्जखाङकी नाची
- फाल्गुन १४, २०८२
Andrea: Unhappy is the land that breeds no hero.
Galileo: No, Andrea, pity the land that needs a hero.
भावार्थ :
एन्ड्रेया : दुःखी हो त्यो देश, जसले नायक जन्माउँदैन ।
ग्यालिलियो : हैन, ‘कठैबरा’ भन त्यो देशलाई, जसले नायक खोज्छ ।
बर्तोल्ट ब्रेख्तको विश्वविख्यात नाटक ‘ग्यालिलियो’ को संवाद हो यो । नाटकमा विज्ञानका प्रथम सहिद मानिने वैज्ञानिक ग्यालिलियोको जीवनका अन्तिम दिनको चित्रण छ । यो संसारका सबै विद्यालयमा मञ्चन गर्नुपर्ने, फिल्मको रूपमा देखाउनुपर्ने नाटक हो । (सन् १९७५ मा यसबारे फिल्म पनि बनिसकेको छ ।)
नेपालजस्ता तेस्रो विश्वका विपन्न मुलुकहरूमा विज्ञानको पढाइ हुन्छ । तर, कर्मकाण्डी मात्र । विज्ञानका प्राज्ञ÷शिक्षक÷विद्यार्थीले समेत टुप्पी पाल्ने, जनै लगाउने, अबीर÷चन्दन घस्ने देश हो हाम्रो । किन ? किनभने यहाँ विज्ञानको सुगा–रटान चल्छ । तर, विज्ञानसम्मत जीवनशैली अपनाउने, वैज्ञानिक मिजासलाई मलजल गर्ने काम हुँदैन । (कतै भएको छ भने त्यसको असर कमै देखिएको छ !) ‘ग्यालिलियो’ वैज्ञानिक मिजासको बिरुवामा मलजल हाल्ने नाटक हो ।
विज्ञान र विज्ञानको उपयोग
विज्ञान रामभरोसे हुँदैन । यसले हरेक कुराको प्रमाण खोज्छ । प्रमाणमा भावुकता घोल्दैन । त्यसैले कतिपय मानिसहरू विज्ञानलाई अन्धो पनि भन्छन् । तर, अन्धो त विज्ञानलाई प्रयोग गर्ने÷नगर्ने व्यक्ति, संस्था वा व्यवस्था हुन्छ । जापानमा अणुबम विज्ञानले खसालेको होइन एसियामा आफ्नो तुजुक देखाउन लालायित अमेरिकी साम्राज्यवादले खसालेको हो । संसारलाई जलवायु सङ्कटमा विज्ञानले धकेलेको होइन, विज्ञानलाई अस्त्र बनाएर जीवाश्म इन्धन/हानिकारक रसायनबाट नाफा खान पल्केका बहुराष्ट्रिय कम्पनीहरूले धकेलेका हुन् ।
यी यावत समस्याबाट पार पाउन पनि विज्ञानकै उपयोग गर्नुपर्छ । तर, फरक कत्ति हो भने यसको नियन्त्रण बहुमत कामदार जनताको हातमा हुनुपर्छ । पसिना बगाई खाने स्वाभिमानीहरूको हातमा विज्ञान एक परिवर्तनकारी र क्रान्तिकारी औजार बन्न सक्छ । जस्तो, सोभियत सङ्घको देशव्यापी विद्युतीकरणले दश वर्षमै त्यो देशलाई ३–४ सय वर्षसम्म अनवरत विकासपथमा दौडिरहेका बेलायत, अमेरिकाको हाराहारीमा पु¥यायो । सोभियत छापा उद्योगले सारा संसारलाई ज्ञानको ज्योति दियो । सोभियत अन्तरिक्ष अभियानले ज्ञानको नयाँ क्षितिज उघारिदियो । अहिले चीनले विज्ञान प्रविधिमा फड्को मार्दै सारा संसारलाई प्रविधिको उज्यालो बाँडिरहेको छ । निर्माण क्षेत्र, कृषि, उद्योग, ऊर्जा, विद्युतीय गाडी, इन्टरनेटमा कायापलट आएको छ । यसलाई हामी विज्ञानको रचनात्मक प्रयोग भनौँ । अणु बम त प्रजग कोरियासँग पनि छ । तर, उसले कसैलाई (हतियार बेचेर धनकुवेर बन्न पल्केका उद्योगपतिहरूले जस्तो) भियतनाम र इराक बनाएन । क्युवाले मेडिकल विज्ञानमा मारेको फड्कोले ल्याटिन अमेरिका, अफ्रिका र एसियाका दीनदुःखीहरूको सेवा ग¥यो । क्युवाले औषधिको क्षेत्रमा गरेको चमत्कारको फल संरा अमेरिकाका जनताले पनि चाख्दै छन् ।
वैज्ञानिक मिजास
विज्ञानको फल खानु र वैज्ञानिक मिजास राख्नु एकदम भिन्न कुरा हुन् । छाउगोठ बस्ने कर्णालीकी चेलीले मोबाइल चलाइरहेको दृश्य नेपालमा नौलो होइन । काठमाडौँमै पनि ल्यापटपमा ‘ग्रह–दशा’ हेर्ने बाहुनहरूलाई दिनकै टिभी च्यानलमा देख्न पाइन्छ । मोबाइल, ल्यापटप विज्ञानका फल हुन् । तर, तिनको प्रयोग गर्दैमा ती चेली र चन्दनधारी बाहुन आधुनिक, वैज्ञानिक वा वैज्ञानिक मिजासका बन्दैनन् । छाउगोठमा बस्ने ती चेली र चन्दनधारी बाहुनमा केही भिन्नता छैन । विज्ञानका आँखाबाट उनीहरू दुवै अन्धविश्वासी हुन् । जसरी छाउपडी प्रथा पछौटे समाजको चिन्ह हो, मान्छेका ‘ग्रह–नक्षत्र’ हेर्ने बाहुन पनि उत्तिकै पछौटे हुन् ।
वैज्ञानिक मिजास के हो त ? कुनै चीज कसरी बन्छ, कुनै घटना कसरी हुन्छ भनी जिज्ञासा राख्नु, त्यसको जवाफ खोज्न लगनसाथ वैज्ञानिक विधि अपनाउनु र जवाफ भेटाएपछि त्यसको पक्षमा स्वाभिमानीपूर्वक उभिनु र त्यो सत्यसँग बाझिने जोसुकै विरुद्ध सङ्घर्ष गर्नु नै वैज्ञानिक मिजास हो । वाक्य लामो हुनाले अप्ठ्यारो मान्नुपर्दैन । सामान्य मानिसहरूले समेत आआफ्नो पेशामा वैज्ञानिक मिजास नै राख्नुपर्ने हुन्छ । नेपालको तराईमा असार साउनमा नै धान लगाउनुपर्ने हुन्छ । धानमा सिँचाइ गर्ने, गोडमेल गर्ने, बाली स्याहार्ने काममा कुनै तलमाथि गर्न मिल्दैन । सबै नियमसम्मत गर्नुपर्ने हुन्छ । आइटी इन्जिनियरले जति वैज्ञानिक ढङ्गले सफ्टवेयर डिजाइन गर्छ, एक सिकर्मीले पनि फर्निचर बनाउन उत्तिकै वैज्ञानिक विधि वा गणितको प्रयोग गर्छ ।
विश्वविद्यालयमा थेसिस लेख्ने विद्यार्थीले वैज्ञानिक विधि अपनाउनुपर्ने हुन्छ । त्यसकारण, स्नातक तहमा अध्ययनरत जुनसुकै विद्यार्थीले ‘अनुसन्धान विधि’ को अध्ययन गर्नुपर्ने हुन्छ । घोक्न सजिलो हुनाले नेपालमा धेरै विद्यार्थीले ‘अनुसन्धान विधि’ मा धेरै अङ्क ल्याउँछन् । तर, अङ्क ल्याउनु र वैज्ञानिक मिजासको बन्नु फरक कुरा हुन् । ‘अनुसन्धान विधि’ लाई दैनिक प्रयोगमा ल्याएपछि मात्र विद्यार्थीको मिजास वैज्ञानिक बन्न सक्छ । विज्ञानको अध्ययनमा मात्र होइन, समाज विज्ञानका प्रत्येक विषयको विद्यार्थी ‘वैज्ञानिक मिजास’ को भएपछि मात्र उसको थेसिस तथ्यपरक बन्न पुग्छ । यसकारण, अध्ययनका सबै क्षेत्रमा खरो उत्रिने हो भने वैज्ञानिक मिजास चाहिन्छ ।
आफ्नो पेशामा मात्र होइन समाज, संस्कृति र राजनीतिलाई समेत गहिराइमा गएर बुझ्न वैज्ञानिक ‘अनुसन्धान विधि’ को खाँचो पर्छ । अझ वैज्ञानिक मिजासको नागरिकलाई मात्र राजनीतिमा सारचो अर्थमा ‘सचेत मतदाता’ भन्न मिल्छ ।
विकास–अविकासको वैज्ञानिक नियम
प्रकृति विज्ञानभन्दा अलि पर गएर नेपालको वर्तमान समाज र राजनीतिबाट केही उदाहरण हेरौँ ।
संसारमा सबैखाले युद्ध प्राकृतिक, मानवीय स्रोतसाधनका लागि हुँदै आएका छन् । हिटलरले रुसविरुद्ध गरेको युद्ध होस् वा अमेरिकाले इराक, लिबिया, अफ्रिकाका गरेका युद्ध हुन्, भित्री कारण तेल, वनपैदावार र खनिजमाथि तिनको गिद्धे दृष्टि नै थियो । कतिपय युद्ध जनशक्तिका लागि पनि हुन्छन् । जस्तो, कुनै बेला युरोपेली गोराहरूले अफ्रिकाबाट सस्ता ज्यामीका रूपमा काला अफ्रिकीहरूको किनबेच गर्थे । सारमा भन्ने हो भने प्राकृतिक सम्पदामा धनी मुलुकहरूमध्ये अधिकांश देश आर्थिक रूपमा विपन्न छन् र त्यहाँ राजनीतिक भाँडभैलो देखिन्छ । र, यी भाँडभैलोको पछाडि धनी वा विकसित भनिने मुलुकका उद्योगपति र राजनीतिक नेताहरू नै हुन्छन् । जस्तो, अफ्रिका प्राकृतिक सम्पदामा सबै महादेशभन्दा धनी मानिन्छ । तर, संसारकै सबैभन्दा अभावग्रस्त देश त्यही छन् । अर्को शब्दमा भन्दा युरोप र अमेरिकालाई झिलिमिली विकसित पार्न सयौँ वर्षदेखि अफ्रिकालाई अँध्यारो अविकासमा राखिएको छ । यसमा युरोप र अमेरिकाका ठुल्ठुला बहुराष्ट्रिय कम्पनीका मालिकको हात छ । जस्तो, सुडानको सुनखानी हत्याउन अरबी र पश्चिमा व्यापारीहरूले त्यहाँ जनतामारा शासकहरूलाई हतियार र पैसा पठाइरहेका छन् । यस्तै उद्योगपतिहरूले कुनै बेला आफूले भने जस्तो नगर्ने पेट्रिस लुमुम्बा, मुअमर गद्दाफीजस्ता अफ्रिकाका देशभक्त नेताको हत्या गरेका थिए । यसको अर्थ, पश्चिमा ‘विकसितहरू’ ले संसारभरि नै अविकासका विभीषणहरू पालिरहेका छन् ।
नेपालको अ/विकास
विकास र अविकासको यही नियमलाई नेपालमा लगाएर हेरौँ ।
कुनै देशको विकास कसरी हुन्छ ? संसारको जुनसुकै देशले विकासपथमा अघि बढ्न आफूसँग भएको प्राकृतिक वा मानवीय संसाधनको प्रयोग गर्नुपर्छ । नत्र उसले अरूको स्रोतसाधन लुट्नुपर्ने हुन्छ । साम्राज्यवादी मुलुकहरू संसारको लुटपाटबाट मोटाउँछन् । यसबाहेक आफ्नै देशको प्रकृति र जनशक्तिको उचित प्रयोग गरेर फस्टाउने देश पनि छन् । जस्तो, चीन, रुस, प्रजग कोरिया, आदि यसका उदाहरण हुन् । यसरी, विकासका लागि नेपालसँग पनि दुइटा मात्र विकल्प छन् । एक, अरू देशको लुटपाट । दोस्रो, आफ्ना संसाधनको उचित प्रयोग । अरूलाई लुटेर मोटाउनाले कुनै स्वाभिमान कमाइन्न । यसकारण, हामीसँग दोस्रो बाटो मात्र खुला छ । देशमा प्रचुर मात्रामा पाइने पानी, त्यसबाट निकाल्न सकिने बिजुली, जमिनको उपयोग, खनिज (तेल, चुनढुङ्गा, युरानियम आदि) आदिको उचित प्रयोगबाट मात्र नेपाल विकसित हुन सक्छ । तर, हामी किन अविकसित छौँ त ?
अब हामी माथिको नियम लगाऔँ । हाम्रो अविकासले अरू कसैको विकासमा टेवा दिँदै छ कि ? जाँचौँ ।
नेपालबाट दिनकै हजारौँ ट्रक चुन ढुङ्गा, रोडा, बालुवा भारत जान्छ । नेपालमा सिँचाइ नपाएर जमिन पटपटी फुटिरहेको बेला हाम्रा नदीनालाबाट भारतका ठुल्ठुला खेत र फाँटमा सिँचाइ हुन्छ । अविकासले छटपटिरहेको कर्णालीबाट कौडीको भाउमा जडिबुटी भारत जान्छ । त्यति मात्र होइन, कर्णालीवासीहरू भारतमा सस्तो ज्यामी बन्न बाध्य छन् । (यहाँ तिनलाई अफ्रिका र अफ्रिकी दाससँग तुलना गरौँ ।) यही हविगत तराईका गरिब किसानको छ । (ठुलाठुला बाँध बाँधेर नदीको पानी भारत लगेपछि तराईका किसानले सिँचाइ गर्न पाउँदैनन् । अर्को, देशका ठुल्ठुला जमिनदारले जमिनजति आफ्नो कब्जामा राखेका छन् । यसले गर्दा पनि खास जोताहा किसानसँग जमिन छैन । जोताहा किसानको ‘अविकास’ ले नेपाल र भारतका जमिनदार ‘विकसित’ भइरहेका छन् । यत्तिकै बसेर मुखमा माड नलाग्ने भएपछि तराईका गरिब किसानका छोराछोरी कोही भारतमा त कोही खाडीमा सस्तो ज्यामी बन्न बाध्य छन् । (यिनलाई पनि अफ्रिका र अफ्रिकी दाससँग तुलना गरौँ ।)
अविकासका राम र विभीषणहरू
“नेपालका किसान मोटाए भारतका जोताहा किसानले पनि हकअधिकार खोज्नेछन् ।” भारतका जमिनदार शासकहरूलाई एक अमेरिकी राजदूतले दिएको मन्त्र हो यो । यसका लागि भारतका शासकहरूले भारत ‘स्वतन्त्र’ भएदेखि नै नेपालविरुद्ध साम, दाम, दण्ड, भेद प्रयोग गर्दै आएका छन् । नेपालमा विभीषण पालेर नै विदेशी ‘रामहरू’ ले ‘रावण’ (नेपाली बहुजन) र ‘स्वर्ण लङ्का’ (नेपालका प्राकृतिक स्रोतसाधन) मा रजाइँ जमाउन पाइरहेका हुन् । (नेपालका विभीषणलाई सुडानका जनतामारा र हुतिहारा नेतासँग तुलना गरौँ !)
यति हुँदाहुँदै पनि केही देशभक्त शासकको जोडबलले नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले पचासौँ उद्योग कलकारखाना खुले । यसमा रुस, चीनजस्ता मित्र देशले नेपाललाई सघाए । नेपालमा कागज, कपडा, सिमेन्ट, जुत्ता, धागोलगायत सामान उत्पादन गर्ने कारखानाहरू खुले । लाखौँ नेपालीले ती उद्योगबाट प्रत्यक्ष र परोक्ष काम पाए । यसबाहेक भूमिसुधार गरेर नेपाली किसानहरूको परिश्रमले भू–उपयोगको नीति पनि लिइयो । नेपाल विकास पथमा लम्किन थाल्यो । यसबाट ‘रामहरू’ को तपस्या भङ्ग भयो ।
०४६ सालपछि नेपाली काङ्ग्रेसका विभीषणहरूले नेपाली उद्योगधन्दा धमाधम निजीकरण गर्न थाले । ती ‘अर्थविद्हरू’ ले साम्राज्यवादको ‘नवउदारवादी अर्थनीति’ का एजेन्टको काम गरे । सरकारी उद्योगमा काम गरिरहेका नेपाली युवायुवती विदेशिन बाध्य भए । त्यही सिलसिलाले आज अझ विकराल रूप लिएको छ । (यसलाई पनि अफ्रिकी दास व्यापारसँग तुलना गरौँ !) देश युवा पाखुराबाट वञ्चित हुँदै गर्दा तिनको पसिनाले कुनकुन देश ‘सिञ्चित’ भइरहेको छ त ? केलाऔँ । नेपाली युवाको सस्तो पसिनाले भारत, खाडी, युरोप, अमेरिका, अस्ट्रेलियामात्र मोटाएका होइनन् । रेमिट्यान्सको अकूत रकममा रजगज चलाउने नेपाली काङ्ग्रेस, एमाले, माओवादी, तराईवादीलगायत मन्त्री खान जाने आजसम्मका सबै नेपाली राजनीतिक दलले समेत यो सिनो–लुछाइमा चोक्टा खाए, धेरथोर मोटाए ।
‘विकास’ का लागि ‘साँढे जुधाइ’
नेपालमा निर्वाचनलाई ‘साँढे जुधाइ’ का रूपमा हेर्ने चलन छ । यो नेपाली चिन्तनमा पछौटेपनको चिन्ह हो; वैज्ञानिक मिजासको अभाव हो । यहाँ कुनै दलको सिद्धान्त, नीति र उद्देश्य के छ भनी हेरिन्न; निर्वाचनको घोषणापत्र पढिन्न; बस् तिनको रङ हेरिन्छ; तिनको जुरो कति ठुलो छ भनी हेरिन्छ । अपवाद बाहेक नयाँ–पुराना सबै पार्टीलाई हेर्ने आम नेपाली बुझाइ यस्तै देखिँदै आएको छ । नत्र पटकपटक सत्तामा गएर देशका प्राकृतिक स्रोतसाधन कौडीको भाउमा विदेशीलाई दिने, नेपालका उद्योगधन्दा निजीकरण गरेर देशलाई अविकसित राख्ने र देशका युवा पाखुराहरूलाई अन्य देशको दास बन्न पठाउने राजनीतिक दल पालैपालो सत्तामा जाने थिएनन् ।
सांसदको काम नै सदनमा गएर जनताको हितमा वा विकास/अविकासको विषयमा ऐन–कानुन बनाउने हो । तर, यहाँ सांसदका उम्मेदवारहरूलाई मतदाताहरूले आफ्नो क्षेत्रमा सडक, पुल, बिजुली आदि ल्याइदिने विकासे कार्यकर्ता ठान्छन् । यो वैज्ञानिक मिजास होइन । किसानले अन्न उब्जाउँछ, मूर्तिकारले मूर्ति बनाउँछ । कसैले किसानसँगबाट मूर्तिको अपेक्षा गर्छ भने त्यो अपेक्षा गलत अपेक्षा हो । तैपनि, नेपाली निर्वाचनमा कतिपय सांसदका उम्मेदवारहरू आश्वासनका पोका बाँडिरहेका हुन्छन् । पटकपटक मन्त्री र प्रधानमन्त्री भइसकेका व्यक्तिले समेत ‘यो सडक बनाइदिएँ, यहाँ बिजुली ल्याइदिएँ, यसपालि जितायौ भने यो–यो गरिदिउँला’ भनेको पाइन्छ । भारतीय जोगीहरूले मिठाइ बाँडेर तराईमा बालबालिकाका कानका मुद्रा लगेझैँ विकासे उम्मेदवारहरूले साधारण जनको अमूल्य भोट खोसी लग्छन् ।
अहिले निर्वाचनको ‘नयाँ’ अखडामा ठुलो जुरोसितका नयाँ ‘साँढेहरू’ देखिएका छन् । नयाँ जोगीले बाक्लै खरानी घसेका छन् । तिनका कमण्डलु चमकदार छन् । मिडियाबाजीको हाइहाइ चर्को छ । माओवादी जङ्गलबाट भर्खर निस्कँदा, बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने बेला यस्तै हाइहाइ थियो । आज प्रचण्ड ‘आत्महत्या गर्न मन लाग्छ’ भन्दै छन् । विदेशीले उनी र उनको पार्टीलाई कतिसम्म दोह्यो होला, उनको यो सन्तापपूर्ण अभिव्यक्तिबाट स्पष्ट हुन्छ । आज जसरी सुडानका नेतालाई सुन व्यापारीहरूले दोहेका छन्, त्यो भन्दा फरक बे/हाल होइन प्रचण्डको । यस्ता विभीषण र तिनका दलको मात्र दोहन हुन्थ्यो भने ठिकै पनि हुन्थ्यो होला । तर, बीचमा सबैभन्दा बढी पिसिने र थिचिने देशका प्राकृतिक स्रोतसाधन र साधारण जनता हुन्छन् । वैज्ञानिक मिजास भएका सचेत नेपालीको लागि न प्रचण्डको हाल नौलो हो, न तेस्रो विश्वका देशमाथि थोपरिएको अविकासको नियति ।
अविकासका नयाँ विभीषणहरू
अब हामी विकास–अविकासको यही कोणबाट नेपालमा निर्वाचनको ‘साँढे जुधाइ’ मा देखापरेका नयाँ औतारीहरूलाई हेरौँ । के यी साँच्चै नयाँ हुन् त ? के यिनको परीक्षण नै भएको छैन ? नयाँ ‘साँढेहरू’ कति ‘नयाँ’ हुन् ? वैज्ञानिक मिजासले के भन्छ, हेरौँ ।
नयाँ ‘औतारीहरू’ ले काठमाडौँको ‘समाजवाद’ देशभरि लागु गर्ने ‘आश्वासन’ दिए । ‘आश्वासन’ को पोको बाँड्ने पुरानो चलन नयाँ ‘औतारीहरू’ ले दोहो¥याए ? के नयाँ भयो ? के काठमाडौँमा ‘समाजवाद’ आइसकेको हो ? यसमा पनि छलफल गर्न मिल्ला । किनभने, समाजवादभन्दा बित्तिकै शिक्षा, स्वास्थ्यजस्ता सेवालाई राज्यले आफ्नो जिम्मेवारी ठान्छ । जनतालाई पीरमर्का पर्दा देश नै अभिभावक बनेर आउँछ । सरकारी उद्योगधन्दा खोलिन्छ । कृषकलाई जमिन बाँडिन्छ । रोजगारी दिने दायित्व सरकारले वहन गर्छ । समाजवादको अर्थ बेरोजगारीको अन्त्य पनि हो ।
नयाँ ‘औतारीहरू’ सँग यसको कुनै योजना/सपना/भिजन देखिन्न । यिनका मूल अर्थविद् स्वर्णिम वाग्लेले धेरैपल्ट खुलेआम नवउदारवादी अर्थनीतिको पक्षमा लेखेका र बोलेका छन् । देशका तमाम देशभक्त युवाले देशघाती ‘एमसिसी सम्झौता’ को विरोधमा बानेश्वरमा हुतिहारा शासकहरूसँग लडिरहेको बेला वाग्लेले हाकाहाकी ‘एमसिसी सम्झौता’ को पक्षमा बोलेका थिए । वास्तवमा उनी नेपाली अविकासका पुरानै विभीषण हुन् । खरानी घसाइ मात्र नयाँ हो । कुनै बेला उनी नेपालका सरकारी उद्योगधन्दालाई निजीकरण गरी कौडीको मूल्यमा बेच्ने काङ्ग्रेसी विभीषण रामशरण महतकै शिष्य थिए । नयाँ खरानी घस्दैमा कसैको इतिहास मेटिन्न । यति वैज्ञानिक मिजास राख्ने ल्याकत मतदाताले राख्नैपर्छ ।
भारतले अखण्ड भारतको नक्सा जारी गर्दा कन्सिरी तताउने बालेन हुन् वा खाडीमा दुःख पाइरहेका युवालाई उद्दार गर्ने रवी लामिछाने, उनीहरूले ‘देशघाती एमसिसी सम्झौता’ को विषयमा चूँ नबोलेको वैज्ञानिक मिजास भएकाहरूले बिर्सेका छैनन् । नेपाल आमालाई कसैले लुछ्दै गरेको बेला ‘हुँदैन’ सम्म नभनेका यिनीहरू देशभक्तिको अग्निपरीक्षामा फेल भइसकेका पात्र हुन् । ‘काङ्ग्रेस फेरेर देश फेर्ने’ नारा दिएका गगन थापाको देश बनाउने ‘मगन्ते बुटी’ कसैले बिर्सेका छैनन् । ‘अमेरिकासँग साठी अर्ब माग्ने’, ‘चीनसँग सत्तरी अर्ब माग्ने’ र ‘भारतसँग अस्सी अर्ब माग्ने’ गगनले देशलाई विकसित बनाउँछन् कि दातालाई खुसी पार्न यो देशलाई अविकसित राख्छन् ? वैज्ञानिक मिजास भएका जोकोहीले यसको उत्तर अनुमान गर्न सक्छ । हर्क गुरुङले कुनै बेला एउटा वैज्ञानिक चेत सिकाउँदै भनेका थिए, “विदेशी दानले विकसित भएको संसारमा एउटा देश देखाइदेऊ मलाई ।” त्यस्तो कुनै देश छैन । विदेशीसँग मागेर देश बन्ने भए ल्याटिन अमेरिकी देश उहिल्यै ‘विकसित’ हुने थियो !
वैज्ञानिक मिजासीहरू एक होऔँ !
भनिन्छ, विष्णुको औतार पुज्ने समाज हो नेपाल । त्यसैले हरेक निर्वाचनमा हिरो खोजिन्छ । ‘नयाँ साँढेहरू’ आजका औतार हुन्, हिरो हुन् । जुन समाजलाई हिरो चाहिन्छ, त्यो समाज लाछी हो । त्यसैले ग्यालिलियोले यस्तो समाजलाई ‘टिठलाग्दो’ भने ।
नेपालका प्राकृतिक स्रोतसाधन र जनशक्ति प्रयोग गरेर नेपालमै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका करोडौँ अवसर फुलाउन सकिन्छ । यसका लागि जसले विकासको फल भोग्ने हो, तिनीहरू नै देश बनाउने यो वैज्ञानिक नियम अनुसार सङ्गठित, अनुशासित र प्रयत्नशील बन्नुपर्छ । हिरोको पछाडि भौतारिँदै फेरि अर्को पाँच वर्षको अमूल्य समय खेर फाल्नुहुँदैन । नयाँ हुन् वा पुराना, निजीकरणको अर्थनीति र एमसिसी सम्झौताको विरोध गर्ने ह्याउ नभएका नयाँ–पुराना उम्मेदवारहरू विदेशीलाई खुसी पार्न यो देशलाई अविकसित राख्ने विभीषण नै हुन् । नायक नखोजौँ, नायक नपुजौँ† टोलटोलमा वैज्ञानिक मिजासबारे छलफल गरौँ† विकासको वैज्ञानिक नियमबारे छलफल गरौँ । हामीलाई दुईचार महानायकले देश बन्दैन । देश बनाउन टोलटोलमा सयौँ हजारौँ नायक चाहिन्छ । हामी सबै नायक बन्नुपर्छ । ती नायक वैज्ञानिक मिजास राख्ने हुनुपर्छ । हिरोवाद÷लोकप्रियवादको मोहमा नअल्झिने हुनुपर्छ । बहुमत कामदार जनताको सङ्गठित परिश्रमले बाहेक यो देश बन्दैन भन्ने सोचको हुनुपर्छ ।
फागुन २१ को पृष्ठभूमिमा सबै वैज्ञानिक मिजासीहरू एक हौँ । आफू चनाखो बनौँ र अरूलाई पनि चनाखो बनाऔँ । नयाँ हुन् वा पुराना निजीकरण र एमसिसीका प्रत्येक मतियारहरूलाई हराऔँ, सच्चा देशभक्तहरूलाई जिताऔँ । हारे अविकासका विभीषणहरूसँग हार्ने हो, जिते यहाँको प्रकृति र जनशक्तिलाई देश विकासमा लगाउने हो । जागिराखौँ र भेटेजतिका सारा उम्मेदवारहरूलाई कम्तीमा दुई प्रश्न गरौँ :
१. देशका उद्योगधन्दा निजीकरण गर्ने नीति लिनुहुन्छ कि सरकारी उद्योगधन्दा खोली स्वदेशमै रोजगारीका अवसर बनाउन अगुवाइ गर्नुहुन्छ ?
२. देशलाई अँध्यारोमा राखी विदेशी सहर झिलिमिली पार्ने ‘देशघाती एमसिसी सम्झौता’ को पक्ष लिनुहुन्छ कि त्यो विद्युत् देशमै खपत गराउन अगुवाइ गर्नुहुन्छ ?
Leave a Reply