राजनीतिक पार्टीहरूको आर्थिक र विदेश मामिला मौलिक हुनु आवश्यक
- चैत्र २९, २०८२
“समाजवादको विकल्प छैन, दुई–चार वर्षमा कोही परिपक्व नेता बन्न सक्दैनन्” : अध्यक्ष बिजुक्छेँ
भक्तपुर, २१ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा पार्टीको आठौँ महाधिवेशनपछिको पार्टी केन्द्रीय समितिको तेस्रो बैठक शनिबार भक्तपुरमा बस्यो ।
बैठकमा अध्यक्ष बिजुक्छेँले सडक वा निर्वाचित संस्था जहाँ भए पनि नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दैै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकर्ताहरू निर्वाचनमा मात्र जनताको बिचमा पुगेर सङ्गठनको विकास र मत प्राप्त नहुनेतर्फ सचेत हुनु आवश्यक छ† कार्यकर्ताहरू आफ्नै मिहेनतमा सङ्गठन विस्तारमा लाग्नु जरुरी छ ।”
समाजवादको विकल्प नभएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले योग्यताअनुसार काम र कामअनुसार पारिश्रमिकको व्यवस्था नै समाजवाद भएको बताउनुभयो ।
संरा अमेरिका र भारतीय सरकारको संलग्नताविना नेपालमा भदौ २३ र २४ गतेको जस्तो उपद्रव हुन नसक्ने नेमकिपाले सुरुमै स्पष्ट पारेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कार्यकर्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अध्ययन र अन्तरक्रिया चालु राख्नु जरुरी छ । जनतासँग कार्यकर्ताहरूको व्यवहार विनम्र र भद्र हुनु आवश्यक छ ।”
संरा अमेरिकी ट्रम्प प्रशासन कूटनीतिक नभएको र चीनले आफ्नो अडान संयुक्त राष्ट्र सङ्घमा कूटनीतिक शैलीमा राख्दै आएको बताउँदै अध्यक्ष बिजुक्छेँले पुँजीवादी विचलनबाट जोगिनुपर्ने र जनतासँगै सिक्ने र जनताकै सङ्गठन गर्नेतर्फ लाग्न जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो, “संसद् सदस्यको काम आफ्नो निर्वाचन क्षेत्रको सानोतिनो विकासको कुरा गर्ने होइन, देशको लागि आवश्यक नीति र कानुन बनाउने हो । यो विषय नेपालका बुद्धिजीवीहरूले पनि बुझ्न सकेनन्† पार्टीका कार्यकर्ताहरूले बुझ्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “कसैले समाजवाद बेठीक भन्दैमा समाजवादबारे बुझेकाहरूले स्वीकार गर्दैनन् । जनता सचेत भएपछिमात्र समाजवादबारे बुझ्छन् । जनतालाई सचेत बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनताबिच नियमित कक्षा सञ्चालन हुनु आवश्यक छ ।”
कम्युनिस्टहरूले कामदार वर्गको हित हेर्ने हुँदा शोषकहरूले कम्युनिस्टहरूलाई मन नपराने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरूले जनतालाई हृदयदेखि नै पुँजीवादी विचारप्रति घृणा पैदा हुने शिक्षा दिएर सचेत पार्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको सेवा गर्छौँ भन्नेहरूले जानाजान गल्ती गर्नु जनताप्रति बेइमान गर्नु हो । कार्यकर्ताहरू राजनीतिक रूपले परिपक्व हुन जनताको बिचमा पुगेर अध्ययन र अनुभवसहित सिक्नु आवश्यक छ ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “निर्वाचनमा प्रतिक्रियावादीहरूले भित्री र बाहिरी रूपमा जालझेल गरेर जनताका उम्मेदवारलाई हराउँछन् । यसकारण कार्यकर्ताहरूको जीउभरी आँखा हुनु आवश्यक छ ।”
दुई–चार वर्ष फूटबल खेल्दैमा कोही पनि पोख्त खेलाडी नहुने उल्लेख गर्दै उहाँले राजनीतिमा पनि पनि २÷४ वर्षमै कोही परिपक्व नेता नबने स्पष्ट पार्नुभयो ।
बैठकमा पार्टी सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा केन्द्रीय सदस्यहरुको प्रतिवेदन प्रस्तुति चालू रह्यो ।
बैठक आइतबारसम्मको लागि स्थगित भएको छ ।
Leave a Reply