भर्खरै :

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवादः ‘इतिहास, समाज र संस्कृति’ माथि बहस

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवादः ‘इतिहास, समाज र संस्कृति’ माथि बहस

भक्तपुर, २१ चैत । मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
बुक क्लब, भक्तपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा इतिहासको स्वरूप, ज्ञान उत्पादन, संस्कृति, पहिचान र विकासका प्रश्नहरूलाई लिएर बौद्धिक बहस गरिएको थियो ।
कार्यक्रममा डा. सुरेश ढकालले ‘मान्छे’ लाई बुझ्न केवल जैविक आधार पर्याप्त नहुने उल्लेख गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भलाई सँगै विश्लेषण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले इतिहासलाई विगतको स्थिर अभिलेखको रूपमा नभई वर्तमान समाज बुझ्ने सशक्त उपकरणका रूपमा व्याख्या गर्नुभयो । “इतिहास कसले लेख्छ र कसको कथा छुट्छ भन्ने प्रश्न सधैं शक्ति र राजनीतिसँग गाँसिएको हुन्छ”, उहाँले भन्नुभयो ।
नेपालको इतिहास लेखनबारे चर्चा गर्दै उहाँले विशेषगरी सीमान्तकृत समुदायका अनुभव र आवाज मुख्यधारको इतिहासमा समेटिन नसकेको बताउनुभयो ।
कार्यक्रममा उहाँको कृति ‘इतिहास अघिको इतिहास’ को सन्दर्भमा विस्तृत छलफल गरिएको थियो । उक्त कृतिको वैचारिक पृष्ठभूमिबारे प्रकाश पार्दै उहाँले इतिहासलाई पुनर्विचार गर्ने, स्थापित मान्यतामाथि प्रश्न उठाउने प्रयास भएको बताउनुभयो । स्रोत सामग्रीमा अङ्ग्रेजी सामग्रीको बाहुल्य देखिनु नेपाली ज्ञान उत्पादन संरचनाको कमजोरीसँग जोडिएको उल्लेख गर्दै उहाँले राज्यले अनुसन्धान तथा प्रकाशनका लागि आवश्यक वातावरण र लगानी अझै पर्याप्त रूपमा गर्न नसकेको धारणा राख्नुभयो ।
उहाँले नेपालको शिक्षा प्रणालीबारे चिन्ता व्यक्त गर्दै शिक्षा सुधार र अनुसन्धान प्रवद्र्धनका लागि राज्यले अपेक्षित ध्यान दिन नसकेको दुखेसो पोख्नुभयो । प्रागऐतिहासिक अध्ययन–अनुसन्धान अत्यन्त खर्चिलो, जटिल र समयसाध्य हुने भएकाले यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक पर्ने उहाँको भनाइ थियो ।
संस्कृति र आधुनिकताबिचको सम्बन्धबारे बोल्दै उहाँले परम्परा स्थिर नभई निरन्तर रूपान्तरण हुने प्रक्रिया भएको स्पष्ट पार्नुभयो ।
उहाँले यस क्षेत्रलाई ‘जीवित सांस्कृतिक सङ्ग्रहालय’ का रूपमा व्याख्या गर्नुभयो । सहरीकरण र आधुनिकीकरणका प्रभावका बाबजुद पनि यहाँको सांस्कृतिक निरन्तरता उल्लेखनीय रहेको उहाँको भनाइ थियो ।
हरिसुन्दर छुकांले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्नुभयो । कार्यक्रममा सुरेश बखुन्छेले लेखकको परिचय प्रस्तुत गर्नुभयो भने दिनेश प्रधानले लेखकलाई मायाको चिनो प्रदान गर्नुभयो ।
अन्तरसंवादमा सरोजराज गोसाईँ, पत्रकार कृष्ण प्रजापति, संस्कृति तथा पुरातत्व अध्येता सृजना प्रजापति, शिक्षक केपी छुस्याकी, कृष्णप्रसाद सुवाल, विद्यार्थी राधिका बेकोजु, सुरेश परियारलगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
अन्तरसंवादले ज्ञान आदानप्रदानका साथै समसामयिक मुद्दामाथि गहिरो बौद्धिक बहसको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ ।
तीन दशकभन्दा बढी समयदेखि मानवशास्त्रको अध्ययन, अनुसन्धान र अध्यापनमा सक्रिय डा. सुरेश ढकाल हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानवशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ । उहाँले ‘पोलिटिकल एन्थ्रोपोलोजी’ मा विद्यावारिधि र नर्वेको University of Bergen बाट एथ्नोआर्कियोलोजीमा एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट ‘इकोलोजी एन्ड सब्सिस्टेन्स’ र ‘डेभलपमेन्ट एन्थ्रोपोलोजी’ मा स्नातकोत्तर गर्नुभयो ।
उहाँले सन् २०१० मा Cornell University मा वेनर–ग्रेन आईडीजी फेलो र सन् २०१६ मा Kyoto University मा भिजिटिङ रिसर्च फेलोका रूपमा पनि कार्य गरिसक्नुभएको छ ।
उहाँका Land and Agrarian Questions (२०१४), Peasant Studies in Nepal (२०२०) र Rural Unrest in Nepal (२०२१) जस्ता कृतिहरू प्रकाशित छन् । प्राज्ञिक क्षेत्रका अतिरिक्त उहाँ सीमान्तकृत समुदायका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा पनि सक्रिय हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *