भर्खरै :

यिङस्युमा वैशाख १२ को सम्झना

यिङस्युमा वैशाख १२ को सम्झना

सबै कठिन समय पनि बितेर जानेछ । भूकम्पले भत्केको यिङस्यु नगर आज पूर्ण रूपमा बनिसकेको छ । तर, यिङस्यु प्राथमिक विद्यालयको भवन भने २००८ मे १२ को सम्झनाको लागि जस्ताको तस्तै राखेर निधन भएका र बेपत्ता हुनेहरूको सम्झनामा स्मारकमा रूपान्तरण गरिएको छ जहाँ आजभोलि दैनिक सयौँ मानिसहरू टाढा टाढाबाट आएर त्यो दिनको भयानक कथा सुन्छन् र दुःखको सागरमा डुबेका यिङस्यु र वनछ्वानका मानिसहरूप्रति समवेदना व्यक्त गर्छन् ।
वैशाख १२ को सम्झना आज पनि हामीलाई कुनै कहालीलाग्दो सपनाजस्तै लाग्छ । कसरी बिर्सनु त्यो भयानक दिन अनि त्यसपछि अनिश्चयका पहाडले थिचेका रातहरू । हराएका आफन्तको खोजीमा भग्नावशेषहरू पन्छाउँदै, आफ्ना प्रियजनका नाम बोलाउँदै, कतैबाट अझै कुनै श्वासको सङ्केत आउला कि भनी आशा र निराशाको दोसाँधमा बिताएको समय । मसानघाटमा आँसुले भिजेका मानिसहरूको भीड लागेको समय । आफू बाँचेकोमा खुसी हुनु कि आफन्त गुमाएकोमा दुःखी हुनुको दोहोरो मनमा व्यतीत समय । सग्लो घर भत्केर धुलोको डङ्गुर बनेको अनि झमझम पानी परिरहँदा भूकम्प पीडित शिविरमा घरको न्यानो कोठा सम्झेर काटेका महिनाहरू । कुनै पनि बेला अर्को ठुलो पराकम्प आउला कि भनी भयातुर भएर छिचोलेको समय । धेरैको मनमा अझै पनि २०७२ वैशाख १२ को भूकम्प बेला बेला चहराइरहने घाउ बनेको छ । समयसँगै सबै घाउ निको हुनुपर्ने हो तर केही घाउ भने समय जतिसुकै बिते पनि नमेटिने दुखाइ बनेर बसेको हुन्छ ।
वैशाख ९ गते (अप्रिल २२ तारिख) को दिन चीनको सिछुवान प्रान्तको यिङस्यु जान हामी बिहानै छन्दुबाट हिँड्यौँ । करिब सवा घण्टापछि यिङस्यु नगर पुग्दा बिहानदेखि परेको पानीले मौसम चिसो थियो । वरपरका पहाड, बिचमा बग्दै गरेको खोलाको दृश्यले मैले सिन्धुपाल्चोक जिल्लाको बा¥हबिसे बजार सम्झेँ ।
सन् २००८ को मे १२ का दिन दिउँसो २ बजेर ३८ मिनेटमा यिङस्यु नगरले उस्तै भयानक समय भोगेको थियो, जस्तो कठोर समय नेपालमा हामीले २०७२ सालको वैशाख १२ गते भोगेका थियौँ । सिछुवान प्रान्तको वनछ्वान काउन्टीको यिङस्यु नगरलाई केन्द्र बनाएर त्यो दिन ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले पहाडको काखमा बसेको सानो यिङस्यु नगरलाई पूर्णतः ध्वस्त बनाएको थियो । उभिएको एउटा पनि घर बाँकी थिएन । वरपरका पहाडहरूमा समेत उभिएका एउटा पनि रुख बाँकी थिएनन् । पूरै वनछ्वान काउन्टीमा ७० हजार मानिसले जीवन गुमाए, २० हजार मानिसको मृत शरीर अहिलेसम्म पनि भेटिएको छैन । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापनापछि चीनले भोगेको त्यो नै सबभन्दा ठुलो भूकम्प थियो ।
यिङस्यु नगरको यिङस्यु प्राथमिक विद्यालयमा त्यो दिन पनि सधैझैँ कक्षा चलिरहेको थियो । कक्षा कोठाबाट विद्यार्थीहरूले पाठ पढेका आवाजले वरपरका पहाड उस्तैगरी गुञ्जायमान बनेका थिए । कक्षा कोठामा फूलजस्ता विद्यार्थीहरू आपसमा जिस्किँदै, खेल्दै पढिरहेका थिए । शिक्षकशिक्षिकाहरू सुखद् भविष्यका बाली लगाएजस्तै विद्यार्थीहरूलाई ज्ञान बाँडिरहेका थिए ।
जसै भित्तामा झुन्ड्याइएको घडीमा २ बजेर ३८ मिनेट बज्यो, जमिन यसरी मच्चियो, सबै कुरा क्षणभरमै अलगअलग भए । १५ सय विद्यार्थी पढिरहेका विद्यालयका भवन तासका घरजस्तै कुनै यता र कुनै उता ढले । पाँचतले भवनका दुई तल्ला जमिनमुनि भासिए । पर्खालहरू पापड चिरा परेजस्तै चिरा–चिरा परे । जमिन जाडोमा ओठ फाटेजस्तै फाटे ।
कम्प्युटरको कक्षा पढिरहेका ४२ जना विद्यार्थीलाई शिक्षकले ढोकाको खापा आफ्नो शरीरले ढकेलेर बाहिर निकाले । तर, अन्तिममा एक जना विद्यार्थीसँगै आफू भने त्यही भग्नावशेषमा पुरेर ज्यान गुमाए । गर्भवती सङ्गीत शिक्षिका त्यो दिन बिदामा थिइन् । उनी शिक्षकहरूको क्वार्टरमा आराम गरिरहेकी थिइन् । केही दिनअघि मात्र गर्भवती छोरीको हेरविचार गर्न टाढाबाट उनका आमाबुबा क्वाटरमै बसेका थिए । भूकम्प आउने बेला आमाबुबा दुवै क्वाटर बाहिर थिए । भूकम्प आएपछि गर्भवती छोरीलाई जोगाउन क्वाटरभित्र गएकी आमाले छोरीसँगै ज्यान गुमाउनुप¥यो । यस्ता वियोगका कथा कति, कति । कति कथा भनियो, कति भग्नावशेषमै पुरियो ।
सबै कठिन समय पनि बितेर जानेछ । भूकम्पले भत्केको यिङस्यु नगर आज पूर्ण रूपमा बनिसकेको छ । तर, यिङस्यु प्राथमिक विद्यालयको भवन भने २००८ मे १२ को सम्झनाको लागि जस्ताको तस्तै राखेर निधन भएका र बेपत्ता हुनेहरूको सम्झनामा स्मारकमा रूपान्तरण गरिएको छ जहाँ आजभोलि दैनिक सयौँ मानिसहरू टाढा टाढाबाट आएर त्यो दिनको भयानक कथा सुन्छन् र दुःखको सागरमा डुबेका यिङस्यु र वनछ्वानका मानिसहरूप्रति समवेदना व्यक्त गर्छन् ।
स्मारकको अग्रभागमा जेड पत्थरमा एउटा फुटेको घडीको प्रतिमा बनाइएको छ र घडीमा २ः३८ बजेको छ । भूकम्पपछि उद्धार कार्यको शिलशिलामा विद्यालयमा भेटिएको फुटेको भित्तेघडीको प्रतिरूप उतारेर त्यो दिन र समयलाई जेडमा कुँदिएको हो । घडीको प्रतिमामुनि कुँदिएको छ २००८÷५÷१२ ।
घडीको प्रतिमासँगै एउटा अग्लो पर्खालमा खोपिएको छ विभिन्न पोशाक लगाएका मानिसहरू एकजुट भएर लागिरहेको प्रतिमा । भूकम्पपछि उद्धार कार्यमा परिचालिन हजारौँ सिपाहीँ, चिकित्सक, स्वयम्सेवक आदिको सम्मानमा त्यो भव्य प्रतिमा बनाइएको हो जसले सङ्कटको समय चिनियाँ जनताले कसरी एकढिक्का भएर चुनौतीको सामना गरेका थिए भन्ने सन्देश इतिहासको शिलालेखमा कोरेको छ । अनि सँगैको खुला चोकमा बनाइएको छ एक जना महिलाको प्रतिमा । प्रतिमा मुनितिर आमाको मायाको वर्णन गरिएको छ । उनै आमाको धैर्यताबाट उत्प्रेरित भएर आज यिङस्युका मानिसहरू फेरि दृढविश्वासका साथ भविष्य बनाउन शोकलाई शक्ति बदल्न लागिपरेका छन् ।
भूकम्प स्मारक हेर्न आउने मानिसको सङ्ख्या दिनानुदिन बढेसँगै यिङस्यु नगर हिजोआज सधैँ जीवन्त बन्ने गरेको छ, स्थानीय जनताको आर्थिक अवस्था सुधार गर्न भूकम्प स्मारकले पनि मद्दत गरेको छ । भूकम्प स्मारकअघि उभिँदै गर्दा नेपाली मित्र निरोजले मेरो छेउमा आएर भने, हामीकहाँ पनि यसरी एउटा स्मारक त बनाउनुपर्ने थियो है दाजु ।
खासमा मेरो मनभित्र पनि यस्तै कुरा खेलिरहेको थियो, किन हामीले सानै आकारको भए पनि यस्तो स्मारक बनाउन सकेनौँ होला ? हामीले भोगेको कठोर समयको इतिहासमा अभिलेखीकरण त हुने थियो नै सँगै भविष्यको लागि हामीले सुम्पने सम्पदा पनि हुने थियो । तर, समय धेरै अगाडि हिँडिसकेको छ ।
यिङस्यु नगर पुरानै लयमा फर्केको धेरै वर्ष बितिसकेको छ । भूकम्पपछि बनाएको घरहरू पनि बीस वर्ष पुराना भइसके । तर, कुनै बेलाको पहाडी कुनामा बसेको उति नचिनिएको नगरमा आज मानिसहरू भूकम्पको दुई दशक पुरानो सम्झना गर्न आउँछन् र अब कहिल्यै पनि यस्तो विपत्ति नदोहोरियोस् भनी कामना गरेर फर्किछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *