भर्खरै :

सहिद राजकुमार स्मृति पुस्तकालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

सहिद राजकुमार स्मृति पुस्तकालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

भक्तपुर, २ वैशाख । सहिद राजकुमार स्मृति पुस्तकालय ब्यासीले नयाँ वर्ष २०८३ तथा बिस्का जात्राको सुअवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सामाजिक सङ्घ संस्थाहरूले जनताको उज्यालो र उत्साह दिने खालका कार्यहरू गर्न सके समुदायका मानिसहरूबिच आत्मीयता बढ्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले समाजमा विचारको मन्थन गरी सही र गलतको छिनोफानो गर्ने खालका कार्यक्रमहरू विद्यार्थी र युवाहरूमाझ आवश्यक भएको उल्लेख गर्दै वर्तमान सरकारले ल्याएको शनिबार र आइतबारको दुईदिने बिदा तथा वैशाख २१ गतेदेखि मात्र विद्यालय शिक्षामा पठनपाठन सुरु हुने निर्णय शैक्षिक क्षेत्र अस्तव्यस्त बनाउने र कक्षा ५ सम्म परीक्षा लिन नहुनेजस्ता कुरा नेपालको लागि अशोभनीय भएको विचार व्यक्त गर्नुभयो ।
ऋणमा डुबेको नेपालमा फेरि ऋण लिएर देशलाई कहाँ पु¥याउन खोजेको हो भन्दै उहाँले एसईईको परीक्षाफल छिट्टै गर्ने नाउँमा नकारात्मक असर पर्नेतर्फ विचार गर्नुपर्छ भन्नुभयो ।
बाल बच्चाहरूलाई सामाजिक क्रियाकलाप र सभ्यतामा जीउने वातावरणका लागि सरकारले बन्दोबस्त गर्ने खालका शिक्षा नीति ल्याउन जरुरी भएको उल्लेख गर्दै उहाँले साम्राज्यवादी अमेरिकाको चीनविरुद्ध लड्ने युथ काउन्सिल, एमसीसी, एसपीपी र नेपालको युरेनियम खानी कब्जा गर्ने जाल बुनिरहेकोतर्फ हाम्रो ध्यान जानुपर्छ भन्नुभयो ।
८० लाख अमेरिकी जनताले अमेरिकी साम्राज्यवादको विरोध गरिरहेका कारण अमेरिकी सरकार छिट्टै परास्त हुने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
पुस्तकालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति कृष्णप्रसाद सुवालले जीवन एउटा सुन्दर यात्रा हो तर गन्तव्य होइन यसको लागि जीवनका विभिन्न क्षणहरूलाई सुन्दर तरिकाले जीउने प्रयास गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
विद्यार्थी श्रद्धा कोजूले विद्यार्थी जीवनमा राजनीति ज्ञानको आवश्यकता र नवज्वाला लासिवाले युवाहरूमा देखिएका समस्या र चुनौतीका बारेमा बताउनुभयो । कार्यक्रममा युजिना सुवाल तथा नेहा भटुले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा कविता वाचन तथा विषयगत प्रस्तुति गरेका विद्यार्थीहरूलाई अतिथि गोसाईले मायाको चिनो वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *