भर्खरै :

माहुरी र विद्यार्थी

माहुरी र विद्यार्थी

जङ्गलको छेउमै एउटा गाउँ थियो । जङ्गलको अर्को छेउमा एउटा आधारभूत विद्यालय थियो । त्यो जङ्गलको बाटो भएर त्यस गाउँका विद्यार्थी भाइ बहिनीहरू विद्यालय जानुपथ्र्यो । शिक्षकले विद्यार्थीलाई आइतबार विद्यालय आउँदा भालु, दुम्सीको जस्तो कपाल चट्ट पारेर काटी नुहाएर आउनू भनी पठाउनुभएको थियो । शनिबारको दिन थियो । त्यही भएर त्यस विद्यालयका विद्यार्थी तेन्जिङ शेर्पा नाङ्लोको, राजु थापा पाइपको र जनक यादवको साइकलको टायरको चक्का गुडाउँदै जङ्गलको बाटो हुँदै खोलातिर गए । जङ्गलको बिचमा पुगेपछि बाटोमै जनकले एउटा रुखको हाँगोमा एउटा अचम्मको पोको देखे । उनले बाटोमा टक्क उभिएर साथीहरूलाई पोकोतिर आँैला सोझ्याएर भने, “ऊ त्यो पोको के को होला है !” तीनै जना साथीहरू बाटोमा टक्क उभिए ! आफूहरूले गुडाउँदै आएको पाङ्ग्रा टाउकोमा छिराएर काँधमा बोकी बिस्तारै पोको नजिक गएर अभिरुचिपूर्वक हेरे ।
तेन्जिङले पनि अचम्म मान्दै भने, “ए उनीहरू त माहुरी हुन् । उनीहरू एकढिक्का भएर क्या मिलेर बसेका छन् । बाहिरबाट आएका सबै माहुरीले खुट्टामा पहँेलो डल्लो बोकेर आएका छन् । त्यो के होला हँ ! त्यसलाई त्यहाँ जम्मा गरेर फेरि उठिहाले । उनीहरू कति मेहनती, कर्मशील र अनुशासित छन् है ? अरु केही बाँकी माहुरी त्यही सुरक्षा र हेरविचार गरी बसेका छन् । त्यो जम्मा गरेको पहेँलो वस्तु पछि पक्कै मह बन्ने होला । उनीहरूले त त्यो महलाई चोरेर, लुकाएर खाए पनि हुन्थ्यो है !”
“धत् ! कस्तो स्वार्थी”, साथी तेन्जिङलाई झपार्दै राजुले भने, “अस्ति सरले माहुरीको पाठ पढाउनुहुँदा उनीहरू सामाजिक प्राणी हुन्; हामीले पनि उनीहरूले जस्तो निःस्वार्थी, कर्मशील, अनुशासित भएर काम गर्नुपर्छ । त्यस्तै समाज, देशको निर्माण र रक्षा गर्नुपर्छ भन्नुभएको होइन ? उनीहरू सबै बाँडीचुँडी खान्छन् । अरिङ्गालले जस्तो कसैले, कुनै शत्रुले आक्रमण गर्न, मह चोर्न, चाका बिगार्न माहुरी र बच्चाहरूलाई मार्न, हमला गर्न आयो भने सबै मिलेर प्रत्याक्रमण गर्दछन् । हिजो माहुरीले जस्तो चीन, कोरिया, भियतनाममा अरिङ्गालजस्तो अमेरिकी साम्राज्यवादले आक्रमण गर्न आउँदा त्यहाँका वीर जनताले प्रत्याक्रमण गरेर धुलो चटाई पठाएका थिए । भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा, वंशराज पाण्डेजस्ता हाम्रा वीर योद्धाहरूले पनि अङ्ग्रेज साम्राज्यवादसँग माहुरीले जस्तै लडेको, प्रत्याक्रमण गरेकोले आज हाम्रो देश नेपाल रहिरह्यो । त्यसले हामी नेपाली भएर शिर ठाडो पारी बाँच्न पायौँ । आज हाम्रो देश नेपालमाथि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले आँखा गाड्दै छ रे । देश जोगाउन माहुरीले जस्तो लड्न हामी कलम समाउने हातले बन्दुक समाएर लड्न जाउँला नि होइन ! नेपाल स्वतन्त्र नै रहेन भने हामी नेपाली पनि कहाँ स्वतन्त्र रहन्छौँ, होइन र ?”
त्यो त हो साथी ! “ल माहुरीको कुरा गर्दा गर्दै समय गएको अत्तोपत्तो नै भएन । जाऔँ नुहाउन । भोलि सरले कक्षामा फेरि कान समाउन लगाएर उभ्याउनुहोला” भन्दै तीनैजना साथी काँधको पाङ्ग्रा गुडाएर खोलातिर दौडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *