भर्खरै :

सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट

सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट

बालेनको नेतृत्वमा बनेको रास्वपाको सरकारप्रति प्रतिपक्ष दल, नागरिक समाज, युवा, विद्यार्थी, मिटरब्याज पीडित, सुकुमवासी, उखु कृषक, अस्थायी तथा करार कर्मचारी, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी मात्र होइन, सत्तारुढ दलका नेता, सांसद र कार्यकर्ता पनि असन्तुष्ट छन् । रास्वपा सरकारको कार्यशैली र निर्णयको विरोधमा आफ्नै दलका सांसदहरूले सरकारलाई खबरदारी गर्न थालेका छन् । असार ३१ गते प्रकाशित ‘कान्तिपुर’ दैनिकमा ‘रास्वपा सांसदले नै गर्न थाले सरकारको आलोचना’ शीर्षकको समाचार छापियो । यही बेला प्रधानमन्त्री बालेन र रास्वपाका सभापति रवि लमिछानेबिच मतमतान्तर बढेको र मन्त्रीहरूको काम चित्त नबुझेको हुँदा मन्त्रिमण्डल हेरफेर हुन लागेको चर्चाले मन्त्रीहरू पनि असन्तुष्ट हुन थालेका छन् ।
रास्वपाभित्र असल, इमानदार, देशभक्त, निःस्वार्थी, देश र जनताप्रति समर्पित नेता, मन्त्री, सांसद र कार्यकर्ता छन् भने सरकार र पार्टीले गरेको जनविरोधी निर्णय र देशविरोधी कार्यको विरोध गर्नुपर्छ† विरोध गरेर खबरदारी गर्नुपर्छ । सरकारको गलत निर्णय र नीतिको समयमै खबरदारी गरिएन भने दल र सरकारको बदनाम मात्र होइन देश उन्नतितर्फ होइन अधोगति तर्फ जानेछ; देशमा विकास होइन विनास बढी हुनेछ । जनतामा विश्वास होइन अविश्वासको खाडल बढ्नेछ । अहिले देशमा एकपछि अर्को जनताको विरोधको स्वर बढ्दै छ† आक्रोशको स्वर जिल्ला –जिल्लामा फैलिँदै छ । यस्तै स्वर भोलि गाउँ–बस्तीमा पुग्नेछ र सरकार र सत्तारुढ दल नैतिक रूपमा पतन हुनेछ । सरकार र सत्तारुढ दलले जे गरे पनि, जे बोले पनि ठीक भन्ने मानसिकता दास मानसिकता हो† जस्तो गल्ती गरे पनि गल्ती छोपेर अन्ध समर्थन गर्ने प्रवृत्ति बढ्दै गएमा देश एक दिन खाल्डोमा पर्नेछ । यसले सरकार नढले पनि हालैको निर्वाचनमा नेका र एमाले नराम्रोसँग हारेझैँ अर्को निर्वाचनमा रास्वपा नराम्रोसँग हार्नेमा शङ्का छैन । रास्वपाले पाएको मत रास्वपाको सैद्धान्तिक र वैचारिक मत होइन । नयाँ सरकारले केही गर्ला कि भन्ने आशा र विश्वासले रास्वपाले बहुमत पाएको हो । यो कुरा अहिले आन्दोलनमा उत्रेका विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरूले सरकारप्रति असन्तोष पोखेको विचारबाट थाहा हुन्छ ।
सरकारको गलत नीति, निर्णय र कार्य कसैले चाहेर पनि छोपेर राख्न सक्दैन । ढिलो वा चाँडो जनताको बिचमा पुग्नेछ । अरु त अरु सत्तारुढ दलका सांसदहरूले पनि सरकारी कार्यशैली पनि असन्तोष व्यक्त गर्दै खबरदारी गर्न थालेका छन् । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले “हामी सत्तामा छौँ भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा पे्रसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्” भने । रास्वपाका सांसद जगदीश खरेलले भने, “प्रधानमन्त्रीको मात्र गरिमा बचेर यो सरकार रहनेवाला छैन । हाम्रो (सांसद) को पनि गरिमा बढ्नुपर्छ । सांसदको भूमिका यहाँ ढ्यापढयाप गर्र्ने मात्रै हो ?” “सर्वसाधारणले सामान ल्याउँदा बरामद गर्ने तर तस्करले ओसार्ने लागूऔषध नदेख्ने गृहमन्त्रीको मौनतालाई जनताले चासोका साथ नियालिरहेका छन् ।” रास्वपा सांसद अफसाना बानुले भने ।
सुकुमवासीको व्यवस्थापन वाचाअनुसार नभएको हुँदा राज्यको कमजोरी र अक्षमता उजागर भएको टिप्पणी पनि रास्वपाकै सांसदहरूले गरे । असार मसान्तभित्र साक्षर नेपाल घोषणा गर्ने सरकारको लक्ष्य छ । तर, त्यो लक्ष्य पनि पूरा गर्न सकिएन । मधेस प्रदेशका १२३ पालिका साक्षर हुन नसकेको कारण नेपाल साक्षर मुलुक हुन नसकेको बताइएको छ । नेपाललाई साक्षर बनाउने घोषणा झण्डै १० वर्षअघि नै सरकारले गरेको थियो । नेपालजस्तो सानो देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया बुद्धिजीवीकरणको अभियानमा छ । तर, हाम्रो देश सत्तारुढ दलका नेता र मन्त्रीहरूको गैरजिम्मेवारी र अदूरदर्शिताको कारण साक्षर मुलुक पनि हुन सकेको छैन । असार ३२ गतेको ‘अन्नपूर्ण पोस्ट’ दैनिकले ‘सरकारको बेढङ्गी कार्यशैली, आफैँलाई गलपासोे’ शीर्षकको समाचार लेख्यो । सरकारलाई जवाफदेही, पारदर्शी र संविधानसम्मत बनाउन प्रतिपक्षी राजनीतिक दलको मात्र होइन सरकारी काम कारबाहीको सत्तारुढ सांसदहरूले पनि औँला ठड्याउन थालेका छन् । अति भएपछि कपास पनि गह«ौँ या अन्न पनि विष हुने हुँदा गलत कार्य, गलत नीति र गलत अभिव्यक्तिको विरोध गरेर सरकारलाई खबरदारी गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *