न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
मानिसको आदिम खोज र अन्तिम गन्तव्य नै ‘खुसी’ हो । जन्मदेखि मृत्युपर्यन्त मानिसले गर्ने हरेक क्रियाकलापको केन्द्रमा खुसी नै लुकेको हुन्छ । कसैले यसलाई धनमा देख्छन्, कसैले पदमा त कसैले परोपकारमा । तर, खुसी कुनै बजारमा पाइने वस्तु होइन, न त यो कसैले उपहारमा दिने चिज नै हो । यो त एउटा मानसिक अवस्था हो । विडम्बना के छ भने, खुसी मनभित्र हुन्छ भनिए तापनि हाम्रो मन बाह्य जगत्को प्रभावबाट मुक्त रहन सक्दैन । बाहिरी वातावरण, छिमेकीको व्यवहार, सामाजिक विकृति र विश्व राजनीतिको उथलपुथलले हाम्रो भित्री शान्तिलाई हरक्षण बिथोलिरहेको हुन्छ । यस्तो परिवेशमा “म कसरी खुसी हुने ?” भन्ने प्रश्न एउटा व्यक्तिको मात्र नभई सम्पूर्ण चिन्तनशील मानव जातिको साझा प्रश्न बनेको छ ।
खुसी हुनका लागि स्वस्थ वातावरण र सभ्य समाजको अपेक्षा राख्नु स्वाभाविक हो, तर यथार्थ सधैँ अपेक्षा अनुकूल हुँदैन । एउटा व्यक्ति जो धूमपान गर्दैन, उसलाई छिमेकीले उडाएको चुरोटको धुवाँले बिझाउनु ‘प्राकृतिक न्याय’ मान्नुपर्ने अवस्था छ । “तपाईँले यो नलिनुभए पनि त हुन्थ्यो” भनेर नम्रतापूर्वक सम्झाए पनि उहाँले “मैले आफ्नै सम्पत्ति खाएको त हुँ” भन्न सक्नुहुन्छ । यस्तो तर्कले व्यक्तिगत स्वतन्त्रताको त वकालत गर्ला, तर यसले अर्काको ‘स्वच्छ श्वास फेर्न पाउने अधिकार’ माथि हस्तक्षेप गरिरहेको हुन्छ । आफ्नो घर नजिकै दिनहुँ चल्ने तासको खाल, जथाभावी फोहोर फाल्ने प्रवृत्ति र सम्झाउँदा उल्टै गाली खानुपर्ने अवस्थाले हाम्रो समाजको चेतना स्तरलाई नराम्ररी उदाङ्गो पारेको छ । जब मानिसले आफ्नो वरपरका विसङ्गतिलाई देख्छ, उसमा एउटा ‘नैतिक छटपटी’ उत्पन्न हुन्छ । आफू सही मार्गमा हिँड्न खोज्दा पनि समाजको भिड गलत दिशातर्फ मोडिएको देख्दा व्यक्ति एक्लो महसुस गर्छ । यो एक्लोपन नै दुःखको कारण बनिदिन्छ । “सारा समाज एकातिर छ, म अर्कोतिर छु” भन्ने भावले व्यक्तिमा निराशा पैदा गर्न सक्छ, तर दार्शनिक दृष्टिले हेर्ने हो भने, भिडभन्दा अलग हुनु नै विवेकशील हुनुको प्रमाण पनि हो ।
व्यक्तिगत जीवनभन्दा अलि माथि उठेर हेर्दा कार्यालयको प्रशासन, सरकारको भ्रष्टाचार र जनप्रतिनिधिहरूको गैरजिम्मेवारीपनले हाम्रो खुसीलाई झनै सङ्कुचित बनाइदिएको छ । हामी यस्तो तन्त्रमा बाँचिरहेका छौँ, जहाँ ‘हुनुपर्ने’ कुरा हुँदैन र ‘नहुनुपर्ने’ कुराको बाहुल्य छ । भोजभतेर र तडकभडकमा गरिने फजुल खर्चले समाजमा आर्थिक खाडल मात्र बढाएको छैन, यसले मानवीय मूल्य र सादगीलाई समेत उपहास गरिरहेको छ । यस्तो अवस्थामा एउटा चिन्तनशील व्यक्तिले सोच्नुपर्ने हुन्छ– के मेरो खुसी अरूको व्यवहारमा निर्भर छ ? यदि हामीले आफ्नो खुसीको साँचो अरूको हातमा सुम्पियौँ भने हामी कहिल्यै खुसी हुन सक्दैनौँ । छिमेकीको बानी, कुनै पनि कार्यालय प्रमुखको व्यवहार वा सरकारको कार्यशैली हाम्रो नियन्त्रण बाहिरका कुरा हुन् । दार्शनिक एपिक्टेटसले भनेझैँ, “हामीलाई वस्तुहरूले होइन, ती वस्तुहरूका बारेमा हाम्रो धारणाले दुःखी बनाउँछ ।” बाह्य जगतलाई बदल्न नसके पनि त्यसलाई हेर्ने दृष्टिकोण बदल्नु नै खुसी हुने पहिलो खुड्किलो हो ।
खुसीको विषयवस्तु र संसार निकै फराकिलो छ । यस क्रममा अझै व्यापक रूपमा सोच्दा, विश्व शक्ति राष्ट्रहरूबिचको होडबाजी र आणविक हतियारको त्रासले त झन् खुसीलाई ‘मृगतृष्णा’ नै बनाइदिएको छ । एउटा कुनामा बसेको सामान्य नागरिकले अर्को महादेशमा भइरहेको युद्धको खबर सुन्दा खिन्नता, त्रास र असुरक्षित महसुस गर्नु स्वाभाविक हो । कतै भोकले, कतै रोगले, कतै प्राकृतिक प्रकोपले र कतै गम्भीररूपमा मानव अधिकार उल्लङ्घन भएर मानिसहरू मरेको सुन्दा दुःख लाग्ने नै भयो । तर, के विश्वका सारा समस्या सुल्झिएपछि मात्र म खुसी हुन्छु भनेर बस्नु तर्कसङ्गत छ ? विश्व इतिहास सधैँ द्वन्द्व र शान्तिको चक्रमा घुमिरहन्छ । हाम्रा पुर्खाहरूले पनि प्लेग, विश्वयुद्ध र अनिकाल सहेरै खुसीका साना टुक्राहरू बटुलेका थिए । त्यसैले, संसारको ठुलो क्यानभासमा देखिएका काला धब्बाहरूले हाम्रो आफ्नै सानो संसारको रङ्गलाई फिक्का बनाउन दिनु हुँदैन ।
वास्तवमा खुसी हुनका लागि हामीले केही जीवन–दर्शनलाई अङ्गाल्नुपर्ने हुन्छ । हामीले बुझ्नुपर्छ कि संसारमा केही कुराहरू हाम्रो नियन्त्रणमा हुन्छन् र केही हाम्रो नियन्त्रण बाहिर । छिमेकीले चुरोट खाएर फालेको धुवाँ, कुनै कार्यालयको प्रमुखको स्वभाव र विश्व युद्ध हाम्रो नियन्त्रणमा छैनन्, तर ती कुराहरूलाई लिएर कति प्रतिक्रिया दिने र आफ्नो मानसिक शान्ति कति भङ्ग हुन दिने भन्ने कुरा पूर्णतया हाम्रै हातमा छ । समाज तडकभडकमा लागे पनि हामीले आफ्नो सादगीलाई ‘शक्ति’ मान्नुपर्छ । भीडभन्दा अलग देखिनु कमजोरी होइन, विशिष्टता हो । फजुल खर्च नगर्नु र वातावरणीय चेतना राख्नु एउटा उच्च नागरिक चरित्र हो, यसमा दुःखी हुनुको साटो गौरवान्वित हुनुपर्छ ।
हामी प्रायः अरूले सोचेजस्तै व्यवहार गरुन् भन्ने अपेक्षा राख्छौँ । जब उनीहरू त्यसो गर्दैनन्, हामी दुःखी हुन्छौँ । मानिसहरू आफ्नै चेतना र संस्कारअनुसार चल्छन् । खोलामा फोहोर फाल्नेलाई सम्झाउँदा गाली पाइन्छ भने, त्यहाँ सम्झाउने तरिका बदल्न सकिन्छ वा सम्बन्धित निकायलाई खबर गर्न सकिन्छ । तर, त्यसैलाई लिएर दिनभरि मन कुँडाउनु आफ्नै स्वास्थ्यमाथि अन्याय गर्नु हो । संसारका ठुला समस्या समाधान गर्न हामी एक्लै असमर्थ भए पनि आफ्नो सानो बगैँचा गोड्न, राम्रो पुस्तक पढ्न वा मन पर्ने सङ्गीत सुन्न त सक्छौँ नि ¤ यी साना कुराहरूले दिने सन्तोषले हाम्रा ठुला दुःखहरूलाई बिर्सन मद्दत गर्छन् । भविष्यको आणविक युद्धको डर वा विगतमा छिमेकीले दिएको गालीमा अल्झिनु भनेको वर्तमानको खुसीलाई हत्या गर्नु हो । खुसी सधैँ ‘अहिले’ र ‘यहीँ’ मात्र सम्भव छ ।
अन्ततः, खुसी भनेको बाहिरी परिस्थिति र आन्तरिक मनस्थिति बिचको सन्तुलन हो । समाजमा विसङ्गति छन्, अन्याय छ र प्रदूषण छ—यो कटु सत्य हो । तर यी सबैका बिचमा पनि एउटा ‘शान्त टापु’ बनाउने क्षमता मानिससँग हुन्छ । सचेत र संवेदनशील नागरिकका लागि संसार अलि बढी कठोर लाग्न सक्छ, किनकि उसको चेतनाले गलतलाई ‘गलत’ भनेर चिन्न सक्छ । तर याद राखौँ, संसारलाई बदल्नुअघि आफूलाई बदल्नु नै बुद्धिमानी हो । छिमेकीले गरेको हल्ला र फालेको धुवाँबाट बच्न झ्याल बन्द गर्न सकिएला, तर उसको सोच बदल्न कठिन छ । त्यसैले, उसको अज्ञानतामाथि दया गरौँ, रिस होइन । समाजका विकृतिहरू विरुद्ध आफ्नो ठाउँबाट सानो हस्तक्षेप जारी राखौँ, तर त्यसलाई आफ्नो खुसीको बाधक नबनाऔँ । खुसी हुनु भनेको समस्या नहुनु होइन, बरु समस्याहरूको बिचमा पनि आफूलाई सन्तुलित राख्न सक्नु हो । जसरी हिलोमा नै कमल फुल्छ, त्यसरी नै यो प्रदूषित र कोलाहलपूर्ण समाजभित्रै हामीले आफ्नो खुसीको फूल फुलाउनुपर्नेछ । हाम्रो सादगी, इमानदारी वैश्विक चिन्तन नै खुसीका वास्तविक स्रोत हुन् । यसैमा रमाउनु नै जीवनको सार्थकता हो ।
Leave a Reply