भर्खरै :

अन्त्य हुनुपर्छ क्युवामाथिको आर्थिक हिंसा

  • चैत्र १३, २०८२
  • मार्क वेइसब्रोट
  • विचार
अन्त्य हुनुपर्छ क्युवामाथिको आर्थिक हिंसा

भियतनाम युद्धमा अमेरिकी सैन्य वृद्धिको समयमा मार्टिन लुथर किङ जुनियरले भनेका थिए, अमेरिकी सरकार ‘संसारमा हिंसाको सबैभन्दा ठुलो प्रवर्तक’ हो । त्यसपछिका वर्षमा अमेरिकी सरकारले आफ्नो उद्देश्य प्राप्त गर्न घातक हिंसा बढाउने नयाँ विधिको द्रुत विकास गरेको छ, व्यापक, एकपक्षीय आर्थिक प्रतिबन्ध । ल्यान्सेट ग्लोबल हेल्थ मेडिकल जर्नलद्वारा प्रकाशित एक अध्ययन (मैले अर्थशास्त्री फ्रान्सिस्को रोड्रिगेज र सिल्भियो रेन्डोनसँग सहलेखन गरेको थिएँ) मा अनुमान गरिएको छ, एकपक्षीय प्रतिबन्धले वार्षिक लगभग पाँच लाख ६४ हजारको ज्यान लिन्छ । यो सशस्त्र द्वन्द्वबाट हुने विश्वव्यापी वार्षिक मृत्युसँग तुलना गर्न सकिन्छ । अहिले हामी वास्तविक समयमा देख्न सक्छौँ कि यस्ता मृत्यु कसरी हुन्छन् ? ‘अमेरिकी तेल नाकाबन्दीअन्तर्गत क्युवामा जीवन रोकिएको छ,’ केही दिनअघि वाल स्ट्रिट जर्नलको शीर्षक थियो । केही समयअघि भेनेजुयलाको तेल उत्पादनमा नियन्त्रण गरेपछि अमेरिकाले क्युवाको सबैभन्दा ठुलो आपूर्तिकर्ता भेनेजुयलाबाट तेल नाकाबन्दी ग¥यो । लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गरे, जसमा क्युवामा तेल वा पेट्रोलियम उत्पादन निर्यात गर्ने विश्वको कुनै पनि देशमा कर लगाउने धम्की थियो । यस महिना क्युवाको तेल आयात लगभग शून्यमा झरेको छ ।
तेल आयातमा आएको गिरावटले तत्काल जीवन जोखिममा पार्ने देखिन्छ । क्युवाको ८० प्रतिशतभन्दा बढी बिजुली तेलबाट उत्पादन हुन्छ । क्षमता घट्दै जाँदा ब्ल्याकआउट पहिले नै बढेको छ । अस्पताल, स्वास्थ्य सेवा र औषधिको उपलब्धता अवरुद्ध भएको छ । संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्तले पिउने पानी र सरसफाइसहित पानीको आपूर्तिको क्षतिबाट ‘क्युवाका जनताको मानव अधिकारमा गम्भीर प्रभाव’ पर्ने चेतावनी दिएका छन् । इन्धन अभावका कारण सहायता ढुवानीको वितरण पनि अवरुद्ध भएको छ– जसबाट खाद्यान्नको व्यापक अभाव र मूल्यवृद्धि भएको छ । ट्रम्पको कार्यकारी आदेश, सबै एकपक्षीय अमेरिकी प्रतिबन्धजस्तै अन्तर्राष्ट्रिय सन्धिअन्तर्गत अवैध छ । यसले अमेरिकी कानुनको पनि प्रत्यक्ष उल्लङ्घन गर्छ, किनकि क्युवाली सरकारले अमेरिकी नागरिकका लागि कुनै ‘राष्ट्रिय आपत्काल’ सिर्जना गरेको छैन वा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि कुनै ‘असामान्य र असाधारण खतरा’ पनि सिर्जना गरेको छैन ।
वासिङटनले ६७ वर्षमा देशको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि क्युवालाई दोष दिन खोजिरहेको बेला हालका प्रतिबन्ध निर्मम देखिन्छन् । जनवरी २०२१ मा ट्रम्प प्रशासनले क्युवालाई आतङ्कवाद प्रायोजन गर्ने राज्यका रूपमा पुनः सूचिकृत गर्ने निर्णय ग¥यो । सन् १९८२ देखि २०१५ सम्म क्युवालाई यस्तै सूचिकृत गरिएको थियो । राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा क्युवालाई उक्त सूचीबाट हटाए । उसलाई सूचिकृत गर्ने कहिल्यै कुनै तथ्यात्मक आधार थिएन । तर, यसले क्युवाको पर्यटन उद्योगमा गहिरो नकारात्मक प्रभाव पा¥यो, किनभने यसले
युरोपेली र केही अन्य देशका नागरिकलाई क्युवा भ्रमणमा जान जटिल बनायो । क्युवा भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या २०१९ को तुलनामा अनुमानित ६८ प्रतिशतले घटेको छ । यसले क्युवाको विदेशी विनिमय आम्दानीबाट अर्बौँ डलर गुमेको छ ।
ट्रम्प प्रशासनले ‘आतङ्कवाद प्रायोजन गर्ने राज्य’ को बिल्ला भिराएका कारण क्युवा बैङ्क तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीसँग अन्तरक्रिया गर्नबाट वञ्चित भयो । यसले क्युवाली अर्थतन्त्रलाई उल्लेखनीयरूपमा कमजोर र अस्थिर बनायो । यी विभिन्न प्रतिबन्ध लामो समयसम्म कायम रहे भने त्यसको परिणाम थाहा पाउन भेनेजुयलालाई हेरे पुग्छ । भेनेजुयला अमेरिकाको दोस्रो (क्युवापछि) निसाना थियो । अमेरिकी प्रतिबन्धले भेनेजुयलामा इतिहासकै गम्भीर मन्दी ल्यायो । सन् २०१२ देखि २०२० सम्मका वास्तविक जीडीपीमा ७३ प्रतिशत घाटा हुनु अमेरिकी महामन्दीको आकारभन्दा तीन गुणा बढी हो ।
राजनीतिक परिवर्तनलाई जबरजस्ती थोपर्न नागरिकमाथि आर्थिक हिंसा लादिन्छ । क्याबिनेटस्तरका अमेरिकी अधिकारीले वर्षौँदेखि वा क्युवाको हकमा दशकौँदेखि यो कुरा ठुलो स्वरमा भन्दै आएका छन् । ट्रम्प अघिल्ला नेताभन्दा केवल यस हिसाबले फरक छन् कि उनी बहाना गर्दैनन् । बरु, तत्कालै एक्सन लिन्छन् । पछिल्लो एक्सन इरान युद्ध हो । यसैबिच धेरै सरकारले क्युवालाई मानवीय सहायता प्रदान गरिरहेका छन् । यसमा मेक्सिको, भियतनाम, चीन, भेनेजुयला, स्पेन, रुस, युरोपेली सङ्घ र चिली समावेश छन् । लगभग सबै विश्वले यहाँ सही र गलतबिचको भिन्नता देख्न सक्छन्, संयुक्त राष्ट्र महासभाले क्युवामाथिको प्रतिबन्ध अन्त्य गर्न लगातार ३३ वर्ष मतदान ग¥यो । सन् २०२४ मा १८७ का विरुद्ध दुई मत खस्यो (अमेरिका र इजरायलले विरोधमा मतदान गरे) र एक राष्ट्र मतदानमा सहभागी भएन । यद्यपि, ट्रम्पको तेल नाकाबन्दीको घातक प्रभावबाट क्युवालीलाई बचाउन मानवीय सहायता पर्याप्त छैन ।
(वेइसब्रोट अमेरिकाको सेन्टर फर इकोनोमिक एन्ड फोलिसी रिसर्चका सहनिर्देशक हुन् ।)
– ‘न्युजविक’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *