भर्खरै :

जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने

जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने

भक्तपुर, २१ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. ९ स्थित तुमचो दुगुरे चोखा एकाइ समितिको आयोजनामा शुक्रबार स्थानीय जनताको भेला गरी बिस्का जात्राको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रतिनिधिसभा निर्वाचनमा मादल चिह्नमा मतदान गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले नेमकिपा कामदार जनताकै माझमा जन्मे हुर्केको चर्चा गर्दै जनताको समस्या समाधान गर्न तथा देशको सार्वभौमसत्ता रक्षाको आन्दोलनमा निरन्तर लागिरहने प्रस्ट पार्नुभयो ।
पार्टीबाट निर्वाचित भई भक्तपुर नगरपालिकामार्फत जनताको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उठाउन विभिन्न गतिविधिहरू गरिरहेको चर्चा गर्दै वडाध्यक्ष ज्याख्वले खानेपानीको समस्या समाधानमा क्रियाशील भइरहेको उल्लेख गर्नुभयो ।
पार्टी तुमचो दुगुरे एकाइ समितिका बीआर प्रजापतिले नयाँ पुस्तालाई समाजप्रति उत्तरदायी बनाउन तथा देशभक्त नयाँ पुस्ता तयार गर्न घरपरिवार, विद्यालय, कलेज, साथी सङ्गतिबाट नै असल संस्कार सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका छोरीमैया सुजखुले नगरपालिकाले स्थानीय जनताको भावनाबमोजिम समय समयमा स्वास्थ्य उपचारसम्बन्धी शिविरहरू सञ्चालन भइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा महिला सङ्घका चन्द्रलक्ष्मी दुवाल र मनिता किजुले पनि बिस्का जात्राको सांस्कृतिक महत्वबारे चर्चा गर्दै विकृति र अपराधबाट टाढा रहन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *