भर्खरै :

नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत कार्यक्रम

नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत कार्यक्रम

भक्तपुर, २ जेठ । एभरेस्ट स्कूलले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मिबाछेँस्थित विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रममा अभिभावक, सञ्चारकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भनपाका उपप्रमुख रजनी जोशीले गर्नुभएको थियो ।
कार्यक्रममा उहाँले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको चरित्र निर्माण, संस्कार, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक जीवनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक र समुदायबिचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै एभरेस्ट स्कूलले शिक्षामा गुणस्तर र संस्कारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको नीति, कार्यक्रम, शैक्षिक योजना तथा मूल्य–मान्यताका विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले प्रदान गरिरहेको शैक्षिक वातावरण, अनुशासन, संस्कारमूलक शिक्षा तथा विद्यार्थीमैत्री सिकाइ प्रणालीप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । पत्रकार तथा सञ्चारकर्मीहरूले वर्तमान समयमा व्यवहारिक, प्रविधिमैत्री तथा मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयले त्यसतर्फ प्रभावकारी पहल गरिरहेको बताएका थिए ।
अन्य वक्ताहरूले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र अभिभावकबिच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *