भर्खरै :

लघु उद्यमीलाई प्रविधि हस्तान्तरण बजारीकरण परामर्श तथा प्रमाणपत्र वितरण

लघु उद्यमीलाई प्रविधि हस्तान्तरण बजारीकरण परामर्श तथा प्रमाणपत्र वितरण

भक्तपुर, ३२ असार । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को ‘मेडपा’ कार्यक्रमअन्तर्गत लघु उद्यमीहरूका लागि लघुवित्तमा पहुँच, प्रविधि हस्तान्तरण, बजारीकरण परामर्श तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले तालिमलाई सहभागीहरूले दक्ष व्यवसायी बन्ने अवसरको रूपमा उपयोग गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाले यस्ता तालिममार्फत स्थानीय कला तथा हस्तकलाको संरक्षण, उद्यमशीलताको विकास, स्वरोजगार प्रवद्र्धन र आयआर्जन वृद्धि गर्ने उद्देश्य राखेको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “उद्यमीमा आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्ति भए सफलता हासिल गर्न सकिन्छ । आज सिकेको सीपले भोलिको सफल व्यवसायी बन्न सहयोग गर्न सक्छ ।”
कामलाई सम्मान गरे कामले पनि व्यक्तिलाई सम्मान दिलाउने धारणा व्यक्त गर्दै प्रमुख प्रजापतिले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न भक्तपुर नगरपालिकाले युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत रु. ५ लाखसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
भाग्त्न्दा मेहनतमा विश्वास गर्नुपर्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सफलता प्राप्त गर्न निरन्तर परिश्रम र लगनशीलता आवश्यक रहन्छ । आफ्नै सीप, मेहनत र दृढ इच्छाशक्तिका साथ काम गरे सफलता अवश्य प्राप्त गर्न सकिन्छ ।”
उपप्रमुख रजनी जोशीले सीपमूलक तालिमबाट सीप सिकेर आयआर्जन गर्दै आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।
उद्यमीहरूले भक्तपुरको स्थानीय कला, संस्कृति र मौलिक पहिचानसँग जोडिएका वस्तु उत्पादन गर्न सिकेको उल्लेख गर्दै यस्ता उत्पादनले भक्तपुरको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सहभागी उद्यमी शर्मिला हेंगोजूले तालिम उपयोगी र प्रभावकारी भएकोले तालिमबाट नयाँ सीप र ज्ञान हासिल भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीले तालिममा सहभागी उद्यमी र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
थाङ्का, चित्रकला, काष्ठकला, ब्याग, जुत्ता, मुकुन्डो तथा माटाका भाँडाकुँडा निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । सहभागीहरूलाई दक्ष प्रशिक्षकमार्फत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *