“नेटो” शक्तिहरू रूसतर्फ लम्किँदै छन्
- जेष्ठ २५, २०८३
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप कलेज अफ ल’ को आयोजनामा ‘अपराधमा महिला’ विषयमा दोस्रो राष्ट्रिय सम्मेलन शनिबार भक्तपुरमा सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले “उत्पादनका मुख्य मुख्य साधन र सेवा समामाजिकीकरण हुने राजनीतिक व्यवस्था स्थापना भएपछि अपराधको सङ्ख्या घट्दै जाने, वर्गीय समाजमा राज्य संयन्त्रले कामदार वर्गविरुद्ध नीतिगत र कानुनी रूपमा दमन÷अपराध गरिरहेको हुने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग र कार्की आयोगको बयानमा सरोकारवालाहरूले भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत आगजनी हुनुमा नेपाली सेनाको पनि कमजोरी भएको उल्लेख भएको पनि उहाँले स्मरण गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनमा जस्तोसुकै व्यवस्था गरिए पनि यदि पीडितहरूले न्याय नपाए त्यस्तो कानुनको अर्थ नरहने प्रस्ट पार्दै प्रहरी प्रशासन र न्यायपालिकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
फौजदारी कानुनका विज्ञ प्रा.डा.रजितभक्त प्रधानाङ्गले कानुनी विषयको अनुसन्धानको नाममा राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले गरिरहेको भूमिका चित्तबुझ्दो नभएको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले “आधा आकाश ढाकिएका महिलाको संसार अँध्यारो रहेसम्म समाजमा परिवर्तन हुन नसक्ने अध्यक्ष माओको भनाइ स्मरण गर्दै न्यायिक समानता र समाज परिवर्तनको लागि हरेक क्षेत्रमा महिलाको अग्रसरता हुन जरुरी छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कानुनी सचेतता एवं जनपक्षीय कानुन निर्माणको पक्षमा सम्मेलनको निचोडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
राष्ट्रिय सम्मेलनका प्रमुख वक्ता वरिष्ठ प्रहरी उपरीक्षक रञ्जु सिग्देलले महिलाले अपराध गर्न सक्दैन, यदि गरेमा त्यो महिला नै हुन नसक्ने भन्ने हाम्रो समाजमा व्याप्त मानसिकतामा परिवर्तन हुँदै आएको र ५ वर्षको अवधिमा अपराधमा संलग्न महिलाहरूको सङ्ख्या ५ प्रतिशतबाट १० प्रतिशतमा उकालो लागेको बताउनुभयो ।
शोषण र उत्पीडन सहन नसकी बाध्य भई गरेको जघन्य अपराधलाई कसरी सम्बोधन गर्ने ? भन्ने प्रश्न रहेको उल्लेख गर्दै सिग्देलले स्क्रिनबाट हुने अपराधहरू बढ्दै गएको अहिलेको चिन्ताजनक विषय भएको बताउनुभयो ।
सिग्देलले न्याय सबुद प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिँदै अहिले अपराध सडक र गल्लीहरूबाट मोबाईल र कम्प्युटरका स्क्रिनहरूमा सर्दै गरेको बताउनुभयो । त्यसैले कानुन कार्यान्वयनका लागि तालिम र प्रविधिको गुणस्तर वृद्धि गर्नु जरुरी रहेको बताउनुभयो ।
“ख्वप कलेज अफ ल” का विद्यार्थीहरूको प्रस्तुती
दोस्रो राष्ट्रिय सम्मेलनमा ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीहरूले “महिलाको अपराधमा संलग्नता तथा त्यसको कारणहरूको अध्ययन गर्ने मुख्य उद्देश्यले गरेको अध्ययनको सार प्रस्तुत गरिएको थियो ।
२०४० सालदेखि २०८२ सालसम्म सर्वोच्च अदालतले प्रकाशित गरेको नेपाल कानुन पत्रिकामा प्रकाशित मुद्दाहरूको विश्लेषणात्मक अध्ययन गरिएको थियो ।
उल्लिखित अवधिमा सर्वोच्च अदालतबाट प्रकाशित महत्वपूर्ण ८८४४ वटा मुद्दाहरूका नजिरमध्ये २०४२ वटा मुद्दाहरू फौजदारी मुद्दासँग सम्बन्धित रहेको, जसमध्ये ६५३ वटा मुद्दाहरूमा महिलाको संलग्नता रहेकोमा महिला पीडितको सङ्ख्या ५२० र अभियुक्तको सङ्ख्या २३५ रहेको उल्लेख छ ।
अपराधमा संलग्न महिलाहरूको उमेर समूहका आधारमा वयस्क महिलाहरूको संलग्नता बढिरहेको पाइएको अध्ययन प्रतिवेदन प्रस्तुतिका क्रममा बताइयो ।
महिला अभियुक्तसँग सम्बन्धित मुद्दाहरूको विश्लेषण गरी प्रत्येक मुद्दाको प्रमुख कारक तत्वहरू पहिचान गर्ने क्रममा मूलतः पाँच प्रकारका सूचकहरू अर्थात् कारक तत्वहरू रहेको पाइएको बताइयो जस्तो– १, आर्थिक, २, पारिवारिक सम्बन्ध, ३, सामाजिक बहिष्कार तथा अवैध सम्बन्ध र प्रतिष्ठा संरक्षण, ४, लागु औषध तथा मादक पदार्थ र ५, अन्य ।
जसअनुसार समाजमा व्याप्त गरिबी तथा आर्थिक दबाब, घरेलु हिंसा तथा दुव्र्यवहार, पारिवारिक तथा सामाजिक प्रभाव, लागुऔषध दुव्र्यसनी तथा मानसिक स्थिति र व्यक्तिगत इच्छाजस्ता कारणहरूले अपराधमा महिलाहरू संलग्न हुने गरेको पाइएको बताए ।
अध्ययनका क्रममा सर्वसाधारण, कारागार अधिकारी, प्रहरी अधिकारी, कानुन व्यवसायी, सरकारी वकिल, महिला कैदी बन्दी, विवादमा परेका बालबालिका, सामाजसेवी, कानुन आयोग, महिला आयोगलगायतसँगको अन्तर्वार्तामा गरिबी, आर्थिक दबाब, अशिक्षा, बेरोजगारी जस्ता कारणहरू मुख्य रहेको पाएको, त्यस्तै पारिवारिक समस्या, घरेलु हिंसा, वैदेशिक रोजगारीको चक्करमा ठगिएका कारण पनि महिलाहरू अपराधमा संलग्न हुने गरेको पाइएको अध्ययन टोलीको प्रस्तुतिका क्रममा बताइयो ।
निष्कर्षमा अध्ययन टोलीले महिलाको अपराधमा संलग्नताको मुख्य कारक तत्वहरूमा सामाजिक प्रभाव र मानसिक तत्व, बेरोजगारी, घरेलु हिंसा, शिक्षा र कानुनी चेतनाको अभाव र गरिबी र आर्थिक समस्या नै रहेको पाइयो ।
महत्वपूर्ण ३८ कार्यपत्रहरूको प्रस्तुती
४ वटा विभिन्न विश्वविद्यालयहरूका ६ वटा कानुन अध्यापन गराउने कलेजहरूबाट प्राप्त ९० भन्दा बढी कार्यपत्रहरूबाट छनौटमा परेका कुल ३८ वटा अपराधमा महिलाको संलग्नतासँग सम्बन्धित विभिन्न विषयका कार्यपत्रहरू सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
४ वटा हलमा अलग अलग गरी प्रस्तुती गरिएको राष्ट्रिय सम्मेलनमा प्राप्त सुझाव, ८ वटा सेसनको अध्यक्षता गर्ने ८ जना सहजकर्ताहरूको सुझाव र पृष्ठपोषणहरूले सम्मेलनमा छलफल गरिएका महत्वपूर्ण कार्यपत्रहरूको निचोड विद्यमान कानुन, अनुसन्धान विधि, न्याय र फैसला गर्ने क्रममा विचार गर्नुपर्ने कुराहरूमा उल्लेख्य सुधार गर्न सहयोग हुने विश्वास गर्न सकिन्छ ।
सम्मेलनमा प्रस्तुतीका लागि छनौट गरिएका ३८ कार्यपत्रहरू ८ वटा सेसनमा विभाजन गरी प्रस्तुती तथा छलफल गरिएको थियो । जसमध्ये पहिलो ‘दोषीको रुपमा महिला’ विषयक सेसनको अधिवक्ता नेहा गुरुङले, दोस्रो “महिला र कारागार प्रणाली” विषयक सेसनको डा. रेवती राज त्रिपाठीले, तेस्रो ‘अपराधमा महिला : पीडित महिला’ विषयक सेसनको अधिवक्ता प्रकृति बुढा मगरले, चौथो “महिला अपराधीकरणको कारक तत्वहरू” विषयक सेसनको अधिवक्ता राजाराम दुवालले, पाँचौँ ‘लैङ्किक एवं अनुसन्धान’ विषयक सेसनको प्रा.डा. रजितभक्त प्रधानाङ्गले, छैठौँ ‘महिला, कानुनी द्वन्द्वमा परेका बालिका ः मानसिक पक्ष’ विषयक सेसन पूर्वन्यायाधीश धर्मराज पौडेलले, सातौँ ‘महिला र डिजिटल एरा’ विषय सेसन अधिवक्ता लक्ष्मी बखाद्योले र आठौँ ‘पीडितका रूपमा महिला’ विषयक सेसनको डा.कुन्सान लामाले सहजकर्ताको भूमिका निर्वाह गर्नुका साथै महत्वपूर्ण पक्षपोषण गर्नुभएको थियो ।
साथै विधायिकाले आगामी दिनमा बनाउनुपर्ने नयाँ नयाँ कानुन र विद्यमान कानुनमा आवश्यक सुधारका लागि ती कार्यपत्रहरूबाट प्राप्त सुझाव एवं सिफारिसहरू निकै महत्वपूर्ण हुने देखिन्छ ।
यसरी फौजदारी कानुन र न्यायको क्षेत्रमा ‘अपराधमा महिला’ विषयक दोस्रो राष्ट्रिय सम्मेलनको आयोजना गरेर स्थापना भएको चार वर्षमा ख्वप कलेज अफ लले पाएको सफलतालाई बधाई एवं आगामी उज्यालो भविष्यको लक्षणका रूपमा हेर्न सकिन्छ ।
ती ३८ वटा कार्यपत्रका सारांशलाई समेटेर दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिले पुस्तिका पनि प्रकाशित गरेको छ ।
यसअर्थमा स्थापना कालको चौथो वर्षमा ख्वप कलेज अफ लले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलन सफल रहेको र कानुन क्षेत्रमा संलग्न हामी सबैको लागि उत्साहित गरेको मान्न सकिन्छ ।
२०८३ जेठ २४
Leave a Reply