उँचो महल
- जेष्ठ १, २०८३
रु युसुप दुवाल
न्याय गर्नेले नै
अन्याय रोजेपछि
न्याय हिजो पनि मरे
न्याय आज पनि मरे ।
न्यायले नै न्याय नदेखेपछि
न्यायको कठघरामा नै न्याय मरे
काकताली मात्रै होइन यो
भर्खरै मरेको कहाँ हो र !
यो त वर्षाैँ–वर्षदेखि रेट्दै आइरहेको
जल्लादहरूको नियमितता मात्रै हो
केको सुर्ता गर्छौ ?
मरे त मरे न्याय मरे !
हो ! जनता जहिल्यै मरे !!
आज किन बिलौना ?
तिमीले हिजो देखेको न्याय
त्यही न्याय आज कसरी देख्यौ अन्याय ?
ए ¤ जल्लादहरू !!
कुन औकातले शिर उठाइरहेछौ
किन दिउँसै बर्बराई रहेछौ
कृपया दिवास्वप्न देख्ने दुस्साहस नगरून्
आफ्नै खप्पर भारी हुने गरी ।
नदुखाउनु भो !
पर्दैन अति भो !
न्याय र अन्यायको यो लडाइँमा
मरे त मरे
हिजो पनि जनता मरे
आज पनि जनता मरे ।
हारे त हारे
हिजो पनि जनता हारे
आज पनि जनता हारे
व्यर्थमा यो केको बिलाप ?
ए ! जल्लादहरू !!
सक्छौ भन्ने दे !
जवाफ दे !!
दबाइएका न्यायका आवाजहरूको
एकमुष्ट लिखितम धनिका नाउँमा
अलिखित रक्ताम्य हिसाबसहित दे ?
Leave a Reply