भर्खरै :

माक्र्स- केही चर्चा

-सुरेश परियार
अर्थशास्त्रमा रुचि हुनेहरू कार्ल माक्र्सलाई अब्बल अर्थशास्त्री भन्लान् । दर्शनमा चाख हुनेहरू दार्शनिक । साहित्यका रसिकहरू उहाँलाई मार्गदर्शक ठान्लान् । पत्रकारहरू तीव्र आलोचनात्मक चेत भएको पत्रकार मान्लान् । पत्रकार, दार्शनिक, अर्थशास्त्री वा एक समाज वैज्ञानिक कार्ल माक्र्सको दोस्रो व्यक्तित्व हो । प्रथमतः माक्र्स एक क्रान्तिकारी हुनुहुन्थ्यो । कुनै व्यक्ति क्रान्तिकारी नभएता पनि पत्रकार, दार्शनिक, अर्थशास्त्री वा समाज वैज्ञानिक बन्नसक्छ । त्यसैले माक्र्सको अन्त्येष्टिमा एंगेल्सले उहाँको जीवन–सार खिच्दै भन्नुभएको थियो, “माक्र्स सबभन्दा पहिले एक क्रान्तिकारी हुनुहुन्थ्यो । माक्र्सको खास उद्देश्य पूँजीवादी समाज र यसले खडा गरेका राज्ययन्त्रहरू उखेल्नलाई कुनै न कुनै रुपमा योगदान गर्नु थियो । आधुनिक सर्वहारा वर्गको मुक्तिका लागि योगदान गर्नु माक्र्सको उद्देश्य थियो । उहाँ नै आधुनिक सर्वहारा वर्गको अवस्था, आवश्यकता र मुक्तिका सर्तहरूबारे सचेत पार्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । लड्नु उहाँको आधार थियो । उहाँले जति उत्साह, लगन र सफलतासाथ लड्नुभयो त्यसलाई कमैले टक्कर दिनसक्लान् ।”
माक्र्सले आफ्नो प्रसिद्ध कृति लुई बोनापार्टको अठारौँ ब्रुमेयरमा लेख्नुभएको छ । मानिसले आफ्नो इतिहास आफै बनाउँछन्, तर आफूले चाहेजस्तो होइन । उनीहरूले आफूले रोजेको परिस्थितिमा नभई विगतले सुम्पेको पहिल्यैदेखि विद्यमान परिस्थितिमा इतिहास बनाउँछन् । मरेका सबै पुस्ताको संस्कार एक दुःस्वप्नजस्तै बाँचेकाहरूको दिमागमा थुप्रिन्छ । माक्र्स आफैमा आफ्नो समयको बौद्धिक उपलब्धिको साँचो सन्तान हुनुहुन्थ्यो । लेनिनले माक्र्सलाई उन्नाइसौँ शताब्दीका तीनवटा सैद्धान्तिक धारलाई निष्कर्षमा पु¥याउने प्रतिभा भनी चित्रण गर्नुभएको छ । विश्वमै अघि बढेको युरोपेली सभ्यातामा हुर्केका ती सैद्धान्तिक धार थिए ः जर्मन दर्शन, बेलायती राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद ।
त्यसो त सामाजिक जीवनमा जर्मनीलाई त्यसबेला बेलायत र फ्रान्सभन्दा पिछडिएको मानिन्थ्यो । तर दर्शनको क्षेत्रमा जर्मनीमा कान्ट, सोपेनहावर, हेगेल र फायरबाखजस्ता प्रतिभाशाली दार्शनिकहरू देखापरे । त्यसमा पनि हेगेलले जीवन र जगतलाई गतिमा हेर्ने पद्धतिको रुपमा द्वन्द्ववादका नियमहरू प्रतिपादन गरे । तर उनले आफ्नो वैज्ञानिक पद्धतिलाई तत्कालीन राजतन्त्रको चाकडीमा लगाए । माक्र्स विद्यार्थीकालमा उहाँबाट प्रभावित हुनुहुन्थ्यो । पछि उहाँले फायरबाखको भौतिकवादी दर्शनको पनि गहिरो अध्ययन गर्नुभयो । तर उनले आफ्नो निष्कर्षमा ‘निरपेक्ष नैतिकता’को मनचिन्ते फुर्को जोडेका थिए । माक्र्सले यी दुवै दर्शनका मनोगत पाटाहरू पन्छाएर द्वन्द्वात्मक भौतिकवादको जग हाल्नुभयो । यो नयाँ दर्शन नै माक्र्सको अध्ययन–पद्दतिको वास्तविक जग बन्नपुग्यो । स्टालिनले यस दर्शनलाई ‘माक्र्सवादको विश्वदृष्टिकोण’ भन्दै यसरी अर्थाउनुभएको छ, माक्र्सवादको तरिका द्वन्द्ववादी र सिद्धान्त भौतिकवादी छ ।
माक्र्सभन्दा पहिले श्रमलाई अवैज्ञानिक आँखाले हेरिन्थ्यो । पूँजीवादी अर्थशास्त्रका सिद्धान्तकार एडम स्मिथले श्रमलाई कामदारले आफ्नो सुख, शान्ति र स्वतन्त्रता त्यागेको घटना मान्थे । र आफ्नो यहीँ बलिदानको भर्पाईको रुपमा ज्याला लिएको ठान्थे । श्रमिकलाई पूँजीको दास मान्ने यस्तो कुलिन मानसिकता माक्र्सअघिका विद्वानमा पाइन्थ्यो । ह्यारी म्याग्डफ भन्छन्, माक्र्स र एंगेल्सले पहिलोपल्ट श्रमलाई मानव अस्तित्वको केन्द्रमा राखेर हेर्नुभयो । एंगेल्सले कसरी श्रमले गर्दा एकखालको बाँदर मानिसमा विकसित भयो भन्ने देखाइदिनुभयो । श्रमले जटिल रुप लिँदै जाँदा समाजको विकास भएको तथ्य आफैमा रोचक छ ।
माक्र्सअघि इतिहासलाई व्यक्ति विशेषको योगदानहरूको श्रृङ्खलाको रुपमा हेरिन्थ्यो । यी खास मानिसहरूको महिमाको थुप्रोमा आम श्रमजीवी जनताको आँसु र रोदन दबाइन्थ्यो । इतिहास महान् मानिसहरूको चेतनाले बनाउने र उनीहरूका काममार्फत् धर्तीमा प्रकट हुने ठानिन्थ्यो । तर माक्र्सभन्दा अघिका केही विद्वानहरू इतिहासलाई राजनीतिक र आर्थिक स्वार्थको परिणाम भएको निष्कर्षमा पुगे । यसैलाई आफ्नो वैज्ञानिक चिन्तन पद्दतिले पछ्याउँदै माक्र्स–एंगेल्स कम्युनिष्ट घोषणापत्रको पहिलो निष्कर्षमा पुग्नुभयो । अर्थात् अहिलेसम्म अस्तित्वमा आएका सबै समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । घोषणापत्रको टुङ्गाउनीमा आह्वान गरिएको छ, शासक वर्गलाई कम्युनिष्ट क्रान्तिदेखि थरथर काँप्न दिउँ । सर्वहारासंग हार्नलाई आफ्नो साङ्ग्लोसिवाय केही छैन । जित्नलाई संसार छ । विश्वका मजदुर, एक होऔँ ! यसरी माक्र्सले इतिहासको साँचो निर्माता आम श्रमजीवी जनता भएको ठहर गर्नुभयो । माक्र्स जिउँदै छँदा एंगेल्सले लेख्नुभएको माक्र्सको जीवनीमा इतिहासको यो भौतिकवादी व्याख्याको श्रेय माक्र्सलाई दिनुभएको छ । यसै सिलसिलामा एंगेल्सले माक्र्सलाई जीव विज्ञानमा डार्विनको योगदानसंग दाँज्नुभएको छ ।
त्यसो त समाजमा वर्ग र वर्गसंघर्ष हुन्छ भन्ने निचोड माक्र्स–एंगेल्सको होइन । माक्र्स स्वयंले आफ्ना साथी वेडेमेयरलाई लेखेको एक पत्रमा यो कुरा स्वीकार्नु भएको छ । उहाँ लेख्नुहुन्छ, आधुनिक समाजमा वर्ग र वर्गसंघर्ष पत्ता लगाउने श्रेय मलाई जान्न । धेरैअघि नै पूँजीवादी इतिहासकारहरूले उक्त वर्गसंघर्षको ऐतिहासिक विकासको व्याख्या गरेका थिए । र पूँजीवादी अर्थशास्त्रीहरूले वर्गहरूको आर्थिक बनोटको विवेचना गरेका थिए । मैले गरेको नयाँ काम के साबित गर्नु थियो भने ः
१. वर्गहरू उत्पादनको विकासमा खास ऐतिहासिक चरणसंग गाँसिएका हुन्छन् ।
२. वर्गसंघर्षले अनिवार्य रुपमा सर्वहारा वर्गको हुकुमतिर लैजान्छ ।
३. यो हुकुम आफैमा सबै वर्गहरूको उन्मूलनका साथै वर्गविहीन समाजतर्फको संक्रमण मात्र हो ।
माक्र्सले बेलायतको औद्योगिक क्रान्तिमार्फत् फस्टाएको पूँजीवादी समाजको मसिनो अध्ययन गर्नुभयो । भनिन्छ बेलायतका सांसदले पनि नपढी थन्काउने विभिन्न अध्ययन प्रतिवेदनहरू कबाडीकहाँबाट सस्तो दाममा किनेर समेत माक्र्सले अध्ययन गर्नुभयो । माक्र्सले इतिहासमा उल्लेखै नभएका धेरै पुस्तक एवं रिपोर्टहरूको बेलायती म्युजियममा गई अध्ययन गर्नुभयो । माक्र्सका शिष्य लाफार्जले लेख्नुभएको छ, तथ्यहरूको सत्यता अनेकपटक जाँचेर ढुक्क नभएसम्म माक्र्स आफ्ना निष्कर्षहरूबारे कुरा पनि गर्नुहुन्नथ्यो । कडा मिहिनेत र गहिरो जाँचबुझबाट जन्मेको पूँजीमा माक्र्सले पूँजीवादी शोषणको तरिकाको रुपमा अतिरिक्त मूल्यको सिद्धान्त अघि सार्नुभयो । आफैले घरिघरि ल्याउने आर्थिक संकटको शिकार पूँजीवाद आफै हुने घोषणा माक्र्सले गर्नुभयो । र पूँजीवादलाई चिहानसम्म पु¥याउने क्रान्तिकारी वर्ग भनी सर्वहारा वर्गतर्फ देखाउनुभयो । का.रोहितले माक्र्सवादको यसै पक्षलाई इङ्गित गर्दै भन्नुभएको छ, माक्र्सवाद पूँजीवादी समाजको उत्थान, विकास र पतनको नियम हो । यस निष्कर्षसंगै फ्रान्सेली समाजवादको वैचारिक धारले पूर्णता पायो । खासगरी सेन्ट साइमन, चाल्र्स फ्युरिएजस्ता दयालु विचारकहरू पूँजीवादको जंगली एवं शोषणकारी बनोटबाट आहत भएर सबै मानिस समान हुने समतामूलक समाजवादी समाजको कल्पना गर्न पुगेका थिए । पूँजीपति वर्गलाई सम्झाई बुझाई गरेर वा उनीहरूको मन परिवर्तन गरेर यस्तो समाज बनाउन सकिने उनीहरूको ठहर अव्यवहारिक थियो । काल्पनिक समाजवादीहरूको विचारले वर्गसंघर्षको प्रकाशमा व्यवहारिक रुप लियो । माक्र्स–एंगेल्सले व्यवहारिक रुप दिएको समाजवादलाई वैज्ञानिक समाजवाद भनियो । हाल बजारमा समाजवाद लेबल टाँगेका धेरैथरी झिल्के पार्टीहरू राजनीतिको नाममा कामदार वर्गलाई झुक्काउन र फुटाउन लागिपरेका छन् ।
माक्र्सले मान्छे, समाज र प्रकृतिलाई हेर्ने मात्र होइन फेर्ने विचार र व्यवहार दिनुभयो । सिद्धान्त र व्यवहारबीचको तन्किँदो खाडल पूँजीवादी समस्या हो । कुनै व्यक्ति माक्र्सवादी विधिको प्रयोगकर्ता, सैद्धान्तिक रुपमा माक्र्सवादको समर्थक वा व्याख्याता भएपनि व्यवहारमा प्रतिक्रियावादी हुनसक्छ । कुनै मानिस वैज्ञानिक नै भएपनि जनै लगाएर हिँडेको, श्रीमतीलाई महिनावारी बार्न लगाएको, चर्च वा मन्दिर धाएको आदि दृश्य समाजमा देखिन्छ । माक्र्सको समयमा पनि यस्ता बौद्धिक पाखण्डीहरू थिए । माक्र्स त्यस्ता ढोङ्गी र चाप्लुस प्रवृत्तिको विरोधी हुनुहुन्थ्यो । विज्ञानजनित निष्कर्षमा आफ्नो व्यक्तिगत धारणा घुसाउन खोज्ने प्रवृत्तिलाई उहाँ नीच ठान्नुहुन्थ्यो । त्यसैले उहाँले माल्थसजस्ता कथित विद्वानलाई घृणा गर्नुभयो । धाकधक्कु, आत्मवञ्चना, बहानाबाजी र अभिमानजस्ता मानवीय दोष उहाँको स्वाभावमा थिएनन् । त्यसैले माक्र्सका मित्र लिब्नेख्तले उहाँलाई ‘औतारी स्पष्टवक्ता !’ भन्नुभएको छ ।
माक्र्स विचारक मात्र नभई संघर्षशील नेता एवं अभियन्ता पनि हुनुहुन्थ्यो । माक्र्स पत्रकारितामार्फत् समाजिक गतिविधिमा होमिनुभयो । उहाँको सम्पादनमा निस्कने नयाँ राइन सन्देश पत्रिकाले शोषकहरूको सातोपुत्लो उडाउँथ्यो । शासक वर्गले पत्रिकामाथि बन्देज लगायो । माक्र्समाथि झुटा मुद्दा दायर गरियो । यसबाट कत्तिपनि विचलित नभई माक्र्सले अदालतमा भन्नुभयो, अबदेखि छापाको पहिलो काम भनेको वर्तमान व्यवस्थाका सबै जगलाई बेवास्ता गर्नु हो । माक्र्स–एंगेल्स जर्मनीको मजदुर आन्दोलन, पेरिस कम्युनजस्ता वर्गसंघर्षहरूमा होमिनुभयो । उहाँहरूले कम्युनिष्ट अन्र्तराष्ट्रियमार्फत विश्वभर क्रान्तिकारी गतिविधि गर्न र कम्युनिष्ट प्रचारकार्य अघि बढाउन निकै मिहिनेत गर्नुभयो । जीवनको अन्त्यतिर आफूले पूँजीका अरु खण्डहरू लेख्न नसक्ने ठानेर माक्र्सले नयाँ पुस्तासंगको भेटघाट बढाउनुभयो । लाफार्जले उल्लेख गर्नुभएको छ, माक्र्स भन्नुहुन्थ्यो, “मपछि कम्युनिष्ट प्रचारलाई अघि बढाउन मैले मानिसहरूलाई तालिम दिनु छ ।”
एंगेल्सले निकै सटिक शब्द रोज्नुभएको थियो । वास्तवमै माक्र्स जीवनपर्यन्त एक क्रान्तिकारी रहनुभयो । उहाँको जीवनकालमा नै कुनै व्यवस्थित समाजवादी क्रान्ति नभएता पनि उहाँ क्रान्तिका निम्ति नयाँ पुस्ता हुर्काउने क्रान्तिकारी अभियानका क्रममा मर्नुभयो । तर लिब्नेख्तका शब्दमा मृत्युपछि पनि ‘जिवित मित्र’ माक्र्स मजदुर वर्गका प्रमिथसका रुपमा प्रातःस्मरणीय रहिरहनुहुने निश्चित छ । आजदेखि संसारभर मनाइँदै गरिएको माक्र्सको २०० औँ जन्मजयन्तीको भव्य उत्सवले यहीँ पुष्टि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *