भर्खरै :

माक्र्सवादका दुई दार्शनिक आधारः छोटो परिचय

-नीरज
माक्र्सवादी दर्शनका मुख्यतः दुई वटा आधार छन् ः हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवाद । हेगेलको द्वन्द्ववाद तात्कालीन जर्मनीको सबभन्दा व्यापक दर्शन थियो । लेनिनले द्वन्द्ववाद भनेको दुई विपरीतबीचको एकता भनेका छन् । द्वन्द्ववादी दर्शनअनुसार कुनै पनि विपरीत पक्षबीचको द्वन्द्व नै नयाँ आविस्कारको स्रोत हो । हेगेलका अनुसार पक्ष र विपक्षबीचको द्वन्द्वले नयाँ पक्षको जन्म हुने गर्दछ । साथै नयाँ पक्ष पनि अर्को पटक एउटा पक्ष बन्न पुग्छ अनि विपरीत पक्षसँग द्वन्द्व हुन्छ र फेरि अर्को नयाँ पक्षको जन्म हुने गर्दछ । यो एउटा नियमित प्रक्रियाको रुपमा अघि बढेको हुन्छ । अर्थात् वस्तुमा नियमित रुपमा परिवर्तन भइरहने गर्दछ ।
हेगेलको द्वन्द्ववादले परिमाणात्मक परिवर्तन नै गुणात्मक परिवर्तनको आधार भएको भन्छ । कुनै पनि बस्तुको गुणात्मक परिवर्तनका लागि प्रथमतः त्यसमा परिमाणात्मक परिवर्तन हुने गर्दछ । पानी उमाल्दा तापक्रमको परिमाणात्मक परिवर्तनसँगै पानीको गुणात्मक परिवर्तन हुने गर्दछ अनि पानी वाफ बन्ने गर्दछ ।
द्वन्द्ववादको अर्को एउटा नियम निषेधको निषेध नियम हो । कुनै पनि नयाँ परिवर्तनको लागि दुई पक्षबीच द्वन्द्व हुन्छ र सो क्रममा अन्ततः पुरानो पक्ष निषेधित हुने गर्दछ र नयाँ पक्षको जन्म हुने गर्दछ । पुरानोको निषेध नै नयाँ आविस्कारको जन्मको आधार हो । आलुको उदाहरण यसको सबभन्दा सजिलो उदाहरण हो । आलु रोप्दा हामी आलुको टुक्रा रोप्ने गर्दछौं, आलु फल्दा त्यो रोपिएको आलुको टुक्रा कहिएको हुन्छ अनि नयाँ आलुका दाना फलेका हुन्छन् । यहाँ रोपिएको आलुको टुक्रा निषेधित बन्न पुग्यो अनि त्यसैको परिणाम नयाँ आलु फलेको देख्छौं । पुरानो संरचनाबाटै नयाँको आविस्कार बन्ने गर्दछ तर पुरानो भने क्रमशः निषेधित हुने गर्दछ ।
द्वन्द्ववादी दर्शनअनुसार कुनै पनि कुराको विकास सरलबाट जटिल र तल्लोस्तरबाट माथिल्लो स्तरतिर विकास हुने गर्दछ । मानिसको विकासक्रमलाई अध्ययन गर्दा पनि हामी एककोशाीय जीवसम्म पुग्ने गर्दछौं । आजको जटिल मानवको उत्पत्तिको आधार भनेको एकोशाीय जीव भएको जीवविज्ञानले प्रमाणित गरेको सत्य हो ।
कुनै पनि परिवर्तनका दुई वटा कारण हुने गर्दछन् । एउटा आन्तरिक र अर्को बाह्य कारण । द्वन्द्ववादले ती दुई कारणमध्ये प्रमुख कारण भने आन्तरिक आधार बताउँछ । आन्तरिक कारण प्रधान हो र बाह्य कारण सहायक मात्र भएको हेगेलको दर्शन हो । जस्तै आँधी आउँदा रुख ढल्यो । आँधी आएकै कारण मात्र त्यो रुख ढल्ने गर्दैन बरु आँधी आउने त्यो ढल्नुका सहायक कारण मात्र हुने गर्दछ । मुख्य कारण त त्यो रुखभित्र भित्रै मक्किएको वा कमजोर भएर हुने गर्दछ । अर्थात् रुख ढल्नुको प्रमुख कारण आन्तरिक नै हो ।
हेगेल इतिहास सरल रेखामा हिड्ने विचारमा असहमत थिए । उनी इतिहासको रेखा बाङ्गोटिङ्गो भएर अघि बढ्ने विचार राख्थे । हरेक युग आफैमा त्यो युगमा आर्जन भएको विवेक र ज्ञानका कारण अरु कुनै पनि युग भन्दा विशेष हुने उनको विचार थियो ।
तर माक्र्सले हेगेलको द्वन्द्ववादको आलोचना गरे । माक्र्सका अनुसार हेगेल आदर्शवादी भएकाले उनको चिन्तनशैली वैज्ञानिक थिएन । आदर्शवाद भनेको भौतिकवादको विपरीत हो । आदर्शवादले कुनै पनि भौतिक परिवर्तन वा निर्माणको आधार मानिसको चेतनालाई मान्ने गर्दछ । कुनै पनि कुरा पहिले मानिसको चेतनामा आउने गर्दछ अनि त्यही आधारमा मानिसले भौतिक निर्माण गर्ने कुरा आदर्शवादको सार हो । आदर्शवादले चेतना प्रधान र भौतिक पदार्थ गौण मान्छ ।
उदाहरणको लागि एक जना मानिसलाई जाडो महसुस भयो । अनि जाडो छल्न उसले कोट लगायो । यो घटनालाई आदर्शवादी दर्शनले भन्छ– त्यो मानिसको चेतनाले पहिले आफूलाई जाडो भएको महसुुस ग¥यो अनि उसले कोट लगायो । तर आदर्शवादको विपरीत दर्शन भनेको भौतिकवादी दर्शन हो । भौतिकवादले भौतिक परिस्थितिले मानिसको चेतना निर्माण गर्ने तर्क राख्छ । मानिसको चेतनाको आधार भनेको भौतिक परिस्थिति हो । माथि उल्लेखित घटनालाई भौतिकवादले भन्छ–पहिलो जाडो भयो, तापक्रम घट्यो, अनि बल्ल त्यो मानिसको दिमागमा जाडो भएको चेतना पस्यो । अनि त्यसैको प्रक्रियामा उसले कोट लगाएको हो ।
माथिको आदर्शवादी तर्कले चेतनालाई प्रधानता दिएको छ भने भौतिकवादी तर्कले भौतिक परिस्थितिलाई प्रधान मानेको छ ।
हेगेल द्वन्द्ववादी थिए । द्वन्द्ववाद परिवर्तनलाई हेर्ने एउटा कोण वा दर्शन पक्कै थियो । तर त्यो दर्शन आदर्शवादी थियो । आदर्शवादले हेगेलको द्वन्द्ववादलाई अपूर्ण वा उल्टो बनाइदिएको थियो । एंगेल्सका अनुसार टाउको टेकेर खुट्टामाथि परेको हेगेलको दर्शनलाई माक्र्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरेर खुट्टाले टेक्ने सुल्टो बनाइदिए ।
हेगेलको दर्शनको अपूर्णताको समीक्षा गर्दै माक्र्सले फायरबाखको भौतिकवादी चिन्तनको पनि विश्लेषण गरे । हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको संश्लेषण गरेर द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गरे । द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित भएर मानव विकास क्रमको अध्ययन गर्ने तरिकालाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *