यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पुँजीवादी निर्वाचन प्रणाली र त्यससँग जोडिएको भ्रष्टाचारप्रति पुस्तकले गहिरो आलोचना प्रस्तुत गरेको छ । नेपालको निर्वाचन प्रणालीलाई यसले पैसाको खेल, माफिया समूहहरूको प्रभाव र विदेशी हस्तक्षेपको परिणामको रूपमा व्याख्या गरेको छ । चुनावमा सिद्धान्तभन्दा धन र पहुँचको प्रभाव हाबी भएको, इमानदार र जनमुखी नेतृत्वको स्थानमा ठेकेदार, व्यापारी तथा भ्रष्ट तत्वहरूको प्रवेश भएको यथार्थलाई यसमा स्पष्ट रूपमा देखाइएको छ । राजनीतिलाई जनसेवाको माध्यम नभई व्यक्तिगत स्वार्थ र शक्ति आर्जन गर्ने साधन बनाइएको छ । यसले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास घटाउने खतरा पैदा गरेको छ ।
‘श्रमिक’ साप्ताहिक नेपाली पत्रकारिताको क्षेत्रमा सैद्धान्तिक स्पष्टता, वैचारिक दृढता र जनपक्षीय दृष्टिकोणका कारण विशिष्ट पहिचान बनाएको प्रकाशन हो । आजको समयमा धेरैजसो सञ्चारमाध्यमहरू, व्यावसायिक स्वार्थ वा सनसनीमुखी प्रवृत्तितर्फ झुकेको देखिँदा, ‘श्रमिक’ साप्ताहिकले भने पत्रकारिताको मूल मर्म यथार्थ, सन्तुलन र विश्वसनीयतालाई केन्द्रमा राख्दै आफ्ना सामग्री प्रस्तुत गर्दै आएको छ । यसले समाज, राजनीति तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई वर्गीय र ऐतिहासिक दृष्टिकोणबाट विश्लेषण गर्दै पाठकलाई सूचना मात्र होइन, स्पष्ट वैचारिक दिशा पनि प्रदान गर्ने कार्य गरिरहेको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा देखिएको विकृति, प्रोपागन्डामूलक प्रवृत्तिबिच ‘श्रमिक’ साप्ताहिक सैद्धान्तिक रूपमा आधारित पत्रकारिताको उदाहरण प्रस्तुत गरिरहेको पत्रिका हो । यसले जनचासोको विषयलाई प्राथमिकता दिँदै जनताको पक्षमा उभिने, सत्तालाई प्रश्न गर्ने र वैचारिक बहसलाई समृद्ध बनाउने भूमिका निर्वाह गर्दै आएको छ । यस अर्थमा, ‘श्रमिक’ साप्ताहिक एक समाचारमाध्यम मात्र नभई जनचेतना अभिवृद्धि गर्ने र वैचारिक मार्गदर्शन दिने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको छ ।
यस साप्ताहिक पत्रिकाको सम्पादकीय खण्डले वर्तमान सामाजिक–राजनीतिक यथार्थलाई जनताले कुन दृष्टिले हेर्ने भन्नेमा स्पष्ट मार्गनिर्देशन दिइरहेको सम्पूर्णलाई जानकारी नै छ । तसर्थ, पुस्तकहरू महत्वपूर्ण र अध्ययनयोग्य छन् । यसले कामदारवर्गलाई राजनीतिक रूपले सुसूचित गर्ने महत्वपूर्ण काम गर्छ ।
पुस्तक समीक्षा : ‘श्रमिक सम्पादकीय सङ्कलन–३’
नेपालको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विकृतिहरूको यथार्थपरक शल्यक्रिया गरी लेखिएका सम्पादकीयहरू सङ्कलन गरी प्रकाशनमा ल्याएको यस पुस्तक एक महत्वपूर्ण वैचारिक कृति हो । यस पुस्तकमा शासक दलहरूभित्र मौलाएको अवसरवाद, पदलोलुपता र वैचारिक विचलनको कडा भण्डाफोर गर्दै उनीहरूले राजनीतिलाई व्यक्तिगत स्वार्थ र कमिसनको साधन बनाएको यथार्थ पस्किएको छ । सिद्धान्त त्यागेर सत्ताको खेलमा लागेका नेताहरूले पुँजीवादी निर्वाचनलाई कसरी पैसा, माफिया र ठेकेदारहरूको क्रिडास्थल बनाएका छन् भन्ने कुरा यसमा प्रस्ट पारिएको छ । देशका सार्वजनिक उद्योगधन्दाहरूलाई कौडीको मूल्यमा निजीकरण गरी कृषि अर्थतन्त्र ध्वस्त पार्ने र लाखौँ युवालाई सस्तो श्रमका लागि विदेश धकेल्ने शासकवर्गको गलत आर्थिक नीतिको यसले तीव्र आलोचना गरेको छ ।
यस सङ्कलनको अर्को प्रमुख पक्ष भनेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रखर विरोध तथा राष्ट्रिय सार्वभौमिकताको पक्षपोषण हो । विशेष गरी, देशको स्वतन्त्रतामाथि आँच आउने थाहा पाउँदापाउँदै पनि शासक दलहरूले एमसीसी (MCC) जस्ता सम्झौताहरू पारित गरेको घटनालाई पुस्तकले नवउपनिवेशवादी षड्यन्त्रको रूपमा कडा निन्दा गरेको छ । यसले साँचो ‘सर्वहारा वर्गीय भावना’ भनेको काम नगरी खाने प्रवृत्ति नभई आफ्नै बुद्धि, सीप र परिश्रममाथिको विश्वास हो भन्दै कामदारवर्गलाई सचेत गराएको छ । समग्रमा, विदेशी हस्तक्षेप र स्वदेशी भ्रष्ट प्रशासनबाट देशलाई जोगाउन सचेत देशभक्त, बुद्धिजीवी, मजदुर र किसानहरूले मौलिक राष्ट्रिय हित र समाजवादको बाटोमा कसरी निरन्तर सङ्घर्ष गर्ने भन्ने स्पष्ट वैचारिक मार्गदर्शन यस पुस्तकले प्रदान गरेको छ
‘श्रमिक’ का सम्पादकीयहरूको तेस्रो सङ्कलन ‘श्रमिक’ सम्पादकीय सङ्कलन–३’ नेपाली राजनीतिक, आर्थिक तथा सामाजिक यथार्थको गहिरो विश्लेषण गर्ने एक सशक्त वैचारिक कृति हो । यो कृति केवल समसामयिक घटनाहरूको वर्णनमा सीमित छैन, बरु ती घटनाहरूको वर्गीय, ऐतिहासिक र वैचारिक आधारमा विश्लेषण गर्दै पाठकलाई गम्भीर चिन्तनतर्फ उन्मुख गराउने विशेषता बोकेको छ । यसले नेपालको वर्तमान राजनीतिक अवस्था, शासकवर्गको चरित्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन तथा जनताको वास्तविक अवस्थालाई स्पष्ट दृष्टिकोणसहित प्रस्तुत गरेको छ । समग्रमा, यो सङ्कलन नेपाली समाजलाई बुझ्ने एक वैकल्पिक दृष्टिकोण प्रदान गर्ने बौद्धिक दस्ताबेजको रूपमा उभिएको छ ।
यस कृतिको प्रमुख विशेषता भनेको यसको स्पष्ट वैचारिक प्रतिबद्धता र तीक्ष्ण आलोचनात्मक दृष्टि हो । सम्पादकीयहरूमा प्रस्तुत विचारहरूले नेपाल मजदुर किसान पार्टीको दृष्टिकोणलाई आधार बनाएर देशको समसामयिक अवस्थाको विश्लेषण गरेका छन् । विशेषतः आफूलाई ‘कम्युनिस्ट’ वा ‘समाजवादी’ भन्ने तर व्यवहारमा पुँजीवादी चरित्र प्रदर्शन गर्ने नेताहरूको आलोचना यस कृतिको केन्द्रीय पक्ष बनेको छ ।
यस सङ्कलनले अवसरवाद र वैचारिक विचलनको गम्भीर प्रश्नलाई उठाएको छ । नेपाली राजनीतिमा देखिएको सिद्धान्त र व्यवहारबिचको अन्तरलाई यसले प्रस्ट रूपमा उजागर गरेको छ । आफूलाई क्रान्तिकारी सिद्धान्तसँग जोड्ने तर व्यवहारमा व्यक्तिगत स्वार्थ, पदलोलुपता र आर्थिक लाभका लागि पार्टी विभाजन गर्ने प्रवृत्तिलाई यसमा तीव्र आलोचना गरिएको छ । राजनीतिक दलहरूभित्र देखिएको नैतिक पतन, सत्ताकेन्द्रित सोच र जनताको अपेक्षाबाट विचलन भएको अवस्थालाई स्पष्ट रूपमा चित्रण गरिएको पाइन्छ । यसले देखाउँछ कि नेताहरूले माक्र्सवाद–लेनिनवादको आधारभूत सिद्धान्तलाई त्याग्दै संसदीय व्यवस्थालाई नै अन्तिम लक्ष्यका रूपमा स्वीकार गरेका छन्, जसले सर्वहारावर्गको हितलाई कमजोर बनाएको छ ।
पुँजीवादी निर्वाचन प्रणाली र त्यससँग जोडिएको भ्रष्टाचारप्रति पुस्तकले गहिरो आलोचना प्रस्तुत गरेको छ । नेपालको निर्वाचन प्रणालीलाई यसले पैसाको खेल, माफिया समूहहरूको प्रभाव र विदेशी हस्तक्षेपको परिणामको रूपमा व्याख्या गरेको छ । चुनावमा सिद्धान्तभन्दा धन र पहुँचको प्रभाव हाबी भएको, इमानदार र जनमुखी नेतृत्वको स्थानमा ठेकेदार, व्यापारी तथा भ्रष्ट तत्वहरूको प्रवेश भएको यथार्थलाई यसमा स्पष्ट रूपमा देखाइएको छ । राजनीतिलाई जनसेवाको माध्यम नभई व्यक्तिगत स्वार्थ र शक्ति आर्जन गर्ने साधन बनाइएको छ । यसले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास घटाउने खतरा पैदा गरेको छ ।
राष्ट्रिय सार्वभौमिकता र वैदेशिक हस्तक्षेपको विरोध यस कृतिको अर्को महत्वपूर्ण आयाम हो । विशेषतः अमेरिकी एमसीसी सम्झौता, भारतीय प्रभाव र विस्तारवादी नीति तथा अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको हस्तक्षेपप्रति कडा आलोचना गरिएको छ । विदेशी सहयोगको नाममा नेपाललाई नवउपनिवेशीकरणतर्फ धकेल्ने प्रयास भइरहेको छ । कोसी, गण्डक, महाकालीजस्ता सन्धिहरूको सन्दर्भमा पनि असमानता र शोषणको मुद्दा उठाइएको छ । यसले पाठकलाई राष्ट्रिय स्वाधीनताको प्रश्नप्रति संवेदनशील बनाउने प्रयास गरेको छ ।
नेपालको बिग्रँदो अर्थतन्त्र र युवा पलायनको समस्या यस ‘श्रमिक’ साप्ताहिकका सम्पादकीयहरूमा उठाइएको छ । कृषि क्षेत्रको उपेक्षा, औद्योगिक संरचनाको पतन र रोजगारीका अवसरहरूको अभावका कारण लाखौँ नेपाली युवाहरू विदेश पलायन हुन बाध्य भएको अवस्थालाई यसले गहिरो चिन्ताका साथ प्रस्तुत गरेको छ । राज्यका नीतिहरूले देशलाई आत्मनिर्भर बनाउनेभन्दा परनिर्भर बनाउने दिशामा अग्रसर गरिरहेका छन् । सार्वजनिक उद्योगहरूको निजीकरण र राष्ट्रिय स्रोतहरूको दुरूपयोगले देशको आर्थिक आधारलाई कमजोर बनाएको छ ।
यस सङ्कलनले इमानदार र क्रान्तिकारी आन्दोलनको आवश्यकतामाथि जोड दिएको छ । शासकवर्गको विचलन र भ्रष्टाचारको बिचमा पनि जनताको शक्ति र चेतनालाई केन्द्रमा राख्दै वैकल्पिक राजनीतिक मार्गको आवश्यकता औँल्याइएको छ । मजदुर र किसानवर्गलाई सचेत गराउँदै, उनीहरूको सङ्गठन र सङ्घर्षमार्फत मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा प्रस्तुत गरिएको छ । यसले स्पष्ट पारेको छ कि सच्चा समाजवाद केवल नारा वा भाषणमा होइन, व्यवहारमा इमानदारी, श्रमप्रति सम्मान र जनसेवामा आधारित हुनुपर्छ ।
यस सङ्कलनको अर्को उल्लेखनीय पक्ष यसको अन्तर्राष्ट्रिय दृष्टिकोण हो । विश्व राजनीतिका घटनाहरूलाई नेपाली सन्दर्भसँग जोडेर विश्लेषण गरिएको छ । साम्राज्यवाद, युद्ध, शक्ति सन्तुलन र वैचारिक सङ्घर्षका विषयहरूलाई ऐतिहासिक दृष्टान्तसहित प्रस्तुत गरिएको छ, जसले पाठकलाई व्यापक विश्वदृष्टि प्रदान गर्छ । यसले नेपाली राजनीतिलाई अलग्गै रूपमा नभई विश्व राजनीतिक प्रणालीको अङ्गको रूपमा बुझ्न सहयोग पु¥याउँछ ।
भाषाशैलीको दृष्टिले हेर्दा सम्पादकीयहरू स्पष्ट, प्रत्यक्ष र प्रभावशाली छन् । तीक्ष्ण आलोचना र दृढ वैचारिकता यसको मुख्य विशेषता हो । कतिपय स्थानमा प्रयोग गरिएको कडा भाषा र आक्रामक शैलीले पाठकलाई झकझक्याउने काम गर्छ, जसले कृतिको उद्देश्य—जनचेतना अभिवृद्धिलाई सशक्त बनाएको छ । यसले पाठकलाई निष्क्रिय रूपमा पढ्नेभन्दा पनि सक्रिय रूपमा सोच्न र बहस गर्न प्रेरित गर्छ ।
समग्रमा, ‘श्रमिक सम्पादकीय सङ्कलन–३’ नेपाली समाज, राजनीति र अर्थतन्त्रको गहिरो विश्लेषण गर्ने एक महत्वपूर्ण कृति हो । यसले समस्या औँल्याउने काम मात्र गर्दैन, बरु ती समस्याको मूल कारण पहिचान गर्दै वैकल्पिक मार्गको सङ्केत पनि प्रदान गर्छ । मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा अनुसन्धानकर्ताहरूका लागि यो एक महत्वपूर्ण अध्ययन सामग्री हो ।
अन्ततः, यो कृति समसामयिक नेपाललाई बुझ्न चाहने जो–कोहीका लागि एक उपयोगी मार्गदर्शक र वैचारिक स्रोतका रूपमा स्थापित भएको छ । यसले पाठकलाई वर्तमान यथार्थप्रति सजग बनाउँदै परिवर्तनको आवश्यकता र सम्भावनाबारे गम्भीर सोच्न प्रेरित गर्छ । यस महत्वपूर्ण प्रकाशनका लागि सम्पूर्ण सम्पादकीय तथा प्रकाशन टोली धन्यवादका पात्र छन् ।
(वैशाख १९ गते आयोजित ‘सम्पादकीय सङ्कलन’ (तेस्रो खण्ड) र समसामयिक टिप्पणी सङ्कलन ‘एकक्षण’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply