भर्खरै :

म भैल खः हुँ

म भैल खः हुँ

तःमधि को विशाल आँगनमा उभिएको,
पुर्खाहरूको आस्था र पसिनाको एउटा जीवित अंश ।
मेरो काठको प्रत्येक रेशामा इतिहासको गन्ध छ,
मेरा चक्काहरूमा समयका रेखाहरू कोरिएका छन् ।
तिमीलाई थाहा छ ?
जब यो सहरको भाग्य रेखा मोडिएको थियो,
त्यो अन्तिम साँझ रणजीत मल्लले विवश भएर गाएका थिए,
उनको स्वरमा कुनै राजसी मात थिएन,
त्यहाँ त केवल आफ्नो माटो छोड्नुको असह्य विलाप थियो ।
उनले भक्तपुरको यो रस सम्झिँदै मलाई हेरेर गाएका थिए
“थथें जागु रस गुबले दइमखु, राम ! हा ! जि गन वने…”
हो, म त्यही बिदाइको साक्षी हुँ।
मैले उनको त्यो ‘ह्यौँगु’ ख्वबी देखेको छु,
जुन आज पनि मेरा बुट्टाहरूभित्र सुस्केरा बनेर गुन्जिरहेछ ।
तर आज
म फेरि उस्तै हसे हाइँसेको गुन्जन सुन्दै छु ।
फरक यति मात्रै हो,
त्यो बेला शत्रुले सहर खोसेको थियो,
आज आफ्नै युवाहरूले मेरो पहिचान टुक्राइरहेका छन् ।
जब तिमीहरू मेरो ‘घमा’ मा चढेर अहङ्कार देखाउँछौ,
म भित्रभित्रै आँसु झारिरहेको हुन्छु ।
पहिले मलाई तान्दा भक्ति बग्थ्यो,
सहरभरि खुसीको रस हुन्थ्यो,
आज मलाई तान्दा केवल झगडा र घृणाको धुलो उड्छ ।
जब तिमी ढुङ्गा इँटा प्रहार गर्छौ नि,
त्यो ढुङ्गा मेरो काठमा मात्र लाग्दैन,
त्यो त रणजीत मल्लले गाएको त्यो अन्तिम गीतको मर्ममा लाग्छ ।
त्यो ढुङ्गाले हाम्रो इतिहासको छाती चिरिन्छ ।
म अझै उभिएको छु, किनकि म देवताको बाहन हुँ,
तर साँचो भनूँ ? म अब थाकिसकेको छु ।
मलाई तिमीहरूको भारी होइन, तिमीहरूको सुमति चाहिएको छ ।
मलाई रङ्गीचङ्गी कपडा होइन,
तिमीहरूको माया चाहिएको छ ।
एकपटक मात्र…
मेरो चक्कामुनि कान थापेर शान्त भई सुन्नु,
तिमीले अझै काशीसम्म पुग्ने त्यो मधुर धुन मात्र होइन,
त्यो विवश राजाको अन्तिम सुस्केरा सुन्नेछौ
“थथे जागु रस गुबले दइमखु…” इतिहास रोइरहेको छ,
मेरो
म भैलखः रोइरहेको छु ।
तिमीहरूलाई फेरि सोध्दै छु,
“मलाई जोगाउन के अझै ढिला भइसकेकै हो त ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *