उँचो महल
- जेष्ठ १, २०८३
जब साँझ पर्छ र तलेजुको घण्टाले आकाश चिर्छ,
भक्तपुरका गल्लीहरूमा मल्लकालीन गौरव फिर्छ ।
यो सहर इँटा र काठको थुप्रो मात्र होइन,
यो त ‘जीवित सङ्ग्रहालय’ हो, जहाँ इतिहास कहिल्यै मर्दैन ।
भजनको यात्रा ‘द्यो ल्हाय्गु’ को त्यो पवित्र रागबाट खुल्छ,
जसको पहिलो स्वरले नै फल्चामा साक्षात ईश्वरलाई डाक्छ ।
यो केवल गीत होइन, देउता जगाउने एउटा मन्त्र हो,
सङ्गीतमार्फत ब्रह्माण्ड छाम्ने, पुर्खाको अद्भूत तन्त्र हो ।
पोङाः को त्यो लामो र गम्भीर गुञ्जनले आकाश थर्काउँछ,
झ्यालीको छङछङले मनभित्रको आलस्यलाई भगाउँछ ।
‘तः’ को स्थिर झङ्कार र ‘खिं’ को धप्धप जब एकैसाथ मिल्छ,
मानौँ, भक्तपुरको हरेक ढुङ्गामा, एउटा नयाँ प्राण खुल्छ ।
यहाँको सङ्गीत ऋतु फेरिएझैँ आफैँ फेरिने गर्छ,
मौसम र चाडपर्वअनुसार, हरेक रागको रूप फेरिन्छ ।
यही त हो पुर्खाको विज्ञान, यही हो प्रकृतिसँगको मेल,
जहाँ मानिसको मुड र प्रकृतिको तालको चल्छ सुन्दर खेल ।
तर जब सिथि नखः पछि भगस्तीको दिन आउँछ,
भक्तपुरको त्यो गुञ्जायमान स्वर, केही समय सुस्ताउँछ ।
‘देउताहरू गुफा पसे’ भन्दै तः र खिंलाई कोठामा थन्काइन्छ,
आस्था र अनुशासनको, एउटा गहिरो वैज्ञानिक घेरा बनाइन्छ ।
वर्षाको ओसमा बाजा बिग्रने पुर्खाको त्यो ठुलो ज्ञान,
अनि खेतीको बेला ‘श्रम नै ईश्वर हो’ भन्ने तार्किक ध्यान ।
माटोले आह्वान गर्दा, सङ्गीतलाई विश्राम दिनुपर्छ,
‘मानो रोपी मुरी फलाउन’, हिलोमा पसिना बगाउनुपर्छ ।
गथांमुगः सम्मको यो मौनता, एउटा गहिरो प्रतीक्षा हो,
प्रकृति र संस्कृति जोगाउने, मौलिक एउटा परीक्षा हो ।
जब फेरि बाजा ब्युँझिन्छन्, फल्चाहरू फेरि जाग्छन्,
अधुरो भजन बाहिर नसुनाउने, अनुशासनका दीप बाल्छन् ।
भजनको अन्त्यमा जब ‘आरती’ को दीप बल्छ,
अहङ्कार र द्वेष सबै, त्यो अग्निको ज्वालामा गल्छ ।
सबैले सबैलाई ढोग्दै, सद्भावको आशिष रोज्छन्,
दाफाकै स्वरभित्र मानिसहरू, आफ्नै अस्तित्व खोज्छन् ।
भक्तपुर बाँचेकै यसैमा छ, यसैमा यसको आत्मा छ,
पुर्खाको पसिना र देउताको आशिष, दाफाकै गीतमा छ ।
Leave a Reply