भर्खरै :

पुँजीवादी गणतन्त्रले बहुमत जनताको सेवा नगर्ने

पुँजीवादी गणतन्त्रले बहुमत जनताको सेवा नगर्ने

रास्वपा कम्युनिस्ट पार्टीविरोधी भएको स्पष्ट भयो । रास्वपाका उपसभापतिले भने, “हामी कम्युनिस्ट पार्टी होइनौँ ।” रास्वपा पुँजीवादी प्रजातन्त्रवादी हो कि पुँजीवादी गणतन्त्रवादी हो ? विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चल्ने पार्टी हो कि भन्ने नेपाली जनतामाझ चर्चाको विषय बनेको छ । कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार काम नगर्ने पार्टीले बहुमत जनताको पक्षमा काम गर्दैन भन्ने कुरा प्रस्ट छ । कम्युनिस्ट पार्टीको विरोध गर्ने दललाई कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने मतदाताले भोट दिनु आफ्नै खुट्टामा बञ्चरोले हान्नुसरह मानिन्छ । त्यसो त गएको प्रतिनिधिसभाको निर्वाचनमा नेका, एमाले र माओवादीहरूले पनि रास्वपा र रास्वपाका उम्मेदवारलाई मत हालेका थिए ।
रास्वपाको दर्शन, सिद्धान्त र विचार के हो ? स्पष्ट छैन । रास्वपाले कुन वर्गका जनताको सेवा गर्न स्थापना भएको पार्टी हो ? कुनै पार्टीले सामन्त, पुँजीपति, जमिनदार, जालीफटाहा, प्रतिक्रियावादीहरूको सेवा गर्छ, बहुमत जनताको हितलाई छाड्छ भने त्यो कसरी जनताको पार्टी हुन्छ ? सामन्त र पुँजीपतिवर्गको हितको निम्ति स्थापना भएको पार्टीलाई मजदुर, किसान तथा सर्वसाधारण जनताले मतदान गर्नु, त्यो पार्टीमा लाग्नु आफूले आफूलाई धोका दिनु हो । पुँजीवादी प्रजातन्त्र र पुँजीवादी गणतन्त्र त वैज्ञानिक समाजवादको तुलनामा पछि परेकै व्यवस्था हो । अल्पमतवर्गको सेवाको निम्ति खोलिएको व्यवस्था हो पुँजीवादी प्रजातन्त्र । जनताको इच्छा र आकाङ्क्षा नबुझी शासकहरूले जनविरोधी प्रवृत्ति अँगाल्छ भने देशमा समाजवादी क्रान्ति सम्भव छैन या वैज्ञानिक समाजवाद स्थापना हुँदैन ।
शोषणमा आधारित पुँजीवादी गणतन्त्रले जनविरोधी र देशविरोधी गतिविधि गर्नु स्वाभाविक हो । पच्छिमी देशहरूमा औद्योगिक समाजको सुरुदेखि नै विभिन्न प्रकारका समाजवादी विचार एवं चिन्तन विकसित हुँदै वैज्ञानिक समाजवादसम्म आइपुगेको माक्र्सवाद एक तार्किक, वैज्ञानिक र ऐतिहासिक विश्लेषणबाट परिमार्जित दर्शनमा आधारित सिद्धान्त हो । वर्गसङ्घर्षको आन्तरिक र खुला रुपलाई साधारण कामदार जनताले आत्मसात गर्ने क्षमताको विकास नहोउञ्जेल सामन्ती र पुँजीवादी तत्वहरूले जनतामाथि रजाइँ गरिरहने छन्, गरिरहेका छन् । देश र जनताको निम्ति सङ्घर्षरत पार्टीलाई माथि नउठाउन देशी विदेशी प्रतिक्रियावादीहरूले अनेक चलखेल गरिरहेका हुन्छन् । सिद्धान्त र विचारलाई आत्मसात गर्ने व्यक्तिहरू कुनै व्यक्तिसित भएको वादविवाद, असन्तोष या मतभेदको आधारमा आफू लागिपरेको दल छोड्दैनन्; दल छोड्न अघि सर्दैनन् र अरु दलका उम्मेदवारलाई मतदान गर्दैनन् । कसैसँगको रिस, विवादको आधारमा अर्काे दलका उम्मेदवारलाई मतदान गर्नु भनेको आफ्नो दलको सिद्धान्तको विरोधमा लाग्नु हो; त्यो एक प्रकारको विश्वासघात हो । सिद्धान्त र विचारमा अडान नभएका कार्यकर्ताहरूले के देश र जनताको सेवा गर्लान् ? के उनीहरू देशमा आमूल परिवर्तन गर्न लाग्लान् ? सङ्कीर्ण विचारका नेता तथा कार्यकर्ताहरूको विचारमा सुधार ल्याउन कम्युनिस्ट पार्टीले अझै पुराना तथा नयाँ कार्यकर्तामाझ पुगी सङ्गठन गर्नुपर्ने खाँचो छ । कुनै कार्यकर्ता या साथीभाइको विवाद र असन्तोषको कारण आफ्नो मत विश्वासिलो पार्टीलाई नदिई अरु पार्टीलाई दिएर के मन शान्त हुने हो ?
आफू काम नगर्ने, आफ्नो गल्ती छोप्न अरु कार्यकर्ताको मात्र विरोध गर्ने व्यक्तिहरूको काम के सही हो ? अरूको विरोध गरेर आफ्नो गलत काम सच्चिने होइन । आफ्नो गलत काम अरु पार्टीले गर्न पाएमा मख्ख पर्ने बखान कति न्यायोचित हुन्छ ? यसकारण, पार्टीमा आबद्ध कुनै पनि नेता तथा कार्यकर्ताहरूमा द्वैधचरित्र हुनु हुँदैन । आफ्नो अपराध छोप्न पार्टी छोड्ने, व्यक्तिगत समस्यालाई लिएर पार्टीको विरोध गर्ने र अरु दललाई मतदान गर्ने व्यक्तिहरू सच्चा कार्यकर्ता होइनन् । उनीहरू अवसरवादी हुन् । सानो स्वार्थको निम्ति ठुलो उद्देश्य भुल्ने या बाटो बिराउने कार्यकर्ताहरू सच्चिनुपर्छ । अतः नयाँ होस् या पुरानो कुनै दलको मूल उद्देश्य, सिद्धान्त र विचार थाहा नपाइकन साथ दिने, त्यस्तो पार्टीको पछि लाग्ने काम बुद्धिमानी होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *