भर्खरै :

“नेमकिपा समाजवादी दर्शन र कामदारवर्ग आधारित पार्टी हो”

“नेमकिपा समाजवादी दर्शन र कामदारवर्ग आधारित पार्टी हो”

भक्तपुर, १ फागुन । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को आयोजनामा शुक्रबार शिक्षक भेलाभयो ।
कार्यक्रममा नेपाल मजदुर किसाट पार्टीका सचिव प्रेम सुवालले नेमकिपाको स्थापनाका आधार किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा र साम्राज्यवादविरोधी सङ्घर्षको नेतृत्व हो भन्नुभयो ।
“कुनै पनि उपलब्धि छिटो प्राप्त हुँदैन । एक विद्यार्थीलाई एसईईसम्म उत्तीर्ण गराउन १२–१३ वर्ष निरन्तर पढाउनुपर्दछ । कुनै राजनीतिक दल थोरै समयमा धेरै चुनाव जित्ने र सरकारमा पुग्ने पनि रहस्यको विषय हुनेछ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपा समाजवादी दर्शन र कामदारवर्ग आधारित पार्टी हो । योसँग देश र जनतालाई माथि उठाउने स्पष्ट खाका छ । नेमकिपा कार्यकर्ता र जनतालाई देश र बाँकी संसारको तस्बिरबारे शिक्षित गर्ने एउटा विश्वविद्यालयजस्तै हो । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्दछ । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीहरूलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था जरूरी छ ।”
पैतीस वर्षयता सरकारमा गएका दलहरूले विदेशबाट सवारी साधन आयातमा भन्सार कर लगाउने, मदिरा र सुर्तीजन्य पदार्थमा अन्त शुल्क कर लगाउने र विदेशी ऋण लिनेलाई मुख्य आर्थिक स्रोत बनाएको देशको हितविपरीत हो । अहिलेसम्मका सरकारहरूले तलब खुवाउन र ऋणको सावाँ ब्याज तिर्न पनि ऋण ल्याएको देशघाती काम हो, उहाँले भन्नुभयो ।
सचिव सुवालले थप्नुभयो, “नेमकिपाका जनप्रतिनिधिहरूले निर्वाचित भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरेर देशभरका ४४ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरे । शिक्षकहरूले नयाँ पुस्तालाई कृत्रिम बौद्धिकता (एआई) सिर्जनात्मक ढङ्गले प्रयोग गर्न उत्साहित गर्नु आवश्यक छ ।”
राष्ट्रिय मानव अधिकार आयोगको वक्तव्यमा सरकारले देश र जनताको समस्या समयमा समाधान नभएको र सम्भावित विध्वंसको पूर्वानुमान गर्न नसकेको हुँदा गत भदौ २३ र २४ गतेका घटना घटेको उल्लेख भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशभरि नै नेमकिपाका उम्मेदवारहरू निर्वाचित भए जनताको सुन्दर भविष्य, नयाँ युगको सुरूआत, सुशासन, प्रजातन्त्रको जित हुने ढोका खुल्नेछ ।”
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले शिक्षक समाजको चिरफार गर्नसक्ने सक्षम व्यक्ति भएको र भविष्य निर्माण गर्ने विद्यार्थी तयार पार्ने जिम्मेवारी शिक्षककै काँधमा रहेको बताउनुभयो ।
गलत पाठ्यपुस्तक पढाएर सही विद्यार्थी निर्माण गर्न नसकिने उल्लेख गर्दै उहाँले उपयुक्त शिक्षा र सही प्रतिनिधि चयनको आवश्यकता औँल्याउनुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले देश जेन–जी आन्दोलनपछि झन् जटिल परिस्थितिमा पुगेको र भ्रष्टाचारको विरोध गरिए पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकिएको तथा अपराधीहरू जेलबाट मुक्त भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रम इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा इसानका केन्द्रीय महासचिव पुरूषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *