भर्खरै :

धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना

  • जेष्ठ २, २०८३
  • सत्य सुवाल
  • विचार
धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना

मानिस शरीरले मात्र मानिस बन्दैन । उसलाई चेतना, सोच, व्यवहार, संस्कार र मानवताले मानिस बनाउँछ । सभ्यताको सुरुवातदेखि नै मानिसले जन्म, मृत्यु, प्रकृति, रोग, समय, सुख–दुःख र जीवनको रहस्य बुझ्ने प्रयास गरिरहेको छ । यही खोजबाट धर्म जन्मियो, परम्परा बने, संस्कार बस्यो र पछि विज्ञानले तिनै कुरालाई तर्क, प्रमाण र अनुसन्धानबाट व्याख्या गर्न थाल्यो । त्यसैले धर्म, विज्ञान र अध्यात्म मूल रूपमा एकअर्काका शत्रु होइनन्† ती मानव चेतनालाई फरक–फरक बाटोबाट उज्यालो दिने माध्यम हुन् ।
सुरुवाती समयमा धर्मको उद्देश्य मानिसलाई डर देखाउनु होइन, अनुशासन, सहअस्तित्व र मानवता सिकाउनु थियो । नदीलाई ‘माता’ भनियो ताकि मानिसले पानीको सम्मान गरोस् । रुखलाई ‘देवता’ मानियो ताकि जङ्गल जोगियोस् । गाईलाई ‘माता’ भनियो किनकि कृषि, दूध र जीवनसँग उसको गहिरो सम्बन्ध थियो । मृत्यु संस्कारमा शुद्धताको नियम राखियो ताकि रोग नफैलियोस् । धेरै परम्पराको पछाडि सामाजिक, स्वास्थ्य र वैज्ञानिक कारण लुकेका थिए ।
तर, समय बित्दै जाँदा मानिसले कारण बिर्सियो, कर्मकाण्ड मात्र समात्यो ।
आज समाजमा धेरै कुरा ‘किन ?’ भनेर होइन, ‘पहिलेदेखि यस्तै हुँदै आएको’ भनेर गरिन्छ । एउटा कोठामा केही बाँदर राखिएका थिए । बिचमा भ¥याङ थियो र माथि केराको झुप्पा । कुनै बाँदर केरा टिप्न चढेपछि माथिबाट चिसो पानी झथ्र्यो र सबै बाँदर भिज्थे । त्यसपछि सबै बाँदरले चढ्न खोज्नेको खुट्टा तान्न थाले । समय बित्दै गयो । पुराना बाँदरहरू बितेर गए र नयाँहरू आए । नयाँ बाँदरले कहिल्यै पानी परेको देखेका थिएनन्, तर कसैले चढ्न खोजे भने सबैले उसको खुट्टा तान्थे । किन तानिरहेको हो भन्ने कारण कसैलाई थाहा थिएन । बस ‘यस्तै हुँदै आएको’ थियो ।
आज हाम्रो समाजका धेरै परम्परा त्यस्तै छन् ।
किन १०८ वा लाखबत्ती बाल्ने ? किन धूप बाल्ने ? किन परेवा उडाउनु ? किन यति धेरै भाकल ? किन बलि ? किन नगरे देवता रिसाउँछन् भन्ने डर ? धेरै मानिसलाई कारण थाहा छैन, तर धेरैले गरिरहेका छन् ।
धेरै परम्पराको सुरुमा कुनै साङ्केतिक अर्थ थियो । दियो बाल्नु अन्धकारमाथि उज्यालोको प्रतीक थियो । धुपबत्ती वातावरण शान्त र सुगन्धित बनाउन प्रयोग हुन्थ्यो । १०८ सङ्ख्या योग, ध्यान र ब्रह्माण्डसँग जोडिएको प्रतीक थियो । परेवा शान्तिको प्रतीक थियो । बलिको गहिरो अर्थ आफ्नो लोभ, क्रोध, अहङ्कार र विकार मार्नु हुन सक्छ । तर, समयसँगै मानिसले भित्री अर्थ छोडेर बाहिरी प्रदर्शन समात्न थाल्यो ।
आज धर्मभन्दा ‘देखाउनु’ ठुलो भएको छ । कसले ठुलो पूजा ग¥यो । कसले धेरै खर्च ग¥यो । कसले धेरै बत्ती बाल्यो । कसले ठुलो भाकल राख्यो । कसले ठुलो भोज दियो । यही नै धार्मिकताको मापनजस्तो भएको छ ।
यदि लाखबत्ती बाल्दैमा धर्म हुने भए गरीब मानिसले कहिल्यै धर्म गर्न सक्दैनथ्यो । यदि मन्दिर धाउँदैमा धर्म हुने भए मन्दिर वरपर बस्ने सबै मानिस महान् हुनुपर्ने थियो । धर्म पैसा, भीड र प्रदर्शनले नापिने कुरा होइन† व्यवहार, न्याय र मानवताले नापिने कुरा हो ।
आज मानिस मन्दिर जान्छ, पूजा गर्छ, दान गर्छ, तर फर्किएपछि मजदुरको पैसा काट्छ, दाजुभाइको अंश खान्छ, अरूको चरित्र हत्या गर्छ, झूट बोल्छ, कमजोरलाई हेप्छ । बिहान भजन गाउँछ, मुखमा भगवान् हुन्छ, व्यवहारमा घमण्ड र अन्याय हुन्छ । यही कारणले आज धर्म धेरै ठाउँमा चेतनाभन्दा कर्मकाण्डमा सीमित भएको छ ।
समाजमा अर्को खतरनाक सोच पनि बढेको छ—पहिले पाप गर्ने, पछि पूजा गरेर पखाल्ने ।
कसैले भ्रष्टाचार गर्छ । गरीबको हक खान्छ । ठगी गर्छ । झूट बोलेर अरूलाई दुःख दिन्छ । अनि अन्त्यमा ठुलो पूजा लगाउँछ, मन्दिरमा दान गर्छ, भाकल राख्छ र आफूलाई धर्मात्मा ठान्छ । मानौँ, भगवान्लाई पनि घुस दिएर पाप काट्न सकिन्छ ।
यदि पूजा गरेर सबै पाप मेटिने भए सत्य, न्याय र कर्मको अर्थ नै के रहन्थ्यो ?
आज धेरै मानिस भाकललाई पनि सौदाबाजीजस्तो बनाउन थालेका छन्, “यो गरिदेऊ भगवान्, म यति चढाउँछु ।” “काम बने लाखबत्ती बाल्छु ।” “भाकल पूरा नगरे देवता रिसाउँछन् ।” यदि भगवान् साँच्चै दयालु हुनुहुन्छ भने उनी किन डर, घुस र सौदाबाजीमा चल्ने ?
यदि भगवान्ले सबै सृष्टि बनाए भने पशु पनि यही सृष्टिका जीव हुन् । त्यसो भए बलि दिएर भगवान् किन खुसी हुने ?
नेपाल र भारतका धेरै धार्मिक परम्परामा नदी, खोला र पानीलाई पवित्र मानिन्छ । गङ्गा, वाग्मती, कोसी, गण्डकी, यमुनाजस्ता नदीहरूलाई ‘माता’ भनेर सम्मान गरिन्छ । मृत्यु संस्कारमा खोलाको जल चढाइन्छ, अन्तिम समयमा गङ्गाजल वा पवित्र जल राखे आत्माले शान्ति पाउँछ भन्ने विश्वास गरिन्छ । यसको मूल भावना प्रकृतिप्रतिको सम्मान र जीवनको पवित्रताको प्रतीक थियो ।
तर, विडम्बना के छ भने जसलाई ‘पवित्र’ भनिन्छ, त्यही खोलामा सबैभन्दा धेरै फोहोर, ढल र दुर्गन्ध मिसाइन्छ । यदि पानी साँच्चै पवित्र हो भने त्यसलाई सफा राख्नु नै सबैभन्दा ठुलो पूजा होइन र ? नदीलाई फूल चढाउनुभन्दा त्यसमा फोहोर नफाल्नु ठुलो धर्म होइन र ?
आज पूजा धेरै छ, संरक्षण कम छ । श्रद्धा धेरै छ, जिम्मेवारी कम छ । यहीँ धर्मको वास्तविक अर्थ र व्यवहारबिचको दूरी देखिन्छ ।
आज नेपाल र भारतका धेरै धार्मिक स्थलहरूमा ‘ख्क्ष्ए दर्शन’, ‘विशेष पूजा’ र ‘छिटो दर्शन’ का नाममा पैसा तिरेर लाइन काट्ने चलन बढ्दो छ । गरीब मानिस घण्टौँ लाइनमा उभिन्छ, तर पैसा र पहुँच हुनेहरू सिधै भित्र पुग्छन् । यदि भगवान् साँच्चै सबैका लागि समान हुन् भने यस्तो विभाजन किन ?
धर्म त समानता, सेवा, करुणा र विनम्रताको मार्ग हुनुपर्ने हो, तर कतिपय ठाउँमा त्यो व्यापार, पहुँच र प्रतिष्ठाको विषयजस्तो बन्दै गएको छ ।
श्राद्ध, विवाह, पूजाआजा र संस्कारहरूमा पनि भित्री भावनाभन्दा बाहिरी प्रदर्शन ठुलो हुँदै गएको छ । भोज कति ठुलो भयो, खर्च कति भयो, कति मान्छे बोलाइयो – यिनै कुराले ‘इज्जत’ नापिने अवस्था बन्दै गएको छ ।
धर्मले त मानिसलाई सरल, विनम्र र संवेदनशील बनाउनुपर्ने हो, तर विडम्बना ! कतिपय ठाउँमा धर्मकै नाममा अहङ्कार, प्रतिस्पर्धा र देखासिकी बढिरहेको छ ।
धर्म केवल मन्दिर, पूजा र कर्मकाण्डमा सीमित हुँदैन† त्यो मानिसको बोली, व्यवहार, संस्कार र आचरणमा पनि देखिनुपर्छ ।
मानिसको भाषा नै उसको संस्कारको पहिलो परिचय हो । शब्द केवल आवाज होइन† ती सोच, सम्मान, चेतना र संस्कारका ऐना हुन् । एउटै कुरा फरक तरिकाले बोल्दा त्यसको प्रभाव आकाश–जमिन जत्तिकै फरक हुन सक्छ । भाषामा संस्कार हराएपछि सम्बन्धमा पनि दूरी बढ्न थाल्छ । भाषाशास्त्रमा पनि शब्द र व्यवहारले सामाजिक सम्मान र अपमान निर्धारण गर्ने देखाइएको छ ।
वास्तवमा धर्मको सबैभन्दा ठुलो परीक्षा मन्दिरमा होइन, घरभित्र हुन्छ । मानिसले आफ्ना आमाबुबासँग कस्तो व्यवहार गर्छ† कमजोरलाई कति सम्मान गर्छ ? मजदुरको पसिनाको मूल्य बुझ्छ कि बुझ्दैन ? सत्यको पक्षमा उभिन्छ कि चुप लाग्छ ? त्यहीँ उसको धर्म, संस्कार र चेतनाको वास्तविक रूप देखिन्छ । हिन्दू धर्मका वेद, उपनिषद्, गीताले पूजा गर्ने विधि मात्र सिकाएका होइनन्† तिनले सत्य, कर्म, मर्यादा, न्याय र जीवनको अर्थ सिकाएका छन् । राम केवल मन्दिरमा राखिने देवता होइनन्, मर्यादा र जिम्मेवारीका प्रतीक हुन् । कृष्ण केवल बाँसुरी बजाउने पात्र होइनन्, अन्यायविरुद्ध उभिने चेतना हुन् ।
बुद्ध केवल मूर्ति होइनन्, करुणा र विवेकका मार्ग हुन् ।
रावण वध केवल एउटा मानिस मारिएको घटना होइन† त्यो अहङ्कार र शक्ति दुरूपयोगमाथिको विजयको प्रतीक हो । कंस वध अत्याचारविरुद्धको चेतना हो । देवताको दर्शन गर्नु भनेको केवल मूर्ति ढोग्नु होइन† उनीहरूले देखाएको जीवनदर्शन पछ्याउनु हो ।
विश्वका अन्य धर्महरूको मूल शिक्षा पनि अन्ततः मानवता, सत्य र नैतिकतामै केन्द्रित देखिन्छ । इस्लामले इमानदारी र समानता सिकायो । इसाई धर्मले प्रेम र क्षमाको महत्व दियो । बौद्ध धर्मले करुणा र आत्मचेतनाको मार्ग देखायो । सिख धर्मले श्रम र सेवाको भावना सिकायो । जैन धर्मले अहिंसालाई सर्वोच्च मानेको छ । धर्महरू फरक बाटाजस्ता देखिए पनि अधिकांशको अन्तिम गन्तव्य मानवता नै हो ।
जात व्यवस्थाको इतिहास पनि सुरुमा कामको विभाजन थियो, तर पछि जन्मका आधारमा स्थायी विभाजनमा बदलियो । श्रम गर्ने हातलाई तल्लो बनाइयो, तर त्यही श्रममाथि समाज उभिएको थियो । विडम्बना के छ भने धर्मले मानवता सिकाउने ठाउँमा कतिपय समाजले धर्मकै नाममा छुवाछुत र विभेदलाई परम्परा बनायो ।
जबकि कुनै बच्चा जन्मिँदा उसको निधारमा जात लेखिएको हुँदैन । रगतको रङ्ग एउटै हुन्छ, आँसु एउटै हुन्छ, पीडा एउटै हुन्छ ।
बुद्धले जन्मले होइन, कर्मले मानिस ठुलो हुन्छ भन्नुभयो । विज्ञानले पनि मानिसको शरीर, चेतना र अस्तित्वमा कुनै जातीय श्रेष्ठता नभएको स्पष्ट देखाइसकेको छ । जात प्रकृतिले बनाएको होइन† समाजले बनाएको संरचना हो ।
विज्ञानले सधैँ प्रश्न गर्छ, ‘किन ?’ ‘कसरी ?’ ‘प्रमाण के हो ?’
धर्मको मूल उद्देश्य पनि मानिसलाई सही बाटोमा हिँडाउनु थियो । समस्या त्यहाँ सुरु हुन्छ जहाँ प्रश्न गर्न छोडिन्छ र डरलाई धर्म मान्न थालिन्छ । जब विवेक हराउँछ, धर्म चेतना होइन अन्धविश्वास बन्छ ।
कम्युनिस्ट सिद्धान्तले पनि मूल रूपमा श्रमको सम्मान, समानता र शोषणविरुद्धको आवाज उठायो । मजदुरको पसिना खाने व्यवस्थाको विरोध ग¥यो । यस अर्थमा धर्मले सिकाएको मानवता र कम्युनिस्ट विचारले उठाएको समानताको चेतनाबिच धेरै समानता देखिन्छ । तर, विडम्बना के भयो भने धर्म धेरै ठाउँमा कर्मकाण्डमा सीमित भयो, सिद्धान्त धेरै ठाउँमा भाषण र नारामा सीमित हुँदै गयो ।
भक्तपुरको नेवार समाज इँटा, मन्दिर र जात्राको सहर होइन; यो जीवित संस्कृतिको विशाल सङ्ग्रहालय हो । इन्द्रजात्रामा देव–मानव सम्बन्धको कथा छ । बिस्का जात्रामा सामूहिक शक्ति र सङ्घर्षको प्रतीक छ । गाईजात्रामा व्यङ्ग्यभित्र लुकेको सामाजिक चेतना छ । म्हः पूजामा आत्माको सम्मान छ । सिथि नखःमा पानी र प्रकृतिप्रतिको कृतज्ञता छ । दाफा भजन केवल सङ्गीत होइन; त्यो मनलाई अनुशासनमा बाँध्ने साधना हो । गुठी परम्परा केवल संस्कार चलाउने व्यवस्था थिएन† त्यो ‘म’ भन्दा ‘हामी’ ठुलो हो भन्ने जीवनदर्शन थियो ।
तर, समयसँगै कतिपय ठाउँमा संस्कृतिको आत्माभन्दा बाहिरी आवरण मात्र बाँकी रहन थालेको छ । बाजा बजिरहेको छ, तर भाव हराउँदै गएको छ । पूजा भइरहेको छ, तर चेतना सुक्दै गएको छ । भीड बढेको छ, तर आत्मीयता घट्दै गएको छ ।
अन्ततः धर्म भनेको मन्दिर धाउनु, धूप–दियो बाल्नु वा ठुलो कर्मकाण्ड गर्नु मात्र होइन । धर्म त्यतिबेला सुरु हुन्छ – जब कसैको भोक देखेर आफ्नो थालको अन्न बाँडिन्छ । जब अन्यायको अगाडि चुप लाग्नुको सट्टा सत्यको पक्षमा उभिन्छ ।
जब मजदुरको पसिनाको मूल्य बुझिन्छ आमाबुबाको सम्मान गरिन्छ । कमजोरलाई हेपिँदैन । झूट र धोका जीवनको उपाय बन्दैन । मानवता हराएर गरिएको पूजा केवल धुवाँ हो; उज्यालो होइन ।
आस्था सुन्दर कुरा हो, किनकि त्यसले मानिसलाई आशा दिन्छ । तर, जब आस्था प्रश्न गर्न नसक्ने अन्धभक्तिमा बदलिन्छ, तब मानिसले आफ्नो विवेक गुमाउन थाल्छ । धर्मले मानिसलाई चेतनशील, दयालु र विनम्र बनाउनुपर्ने हो† यदि धर्मकै नाममा घमण्ड, डर, विभेद र प्रदर्शन बढ्छ भने त्यहाँ धर्मको आत्मा हराइसकेको हुन्छ ।
अन्त्यमा, मानिसले सम्झिने कुरा तपाईँले कति ठुलो पूजा गर्नुभयो भन्ने होइन । स्मरणमा रहने कुरा त तपाईँको व्यवहारले कसैको अँध्यारो जीवनमा कति उज्यालो थप्यो भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *