भर्खरै :

सर्वहारावर्गका क्रान्तिनायक भी.आई. लेनिन

सर्वहारावर्गका क्रान्तिनायक भी.आई. लेनिन

भ्लादिमीर इलिच उल्यानोब नै पछि गएर लेनिनको नामले प्रसिद्ध हुनुभयो । उहाँको जन्म १० अप्रिल १८७० को दिन सिम्बिस्र्क सहरमा भएको थियो । शिक्षा निरीक्षक बुबा र विभिन्न भाषाका ज्ञान राख्ने आमाको उहाँ साहिँलो सन्तान हुनुहुन्थ्यो । कलिलै उमेरदेखि जनताको दुःख पीडा बुझ्न थालेका लेनिनको हृदय उहाँको दाजु अलेक्जान्डरलाई १८८७ मा राजा अलेक्जान्डर तेस्रोलाई मार्न असफल योजनाको दोषमा फासी दिइएपछि तीव्ररूपमा क्रान्तिकारी बन्दै गयो  । त्यसपछि उहाँले समाजवाद र माक्र्सवादको गहिरो अध्ययन थाल्नुभयो र अन्तमा एक दुई जना मार्दैमा क्रान्ति हुन्छ भन्ने बाटो खोटो छ, एक दुईजना मारिंदैमा समाज बदलिने रहेनछ भन्ने टुङ्गोमा उहाँ पुग्नुभयो । देशका बहुमत जनता मजदुर र किसानहरूलाई उठाउनुपर्छ भन्ने अडान उहाँले लिनुभयो ।
१८८७ मा लेनिन एक गुप्त माक्र्सवादी क्रान्तिकारी सङ्गठनमा सदस्य बन्नुभयो र माक्र्स र एङ्गेल्सका कृतिहरूको सूक्ष्म अध्ययन गर्नुभयो । उहाँले सर्वहारावर्ग र पुँजीपतिवर्गको सङ्घर्षले समाजवादी क्रान्ति हुनेछ र यसको लागि सर्वहारावर्गको नेतृत्वमा मजदुर र किसान एक भई पुँजीपतिवर्गलाई उल्टाएर राज्यसत्ता कब्जा गर्नेछ भन्ने कुरामा विश्वास गर्नुभयो ।
क्रान्तिको पथतिर लम्कनको लागि उहाँले मजदुरहरूको माझमा माक्र्सवाद अध्ययन गोष्ठीहरू खोली त्यसको माध्यमबाट व्यापक जनतालाई राजनैतिक चेतना दिन सधैँ व्यस्त रहनुहुन्थ्यो । उहाँले जनताको समस्या बुझ्नुहुन्थ्यो र जनताको पक्षमा विभिन्न लेखहरू पनि लेख्न थाल्नुभयो । लेखहरूमध्ये एउटा ‘किसानको जीवनमा नयाँ आर्थिक आन्दोलन’ थियो ।
१८९३ तिर लेनिन रुसको सबभन्दा ठुलो औद्योगिक सहर पिट्सवर्गमा पुग्नुभई त्यहाँ कार्यरत करीब २० लाख मजदुरहरूलाई सङ्गठित गर्नुभयो । माक्र्सवाद अध्ययन गोष्ठीहरूलाई एक ढिक्का गरी ‘मुक्ति सङ्ग्राम सङ्घ’ बनाउनुभयो र एक क्रान्तिकारी मजदुर पार्टीको जग हाल्नुभयो ।
लेनिनको क्रान्तिकारी गतिविधि बढ्दै गएको हुनाले १८९५ डिसेम्बर महिनामा उहाँ थुनिनुभयो । तैपनि, जेलभित्रै बसेर उहाँले सङ्गठनलाई निर्देशन दिइरहनुभयो । ‘हडतालहरूमा’ र ‘जार सरकारको नाममा’ भन्ने पुस्तिका र पर्चा लेखेर पठाउनुभयो । १३ फेब्रुअरी १८९७ मा उहाँलाई ३ वर्षको निम्ति कालापानीको सजाय भयो र साइबेरिया पठाइनुभयो । त्यहाँ पनि उहाँले किसान जनताको निरन्तररूपमा सेवा गर्दै जानुभयो । कालापानीका समयमा पनि उहाँले सङ्गठनसम्बन्धी योजनाहरू तयार गर्ने, ठाउँ–ठाउँमा मानिसहरूसित सम्बन्ध राख्दै गुप्त तरीकाबाट सङ्गठनको कामलाई अगाडि बढाउँदै लाने काम जारी राख्नुभयो ।
कालापानीको सजायपछि उहाँ पिट्सवर्ग नजिकैको पस्कोब सहरमा जानुभयो । पुलिस आफ्नो पछाडि देखेर रुसभित्र बसेर काम गर्नु असम्भवजस्तै भएको हुँदा उहाँ विदेसिनुभयो । जर्मनीको लिपजिग भन्ने ठाउँमा पुगेर त्यहाँबाट डिसेम्बर १९०० मा ‘इस्क्रा’ (फिलिंगो) भन्ने पत्रिका निकाल्नुभयो । त्यसलाई लुकीचोरी रुसमा पठाइन्थ्यो ।
विदेशमै बसेर उहाँले १९०२ मा ‘के गर्ने’, १९०३ मा ‘गाउँका गरीबहरूसँग’ जस्ता पुस्तकहरू लेख्नुभयो ।
पार्टीभित्र त्यसबेला मजदुरवर्गको आर्थिक हितलाई मात्र लिएर सङ्घर्ष गर्ने एक गुट थियो जो मजदुरहरूले राज्यसत्ता कब्जा गर्नुपर्छ भन्ने पक्षमा नहुँदा तिनीहरू ‘अर्थवादी’ कहलाइन्थे । क्रान्ति गर्न नमान्ने तिनीहरू, जो पुँजीवाद नाश हुन्न भन्थे, मजदुरवर्गको सङ्घर्षबाट आफै समाजवाद आउनेछ भनी हिँड्थे । तर, लेनिन र उहाँका अरू साथीहरूले मजदुरहरूको सशस्त्र क्रान्ति र राज्यसत्ता कब्जा गर्ने कार्यक्रमसँगै व्यापक किसान र मजदुर एकता र विदेशका सर्वहारावर्गसँग एक हुने नीति अघि सार्नुभयो । १७ जुलाई १९०३ मा सामाजिक जनवादी मजदुर पार्टीको बैठकमा यी दुई पक्षका बिच चर्काचर्की हुँदा बहुमत लेनिनको पक्षमा पुगेको हुँदा त्यो बोल्सेभिक (बहुमत) पार्टी कहलाइयो र अरू मेन्सेविक (अल्पमत) पार्टी भनियो ।
१९०४ को रुस–जापान युद्धमा रुस पराजित भएपछि त्यसको आर्थिक बोझ जनतामाथि लाद्न प्रयास गरियो । कृषि कार्य र उद्योगहरू ठप्प हुन थालेपछि मजदुर किसानहरूको धैर्यको सीमा टुट्न थाल्यो र फलतः डिसेम्बर १९०४ मा बाकुमा तेल खानीमा मजदुर हडताल भयो र यो क्रम जारी नै रह्यो । यसप्रकार देशभित्र क्रान्तिकारी गतिविधिहरू फस्टाउन थालेका थिए ।
लेनिनले आन्दोलनलाई विदेशमै बसी निर्देशन दिनुभयो । क्रान्तिको मूल्याङ्कन गरी त्यसलाई अघि बढाउन अप्रिल १९०५ मा लन्डनमा तेस्रो पार्टी अधिवेशन उहाँकै अध्यक्षतामा भयो । बोल्सेभिक पार्टी देशमा पुँजीवादी जनवादी क्रान्ति गर्ने र त्यसको लागि सर्वहारावर्गको नेतृत्वमाथि जोड दिन्थ्यो भने मेन्सेविक पार्टी पुँजीपतिवर्गको नेतृत्वमा क्रान्ति गर्न चाहन्थ्यो र त्यो पनि शान्तिपूर्ण ।
यस्तैमा डिसेम्बर १९०५ मा सिपाहीहरूको विद्रोह भयो र क्रान्ति अघि बढ्दै गयो । क्रान्ति १९०७ सम्म बेजोड नै रह्यो । त्यसपछि क्रान्ति सेलायो र दबाइयो हजारौँ निर्दोष जनता मारिए, असङ्ख्य मानिसहरू थुनिए । यस्तो गा¥हो समयमा लेनिनले कानुनी वा गैरकानुनी तरीकाबाट सङ्गठनलाई अगाडि लग्नुभयो । उहाँ स्पष्टै भन्नुहुन्थ्यो, “कानुनी सङ्घर्ष त्याग्नाले पार्टी एक्लो हुन्छ । पार्टी र जनताको सम्बन्ध चुँडिन्छ । त्यसबेला केही कम्युनिस्टहरू कुनै पनि कानुनी सङ्घ संस्थाभित्र पस्न मान्दैनथे र तिनीहरू त्यस्ता कुराहरूलाई बहिष्कार गर्न चाहन्थे । त्यस्तै, मेन्सेविकहरू पार्टीलाई भङ्ग गर्न चाहन्थे । यी दुवै पक्षलाई लेनिनले खूबसित झपार्नुभएको थियो ।
१९१२ मा साइबेरियामा लीना सुन खानीमा भएको मजदुर हडतालको सन्दर्भमा ५०० मजदुरहरू मारिए । त्यसले देशभरका मजदुर एक भएर देशव्यापी आन्दोलन चलाए । त्यही साल अप्रिलमा सर्वहारावर्गको एक पत्रिका ‘प्राभ्दा’ (सत्य) निस्कियो । त्यसको माध्यमबाट लेनिनले सर्वहारा अन्तर्राष्ट्रवाद र वर्गीय एकताको कुरो सिकाउन थाल्नुभयो ।
यही साल (१९१२) जार सरकारले संसद् (ड्यूमा) को चुनावको घोषणा गर्यो । जसमा बोल्सेभिकहरूले त्यो चुनावमा यस्तो नारा दिएर भाग लिने निर्णय गर्यो– ‘जनवादी प्रजातन्त्र ल्याउने, कामको समय ८ घण्टा तोक्ने र जमिनदारको जमीन खोसी किसानलाई बाँड्ने ।’
१९१४ मा बोल्सेभिक पार्टी नेतृत्वमा व्यापक मजदुर आन्दोलन सुरु हुन थालेकै बेला साम्राज्यवादी युद्ध थालियो । त्यसमा जर्मन, अस्ट्रिया र हङ्गेरी एकातिर तथा फ्रान्स, बेलायत, रुस अर्कोतिर थिए । त्यसबेला केही कम्युनिस्टहरू आ–आफ्नो देशको पक्ष लिन्थे । आँखा चिम्ली आफ्नो देशको साम्राज्यवादी नीतिको समर्थन गर्ने ती कम्युनिस्टहरू मुखले भने आफूलाई समाजवादी भन्थे । यसरी मुखले आफू समाजवादी घोषित गर्ने र कामले भने साम्राज्यवादको सेवा गर्नेलाई लेनिनले ‘सामाजिक साम्राज्यवादी’ को संज्ञा दिनुभयो । लेनिनले त्यो साम्राज्यवादी युद्धलाई स्पष्टरूपले विरोध गर्नुभयो ।
यही सन्दर्भमा उहाँले ‘साम्राज्यवाद : पुँजीवादको चरम अवस्था’ भन्ने पुस्तक पनि लेख्नुभयो ।
जार सरकारको गलत नीतिले गर्दा युद्धग्रस्त रुसको अर्थतन्त्र दिन परदिन ध्वस्त हुँदै गयो । त्यसबाट रिसाएका रुसी जनताले बोल्सेभिक पार्टीको नेतृत्वमा आन्दोलनलाई चर्काउँदै लगे । यसप्रकार त्यहाँ क्रान्तिको परिस्थिति तयार हुँदै गयो । १९१७ फ्रेबुअरीमा पिट्सवर्गका मजदुरहरूले युद्धको विरोधमा ठुलो र व्यापक हडताल गरे । तिनीहरूको नारा थियो – ‘जारशाही मुर्दावाद’, ‘युद्ध मुर्दावाद’ र ‘हामीलाई रोटी देऊ’ । त्यसैबेला बोल्सेभिक पार्टीको केन्द्रीय समितिको ब्युरोले एक घोषणापत्र निकाल्यो ‘जारशाही सरकारलाई उल्टाई देऊ !’ ‘अस्थायी सरकार बनाऊ ¤’ जनवादी प्रजातन्त्र स्थापना गर ।’ ‘जमिनदारहरूको जमिन जफत गरी किसानलाई बाँड र युद्धलाई बन्द गर ।’ १७ फेब्रुअरी १९१७ मा सेनाले पिट्सवर्ग (पेट्रोग्राड) मा मजदुरहरूमाथि गोली हान्न अस्वीकार गरिदिए, ठुलो सङ्ख्यामा सेना जनतासँग मिल्न आए । केही दिनपछि नै पेट्रोग्राड र रुसमा पुँजीवादी जनवादी क्रान्ति विजयी भयो । तर, पनि देशको हुकुम पुँजीवादी र स–साना पुँजीपतिहरूको हातमा गयो । त्यसले जनताको क्रान्तिकारी भावनालाई निर्मूल पार्न खोज्यो ।
३ अप्रिल १९१७ को दिन दस वर्षको लामो निर्वासनपछि लेनिन स्वदेश फर्कनुभयो र उहाँको त्यहाँ भावविभोर स्वागत गरियो । ४ अप्रिलको दिन बोल्सेभिक पार्टीको सभा भयो । त्यस सभामा लेनिनले पुँजीवादी प्रजातान्त्रिक काममा हुकुम पुँजीपतिवर्गको हातमा रहन्छ, समाजवादी क्रान्तिमा मजदुरवर्ग र गरिब, किसानवर्गको हातमा सत्ता रहनेछ भन्नुभयो । पुँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा फेरिदिने कुरो उहाँले बताउनुभयो ।
देशमा जनआन्दोलनको ज्वाला दन्किरहेकोमा क्रुद्ध भएर करेन्सीको प्रतिक्रियावादी युद्धपिपासु अस्थायी सरकारले ७ जुलाईको दिन लेनिनको नाउँमा पक्राउ पुर्जी काट्यो । जनता झन् क्रुद्ध भएर ‘युद्ध मुर्दावाद ¤’, ‘राजसत्ता सोभियतलाई देऊ’ भनेर नारा लगाए । धेरै पार्टी कार्यकर्ता र जनता पक्रिए तथा स्वयं लेनिन पनि एक मजदुरको भेषमा रहनुभयो र त्यहीबेला उहाँले ‘राज्य र क्रान्ति’ लेख्नुभयो र फिनलैन्ड पुगी त्यहीँबाट क्रान्तिलाई निर्देशन दिइरहनुभयो ।
७ अक्टोबरको दिन लेनिन फिनलैन्डबाट फर्किनुभयो १० अक्टोबरको दिन बसेको पार्टी केन्द्रीय समितिको बैठकले सशस्त्र सङ्घर्ष गर्ने निर्णय ग¥यो । १७ अक्टोबरको बैठकले कामरेड स्तालिनको नेतृत्वमा विद्रोह सञ्चालन गर्ने एक केन्द्रको चुनाव ग¥यो ।
२३ अक्टोबरको बिहान पार्टी मुखपत्र ‘राबोचिपूत’ (मजदुरहरूको बाटो) को अफिसमा घेरा दिन अस्थायी सरकारले सैनिकहरू पठायो । त्यसलाई स्तालिनको नेतृत्वमा रहेको लाल रक्षकहरूको दल र क्रान्तिकारी सेनाले पछाडि धपाइदिए र ११ बजे पत्रिका साबिकबमोजिम निस्क्यो । त्यसमा अस्थायी सरकालाई पल्टाउन आह्वान गरिएको थियो । त्यस समयमा पार्टी केन्द्रको निर्देशनमा क्रान्तिकारी सेना र लाल रक्षक दललाई स्मोल्नितिर पठाइयो । लेनिन त्यसै रात त्यहाँ पुगी विद्रोहको सञ्चालन गर्नुभयो र विद्रोह सुरु भयो । स्मोल्नीलाई नै केन्द्र बनाई क्रान्ति थालियो र अस्थायी सरकारको मुख्य केन्द्र शरद्को दरबारलाई क्रान्तिकारी सेनाले कब्जा गयो ।
महान् सर्वहारा समाजवादी क्रान्तिको बिगुल बज्यो र १९१७ अक्टोबर २५ को दिन बोल्सेभिक पार्टीले एउटा घोषणा पत्र निकाल्यो । त्यसमा पुँजीवादी अस्थायी सरकारलाई भङ्ग गरेको कुरा थियो । देशको हुकुम ‘सोभियतहरू’ को हातमा गाएको घोषणा गरिएको थियो ।
२५ अक्टोबरको साँझ १०–११ बजे स्मोल्नीमा दोस्रो राष्ट्रिय सोभियतको महाधिवेशन भयो । त्यसमा ६५० मध्ये ४५० प्रतिनिधिहरू बोल्सेभिकहरू भइदिनाले तिनीहरू बहुमतमा थिए । मेन्सेविक, दक्षिणपन्थी, समाजवादी क्रान्तिकारीहरू र अरू प्रतिक्रियावादीहरूले महाधिवेशनमा भाग लिन अस्वीकार गरे । क्रान्तिलाई ‘फौजी षड्यन्त्र’ को संज्ञा दिएर त्यहाँबाट उठेर गए । तर, अरू वामपन्थी गुटले क्रान्तिको समर्थन ग¥यो ।
२६ अक्टोबरको राति लेनिनले महाधिवेशनमा युद्धसम्बन्धी सरकारी निर्णय पढेर सुनाउने भयो र युद्धरत सबै राष्ट्रहरूसित यथाशीघ्र शान्ति सन्धि गर्ने कुरा थियो । त्यसै राति उहाँले बिनामुआब्जा जग्गामा जमिनदारहरूको मालिकत्व समाप्त गर्ने भूमिसम्बन्धी निर्णय पढ्नुभयो ।
रुसमा समाजवादी क्रान्तिको लगत्तै त्यसको गम्भीर असर त्यससँग सीमान्त मुलुकहरूमा स्वतः पर्ने हुँदा साम्राज्यवादी देशहरू रुसलाई दबाउन चाहन्थे । १९१८–१९१९ मा अमेरिका, बेलायत, फ्रान्स र जापानले निहुँ झिकी चारैतिरबाट समाजवादी सोभियत सङ्घलाई नै मेटाउन चाहे । आफ्नो देशको सैनिक र आर्थिक कमजोरीको कारणले गर्दा केही क्षणको निम्ति लेनिन जर्मनीसँग ‘ब्रेस्ट लिटोबस्क’ सन्धि गर्ने पक्षमा हुनुहुन्थ्यो । रुसको ‘ब्रेस्टलिटोवस्क’ भन्ने क्षेत्र जर्मनीले माग्दै थियो । लडाइँको तयारीको निम्ति उहाँ त्यो क्षेत्र दिएर पनि शत्रुको मुखमा बुजो हाल्न चाहनुहुन्थ्यो । शान्ति कालमा नै दीर्घकालीन युद्धको निम्ति पूर्ण तयारी गरेर पछि आफ्नो गुमेको क्षेत्रलाई फिर्ता लिने उहाँको दूरदर्शी योजनाको त्रात्स्कीजस्ता केही उताउला कम्युनिस्टहरूले देश बेच्ने र आत्म समर्पण भनेर विरोध जनाए ।
३० अगस्ट १९१८ मा एक विशाल मजदुर सभालाई सम्बोधन गरिसकेर फर्कन लाग्नु हुँदा समाजवादी क्रान्तिकारी पार्टीको फन्या कप्लान नामक एक स्वास्नीमानिसले लेनिनमाथि गोली चलाई । यो घटनालाई लिएर सारा रुसी जनता क्रुद्ध भए । त्यस्तो भद्रगोलको परिस्थितिमा पनि स्वयं लेनिन धैर्यवान् हुनुहुन्थ्यो ।
संसारका मजदुर पार्टीहरूको सङ्गठनलाई अन्तर्राष्ट्रिय मजदुर सङ्गठन भनी छोटोमा ‘अन्तर्राष्ट्रिय’ मात्रै भनिन्छ । पुरानो अन्तर्राष्ट्रिय खतम भइसकेको हुँदा मार्च १९१९ मा मस्कोमा लेनिनको नेतृत्वमा विभिन्न देशका कम्युनिस्ट पार्टीहरूको महाधिवेशन भयो, जसलाई ‘तेस्रो अन्तर्राष्ट्रिय’ भनिन्छ । महाधिवेशनमा लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने किताबद्वारा अवसरवादलाई नङ्ग्याइदिनुभयो ।
लेनिनले १९२० मा ‘उताउला कम्युनिज्म एक केटाकेटी रोग’ भन्ने एउटा किताब लेख्नुभयो । त्यो पुस्तक बोल्सेभिक पार्टीको अनुभवहरूको सँगालो हो ।
१९२० सम्ममा आक्रामक राष्ट्रहरूले हार खानुप¥यो र १९२२ मा जापानी हस्तक्षेप बन्द भयो । त्यसरी लेनिनले रुसलाई साम्राज्यवादी थिचोमिचोबाट मुक्ति दिलाउनुभयो । यसपछि लेनिनले एक नयाँ आर्थिक नीतिलाई अघि सार्नुभयो जसमा कृषि र औद्योगिक विकासलाई साथसाथै लैजाने योजना थियो ।
१९२२ मा लेनिन अकस्मात् बिरामी हुनुभयो, तापनि उहाँले काम गर्न छाड्नुभएन । २० नोभेम्बर १९२२ को दिन मस्कोमा केन्द्रीय पार्टी समितिको एक लामो बैठक बस्यो । त्यसमा उहाँले किफायत गरेर आर्थिक विकास गर्नुपर्नेमा बढी जोड दिनुभयो । त्यही नै उहाँको अन्तिम भाषण थियो । डिसेम्बर १९२२ मा सोभियतहरूको पहिलो राष्ट्रिय महाधिवशेन भयो, त्यसमा सोभियत समाजवादी गणतन्त्रको स्थापना गर्ने निर्णय गरियो र उहाँ त्यसको जनकमिसार परिषद् (मन्त्रिपरिषद्) को अध्यक्ष चुनिनुभयो ।
१९२३ मा लेनिन फेरि बिरामी हुनुभयो, त्यस अवस्थामा पनि उहाँले महाधिवेशनलाई चिट्ठी, डायरीको पाना सहकारिताको बारेमा हामीले मजदुर किसान निरीक्षण संस्थाको पुनः सङ्गठन कसरी गर्नुपर्छ र चाहे कम होस् बरु राम्रो होस्जस्ता निर्देशनहरू दिनुभयो ।
मार्च १९२३ को सुरुमा लेनिन झन् बिरामी हुनुभयो । उहाँको स्वास्थ्य दिन परदिन बिग्रँदै गइरहेको थियो । २१ जनवरी १९२४ को साँझ ६ बजेर ५० मिनेटको घडीमा विश्वका यस महान् विभूतिले आफ्नो आँखा सदाको निम्ति चिम्लनुभयो । रुसी जनता र विश्वका समस्त शोषित पीडितहरू आफ्ना श्रद्धेय नेताको असामयिक निधनमा शोकमग्न भए । तर, स्तालिन रुसी जनताको शोकलाई शक्तिमा बदल्न अगाडि बढ्नुभयो ।
लेनिनको शिक्षालाई नै लेनिनवाद भनिन्छ र स्तालिनले त्यसलाई अघि बढाउनुभयो । उहाँहरूले माक्र्सवादलाई राम्रोसँग अध्ययन गरेर त्यसलाई रुसमा साकार रूप दिनुभयो । मजदुर, किसान र सिपाहीहरूको माझमा सङ्गठन हुनुपर्छ, माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको कम्युनिस्ट पार्टीले तिनीहरूलाई एकगठ गर्नुपर्छ र पुँजीपतिवर्गको हुकुमलाई ध्वस्त पारी राज्यसत्ता सर्वहारावर्गको कब्जामा लिइनुपर्छ भनेर हामीलाई लेनिनवादले सिकाउँछ ।
सामन्तवाद र पुँजीवाद शोषण व्यवस्थाका दुई रूप हुन् । लेनिन सामन्तवाद र पुँजीवाद दुवैलाई घृणा गर्नुहुन्थ्यो । मुख्य दुश्मन राजा जार हो भनेर पुँजीपतिवर्ग र विदेशी पुँजीसँग मितेरी लाउनुहुन्थ्यो न त पुँजीपतिवर्ग र विदेशी पुँजीलाई मुख्य दुश्मन सम्झेर जार र सामन्तहरूसँग मितेरी लाउनुहुन्थ्यो ।
लेनिनले साम्राज्यवादलाई सा¥है विरोध गर्नुहुन्थ्यो । त्यसको विरोधमा लडन अरू देशका सर्वहारावर्गसँग एक हुनुभयो । साम्राज्यवादको विरोधमा सङ्घर्ष नगर्ने र साम्राज्यवादी नीतिको समर्थन गर्ने समाजवादीलाई उहाँले सामाजिक साम्राज्यवादीको संज्ञा दिनुभयो । साम्राज्यवादको विरोधमा लड्ने र अरू देशका सर्वहारावर्गको सङ्घर्षलाई समर्थन गर्ने कुरामा उहाँ कहिले पनि विदेशी कुरा र बतासे कुरा भनेर पन्छाउने वा भाग्ने गर्नुहुन्नथ्यो । उहाँ एक देशका सर्वहारावर्गले अर्को देशका सर्वहारावर्गलाई समर्थन गर्ने कुरामा बल दिनुहुन्थ्यो । त्यसलाई सर्वहारा अन्तर्राष्ट्रवाद भनिन्छ । लेनिनवाद पुँजीवादको अन्तिम अवस्था तथा साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । यसकारण, लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको विज्ञान हो ।
साभार : जनताको साहित्यबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *