भर्खरै :

धुलाम्मे काठमाडौँ र फिरफिरे प्रविधिको खाँचो

  • फाल्गुन २, २०८२
  • इकुश्रे
  • विचार
धुलाम्मे काठमाडौँ र फिरफिरे प्रविधिको खाँचो

काठमाडौँ उपत्यकाको प्राकृतिक बनोट आफैँमा एउटा सुन्दर कचौराजस्तो छ तर आधुनिकतासँगै यही बनोट यहाँका बासिन्दाका लागि अभिशाप बन्न थालेको छ । चारैतिर पहाडले घेरिएको यो उपत्यकाभित्रको वायुमण्डलमा बाहिरबाट आउने ताजा हावाको प्रवेश र भित्रको दूषित हावाको निकास प्राकृतिक रूपमै सुस्त छ । त्यसमाथि अनियन्त्रित सहरीकरण, सवारी साधनहरूको चाप र कहिल्यै नसकिने सडक विस्तारका आयोजनाहरूले काठमाडौँलाई विश्वकै प्रदूषित सहरहरूको सूचीमा पु¥याएको छ । आज काठमाडौँको आकाशमा देखिने तुवाँलो मौसमको बदलाब मात्र होइन, यो यहाँका लाखौँ नागरिकको फोक्सोमा सिधै प्रहार गरिरहेको मन्द विष हो । धुलो र धुवाँको यो मिश्रणले सहरको सौन्दर्य मात्र बिगारेको छैन, आम मानिसको आयुसमेत छोट्याइरहेको छ ।
उपत्यकाको वायु प्रदूषणमा सबैभन्दा ठुलो हिस्सा सडकमा उड्ने धुलो (रोड डस्ट)–को रहेको विभिन्न अध्ययनले देखाएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि खनिएका सडकहरू समयमा मर्मत नहुनु, विद्युतका तार भूमिगत गर्ने क्रममा खनिएका खाल्डाखुल्डी अलपत्र पर्नु र सवारी साधनले टाढाबाट टायरमा टाँसेर ल्याउने माटो सुकेर धुलो बन्नु यहाँका मुख्य समस्या हुन् । हिउँदका महिनामा जब पानी पर्दैन, तब यो समस्याले विकराल रूप लिन्छ । हावामा तैरिएका सूक्ष्म कणहरू मानिसको श्वासप्रश्वास प्रणाली हुँदै रक्तसञ्चारसम्म पुग्ने गर्छन् । यसका कारण दम, एलर्जी, ब्रोन्काइटिस, हृदयघात र फोक्सोको क्यान्सरजस्ता गम्भीर रोगहरूको जोखिम डरलाग्दो गरी बढिरहेको छ । अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको भीड लाग्नुले हाम्रो सहर कति अस्वस्थ छ भन्ने स्पष्ट ऐना देखाउँछ ।
प्रदूषण नियन्त्रणका लागि हालसम्म राज्यले अपनाएका उपायहरू निकै परम्परागत र अपर्याप्त छन् । कहिलेकाहीँ सडकमा गुड्ने ब्रुमर मेसिनहरूले धुलो सोहोर्ने प्रयास त गर्छन्, तर तिनको पहुँच सीमित गल्ली र केही मुख्य सडकमा मात्र छ । त्यस्तै, ट्याङ्करबाट पानी छर्कने कार्य पनि बालुवामा पानी खन्याएजस्तै भएको छ । ट्याङ्करले सडकको एक छेउमा पानी हाल्दा अर्को छेउ सुकिसकेको हुन्छ र केही बेरमै फेरि धुलो उड्न थाल्छ । अर्कोतर्फ, पानी छर्कने क्रममा जथाभाबी हिलो हुँदा विशेषतः पैदल यात्री र दुईपाङ्ग्रे सवारी चालकहरू दुर्घटनाको जोखिममा पर्छन् । बेलाबेलामा प्राकृतिक रूपमा पानी परेर धुलो साम्य हुने अवस्था पनि सधैँ रहँदैन । जलवायु परिवर्तनका कारण वर्षाको चक्र बदलिएको छ, जसले गर्दा महिनौँसम्म काठमाडौँ ‘डस्ट बिन’ जस्तो बन्न पुग्छ । यस्तो जटिल अवस्थामा हामीलाई एउटा यस्तो स्थायी र प्रविधिमैत्री समाधान चाहिएको छ, जसले निरन्तर र व्यवस्थित रूपमा धुलोलाई नियन्त्रणमा राख्न सकोस् ।
धुलोरहित स्वस्थ काठमाडौँ बनाउने विषयमा वातावरणविद्हरूका योजना र उपाय विभिन्न होलान् । सर्वसाधारणको सोचाइबाट हेर्दा भने यसको एक मात्र प्रभावकारी र आधुनिक विकल्प भनेको सडकका मुख्य खण्डहरूमा ‘स्वचालित पानीका फिरफिरे’ जडान गर्नु हो भन्ने लाग्छ । विकसित मुलुकका ठुला सहरहरूमा धुलो नियन्त्रण र वायु शुद्धीकरणका लागि यो प्रविधि सफल मानिन्छ । सडकको बिचमा रहेका डिभाइडर वा किनाराका रुखहरूमा मसिना प्वाल भएका पाइप र फिरफिरेहरू जडान गरी निश्चित समयको अन्तरालमा पानी छर्कने व्यवस्था मिलाउन सकिन्छ । यो प्रणालीले पानीलाई सिधै धाराको रूपमा नभई ‘मिस्ट’ अर्थात् कुहिरो जस्तो मसिना थोपाको रूपमा फाल्छ । यी मसिना थोपाहरूले हावामा तैरिरहेका धुलोका कणहरूलाई समातेर जमिनमा झार्ने काम गर्छन् । यसले गर्दा सडक हिलो हुँदैन, तर ओसिलो रहने हुनाले सवारी साधन गुड्दा पुनः धुलो उड्न पाउँदैन ।
यो प्रविधि कार्यान्वयन गर्न काठमाडौँको मुख्य चुनौती भनेको पानीको उपलब्धता हो । काठमाडौँमा खानेपानीको हाहाकार भइरहँदा सडकमा पानी छर्कनु कतिपयलाई असम्भव र विलासिता लाग्न सक्छ । तर, यसका लागि खानेपानीको प्रयोग गर्नु जरुरी छैन । उपत्यकाका विभिन्न ठाउँमा रहेका ढल प्रशोधन केन्द्रबाट निस्कने प्रशोधित पानीलाई यस कार्यमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी, सार्वजनिक भवनहरूको छतमा वर्षाको पानी सङ्कलन (रेनवाटर हार्भेस्टिङ) गरेर ठुला ट्याङ्कीमा भण्डारण गरी सुक्खा मौसममा प्रयोग गर्न सकिन्छ । यो पानीलाई पाइपलाइनमार्फत सडकका फिरफिरेहरूसम्म पु¥याउन सकिन्छ । यसरी एकातिर खेर गइरहेको पानीको पुनःप्रयोग हुन्छ भने अर्कोतिर सहरको वायुमण्डल स्वच्छ रहन्छ ।
फिरफिरे प्रणाली जडान गर्दा यसले बहुआयामिक लाभ दिन्छ । पहिलो त, यसले प्रत्यक्ष रूपमा जनस्वास्थ्यमा सुधार ल्याउँछ । नागरिकहरू रोगमुक्त हुनु भनेको राज्यको स्वास्थ्य बजेटमा भार कम हुनु र उत्पादकत्व बढ्नु हो । दोस्रो, गर्मी महिनामा सडकको तातो सतहबाट निस्कने रापलाई यसले कम गर्छ, जसलाई प्राविधिक भाषामा ‘अर्बन हिट आइल्याण्ड’ प्रभाव भनिन्छ । तेस्रो, यसले सडक किनारका बोटबिरुवालाई सधैँ हरियो र सफा राख्न मद्दत गर्छ, जसले सहरको सौन्दर्यमा निखार ल्याउँछ । सफा र धुलोमुक्त सडकले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्छ । पर्यटकहरू मास्क लगाएर हिँड्नुपर्ने सहरभन्दा स्वच्छ हावा भएको सहरमा बढी रमाउँछन् ।
निश्चय नै, यो परियोजना सुरु गर्दा केही प्रारम्भिक लगानी र प्राविधिक कठिनाइहरू आउन सक्छन् । तर, ठुला–ठुला भ्यु टावर र कङ्क्रिटका संरचनामा अर्बौँ खर्च गर्ने सरकारले आफ्ना नागरिकको फोक्सो बचाउन यति लगानी गर्नु कुनै ठुलो कुरा होइन । सडक विभाग, खानेपानी मन्त्रालय र स्थानीय नगरपालिकाहरूबिच समन्वय हुने हो भने यो प्रविधि लागू गर्न असम्भव छैन । चिनियाँ र युरोपेली सहरहरूले धुलो नियन्त्रणका लागि यस्ता धेरै प्रयोगहरू सफल पारिसकेका छन् । हामीले पनि ती अनुभवबाट सिकेर हाम्रो परिवेश सुहाउँदो प्रविधि भित्र्याउन ढिलाइ गर्नु हुँदैन ।
अन्ततः, काठमाडौँलाई बस्न योग्य र सुन्दर सहर बनाउने जिम्मेवारी राज्य र नागरिक दुवैको हो । धुलोका कारण वर्सेनी हजारौँ मानिसहरूले ज्यान गुमाउनुपर्ने र लाखौँले औषधि खानुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । सडकमा फिरफिरे राख्ने कुरा एउटा प्राविधिक सुधार मात्र होइन, यो नागरिकको ‘स्वच्छ वातावरणमा बाँच्न पाउने’ मौलिक हकको प्रत्याभूति पनि हो । सरकारले अबका दिनमा पूर्वाधार विकास गर्दा धुलो नियन्त्रणका यस्ता आधुनिक संयन्त्रहरूलाई अनिवार्य रूपमा योजनामा समावेश गर्नुपर्छ । प्रविधिको सही प्रयोगले मात्रै काठमाडौँलाई धुलोको कुहिरोबाट मुक्त गरी पुनः उज्यालो र स्वस्थ सहरको रूपमा पुनस्र्थापित गर्न सकिन्छ । प्रकृतिले साथ नदिएको समयमा प्रविधिको सहारा लिनु नै बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *