नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
वासिङ्टन, २१ चैत (एजेन्सी) । रोयटर्स र इप्सोस समूहबाट अप्रिल ३ तारिख संयुक्त जारी भएको सर्वेक्षणअनुसार, अमेरिकी जनताले वर्तमान अमेरिका– इजरायलले इरानमाथि गरेको सैनिक आक्रमणप्रति समग्र रूपमा नकारात्मक दृष्टिकोण राखेका छन् । द्वन्द्वले अर्थतन्त्र, सुरक्षा र मध्यपूर्वको अवस्थालाई पार्ने असरबारे उनीहरूले चिन्ता पनि गरेका छन् ।
मार्च २७ तारिखदेखि २९ सम्म गरिएको उक्त राष्ट्रिय सर्वेक्षणमा १०२१ जना अमेरिकी वयस्कहरू सहभागी थिए । परिणामअनुसार, ५६ प्रतिशत साक्षात्कारकर्ताले द्वन्द्वबाट व्यक्तिगत वित्तीय अवस्थामाथि नकारात्मक असर पर्ने विश्वास गर्छन् । त्यसैगरी, ८६ प्रतिशत साक्षात्कारकर्ताहरूलाई अमेरिकी सैनिकको सुरक्षाबारे चिन्ता लागेको छ । जनताले मध्यपूर्वको परिस्थितिबारे नकारात्मक मूल्याङ्कन लिनुका साथै ५२ प्रतिशत साक्षात्कारकर्ता क्षेत्रीय स्थिरता बिग्रने अनुमान गरेका छन् ।
त्यसबाहेक ७५ प्रतिशत बढी अमेरिकीहरूले इरानमा स्थल सेना पठाउने कुराको विरोध गरेका छन् ।
पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ ।
प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् ।
गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठुलो क्षति पु¥याउन सक्षम रहेको बताइएको छ ।
यसैगरी, इरानसँग ठुलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज मिसाइलहरूको उल्लेखनीय हिस्सा अझै बाँकी रहेको जनाइएको छ । यी क्षमता होर्मुज जलडमरूमध्य नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छन् ।
इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छुट्टै नौसैनिक बलले अझै करिब आधा क्षमता जोगाइराखेको बताइएको छ । यसअन्तर्गत सयौँदेखि हजारौँसम्म साना डुङ्गा तथा मानवविहीन जलयानहरू बाँकी रहेका छन् ।
गुप्तचर मूल्याङ्कनले इरानले भूमिगत संरचनाहरू प्रयोग गरेर आफ्ना मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित राख्न सफल भएको देखाएको छ । इरानले लामो समयदेखि सुरुङ र गुफाहरूको सञ्जालमा यस्ता संरचना लुकाउँदै आएको छ, जसले तिनीहरूलाई लक्ष्य बनाउन कठिन बनाएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका स्रोतहरूले उक्त समयसीमा यथार्थपरक नभएको बताएको छ ।
हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरू तथा अमेरिकी सेनाले इरानबाट हुने नियमित मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।
Leave a Reply