भर्खरै :

सिद्धि गणेश सहकारीमा ज्येष्ठ नागरिकहरू सम्मानित

सिद्धि गणेश सहकारीमा ज्येष्ठ नागरिकहरू सम्मानित

भक्तपुर, १४ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ज्येष्ठ सदस्य सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले संस्थामा आबद्ध १०० जना ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भाषा राम्ररी नजान्नाले विभिन्न समस्या भोग्नुपर्ने, भाषाको समस्याका कारण विभिन्न अवसरहरू पनि गुम्ने हुनाले सहकारी संस्थाबाट भाषा कक्षाहरू सञ्चालन हुनुपर्ने सुझाव दिनुभयो ।
विभिन्न प्रलोभन देखाई ज्येष्ठ नागरिकहरूलाई सही गराउँदा घर–खेत नै गुमेको घटना सुनाउँदै अध्यक्ष बिजुक्छेँले कुनै पनि कागजातमा सही गर्नुपूर्व घर–परिवार र छरछिमेकीहरूसँग सल्लाह लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अरूको सेवा गरेमात्र आफूले पनि सेवा पाउने सम्भावना हुन्छ । भक्तपुर नगरपालिकाले स्वास्थ्य, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सेवा गरे तापनि स्थानीय जनताले ती सुविधाहरूको सही मूल्याङ्कन गर्न सकेनन् ।”
सहकारी संस्थाहरूबाट सदस्यहरूलाई भ्रमण लैजानुभन्दा पहिला भ्रमणस्थलको बारेमा विस्तृत जानकारी गराएमा सो स्थलको स्मरण पछिसम्म रहने उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “आजकल संयुक्त परिवारमा बस्ने चलन कम हुँदै छ । प्रायः परिवारहरूमा बच्चा हेर्न समय नै नभएको, स्कूल पठाउन र लिन जान समय व्यवस्थापन गर्न कठिन भएकोले इच्छा भएर पनि सन्तान जन्माउन नचाहने प्रवृत्ति बढिरहेको छ, जुन परिवारको मात्र नभई समाज र देशकै समस्या बन्दै गएको छ । यस्ता समस्या समाधानबारे सहकारी संस्थाहरूले छलफल गर्नु जरूरी देख्छु ।”
ज्येष्ठ नागरिकहरू पैसाले भन्दा पनि आफन्तजन र छिमेकीहरूको भेटघाटबाट खुसी हुने भएकोले यसतर्फ सबैले मनन गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाबाट प्रदान गरिरहेको घरदैलो नर्सिङ सुविधालगायत ख्वप अस्पतालको सेवाबारे सुझावहरू दिन अनुरोध गर्नुभयो ।
आजकल आमाबुबा दुबै रोजगारीका कारण व्यस्त रहने हुँदा नयाँ पुस्तालाई मातृभाषा र असल व्यवहारबारे ज्येष्ठ सदस्यहरूले सिकाउनु जरूरी भएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष कवांले वडाका गतिविधिबारे चर्चा गर्दै यही चैत १७ र १८ गते ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण हुने जानकारी दिनुभयो ।
डा. रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरूलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरूबारे जानकारी दिँदै निरोगी बन्नका लागि उचित खानपानसँगै शारीरिक व्यायाम पनि त्यति नै जरूरी छ भन्नुभयो ।
उहाँले संस्थाबाट सञ्चालित सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट नियमित जनरल, दन्त, फिजियोथेरापी एवं मुटुरोगसम्बन्धी स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रूद्रनारायण लाखाले ३१ जना युवाहरूको ३१०० रुपैयाँ सुरू भएको संस्थामा हाल २२ हजार शेयर सदस्य रहेको जानकारी दिनुभयो ।
उहाँले संस्था आर्थिक क्रियाकलापमा मात्र सीमित नभई विभिन्न सामाजिक गतिविधि गर्नुका साथै संसथाले विभिन्न सीपमूलक तालिमहरू पनि सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थाबाट उद्यमशीलतालाई प्राथमिकता दिई सुरक्षित ऋण लगानी गर्दै आएको हुँदा संस्था सुरक्षित रहेको अध्यक्ष लाखाले बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष उपाध्यक्ष विष्णुराम दुमरू, सचिव विष्णुप्रसाद दुमरू, संस्थाका कोषाध्यक्ष जयराम गोर्खाली र व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।
सो कार्यक्रममा ज्येष्ठ सदस्यहरूको निःशुल्क मुटुरोगको उपचारलगायत जनरल स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *