । प्रत्येक २० वर्षमा भनपाको साक्षरता दर दोब्बरभन्दा बढी पुगेको देखिन्छ । भनपाको साक्षरता दर विसं. २०२८ मा २७ प्रतिशत थियो, २०३८ सालमा ३३ प्रतिशत, २०४८ सालमा ६२ प्रतिशत र २०५८ सालमा ७४ प्रतिशत थियो (सीबीएस, २००१) । आजका मितिमा यो दर अझ बढेको हुनुपर्छ । यो उपलब्धि ‘शैक्षिक जनजागरण’ को नतिजा हो (हाछेथु, २००४) । कामरेड बिजुक्छेँको विचारमा पार्टी कार्यकर्ताहरूले यस दिशामा प्रयास केन्द्रित नगरेको भए यो सम्भव हुने थिएन । पञ्चायतकालमा राजनीतिक दल र राजनीतिक क्रियाकलाप नै प्रतिबन्धित अवस्थामा छँदा (नेमिकपाका) कार्यकर्ताहरूले अनौपचारिक शिक्षा (एनएफइ) अभियान सुरु गरेका थिए । २०३९ सालपछि नगरपालिकाजस्तो वैधानिक निकायमार्फत उनीहरूले शिक्षामा जोड दिए । २०४६ सालपछि यो अभियान झन् जोडतोडका साथ चल्यो ।
भक्तपुरमा शिक्षा प्रवद्र्धन गर्ने दिशामा स्थानीय कम्युनिस्ट पार्टी र भनपालाई धेरै कुराले उत्प्रेरित गरेको हुनसक्छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण उत्प्रेरणा सफाइ आन्दोलनबाट प्राप्त भएको देखिन्छ । जस्तो, नेमकिपाका अध्यक्ष कामरेड बिजुक्छेँले हामीसँग भन्नुभयो, “कार्यकर्ताहरूले भक्तपुरका जनता साक्षर र शिक्षित हुनुपर्छ भन्ने आवश्यकता महसुस गरे किनभने शिक्षाबिना जनताले नगरपालिका र नेमकिपाका पर्चाहरू पढ्न र बुझ्न सक्ने थिएनन् ।” कामरेड बिजुक्छेँको भनाइअनुसार भक्तपुरलाई उहाँको चर्चित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ मा कल्पना गरिए जस्तो ‘आदर्श नगर’ मा बदल्नका लागि शिक्षामा लगानी गरिँदै छ ।
(लेखक सुरेश ढकाल र सञ्जीव पोखरेल त्रिभुवन विश्वविद्यालय र नर्वेको बर्गेन विश्वविद्यालयबाट दीक्षित मानवशास्त्री हुन् ।)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *