युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
हरेक दुई–तीन वर्षमा आन्दोलनका नाममा ऐतिहासिक धरोहरहरू जलाउने, सरकार ढाल्ने, प्रशासनिक संरचना भत्काउने र विकासका आधारस्तम्भ मानिने जलविद्युत् एवं सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने प्रवृत्तिले देशलाई कङ्गाल बनाउँदै छ । यस्तो अराजक वातावरणमा कुनै पनि विदेशी लगानीकर्ताले केवल नेताको आकर्षक अनुहार वा ‘ह्यान्डसम’ छवि हेरेर लगानी गर्दैनन् । लगानी र रोजगारीका लागि नीतिगत स्थिरता र सुरक्षा अनिवार्य सर्त हो, जुन कुरालाई हाम्रो देशको नेतृत्व वर्गले पूर्णतः उपेक्षा गरेको छ ।
राजनीतिक रोजाइ र नागरिकको बौद्धिक स्तरबिचको सम्बन्धबारे विदेशमा गरिएका अध्ययनहरूले निकै रोचक तथ्यहरू उजागर गरेका छन् । सन् २०२३ मा बेलायतको युनिभर्सिटी अफ बाथ र २०२४ मा अमेरिकाको युनिभर्सिटी अफ मिनिसोटाले गरेका अनुसन्धानहरूले देखाएका छन् कि तुलनात्मकरूपमा कम बौद्धिक स्तर (Low IQ) भएका मानिसहरू जटिल समस्याको अति नै सरल र भावनात्मक समाधान दिने नेताहरूप्रति चाँडो आकर्षित हुन्छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्पको ‘Make America Great Again’ होस् वा बेलायतमा सबै समस्याको जड आप्रवासीलाई मात्र देखाउने नारा – यी सबैले मानिसको भावनासँग खेल्ने काम गरे । अनुसन्धानका अनुसार, जसको बौद्धिक स्तर कम हुन्छ, उनीहरू ‘प्रक्रिया’ (Procedure) बुझ्न चाहँदैनन्† उनीहरूलाई त केवल ‘आजको भोलि नै चमत्कार हुन्छ’ भन्ने सस्तो आश्वासन मन पर्छ । त्यस्ता नारा दिने नेतालाई भगवान् मान्ने र अन्धभक्त भएर आँखा चिम्ली ताली बजाउने प्रवृत्तिले नै लोकतन्त्रलाई कमजोर बनाइरहेको छ ।
नेपालमा पनि जनतालाई झुक्याउन अवास्तविक नाराको बाढी नै बगाइयो । ‘आजको भोलि नै सप्तकोसीदेखि कलकत्तासम्म पानीजहाज चलाइदिन्छु’, ‘चीनबाट रेल ल्याइदिन्छु’, ‘देशलाई सिङ्गापुर बनाइदिन्छु’, ‘घर–घरमा ग्यासको पाइप’ जस्ता सस्ता नाराहरूमा भुलेर हामीले मतदान ग¥यौँ । कतिपय नेताहरूले त विदेशमा बसेका क्षमतावान् नेपालीहरूलाई यहाँ ल्याएर विदेशकै जस्तो सुविधा दिने र उल्टै विदेशीलाई समेत नेपालमा जागिर लगाउनेजस्ता अवास्तविक गफ दिएर अस्ट्रेलिया, युरोप र अमेरिकाका गल्लीहरूमा पोस्टर टाँस्ने काम गरे । तर, वास्तविकता ती सस्तो लोकप्रियता खोज्ने प्रवृत्तिले गर्दा न त रेल आयो, न त पानीजहाज । बरु हाम्रो ‘आईक्यू’ को खिल्ली उडाउने काम मात्र भयो ।
अहिलेका कतिपय नयाँ र आफूलाई ‘बौद्धिक’ भन्न रुचाउने नेताहरू ChatGPT बाट लेखिएका कृत्रिम घोषणापत्र र करारपत्र बोकेर हिँड्छन्, जुन उनीहरू आफैँलाई याद हुँदैन । मञ्चमा उभिएर सचेत नागरिकले एजेन्डा सोध्दा “अहिले भन्यो भने अरूले कपी गर्छन्, कानमा खुसुक्क भन्छु” भन्ने वा “एजेन्डा र भिजन मनमै छ, बोलेर होइन गरेर देखाउँछु” भन्दै प्रश्नबाट भाग्ने नेतृत्वको बिगबिगी छ ।
यो खतरनाक कुरा हो । यदि कसैको मनभित्र भएको त्यो ‘गोप्य भिजन’ भोलि देश नै बेच्ने खालको रहेछ भने के गर्ने ? जनतालाई आफ्नो एजेन्डा र विचार प्रस्ट रूपमा बताउन नसक्नु भनेको कि त नेतृत्वसँग क्षमता नहुनु हो, कि त नियतमा खोट हुनु हो । आज एउटा बोल्ने र भोलि स्वार्थ मिलेपछि बोली फेर्ने प्रवृत्तिले गर्दा राजनीतिमा सिद्धान्त र विचार हराउँदै गएको छ ।
नेताको भाषण सुस्पष्ट, बौद्धिक र उद्देश्यपूर्ण हुनुपर्छ । जटिल समस्यालाई सरल तर व्यावहारिक भाषामा प्रस्तुत गर्ने क्षमता नै असल नेतृत्वको गुण हो । सचेत नागरिकले नेताको ‘एजेन्डा’ बुझ्छन् र अन्ध समर्थन गर्दैनन् । जसले जस्तो नारा दियो त्यसकै पछाडि कुद्ने अन्धभक्त बन्ने कि हरेक कुराको विश्लेषण गर्ने तर्कशील नागरिक बन्ने ? यो आजको मुख्य प्रश्न हो ।
स्पष्ट विचार, नीति र सिद्धान्तबिना कुनै पनि पार्टी बलियो जगमा उभिन सक्दैन । विचार र नीति नहुँदा पार्टी र देशमा गम्भीर प्रभाव पर्छ । स्पष्ट विचारबिनाको पार्टी अल्पकालीन रूपमा त चल्न सक्छ तर दीर्घकालीन रूपमा त्यो पार्टी ‘भिड’ मात्र बन्न पुग्छ । नीति नभएको पार्टी कुहिरोमा हराएको कागजस्तै दिशाहीन हुन्छ र सत्ता पाउनका लागि जोसँग पनि मिल्ने प्रवृत्ति हाबी हुन्छ ।
जब पार्टीभित्र वैचारिक एकता हुँदैन, त्यहाँ स्वार्थका समूहहरू जन्मन्छन् । ‘नयाँ शक्ति’ भनिएकाहरूमा पनि वैचारिक स्पष्टता छैन । साझा नीति नभएपछि कार्यकर्ताहरू उग्र हुने र छवि बिगार्ने काम गर्छन् ।
यदि पार्टीसँग वैचारिक धरातल छैन भने, बाह्य वा आन्तरिक दबाबमा परेर देशघाती निर्णय लिने सम्भावना बढी हुन्छ । ‘भिजन मनमै छ’ भन्दै एजेन्डा लुकाउने नेताहरूले भोलि राष्ट्रिय हितविपरीतका सम्झौता (जस्तैः प्राकृतिक स्रोतको असमान वा रणनीतिक सन्धिहरू) गर्न सक्छन् । यस्ता निर्णयले सार्वभौमसत्तामा आँच पु¥याउँछ र देशले अपूरणीय क्षति भोग्नुपर्ने हुन्छ ।
यसकारण, नेपाल मजदुर किसान पार्टीजस्ता पार्टीहरू सधैँ सिद्धान्त र एजेन्डामा जोड दिन्छन् । माक्र्स र लेनिनको दर्शनलाई आत्मसात् गर्दै यो पार्टीले “सिद्धान्त स्पष्ट नभएको आन्दोलन अन्धो हुन्छ” भन्ने मान्यतालाई जोड दिइरहेको छ । विचार प्रस्ट भयो भने कार्यकर्ताहरू ‘अन्धभक्त’ होइन, ‘सचेत सिपाही’ बन्छन् । देशघाती निर्णय लिन नेतृत्व डराउँछ किनकि उसलाई सिद्धान्तले बाँधेको हुन्छ ।
‘काम गरेर देखाउँछु’ भन्नु मात्र पर्याप्त छैन । काम गर्नुअघि त्यो काम गर्ने नियत, नीति र नक्सा
(एजेन्डा) स्पष्ट हुनुपर्छ । यदि नक्सा नै गलत छ भने जतिसुकै छिटो हिँडे पनि पुगिने ठाउँ खाल्डो नै हो । त्यसैले अन्ध समर्थक होइन, विश्लेषण गर्ने नागरिक बनौँ । बौद्धिक सोच र लोकतान्त्रिक चेतना प्रवद्र्धन गर्ने मार्ग नै नेपालको स्थिरता र वास्तविक समृद्धिको आधार हो ।
Leave a Reply