भर्खरै :

“नेटो” शक्तिहरू रूसतर्फ लम्किँदै छन्

  • जेष्ठ २५, २०८३
  • ग्यारी विल्सन
  • विचार
“नेटो” शक्तिहरू रूसतर्फ लम्किँदै छन्

इस्टोनियामा बेलायती सेना मोर्चाबद्ध भएर बसेको छ । त्यहाँ रूसको सीमारेखाभरि बेलायती सेना छ । यस्तै जर्मनीको नयाँ हतियारबद्ध ब्रिगेड लिथुआनिया पुगेका छ । यो ब्रिगेड रूसको कालिनिनग्रादनजिकै तैनाथ छ । फ्रान्सका युद्धविमानहरूले पोल्यान्डसँग मिलेर आणविक आक्रमणको अभ्यास गर्दै छन् ।
बेलायत, फ्रान्स र जर्मनीले आफ्नो सेना, हतियार र आणविक परियोजनाहरूलाई रूसको सीमातिर ठेल्दै छन् । त्यहाँका सरकारहरूले यसलाई प्रतिरक्षाको नाम दिएका छन् । रूसले कुनै पनि पश्चिम युरोपेली मुलुकमाथि आक्रमण गरेको छैन । युद्धको खतरा कसैबाट छ भने त्यो पश्चिम युरोपबाट छ । रूसलाई घेराबन्दीमा पार्न खोज्ने (उत्तर एटलान्टिक सन्धि सङ्गठन, NATO) ‘नेटो’ को पासोबाट खतरा छ ।
यी वासिङ्टनले घाँटीमा दाम्लो बाँधेर तानिरहेका सानातिना देश होइनन् । बेलायत, फ्रान्स र जर्मनी युरोपेली साम्राज्यवादको नेतृत्व गरिरहेका देश हुन् । उनीहरू पुराना उपनिवेशवादी शक्ति हुन् । तिनका बैङ्क, हतियार निर्माता, ऊर्जामा एकाधिकार जमाइरहेका कम्पनी र सैन्य कमान्ड आज पनि टाढाटाढासम्म फैलिएका छन् । उनीहरू ‘नेटो’ भित्र सक्रिय छन् । यो ३२ देशको सैन्य गठबन्धन हो । यसले अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको काम गर्छ र अमेरिकी सेनाले नै यसको कमान सम्हाल्छ ।
अमेरिकामा धेरैले ‘नेटो’ लाई संयुक्त राष्ट्रसङ्घ जस्तो संस्था मान्छन् । त्यहाँ विभिन्न देशबिच छलफल हुन्छ होला भन्ठानिन्छ । तर, ‘नेटो’ त्यस्तो संस्था होइन । ‘नेटो’ को शीर्ष जनरल जहिल्यै अमेरिकी अधिकारी हुन्छन् । ‘नेटो’ का सदस्य देशका सेनाले पेन्टागनको युद्ध मेसिनको काम गर्छन् । यसको लागि उनीहरूले प्रयोग गर्ने हतियार, इन्धन, युद्ध सञ्जाल एकै ढर्राको बनाइन्छ । उनीहरूले अधिकांश हतियार अमेरिकी हतियार कम्पनीसँग नै किन्छन् ।
यी सबथोक एउटै तथ्यबाट जन्मिन्छन् – सन् १९४५ यता अमेरिकाले शासन गरिरहेको विश्व व्यवस्था ढल्दै छ । वासिङ्टनले आफ्नो सङ्कटलाई युरोपतिर धकेल्दै छ । उसले जबर्जस्ती युरोपको युद्ध बजेट बढाउनुपर्ने, उसले अमेरिकाबाट झन् धेरै हतियार खरिद गर्नुपर्ने, रूसको सीमामा थप सेना तैनाथ गर्नुपर्ने, युक्रेनमा थप पैसा लगाउनुपर्ने र अमेरिकी ग्यासमा आफ्नो निर्भरता बढाउनुपर्ने अड्डी लिँदै छ ।
युरोपका शासक वर्गहरू अमेरिकी भाउँतोमा लाग्दै छन् । किनभने, तिनका बैङ्क, हतियार निर्माता र ऊर्जा क्षेत्रका एकाधिकार कम्पनीहरू नाफाको पक्षमा छन् । तर, ती शासकहरूलाई अमेरिकाले अब पुरानो विश्व व्यवस्थामा आफूहरूको स्थान जोगाउन सक्दैन भन्ने पनि थाहा छ । तसर्थ, उनीहरूले ‘नेटो’ गठबन्धनभित्र आफ्नो अलग्गै युद्ध मेसिन निर्माण गर्दै छन् र यो युद्ध मेसिन पूर्वतिर सर्दै छ ।
देशको झन्डापछाडि हतियार निर्माता, बैङ्क, ऊर्जा क्षेत्रका एकाधिकार कम्पनी, जहाजका बीमा कम्पनीहरू छन् । यिनीहरू पुनः सशस्त्रीकरण, नाकाबन्दी र सैन्य सुरक्षाबाट नाफा लिने ताकमा छन् ।
रूसी सीमामा थुप्रिँदो सेना
इस्टोनिया रूससँग सीमा जोडिएको सानो मुलुक हो । हाल बेलायतले इस्टोनियामा आफ्नो सेना थुपारेको छ । जर्मनीले नयाँ हतियारबन्द ‘४५ औँ’ ब्रिगेडलाई रूसको छिमेकी देश लिथुआनियामा तैनाथ गरेको छ । सन् २०२७ सम्ममा त्यहाँ ५ हजार स्थायी सैनिक राख्ने जर्मनीको योजना छ ।
सैन्य बन्दोवस्ती जमिनमा मात्र सीमित छैन† समुद्रसम्म पनि फैलिएको छ । बेलायतले उत्तर युरोपका १० देशका जलसेनालाई एउटै गुटमा तानिरहेको छ । यो गुटको नाम हो – संयुक्त अभियान बल (Joint Expeditionary Force) । यो बलले रूसको उत्तरमा पर्ने सबै समुद्रलाई तारो बनाएको छ । रूसको तेल बोकेर विश्व बजारमा जाने तेलका ट्याङ्करहरू यसको निसानामा छन् । ती जहाजको नाका बन्द गर्ने यो कदम आफैमा युद्धकार्य (बअत या धबच) हो ।
फ्रान्सले सैन्य बन्दोवस्तीलाई आणविक तहसम्म पु¥याएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले यसलाई ‘अग्रपङ्क्तिको प्रतिरक्षा’ (forward deterrence) भने । फ्रान्सको आणविक छातालाई पूर्वतर्फ विस्तार गर्ने र रूसनजिक आणविक आक्रमण क्षमता बढाउन तालिम दिने नीतिलाई उनले त्यो नाम दिए । गत अप्रिल २० गते उनले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँग भेटे । पोल्यान्डको गदान्स्क सहरमा भएको त्यो भेटमा दुई देशले बाल्टिक क्षेत्रमा नियमित रूपमा आणविक अभ्यासको तयारी गर्न सहमति भयो । फ्रान्सका ‘रफाल’ युद्धविमानहरूले पोल्यान्डका ‘एफ–१६’ विमानसँग मिलेर आणविक हमला गर्ने अभ्यास गर्नेछन् । फ्रान्स यसलाई सीमित ‘आणविक चेतावनी प्रहार’ को नीति भन्छ । यसले ‘एउटै प्रहारबाट शत्रुलाई पछि हट्न बाध्य पार्ने’ बताइन्छ । सरल शब्दमा भन्ने हो भने रूससँग हुने युरोपेली युद्धमा कसरी आणविक लक्ष्मणरेखा नाघ्ने भनी तयारी गर्दै छ पेरिस ।
नेदरल्यान्ड, जर्मनी र पोल्यान्डले यी सबै गतिविधिलाई एउटै योजनामा समाहित गर्दै छन् । यो एउटा ‘सैन्य साँठगाँठ’ (military Schengen) हो । सेना र सैन्य सामग्रीलाई द्रूत गतिमा रूसको सीमातिर पु¥याउन बाटो जोडिँदै छ । एउटा सडकलाई अर्को सडकसँग जोड्दै, एउटा सैन्य अखडालाई अर्कोसँग जोड्दै ‘नेटो’ शक्तिहरूले युद्धको बाटो खोल्दै छन् । उनीहरूले सेनाका विभिन्न डिपो, कमान्ड, युद्धबेडालाई जोड्दै छन्; आणविक अभ्यास गर्दै छन् ।
सैन्य बन्दोवस्तीभित्र देशबिचका शत्रुता मेटिएजस्तो देखिन्छ । जस्तो– जर्मनी र फ्रान्स सँगै हिँडिरहेका छन् । तर, उनीहरू समान शक्ति होइनन् । उनीहरू एकअर्कालाई विश्वास गर्दैनन् । थल युद्धलाई आकार दिन बर्लिन आफ्ना उद्योगधन्दा र लिथुआनियामा रहेको आफ्नो ब्रिगेडमा भर परेको छ । युद्धको योजना निर्माण गर्दै गर्दा पेरिसले आफ्नो आणविक गठ्ठाघरका भरमा अग्रता लिन खोजेको छ । सबैजना युद्धको लगाम समाउन चाहन्छन्† सबैजना युद्धमुखी छन् ।
मुखमा राम–राम बगलीमा युद्ध
जर्मनी अझ अघि बढेको छ । बर्लिनले युक्रेनसँग एउटा सम्झौता गरेको छ । सम्झौता अनुसार दुवै देशले मिलेर ९३० माइल टाढा प्रहार गर्न सक्ने लामो दूरीमा मिसाइल र ड्रोनको निर्माण गरिनेछ । साथै, रूससँग हुने युद्धका लागि भित्रैसम्म मार हान्ने हतियार उत्पादन गरिनेछ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सन् २०२६ सम्म युरोपभरि १० संयुक्त हतियार निर्माण कारखाना खोल्ने बताए ।
यो सम्झौताले दुई वर्षसम्म तनाव चर्काइरह्यो । सन् २०२४ को मे महिनामा बाइडेन सरकारले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर खार्किभको सीमानिर सीमित आक्रमण गर्न अनुमति दियो । पछि बेलायत, फ्रान्स र जर्मनीले पनि त्यसै गरे । त्यो नोभेम्बरमा बाइडेनले त्यो आक्रमणको आकार बढाए । रूसको भित्रैसम्म (ATACMS) मिसाइलहरू आक्रमण गर्ने बाटो साफ गरे ।
युक्रेनलाई बिचमा राखेर युरोपेली युद्ध उद्योग बढ्दै छ । यो बढाव सिधै रूसविरुद्ध लक्षित छ । सेभिम दागदेलान जर्मनीका पूर्व सांसद हुन् । उनी युद्धको विरोध गर्ने वामपन्थी हुन् । उनी बर्लिनको नेतृत्वमा जर्मन–युक्रेन सैन्य उद्योग साँठगाँठले आकार लिइरहेको बताउँछन् ।
‘नेटो’ ले आफ्नो आदेश कागतमा लेख्नैपरेन । सन् २०२४ मा यसले रूसभित्र आक्रमण गर्ने सीमालाई खुकुलो पा¥यो । यसका तत्कालीन महासचिव येन्स स्तोल्टेनबर्गले प्रत्येक सरकारले आफूखसी निर्णय लिएको बताए । तर, हतियार ‘नेटो’ का थिए, भूउपग्रह ‘नेटो’ का थिए, निसानेबाजी ‘नेटो’ को थियो र आदेश पनि ‘नेटो’ को मुख्यालयबाट जान्थ्यो ।
रूसको भित्री भागसम्म युक्रेनले आक्रमण ग¥यो । ती हमला यसरी नै गरिएको थियो । अमेरिकी र युक्रेनी अधिकारीहरूले पश्चिमा मिडियामा वासिङ्टनले युक्रेनका लामो दूरीका ड्रोनहरू प्रहार गर्न मार्ग, उचाइ, समय र योजना निर्माणमा सघाउने गरेको बताए । केही घटनामा अमेरिकी अधिकारीले नै प्रहार गर्नुपर्ने स्थान तोकिदिएका थिए । रूसको हवाइ प्रतिरक्षालाई तारो बनाउन युक्रेनका ड्रोनहरू अमेरिकी गुप्तचर उपग्रह, स्टारलिङ्क लिङ्क, जिपिएस निर्देशिका र पहिल्यै लोड गरिएका नक्साहरूमा भर परेका थिए । सुरुमा अमेरिकी गुप्तचर निकाय ‘सिआईए’ ले युक्रेनको ड्रोन उत्पादन कार्यक्रममा सहयोग गरेको थियो । एक अमेरिकी अधिकारीले त्यो बेला भनेका थिए, युक्रेनको ड्रोन बल रूसको अर्थतन्त्रको घाँटी थिच्न वासिङ्टनले प्रयोग गर्ने ‘साधन’ हो ।
यो ‘नेटो’ को युद्ध हो । युद्धमा उसकै हतियार, उपग्रह र गुप्तचर निकाय सक्रिय छ । उसैले लडाइँमा तारो छनोट गर्छन् । तर, त्यहाँका सरकारहरू पानीमाथि ओभानो बन्दै छन् । उनीहरू युद्धमा प्रत्यक्ष सहभागी नभएको दाबी गर्दै छन् ।
पछि हट्दो वासिङ्टन र अघि बढ्दो युरोप
ट्रम्पले ‘नेटो’ मा आबद्ध सरकारहरूलाई युद्धमा खर्च बढाउन आदेश दिएका छन् । अमेरिकाले पुरानै शैलीमा यो गठबन्धनको भार वहन नगर्ने उनले चेतावनी दिइसकेका छन् । युरोपका शासकहरूले उनको चर्को र स्पष्ट चेतावनी सुनेका छन् ।
मे महिनाको अन्त्यतिर अमेरिकी रक्षा मन्त्रालयले ‘नेटो’ लाई सङ्कट पर्दा युरोप पठाउन भनी तम्तयार राखेको सेनामा कटौती गर्ने बतायो । त्यो सेनालाई दिइने रणनीतिक बमवर्षक, लामो दूरीका आक्रामक युनिट, युद्धबेडा र तेल भर्ने ट्याङ्करमा आधादेखि एकतिहाइ कटौती हुने भयो । वासिङ्टनले यो कटौतीका कारण गठबन्धनका देशहरू ‘युरोपको परम्परागत प्रतिरक्षाको प्राथमिक जिम्मेवारी’ आफै लिन बाध्य हुने बतायो । यसबिच अमेरिकाले थप सेनालाई चीनलाई घेर्न प्रशान्त महासागरमा लग्यो । यसअघि नै उसले रोमानियाबाट एक ब्रिगेड सेना र पोल्यान्डबाट हतियारबन्द ब्रिगेड बाहिर लगिसकेको थियो ।
कटौती यतिमै सीमित छैन । ‘नेटो’ को युद्ध मेसिनलाई टिकाइराख्ने बमवर्षक, ट्याङ्कर, जहाज र गुप्तचरी विमानमा पनि कटौती भएको छ । वासिङ्टनले युरोपका शासकहरूसँग ‘अमेरिकी टेकोमा अब भर नपर्नू’ भन्दै छ । ‘युद्ध गर्ने भए त्यसको तयारी आफै गर्नू’ भन्दै छ ।
यहीनिर आइपुग्छ, युद्ध अर्थतन्त्र । वासिङ्टनले आफ्नो सङ्कट युरोपको टाउकोमाथि राख्दै छ । उसले भन्दै छ, अमेरिकी ग्यास खरिद गर, ‘नेटो’स्तरीय हतियार खरिद गर, अमेरिकी सेनालाई विस्थापित गर, युक्रेनमा पैसा पेल र युरोपको अर्थतन्त्रलाई युद्धमुखी बनाऊ । यसपछि युरोपका सरकारहरूले आफ्नो देशका कामदार जनतालाई अस्पताल, शिक्षालय, पेन्सन, यातायात र ज्यालाका लागि सरकारी ढुकुटीमा पैसा छैन भने ।
यो तिगडमले कसरी काम गर्छ भनी जर्मनीले देखायो । सन् २०२५ मार्चमा बर्लिनले संविधान बदल्यो । सरकारले कति ऋण लिने भन्ने ‘ऋणसीमा’ हटाइयो । दैनिक खर्चको सीमा यथावत छ । तर, युद्ध खर्चमा कुनै सीमा छैन । देशको कूल गार्हस्थ उत्पादन (जिडिपी) को १ प्रतिशत माथि पारेर सरकारले जति पनि ऋण लिन सक्छ । सन् २०२६ मा बर्लिनले झन्डै ११७ अर्ब डलर विनियोजन ग¥यो । अब उसले सैन्य खर्चलाई जिडिपीको ३.५ प्रतिशत पु¥याउने सुर कस्दै छ । यो रकम उसले हतियार खरिद, सैन्य अखडा निर्माण र लिथुआनियामा नयाँ ब्रिगेडलाई भरथेग गर्न प्रयोग गर्नेछ ।
बर्लिनले सडक, रेलमार्ग, अस्पताल र शिक्षालयको पुनर्निर्माणमा खर्च गर्न भनेर देखावटी रूपमा अलग्गै ४५० अर्ब डलरको कोष पनि बनाएको छ । तर, यो एकपल्ट मात्र लिइएको ऋण हो । ज्याला, पेन्सन, जनकल्याण, अस्पताल र शिक्षालय सञ्चालनका लागि हुने दैनिक खर्चको बजेट सीमित छ । तर, युद्धले खुला प्रश्रय पाइरहेको छ । श्रमजीवी जनतालाई पर्खिन भनिएको छ ।
नेटोलाई पूर्वतिर केन्द्रित गर्दै गर्दा पुनःसशस्त्रीकरणलाई आवरण बनाइएको छ । देशभित्र युद्ध अर्थतन्त्र चलाइँदै छ† श्रमजीवी जनतालाई जाने सामाजिक खर्च कटौती गरिएको छ† नाफाजति हतियार निर्माता, ठुला ऊर्जा कम्पनी र बैङ्कहरूको खल्ती हालिँदै छ; वासिङ्टनको सैन्य र ऊर्जा प्रणालीमाथिको निर्भरता बढाइँदै छ ।
इरानविरुद्ध अमेरिकी युद्धले युरोपका शासकहरूको सङ्कट बढाइदिएको छ । वासिङ्टनले इरानलाई घुँडा टेकाउन सकेन । उसले आफ्नै सर्तमा हर्मुज जलनाका खोल्न सकेन । खाडीमाथि आफ्नो पुरानो पकड पुनस्र्थापित गर्न सकेन । लडाइँले तेलको बजार, जहाजी मार्ग र बीमादरमा भुइँचालो ल्यायो । युरोपका सरकारहरूले प्रस्टै बुझे, “अमेरिकी युद्ध मेसिनलाई नुघाउन र कमजोर बनाउन सकिन्छ । रूसविरुद्ध युद्ध उन्मादलाई जारी राख्ने हो भने आफैले सैन्य बन्दोवस्ती गर्नुपर्छ ।”
युद्धले युरोपका ठुला पुँजीपतिहरू पनि थर्कमान भइरहेका छन् । हर्मुज जलनाकामा कडिकडाउ हुँदा ऊर्जा र जहाजी बीमादर बढेको छ । जर्मन उद्योगहरू रूसको सस्तो ग्यास पाउन छोडेपछि यसअघि नै थला परेका थिए । अहिले जर्मनी र उसका छिमेकीहरूले महँगो भाउमा अमेरिकी ग्यास किन्दै छन् । यसले गर्दा युरोपेली धन अमेरिकी ग्यास कम्पनीहरूको खातामा जम्मा हुँदै छ । रसायन, स्टील र सिसा कम्पनीका मालिकहरूले इन्धनमा थुप्रै लगानी गर्नुपरेको छ । श्रमजीवी जनताले बेदखली, उच्च महँगी र तीव्र कामको मार खेप्नुपरेको छ । तथापि, तिनका सरकारहरूले रूसविरुद्ध हतियार थुपार्दै छन् र आफूलाई अमेरिकाको महँगो ऊर्जा बजारमा बाँधिरहेका छन् ।
यो सबै योजना वासिङ्टनको हो । सन् २०२५ फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले राष्ट्रिय ऊर्जा वर्चस्व परिषद् गठन गरे । अमेरिकी तेल र ग्यासको उत्पादन बढाउन र ऊर्जालाई हतियारको रूपमा प्रयोग गर्न यो परिषद्को गठन गरिएको थियो । युरोपबाट रूसी ऊर्जा हटाउन र त्यसको ठाउँमा अमेरिकी ग्यास बेच्ने ट्रम्पको योजनाले काम गर्दै छ ।
हतियार निर्माता, ठुला ऊर्जा कम्पनी, बैङ्क र जहाजका बीमा कम्पनीहरू अहिले अर्थतन्त्रमाथि हावी हुँदै छन् । उनीहरूले पुनः सशस्त्रीकरणलाई बढावा दिँदै छन्, हतियार उद्योगमा सरकारी अनुदान बढाउँदै छन् । उनीहरूले आर्थिक प्रतिबन्धमा जोडबल लगाउँदै छन् र सैन्य सुरक्षाको माग गर्दै छन् ।
चीन, भारत, इरान र दक्षिणी गोलाद्र्धसँग रूसको बढ्दो सम्बन्धका कारण उनीहरूको तारो एकदम प्रस्ट छ । साम्राज्यवादीहरूले रूसको मात्र सामना गरिरहेका होइनन् । आफ्नो नियन्त्रणबाहिर गइरहेको सारा विश्वसँग उनीहरू जुध्दै छन् ।
युरोपका शासकहरूले विश्वमा हेरफेर आइरहेको बुझेका छन् । युक्रेनमा सम्झौता हुनुभन्दा अगाडि नै आफ्नो थैलो बलियो पार्न चाहन्छन् । बेलायती विदेशनीतिका हर्ताकर्ताहरूले यो कुरा जोडजोडले बोलिसकेका छन् । लन्डनको विज्ञसमूह ‘च्याट्हम हाउस’ ले रूस–युक्रेन युद्धविराम युरोपेली सुरक्षाका लागि ‘खतरा’ हुन सक्ने चेतावनी दिएको छ ।
यसलाई दोहो¥याएर पढौँ, उनीहरू शान्तिलाई खतरा भन्दै छन् । युरोपका ‘नेटो’ सरकारहरूले युक्रेनमा थप १०४ अर्ब डलर लगाउँदै छन् । उता युक्रेनी सेनाले रूसी तेल प्रशोधन केन्द्र, ऊर्जा केन्द्र र क्रिमिया पुग्ने आपूर्ति रेखामा ड्रोन हमला गर्दै छ । युद्ध चालु राख्न ती सरकारले पैसा पेल्दै छन् । उनीहरू
आफ्नो योजनामा शान्तिले दख्खल दिएको हेर्न चाहन्नन् ।
रूस नै तारो हो भनी प्रमाणित गर्ने ठोस प्रमाणहरू छन् । रूसमा प्राकृतिक सम्पदा, भूमि र ऊर्जाको विशाल भन्डार छ । युरोप र एसियाबिच आउजाउ गर्ने लामा जहाजी मार्ग छन् रूससँग । रूससँग अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर छ । यो झन्डै ४५०० माइल लामो सञ्जाल हो । यो सञ्जाल भारत, इरान, रूस र मध्य एसियादेखि युरोपसम्म फैलिएको छ । यसको लागि स्वेज नहर वा लालसागर छिचोल्नुपर्दैन । आर्कटिक हुँदै जाने उत्तरी समुद्री मार्गमा रूसको नियन्त्रण छ । यो युरोप र एसियाबिच व्यापार गर्ने वैकल्पिक मार्ग हो । यो बाटोबाट व्यापार गर्दा पश्चिमा जलसेनाको खटनमा चल्ने दक्षिणको समुद्री मार्गको झन्झट व्यहोर्नुपर्दैन । रूसले अहिले साइबेरिया ऊर्जाको दोस्रो पाइपलाइनमा जोड दिँदै छ । यसले रूसलाई लामो समयसम्म चीनसँग जोड्नेछ र यही मार्ग हुँदै रूसले आफ्नो ग्यास पूर्व पठाउनेछ ।
रूस आफैमा एक पुँजीवादी देश हो । तर, त्यहाँको शासक वर्गले गाजप्रोम, रोसनेफ्त र स्बरब्याङजस्ता रणनीतिक कम्पनीहरूलाई पश्चिमा वित्तको हातमा सुम्पिन मानेन । उल्टो उसले चीन, भारत र दक्षिणी गोलाद्र्धका देशहरूसँग सम्बन्ध जोड्यो । युरोपका शासकहरू यो सम्बन्ध चुँडाउन चाहन्छन् र त्यसको लगाम आफ्नो हातमा लिन चाहन्छन् । सुरक्षाका प्रत्येक दलीलपछाडि वित्तीय पुँजी निल्ने पुरानो भोक लुकेको छ । उनीहरू रूसका सरकारी सम्पत्ति हात पार्न चाहन्छन् । त्यहाँका प्राकृतिक सम्पदा, बैङ्क, पाइपलाइन र व्यापारिक मार्ग खोस्न चाहन्छन् । त्यसकै बलमा पुनः मोटाउन चाहन्छन् ।
रूसको वरिपरि गरिएको घेराबन्दीले एउटै सन्देश दिन खोजेको छ – अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था ढले पनि साम्राज्यवादी शक्तिहरू अझै पनि युरेसियाको धनसम्पत्ति, बजार र पूर्वाधार कब्जामा लिन सक्छन् । सुरक्षा देखावटी हो । यो कुनै कारण होइन ।
सीमामा पर्ने प्रत्येक दरार युद्धको उद्घोष हो
युरोपका नेताहरूले ड्रोन दूर्घटना र सीमा झडपलाई निहुँ बनाएर थप सेना र हतियार थुपार्दै छन् । तनाव चर्केको निहुँमा राष्ट्रवादको झन्डामुनि जनतालाई गोलबन्द गर्ने दाउ रच्दै छन् । यसको परिणाम एकदम भयानक हुनेछ । उनीहरू ‘नेटो’ को निगरानी कडा पार्नुपर्ने, वायुसेना बलियो बनाउनुपर्ने र रूसविरुद्ध कडा नीति लिनुपर्ने माग गर्दै छन् ।
मे २९ गते रोमानियाको गलाटी क्षेत्रमा एउटा अग्लो घरमा एउटा ड्रोन ठोक्कियो । दुई व्यक्ति घाइते भए । भवनका ७० बासिन्दा घर छोड्न विवश भए । रोमानियाका रक्षामन्त्रीले त्यो ड्रोन रूसी भएको दाबी गरे । बुखारेस्टले कोन्सान्टामा बस्ने रूसी कन्सुललाई निष्कासित ग¥यो र कन्सुलेट बन्द गर्ने आदेश दियो । रूसले त्यसको जिम्मेवारी लिएन । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आक्रमण गरेको कुनै प्रमाण नभएको बताए ।
रोमानियाका राष्ट्रपति निकुसोर डनले त्यो ड्रोनलाई आकाशबाट खसालिएको बताए । उनले भने, रूसी ड्रोनहरूको एउटा समूहबाट अलग्गिएको त्यो ड्रोनलाई युक्रेनी वायुसेनाले रेनी सहरनिर डेन्यूबमा फसाएपछि त्यो रोमानियाको आकाशमा पसेको थियो र गलाटीमा ठोक्किएको थियो । यसको अर्थ त्यो दुर्घटना युक्रेन युद्धको बाछिटा थियो । यही मौका छोपेर घन्टाभरमै युरोपेली अधिकारीहरूले रूसविरुद्ध अझ कडा कदम चाल्नुपर्ने माग गरे ।
ड्रोनको लस्कर दुवैतिर देखिन्छ । युक्रेनी ड्रोनहरूले राजधानी किभबाट १ हजार माइल टाढा पर्ने रूसी स्थानहरूमा आक्रमण गरिसकेका छन् । तीमध्ये कतिपय ड्रोनहरू ‘नेटो’ क्षेत्रमा पनि पसेर ठोक्किएका छन् । मे १९ गते ‘नेटो’ युद्धविमानले दक्षिणी इस्टोनियामा एउटा युक्रेनी ड्रोनलाई खसालेको थियो । पहिलोपल्ट ‘नेटो’ गठबन्धनले कसैलाई खसालेको थियो । युक्रेनले ‘अनपेक्षित घटना’ का लागि माफी मागेको थियो ।
प्रत्येक दुर्घटना, प्रत्येक गोलीबारी, प्रत्येक आरोपपछि एउटै माग दोहो¥याइन्छ – ‘नेटो’ को निगरानी थप कडा पार्नुपर्छ, वायुसेनालाई बलियो पार्नुपर्छ, रूसविरुद्ध अझ कडा नीति लिनुपर्छ ।
पुनः सशस्त्रीकरण सीमामा मात्र भएको होइन । विदेशमा युद्धको तयारी गरिरहेका सरकार, सैन्य जनरल र शासक दलहरूले देशभित्र पनि मोर्चाबन्दी गर्दै छन् । उनीहरूले सैन्य बजेट बढाउनुलाई स्वभाविक देखाउँदै छन्† युद्धविरोधी आवाजलाई दबाउँदै छन् । मजदुर युनियन र आन्दोलनहरूलाई ‘राष्ट्रिय सुरक्षा’ को छातामुनि ल्याउन खोज्दै छन् ।
श्रमजीवी जनताले उनीहरूको कुन सुन्नुहुँदैन । ‘नेटो’ को सैन्य बन्दोवस्ती, युद्ध बजेट र उन्मादविरुद्ध कामदार वर्गीय प्रतिरोधको विकास गर्नु नै हाम्रो वर्तमान कार्यभार हो ।
व्यापक युद्धको खतरा
मे २५ गते तनाव आधिकारिक बन्यो । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशका रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई फोन गरे । फोनवार्तामा उनले रूसी सेनाले किभका विभिन्न सैन्य इलाका र ‘नीति निर्माण गर्ने मुख्यालयहरू’ मा ‘व्यवस्थित आक्रमण’ थालेको बताए । सोही दिन रूसी विदेश मन्त्रालयले अमेरिका र अन्य सरकारहरूलाई आफ्ना कूटनीतिज्ञ र नागरिकहरूलाई युक्रेनको राजधानी किभबाट बाहिर लग्न भन्यो ।
मे २१ गते युक्रेनले रातको समयमा लुहान्स्कमा पर्ने स्तारोबेल्स्कमाथि ड्रोन आक्रमण गरेको थियो । रूसी अधिकारीहरूका अनुसार त्यो आक्रमणमा कलेजको छात्रावास र कक्षा कोठाहरू ध्वस्त भएका थिए भने २१ जना विद्यार्थी मारिएका थिए । मारिनेमध्ये धेरैजना भर्खरका युवती थिए । त्यो आक्रमणमा ८६ जना किशोरकिशोरी पनि मारिएका थिए । त्यो आक्रमणको संयोजन अमेरिकी धनाढ्य इलन मस्कको उपग्रह सञ्जाल ‘स्टारलिङ्क’ ले गरेको थियो । त्यो सञ्जाललाई मस्कको कम्पनी ‘स्पेसएक्स’ ले सञ्चालन गर्छ । रूसको भित्री स्थानहरूमा हुने आक्रमणहरूमा युक्रेनी सेनालाई ‘स्टारलिङ्क’ ले सघाइरहेको रूसी अधिकारीहरूले बताए । यसको अर्थ इलन मस्कको ‘स्पेसएक्स’ एक निजी कम्पनी हो तर यो अमेरिकी युद्ध मेसिनको अङ्ग पनि हो । युक्रेनको सोही आक्रमणको बदलामा जवाफी आक्रमण गर्न लाभरोभले अमेरिकी विदेशमन्त्री रुबियोलाई फोन गरेका थिए । रुबियोले लाभरोभको सन्देश ट्रम्पलाई पठाएको बताए । उनले युद्ध ‘नयाँ रूपमा फैलिन सक्ने’ जोखिम बढेको चेतावनी पनि दिए ।
रूसभित्र छलफल कठोर बनेको छ । महत्वपूर्ण ओहोदामा बसेका अधिकारीहरू खुलेर बोल्न थालेका छन् । आफूमाथि आक्रमण गर्नका लागि प्रयोग हुन्छन् भने युरोपेली उद्योग र पूर्वाधारहरूमा पहिले नै आक्रमण गर्नुपर्ने उनीहरू बताउँदै छन् । कतिपयले रणनीतिक आणविक हतियार प्रयोग गर्नका लागि न्यूनतम मापदण्ड तोक्नुपर्ने माग गर्दै छन् । यसरी ‘नेटो’ को छद्म युद्ध प्रत्यक्ष युद्धमा फेरिन सक्छ । रूसका भित्री भागमा आक्रमण बढ्दै जाँदा रूसले प्रत्याक्रमण गर्न सक्छ । त्यसपछि युरोप र अमेरिका युद्धमा पस्नुपर्छ भन्ने नयाँ माग उठ्न सक्छ ।
युरोपका शासकहरूले आफ्नै ठाउँमा लड्नका लागि हतियार थुपार्दै छन् । यो लडाइँ यस्तो संसारमा हुनेछ, जसमा वासिङ्टनको उति पकड छैन । उनीहरूले ‘रूसी आक्रमण’ लेखिएको झन्डा फहराउँदै छन् । तर, उनीहरूको आँखा अन्तै छ । उनीहरू रूसको विशाल युरेसिया क्षेत्रमा पाइने प्राकृतिक सम्पदा, पाइपलाइन, बन्दरगाह र व्यापारिक मार्गमा आँखा गाड्दै छन् । रूसको सीमामा जम्मा भइरहेका साम्राज्यवादी शक्तिहरू ठुलो सिकार हात पार्न चाहन्छन् । यसको लागि उनीहरू युद्धलाई व्यापक रूप दिनसमेत पछि पर्नेछैनन् । यो युद्धबाट श्रमजीवी जनताले केही पाउने होइनन् । युद्धको नाममा राष्ट्रिय एकता कायम गर्नु अर्को जाल हुनेछ । यसकारण, ‘नेटो’ गठबन्धनको पूर्वी अभियान, बढ्दो युद्ध बजेट र विश्वयुद्धतर्फको उन्मादविरुद्ध श्रमजीवी जनताको बलियो प्रतिरोध निर्माण गर्नु नै आजको अभिभारा हो ।
(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *