भर्खरै :

भू–दासहरूको पहिलो बाली

भू–दासहरूको पहिलो बाली

(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक ‘When Serfs Stood Up in Tibet’’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)

सेप्टेम्बर महिनाको पहिलो हप्ता पूर्वी उपनगरको दक्षिणी भागको ६० एकड भएको जौको बाली काट्ने घोषणा भयो । लोका (Loka) र टाकुन (Takun) क्षेत्रमा पहिले नै बाली काटिसकेको थियो तर ल्हासा क्षेत्रको लागि यो पहिलो बाली थियो । प्रतिनिधिहरूको समूहका अन्य सदस्यहरू यसको समाचार लेख्न गए भने म ल्हासाको बाली काट्ने ठाउँमा हेर्न गएँ । त्यो ठाउँ उत्तरतिर र उचाइमा पर्दथ्यो ।
खेत बाटोभन्दा केही पर थियो, ठुलठुला घाँसहरू भएको बाँझो फाँट पार गरेर जानुपथ्र्यो । खस्रो जमिन सूर्यको ताप, ठाउँ–ठाउँमा बगेको पानीका भेलहरू तर्दै जाँदा म खेतमा काम गर्ने ती किसानहरूभन्दा पनि बढी थाकेकी थिएँ । ठुलो खेतमा सत्न्दा बढी मानिसहरू बाली काटिरहेका थिए । तिनीहरू काम गर्दै गीत गाइरहेका थिए ।
मैले सुरुमा देखेको खेत अव्यवस्थित देखिन्थ्यो । जौका बिरुवाहरू एक दुई वटामात्र देखिन्थे भन्ने जौको बोटलाई झ्याम्मै जङ्गली घाँसले ढाकेको थियो । त्यो खेत २५ वटा साइवा परिवारहरूको थियो र त्यहाँ सत्न्दा बढी बाली काट्दै थिए । बाली काट्नेहरू साइवाहरूबाहेक तिनीहरूलाई सहयोग गर्न आएका दुई वटा बसोबास समिति र जनमुक्ति सेना पनि भएको मेरा पथप्रदर्शकले बताए । मेरो नजिकै नर्बु (Norbu) नामका एकजना साइवा आएर मलाई त्यस खेतका बारेमा बताए । सन्तोषपूर्वक तिनले त्यस खेतमा आशा गरेभन्दा बढी जौ फलेको एक (माना–पाथीजस्तै तिब्बेतेली नाम) के (Ke) बीउबाट ११ के (Ke) अन्न फलेको बताए । त्यो असल खेत थिएन । ‘हामी २५ घरका साइवाहरूले आफ्नो खानाको निम्ति यस खेतबाट अन्न पाउँछौँ । मालिकको खेतमा काम गर्दागर्दै हामीले आफ्नो खेतमा यी जङ्गली घाँसहरू उखेल्ने, गोडमेल गर्ने समय नै पाउँदैनौँ, यस खेतमा न मल हालिएको छ न त सिँचाइ, न राम्रो गोडमेल नै भएको छ । यसमा एक के (Ke) बीउबाट कहिल्यै ५ के (Ke) भन्दा बढी अन्न फल्दैनथ्यो । यो वर्ष विद्रोहीहरू लखेटिएपछि मात्रै हामीले यहाँ जौ छरेका हौँ । विद्रोहीहरूले हाम्रो सबै अन्न लिएकाले हामीसँग सरकारले ऋण नदिएसम्म बीउ पनि थिएन । हामीलाई यसको बाली हाम्रो हुन्छ भन्ने थाहा थियो । त्यसैले दुईपल्ट मल हाल्यौँ र तीनपल्ट गोडमेल गर्याैँ, त्यसैले त एक के (Ke) बीउको ११ के (Ke) अन्न पाएका छौँ,’ नर्वले मालिकका लागि तिनीहरूले राम्रो अन्न फल्ने खेतमा बाली लगाएको पनि बताए ।
तिमी त्यो अन्न के गर्छौँ भन्ने मेरो प्रश्नमा नर्बुले केही बीउको लागि राख्ने, केही बेचेर बच्चाहरूका लागि लुगा किन्ने र बाँकी जाम्बा (Tsamba) भन्ने मुख्य खानाको लागि पिस्ने बताए ।
नोर्बुको मुहारमा खुसी छाउनुको कारण बताउँदै उनले भने, “विगतमा तिनको परिवारले कहिल्यै राम्ररी खान पाएको थिएन र फाटेको लुगामात्र लाउन पाएको थियो, त्यो वर्ष तिनीहरूले धेरै जाम्बा र तरकारी पाउने भए । पहिला हामीले तरकारी रोपे पनि कहिल्यै तरकारी खान पाउँदैनथ्यौँ । यो वर्ष सरकारले बिनाब्याजको बीउ ऋण दियो । त्यो पनि विद्रोहीहरूले सबै अन्न लिएको र बीउ छर्ने समय पनि आएको अप्ठ्यारो बेलामा ऋण दिएको छ । विनाझन्झट खेतमा बीउ छरियो र अहिले बाली काट्ने बेलामा पनि मालिकको खेतमा पहिला नगरी काट्न हुने कुनै पनि खेतमा पहिला काट्न पाइयो । खुसीको कुरा के छ भने यति धेरै साथीहरू हामीलाई मद्दत गर्न आए । अझ बढी त हामीले स्वतन्त्रता पायौँ । काम रोकेर साथीहरूसित कुराकानी गर्न सकिने भयो । पहिला कसैले मुख धोएको र कपाल कोरेको वा नुहाएको देख्यो भने वा सफा र चिटिक्क परेको देख्यो भने माहां वा नाइकेले काम चोर भनेर बोलाउँथ्यो र काम दिन्थ्यो । अर्को बाली योभन्दा राम्रो हुने आशा गरेका छौँ ।”
लोका र टाकुनमा बाली अझ राम्रो भएको समाचार पुगेको थियो । ती ठाउँहरू ल्हासाको पश्चिम र टाकुन सुदूर पूर्वमा पर्दथ्यो । लोकामा ८३,००० एकड जमिन खेती गरिएको थियो भने टाकुनमा ३३,००० एकड जग्गामा खेती गरिएको थियो । ती जग्गालाई ‘तिब्बतको अन्नको भण्डार’ भनेर चिनिन्थ्यो । ‘लोका’ को अर्थ ‘हिमालभन्दा दक्षिण’ हो । त्यो भारतको सिमानामा पर्दथ्यो, राम्रो माटो र हावापानी भएको लोकाबाट नै तिब्बतीहरूको उत्पत्ति भएको बताइयो । सम्भवतः पृथ्वीमा मानव जातिको उत्पत्ति पनि यहीबाट भएको हुनुपर्छ । तिब्बतका प्रथम उल्लेखनीय राजा स्रङचन गम्पोले ताङ वंशका राजकुमारी वेन चेङसित बिहे गरेका थिए । त्यहाँको राजधानी ल्हासामा सर्नुअघि राजा त्सेताङ (Tsetang) मा बस्थे ।
ल्हासाका धेरैजसो खान्दानीहरू सुङचङ्ग गम्पोजस्तै लोकाबाट पुगेका थिए । तिनीहरूले लोकामा दस हजार भूदास राखेका थिए । वास्तविक ठुला विद्रोहीहरू यहीँका थिए । विद्रोही नेता सुर्कोङ (Surkong) को लोकामा ६ वटा जमिनदारी थियो । खेमेईका पनि लोकामा जमिनदारी थियो । विद्रोहीहरूले लोकामा आधार शिविर खडा गरेका थिए । त्यहाँ तिनीहरूले विदेशी हातहतियारको निम्ति गोलीगठाहरू बनाउने तथा खम्पाहरूको लागि शिविर बनाएका थिए । ल्हासामा विद्रोहलाई दबाएपछि तिनीहरूले लोकालाई ‘दोस्रो राजधानी’ बनाए तथा लामो समयसम्म तिब्बतभरि नै गुरिल्ला युद्ध चलाउने योजना बनाएका थिए । लोकालाई अन्नको स्रोत तथा यसको भारतसित जोडिएको सिमानाका कारण विद्रोहीहरूले प्रयोग गरेका थिए ।
लोकाका किसानहरूलाई विद्रोहीहरूले धेरै निर्मम व्यवहार गरेको हुँदा तिनीहरू जनमुक्ति सेनालाई मद्दत गर्न विशेष रूपले हौसिए । सैनिक गतिविधिले भन्दा जनमुक्ति सेनाले आयोजना गरेको राजनैतिक सभाले विद्रोहीहरूलाई आत्मसमर्पण गराउन धेरै मद्दत गर्यो । यसरी लोकामा विद्रोहलाई समाप्त पारियो । बीउ छर्न ढिलो भइसकेको हुनाले जनमुक्ति सेनाले विद्रोहीहरूले लुटेको अन्नका बीउहरू किसानहरूलाई बाँडे, जनमुक्ति सेनाले बाली छर्न घोडा र मानिसहरू पठाएर मद्दत गरे । पहिलोपल्ट ‘जमिन जोत्नेलाई’ वितरण गरियो । यी सबै सहयोगी कार्यहरूले गर्दा लोकामा सुधार कार्य छिट्टै नै सुरु भयो ।
पत्रकार प्रतिनिधिहरूको हाम्रो समूहले सेप्टेम्बरको पहिलो हप्तामा लोका भ्रमण गर्दा व्यवहारिक रूपमै ‘तीन कुराको उन्मूलन’ (Three Abolitions Drive) भइसकेको थियो । लोकाका विद्रोहीहरू पक्राउमा परे, केहीलाई कारागारमा हालियो, अरुलाई किसानहरूसितको ‘सङ्घर्ष बैठकबाट’ तिनीहरूको पहिलेको घरमा भूदासहरूको निगरानीमा बसाइयो । सामन्ती ऋण मिनाहा गरियो, सोह्र हजार घरमा काम गर्न नानसाम भूदासहरूलाई स्वतन्त्र गरियो । दासप्रथाको उन्मूलनमात्र गरिएन, बसोबास र खानाको व्यवस्था पनि गरियो । धेरै ठाउँमा भूमिको वितरण सुरु गरियो । लोकाबाट सुरु भएको जग्गा वितरण तिब्बतभरि भइरहेको थियो ।
भूतपूर्व भूदासहरूलाई तिनीहरूले जोतेकै जग्गा दिए । मोहीजस्ता साइबाहरूलाई तिनीहरूले काम गर्दै आएकै जग्गा दिए । घरेलु भूदास नानसामहरूलाई तिनीहरूका मालिकको खेत दिइयो । नामसामहरूसँग वितरणमा दिइएको जग्गाबाहेक अरु पशु वा सामग्रीहरू थिएन भने तिनीहरूको परिवार पनि मोही साइबाको भन्दा सानो थियो ।
जमिनदारहरू, तिनीहरूका प्रतिनिधिहरू तथा विद्रोहीका नातेदारहरू कोहीले काम गर्न चाहेमा तिनीहरूलाई पनि जग्गा दिइयो । विद्रोहीहरूसित भागेकाहरूलाई पनि फर्केमा जग्गा दिनको लागि छुट्याइयो । त्यस्तै लामा बन्नका लागि छाडेर गएकाहरू पनि फर्केर आएमा जग्गा दिनको लागि छुट्याइयो । त्यसका अतिरिक्त जग्गामा किसान सङ्घले काम गथ्र्यो र साझा गाउँको आवश्यकता पूर्ति गर्न प्रयोग गरिन्थ्यो । प्रत्येक परिवारलाई कति जग्गा दिने हो भन्ने कुराको निर्णय गाउँलेहरूबिचको छलफलबाट निश्चित गरियो ।
हरेक परिवारलाई जग्गाको स्वामित्व दिएपछि तिनीहरूको उत्साह धेरै बढ्यो । तीन हप्ताअघि मात्र जग्गा वितरण गरेको क्षेत्रमा हाम्रा प्रतिनिधिहरू भ्रमणमा जाँदा आपसी सहयोग समितिहरू गठन तथा मल सङ्कलन कार्य भइसकेको थियो ।
सेताङ (Tsetang) नजिकको एउटा क्षेत्रमा जग्गा वितरण हुन लागिरहेको थियो । हाम्रा केही प्रतिनिधिहरू त्यहाँ पुगे । किसान सङ्घका वर्तमान सदस्यहरूले तिनीहरूलाई विभिन्न परिवारलाई वितरण गर्नुपर्ने जग्गाको नामावली देखाए ।
किसान नेताले बताएअनुसार सो नामावली विभिन्न तहमा किसानहरूसँग छलफल गरेर तयार गरिएको थियो । पहिला किसान समितिको स्थायी समितिले प्रारम्भिक मस्यौदा तयार पारेको थियो । त्यसपछि समग्र सङ्गठनले त्यसमा छलफल चलायो र विभिन्न क्षेत्रका किसानहरूको छुट्टाछुट्टै बैठकहरू राखियो, त्यसपछि स्थायी समितिले आएका सुझावहरूलाई ध्यानमा राखी मस्यौदालाई पुनर्लेखन गर्यो र अन्तमा किसान सङ्गठनले छलफल तथा पारित गर्यो । सो छलफल तीन हप्ता निरन्तर चल्यो ।
प्रतिनिधिहरूले खेतमा समितिले जग्गा नापिरहेको देखे । त्यसपछि अध्यक्षले ‘यो जग्गा फलानो परिवारलाई र यो फलानो परिवारलाई’ भन्दै घोषणा गरे । नयाँ जग्गाधनीले आफूले पाएको जग्गामा आफ्नो नाम भएको नामको चिह्न लगाए । अरुहरूले तिनीहरूलाई बधाई दिए । त्यस चक्ला खेतमा करिब ४० परिवारलाई जग्गा वितरण गरियो । बाँकीलाई भोलि अर्कोतिरको खेत वितरण गरिने बताइयो ।
लोकामा पहिलो जग्गा वितरण सेप्टेम्बरमा भएको थियो र समग्र तिब्बतमै पहिलो जग्गा वितरण अगस्त ६ र ७ मा खेर्मइको बिर्ताको वितरण भएको थियो । झण्डै एक महिनापछि हाम्रा प्रतिनिधिहरूले त्यहाँ भ्रमण गर्दा उलेख्य सुधारहरू देखे । १,५५१ केस (Kes) (२६० एकड) खेतीयोग्य जग्गा र ८० परिवारका ३९३ जना मानिसहरू बस्ने त्यस सानो जमिनदारीमा झण्डै आधा परिवार २९ साइबाहरू र केही मोहियानी नभएका भूदास डुइचुनहरूका लागि ढुङ्गाको छाप्रो र खेती गर्न सानो टुक्रा जग्गा दिइएको थियो । अरु आधामा १० घरेलु दास नानसाम परिवारहरू तथा धेरैजसो डुइचुनहरूका न स्थायी घरहरू थिए न जग्गा न त पशुहरू नै थिए ।
“हामी गधाहरू राखिएको ठाउँ हेर्न गयौँ”, प्रतिनिधिहरूले भने । हामीले २० नानसाम परिवारहरू खुला ढुङ्गाबाट बनेको छाप्रोमा छानोमुनि केही भित्ताहरू भएको तर पूरा नभएको ठाउँमा बस्ने गरेको देख्यौँ ।
हिजोका घरेलु दासी २१ वर्षीय त्सेवाङ चुचि (Tsewang Chuchi) किसान सङ्गठनका अध्यक्ष भइन् । तिनीले हाम्रा प्रतिनिधिहरूलाई तिनको जीवनगाथा बताइन् ।

“विगतमा हामी पशुभन्दा पनि नराम्रो जीवन जिउँथ्यौँ । अहिले हामी उठेका छौँ । विगतमा हामी झुत्रो लुगा लगाउँथ्यौँ, अहिले हामीले राम्रा लुगाहरू पाएका छौँ । विगतमा हामी नानसामहरू गधाहरूसँगै सुत्थ्यौँ अहिले मालिकको घरमा बस्छौँ ।” तिनका बाबु एक दास थिए र मालिकको घोडाको हेरचाह गर्थे । बाबु जिउँदै थिए र आमा बितिसकेकी थिइन् । तिनका एक दाइ र दुई बहिनीहरू थिए । तिनी १० वर्षकी हुँदै याक चराउँथिन् । १६ वर्ष पुग्दा तिनी घरेलु दास भइन् । मालिकको निम्ति पानी ओसार्ने, चिया र खाना बनाउँथिन् । हरेक महिना ४३ पाउ साम्बा खाना पाउँथिन्, अलिकति नून र घ्यू पाउँथिन् ।
त्यस जवान महिलाको अध्यक्षतामा त्यहाँ जग्गा बाँड्ने कार्य भएको थियो । पहिलो १७ केस (३ एकड) जग्गा नयाँ प्राथमिक विद्यालयको लागि छुट्याइयो । त्यसपछि ८० केस (१३.६ एकड) जग्गा विद्रोहमा भाग लिएका तर फर्किन सक्ने किसानहरूका लागि छुट्याइयो । ती जग्गा सबै हाललाई किसान सङ्गठनले खेतीपाती गर्ने निधो ग¥यो । बाँकी जग्गा भूतपूर्व भूदासहरूका लागि तिनीहरूको आफ्नो स्वामित्व हुने गरी बाँडियो । प्रतिव्यक्ति सालाखाला ३.५ केस, २–३ एकड प्रतिपरिवार जग्गा हुन गयो । घरेलु दास नानसामहरूले पनि त्यतिकै हिस्सा जग्गा पाए तर तिनीहरूको जग्गा मालिकको स्वामित्वको जग्गाबाट बाँडिएकोले राम्रो जग्गा पाए । परिवारको प्रयोगको लागि जग्गा पाउन मालिककहाँ बिनाज्याला पूरा समय काम गर्ने ३६ जना मोही वा साइबा परिवारका सदस्यहरूलाई बेठ–बेगारी वा उला (ula) श्रमबाट स्वतन्त्र गरियो ।
गधाको गोठमा सुत्ने नानसामहरू अब घरमा सरे । मालिकको घरमा हरेक एक परिवारलाई एउटा एउटा कोठा दिइयो । पहिलेका मालिकका घरपालुवा पशुहरू, सामग्रीहरू तथा काठका सामानहरू नानसामहरूलाई बाँडियो ।
प्राथमिक विद्यालय निर्माण भइसकेको थियो । त्यहाँ २१ जना विद्यार्थी थिए र प्रौढहरूका लागि चलाइएको रात्रि कक्षामा ६० जना मानिस थिए ।
टाकुन तिब्बतको न्यानो ठाउँ हो । त्यहाँका धेरैजसो जग्गा १०,००० फीटभन्दा कम उचाइको छ । त्यसैले त्यहाँको माटोमा राम्रो बाली हुन्छ । फलफूलका रुखहरू बढेर ठुल्ठुला राम्रा काठ हुन्थ्यो, गाउँहरूमा राम्रो खेतीपाती हुने बाक्ला जङ्गलहरूबाट पाइने काठ टाकुनबाट नै ल्हासामा जान्थ्यो । टाकुनका केही जग्गा २–३ हजार फीटभन्दा कम उचाइमा उपत्यकाजस्तै सतहमा छन् । त्यहाँ यातायात र सञ्चारको सुविधा छैन किनभने टाकुनमा पुग्न गाहो छ ।
त्यहाँको खेतीयोग्य जग्गा ३३,००० एकड लोकाभन्दा पाँच भागको एक भागमात्रै छ । त्यहाँको बाली साधारणतः तिब्बतको अन्य धेरैजसो भागमा भन्दा राम्रो छ । प्रतिएकड जग्गामा १८–२० बुसेल फल्छ । त्यो वर्ष बाली ३० बुसेलसम्म बढ्यो । कारण लोकामा जस्तै यहाँ पनि भूतपूर्व भूदासहरूले लगाएको बाली आफैले पाउने थाहा पाए । विद्रोह हुनुभन्दा २–३ हप्ताअघि नै बीउ छरे । विद्रोह दबाइएपछि तिनीहरूले बाली धेरै पटक गोडमेल गरे र पानी हाले । पहिला तिनीहरूले यसरी स्याहार गर्ने समय नै पाउँदैनथे ।
सिन्ह्वा समाचार संस्थाका चाओ ची ली (Chao Chi li) ले बताएअनुसार ल्हासा–चाम्दो राजमार्ग टाकुनको उत्तरी किनार भएर गएको हुँदा खम्पाहरू विद्रोहको सुरुआतका लागि तिब्बत आउँदा टाकुनको उत्तरी क्षेत्रमा बसेका थिए । तिनीहरूले ल्हासामा विद्रोह छेड्नुअघि वर्षभरि नै टाकुनका मानिसहरूलाई लुटे र ध्वस्त पारे । केही खम्पाहरू लोकाको प्रमुख आधार शिविरबाट मुख्य हाँगाका रूपमा टाकुनमा बसेका थिए । त्यसैले टाकुनका किसानहरूले यी विद्रोहीहरूलाई समात्न जनमुक्ति सेनालाई मद्दत गरे । टाकुनका विद्रोहीहरू छिट्टै कुटिए, तिनीहरू लोकामा भागे र केही लोका विद्रोहीसँग भारतमा भागे ।
टाकुनका किसानहरूका अनुसार यस्तो राम्रो बाली पहिला कहिल्यै आउँदैनथ्यो† दसमा नौ पटक बाली राम्रो हुँदैन । तर, अहिले हामी उठेका छौँ र बाली पनि राम्रो भएको छ ।
पहिला सबै बाली जमिनदारको भण्डारमा लिइन्थ्यो । तिनका दलालहरू बालीको निरीक्षण गर्दथे । बालीको आधा भाग कुनै पनि हिसाबले जग्गा प्रयोग गरेबापत मालिकलाई तिर्नुपथ्र्यो, बाँकीमा पनि अधिकांश तिनको ऋण तिर्दैमा सकिन्थ्यो । घरेलु दास, नानसामले काम गरेको खेतको सबै बाली स्वतः मालिककै हुन्थ्यो । यो वर्ष तिनीहरूले ठुलो बाली पाएपछि तिनीहरू बाली कहाँ राख्ने भन्ने समस्यामा थिए । तिनीहरूले पहिला कहिल्यै बाली भण्डार गरेका थिएनन् । केहीले आफ्नो सानो घरमा बाली भित्याए भने केही अन्न राख्नको लागि बाँसको कटेरा बनाउनतिर लागे ।
तिनीहरू कसैले पनि पहिले अन्न बेचेका थिएनन् । त्यसैले अन्न बेच्नेबारेमा कसैले सोचेनन्, तिनीहरूसँग खानकै लागि पुग्दो अन्न थिएन । टाकुनमा जग्गा वितरण गर्दा साझा अन्न भण्डार बनाउनेबारेमा पनि सोच्नुपर्ने चाओ बताउँछन् । समयसँगै किसानहरू बढी भएको अन्न अन्य आवश्यक सामानहरू किन्नका लागि बेच्नेबारेमा सोच्नेछन् ।
किसानहरू बाली काट्दाकाट्दै गीत गाइरहेका र हाँसिरहेका थिए । सेप्टेम्बरको पहिलो हप्तामा ल्हासामा तीनदिने पर्व आउँछ । यसलाई ‘बाली भित्याउने चाड’ (Harvest festival) भनिन्छ । तर, त्यो चाड बाली काटिसकेपछि नभई ल्हासामा बाली काट्नुभन्दा अघि नै सुरु हुन्छ । पाँचौँ दलाइ लामा पेइचिङबाट फर्किसकेपछि तीन शताब्दीअघि त्यस चाडको समय तोकेका थिए । त्यसबेला छिङ सम्राटले तिनलाई ‘दलाइ लामा, बुद्धको पश्चिमी क्षेत्रका कानुनी राजा, पृथ्वीका ईश्वरको आत्मा, सबैले चिनेका, सम्राट वंशमा बज्रपात पर्दा सम्हाल्ने व्यक्ति’ को पदवी दिएका थिए र तिब्बतका ‘जातिहरूको एकीकरण’ गर्ने जिम्मा सुम्पेका थिए । तसर्थ, पाँचौँ दलाइ लामाले ‘बाली भित्याउने चाड’ का समय निर्धारण ऐतिहासिक तथ्यका आधारमा गरेका थिएनन् । तर, त्यो समय मठहरूका लागि बालीको निरीक्षण गर्न तथा कति बाली सङ्कलन गर्ने भन्ने निर्णय गर्न उत्तम थियो ।
तिब्बतको इतिहासमा पहिलो पटक दरबारमा सर्वसाधारणलाई त्यसैबेलादेखि छिर्न दिइएको थियो । त्यस चाडमा मठहरूमा भक्तहरूले धर्मशास्त्रहरू पढ्थे र घेरुवाहरू बाल्थे । रत्न बगैँचामा ठुलो वनभोजको आयोजना हुन्थ्यो । युवाहरू पुराना लोकगीतहरू गाउँथे र नाच्थे भने बुढापाकाहरू तेह्रौँ दलाइ लामाको पुरानो दरबारको महिमा गाउँथे, वर्तमान दलाइ लामाले निर्माण गरेको नयाँ दरबार र ‘स्वर्गीय डुङ्गा’ अवलोकन गर्थे ।
पछिल्ला दिनहरूमा ल्हासाको पश्चिमी गाउँका किसानहरूले चाड हेर्नका लागि केही प्रतिनिधिहरूलाई बोलाए । तिनीहरूले बाली काट्ने सुरुआत र ‘तीन कुराहरूको उन्मूलन’ को समापन दुवैको खुसीयाली मनाउन निमन्त्रणा गरे ।
बिहानको खाना खाइसकेपछि हामीले सहर छोड्यौँ र ड्रिपुङ मठभन्दा केही माइल पश्चिममा हिँड्यौँ । फराकिलो हरियो घाँसे मैदानमा सयौँ मानिसहरू भुइँमा बसिरहेका थिए । हामी त्यहाँ पुग्दा बैठक सकिएको थियो । किसान सङ्घका धेरैजना सदस्यहरूले हामीलाई त्यहाँ स्वागत गरे तथा एउटा पालमा हामीलाई बसाए । बताइएअनुसार ती पालहरू विद्रोही खान्दानीहरूका ‘बिदा मनाउने ठाउँ’ (Holiday pavilion) थियो अहिले त्यसलाई किसान सङ्गठनले चाडको लागि लिएको हो ।
पूरै भीड विभिन्न रङ्गहरूका लुगा र श्रृङ्गारमा सजिएको थियो । किसानहरू सबभन्दा राम्रा लुगा लगाएर आएका थिए । केटीहरू पनि उत्तिकै राम्रो लुगामा सिङ्गारिएका थिए तथा जौको रक्सी र घ्यू चिया प्राचीन शैलीमा टक्राइरहेका थिए । आधा मानिसहरू घ्यूको चिया वा जौको रक्सी खाइरहेका थिए र आधा मानिसहरू ड्रम बजाउँदै पताका बोकेर, माओ त्सेतुङ (Mao Tse-tung) र लिउ शाओचिका ठुलठुला तस्बिरहरू बोकेर पहाडहरूमा लामो प्रदर्शन गर्दै थिए ।
ल्हासाको पश्चिमी उपनगरको पार्टी समिति सदस्य काओ तुङ चुयन (Kao Tong-Chuan) का अनुसार तिब्बतको ठुलो गाउँ नानगाओसी
(Nangawosi) का दुई हजार मानिसहरूले यसको आयोजना गरेका थिए । नानगाओसी गाउँमा झण्डै १७ वटा जमिनदारीका मानिस संलग्न थिए । बिहानको बैठकले ‘तीन कुराको उन्मूलन’ सफल भएको निचोड निकाल्यो । खेतमा बाली निरीक्षण गरी सबैभन्दा राम्रो बालीलाई पुरस्कार दिइने व्यवस्था थियो । माओ त्सेतुङ र लिउ शाओचिका तस्बिरहरू किन बोकेका भनेर मैले सोधेँ । काओले बताए, “यो स्थानीय समितिले चाडलाई अझ चाखलाग्दो बनाउनको लागि गरेको हो । तीन सय वर्षदेखि तिनीहरू ईश्वरको तस्बिर बोकेर यसरी नै खेतहरू डुल्थे तर यो वर्ष तिनीहरूले अध्यक्ष माओ र अध्यक्ष लिउका तस्बिरहरू बोक्नु रमाइलो हुने विचार गरे ।”
काओका अनुसार यहाँ सान फान कार्यक्रम अन्ततिर आइपुगेकोले चाडपर्वमा त्यसको अन्तिम प्रतिवेदन तयार गर्नुपर्नेछ । दसवटा बैठक बस्यो र ३३ जना मानिस – राज्यको प्रतिनिधि सचिव, विद्रोहका नाइकेहरू र ड्रिपुङका केही माथिल्ला लामाहरूमाथि आरोपहरू आएका थिए । सान फान कार्यक्रमको महत्वबारे प्रस्ट पार्दै काओले बताए, “यसको उद्देश्य जनतालाई दासप्रथाको कुकृत्यहरूबारेमा सचेत पार्नु हो । यसबाट तिनीहरूले आफूले भोगेका दुःख–पीडामात्र सम्झदैनन् साथमा त्यस दुष्ट प्रणालीमा रहेको यसका स्रोतहरूबारेमा पनि थाहा पाउनेछन् । तिनीहरूलाई अब आफ्नो जग्गाको मालिक आफै भएको र भूतपूर्व मालिकबाट डराउन नपर्ने तथा मालिकका कुरामा हो मा हो मिलाउन नपर्ने कुरा थाहा दिनु र तिनीहरूको भविष्य निर्माणको जिम्मेवारी बोक्न सक्षम बनाउनु पनि यसको उद्देश्य हो । एउटा अर्को उद्देश्य भनेको समुदायमा व्याप्त रहेको ठुलो मात्राको ऋण, सामन्ती ऋणको अन्त गर्नु पनि हो ।”
अभियोग लागेकाहरूलाई के गरिन्छ भन्ने मेरो प्रश्नमा काओले अभियुक्तहरूको भाग्य तिनीहरूको आफ्नो हातमा भएको बताए । “किसान भेलाले तिनीहरूलाई आरोप लगाए पनि निर्णय वा सजाय तोक्न सक्दैन । किसानहरूका आरोपहरू अदालतमा चलानी गर्नेछ र अदालतले यसको निर्णय गर्नेछ । यदि अभियुक्तले आफ्नो आरोप स्वीकारेर पश्चाताप गरेमा तिनीहरू आफ्नो घर फर्कन सक्नेछन् । यदि तिनीहरू अटेर गरेमा कारागारमा फर्कनेछन् ।”
घोडा दौड सुरु भयो । पचास जना घोडचढीहरूले आफ्नो प्रतिभा देखाए । घोडा दौडसँगै नाचहरू पनि देखाए ।
अन्तमा, हामी ती घोडचढी तथा नर्तकीहरूलाई पुरस्कार दिने समारोहमा पुग्यौँ । केही उत्कृष्टलाई मात्र नभई घोडा दौड र नृत्यमा भाग लिने सबैलाई सम्मान सूचक उपहार खादा दिइयो ।
खादा थापिसकेपछि एकजना घोडचढीले समारोही दोसल्ला मेरो हातमा राखिदिए । भीडले यसको ताली बजाएर स्वागत गरे । क्रमशः पाँचै जना बाँकी घोडचढीले पनि आफ्नो खादा मेरो काँधमा राखिदिए ।
एकजना बुढी किसान मेरो नजिक आएर मेरो चिउँदो छोएर मेरो उमेर सोधे । मैले ७३ वर्ष पुगेको बताएँ । सबैजनाले मेरो उमेरलाई सम्मान गरे ।
एकजना आइमाईले टिप्पणी गरिन्, “यो धेरै राम्रो कुरा हो । तपाईँजस्तो उमेर पुगेकी स्वास्नीमानिस हाम्रो चाडपर्व र हाम्रो सुधारलाई हेर्न यहाँ आउनुभएको छ ।”
त्यहाँ मेरो उपस्थिति र प्रस्तुतिको कारण उत्सवले शिखर चुम्यो । दुई महिनाभन्दा कम समयअघि मात्रै दासत्वबाट मुक्त भएका ती किसानहरू आफ्नो भविष्य निर्माणका लागि पूर्णतः सचेत भए । साथमा तिनीहरूका कार्यहरू विश्वमै ऐतिहासिक भएको छ ।
स्रोत ः तिब्बतका भू–दासहरू उठ्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *