भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १५

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १५

प्रहरी वृत्त कालीमाटीका प्रहरी वरिष्ठ नायव निरीक्षक वीरेन्द्रकुमार चौधरी

२०८२ भदौ २३ गते सामान्य अवस्थामा ड्युटी सम्पन्न गरेको थिएँ । २०८२ भदौ २४ गते बिहान ८ः०० बजे कामनपा वडा नं १४ कलङ्की चोकमा केही आन्दोलनकारीहरूले टायर बाली प्रदर्शन गर्न लागेको भनी प्रहरी कन्ट्रोल रुमबाट सञ्चार सेटमा जानकारी प्राप्त हुन आएकोले सो स्थानमा खटिगएका हौँ । उक्त स्थानमा पुग्दा सुरुमा ५००/६०० जना प्रदर्शनकारीले कलङ्की चोकमा बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका थिए । पछि प्रदर्शनकारीहरू उग्र बन्दै तोडफोडमा लागेका थिए ।
२४ गते बिहान ९ः०० बजेपछि प्रदर्शनकारीहरू बढ्दै गई ५/६ हजारको सङ्ख्यामा पुगेको थियो । पछि भिड उग्र बन्दै प्रहरीलाई कुटपिट गरी घाइते बनाइएको हो । प्रदर्शनकारीहरू “प्रहरीले २३ गते बानेश्वरमा गोली हानी मारेको हो, यिनीहरूलाई पनि मार्नुपर्छ, जिउँदै आगो लगाउनुपर्छ” भन्दै घरेलु हातहतियारसमेत बोकी आएका थिए । अराजक भिडले प्रहरी प्रभाग कलङ्कीको भवनमा प्रहरी कर्मचारीहरूलाई भित्रै थुनी बाहिरबाट आगजनी गरेका हुन् । प्रहरी कर्मचारीहरू जिउँदै जल्ने अवस्था आएपश्चात् प्रहरीले अश्रुग्यास तथा लाठीचार्ज गरेको हो ।
उक्त समय कलङ्कीमा १० हजार बढीको सङ्ख्यामा प्रदर्शनकारीहरू आएका थिए । उनीहरूले घरेलु हातहतियार, पेट्रोल बम बोकेका थिए । प्रहरी सञ्चार सेटमा प्रहरीका अन्य प्रहरी युनिट, प्रहरीको गाडी, नेता तथा व्यक्तिगत घर, व्यावसायिक भवनहरू, राष्ट्रपति निवास, संसद् भवन र सिंहदरबारसमेतमा आगजनी गरेको र संयमित भई आफ्नो र आफ्नो कार्यालय, हातहतियारको सुरक्षा गर्नु, बल प्रयोग नगर्नु भन्ने आदेश भएकोले म समेतको प्रहरी टोली प्रहरी वृत्त कालीमाटीतर्फ फिर्ता हुन लागेका थियौँ । कालीमाटी प्रहरी वृत्त अगाडि पुग्दा कार्यालय गेटअगाडि ४÷५ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरूले प्रहरी वृत्तको चारैतर्फबाट घेरा हाली ढुङ्गामुढा, इँटा, पेट्रोल बम हानिरहेका थिए । हामीहरूले थप प्रहरी टोली माग गरे तापनि कतैबाट मद्दत आउन सकेको थिएन ।
बल्खुतर्फबाट आएका प्रदर्शनकारीहरू सर्टगन, थ्रीनटथ्री र एसएलआर हतियारसमेत बोकी मोटरसाइकलमा आएका थिए । केही प्रदर्शनकारीले प्रहरीको चुस्ता लगाइआएका थिए । बालाजु र स्वयम्भूतर्फबाट मोटरसाइकल तथा मिनी भ्यानहरूमा हातहतियारसहित प्रदर्शनकारीहरू सबै प्रहरीलाई मार्नुपर्छ भनी नाराबाजी गरी वृत्तमा प्रवेश गर्न थालेका थिए ।
हामीहरूले पटक–पटक थप मद्दत माग्दासमेत आफू सुरक्षित रहनु अन्य सुरक्षा निकायहरूबाट थप मद्दत आउन सक्दैन भनी जानकारी पाएका थियौँ । प्रदर्शनकारीहरू हातहतियार लिई आक्रमण गर्न लागेकोले डमी राउन्ड गोलीबाट हवाई फायरसमेत गरिएको हो । राति ७ः३० बजेको समयमा १०० भन्दा बढी मोटरसाइकल र सशस्त्र प्रहरीको ट्रकमा चढिआएका प्रदर्शनकारीहरूले गेटमा सो ट्रक ठोकाई गेट भत्काउने प्रयास गर्दा रोकेका हौँ । प्रायः लागूऔषध सेवनकर्ता, कलङ्की, बल्खु क्षेत्रमा यातायात काउन्टरमा काम गर्ने, भरियाको रूपमा काम गर्ने व्यक्तिहरू, सुकुमवासी बस्तीका व्यक्तिहरू, कवाडीमा काम गर्ने भारतीय मूलका व्यक्तिहरू र प्रहरी हिरासतबाट भागेका थुनुवाहरू हुन सक्ने अनुमान गरिएको छ । कालीमाटी वृत्तबाट सर्टगन र गोलीहरू लुटिएको थियो । सर्टगन पछि फेला पारिसकिएको छ भने गोली हालसम्म फेला परेको छैन । हामीले तालुक कार्यालयबाट आदेश भएबमोजिम कमभन्दा कम बल प्रयोग गरी आफ्नो ज्यान दाउमा राखी हातहतियार, सञ्चार सेट र प्रहरी भ्यानहरू जोगाएका हौँ ।
प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक शरदप्रसाद पाण्डे
२०८२ भदौ २३ गते कमान्डरले सबै टोलीलाई सामेल गरी डिउटीको सम्बन्धमा सम्झाई बुझाई “आदेशबिना कोही कसैले केही नगर्ने र कसैसँग विवादसमेत नगर्ने” भनी ब्रिफिङपश्चात् जिम्मेवारी बाँडफाँड गरी परिचालित भएको हुँ ।
२०८२ भदौ २४ गते प्रदर्शनकारीहरू सुरुआती समयमा ५/६ हजारको सङ्ख्या र पछि अन्दाजी १०÷१२ हजारको सङ्ख्या रहेको थियो । बिस्तारै प्रदर्शनकारीहरूको सङ्ख्या बढ्दै गयो । केही व्यक्तिहरूले खुकुरी, केहीले लाठी, ढुङ्गामुढा, पेट्रोल भरेका बोतलसमेत बोकी हिँडेका देखिन्थे ।
कमान्डरको आदेशबमोजिम लाठीचार्ज, अश्रुग्यास, सर्टगनको रबर कार्टिजसमेत फायर गरी कार्यालयको सुरक्षा गरेका हौँ । कुनै पनि प्रदर्शनकारीहरू गम्भीर घाइते नभएको र मानवीय क्षतिसमेत नभएको ठीक साँचो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *