भर्खरै :

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ४

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ४

कफ्र्यु आदेशसमेत पालना नगरी केही व्यक्ति काठमाडौँको विभिन्न सडक र चोकमा आई नाराबाजी गरे । एउटा समूहले बिहान करिब ११ बजेको समयमा काठमाडौँको देउवा चोकस्थित तत्कालीन ऊर्जामन्त्रीको घरमा आक्रमण सुरु ग¥यो । राजनैतिक दलका नेता, पूर्वप्रधानमन्त्रीहरू, राजनैतिक दलका कार्यालय, राजनैतिक दलका नेताहरूको निवास, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी चौकी, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानका भवन र निजी सम्पत्तिहरूमा समेत नेपालभरि तोडफोड, आगजनी र लुटपाटका घटना भए ।
रवि लामिछाने थुनामा रहेको ललितपुर नख्खुस्थित कारागारमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा तत्कालीन सांसदहरू मनिष झा र हरि ढकालसहितको भिडले कारागार घेरेपछि सुरक्षाको कारण देखाउँदै रवि लामिछाने कारागारबाट बाहिरिए । तत्पश्चात् सो कारागारका बन्दीहरू पनि कारागार तोडी बाहिर निस्किए । त्यसपछि काठमाडौँमा आगजनी झन् बढेको मिसिल प्रमाणबाट देखिन्छ ।
रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारका अन्य कैदीबन्दीहरू पनि कारागार बाहिर गएको भन्ने समाचार प्रकाशित भएपछि “रवि लामिछाने कारागारबाट बाहिरिन हुने हामी छुट्न किन नहुने” भन्ने भाष्य निर्माण भयो । देशभरका सबैजसो कारागार र बाल सुधार केन्द्र नौबस्ती बाँकेमा समेत बन्दीगृह तोड्ने काम भयो । यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूमाथि साङ्घातिक आक्रमण भयो । ३ जना प्रहरी कर्मचारीको मृत्यु र करिब २५० जना गम्भीर घाइते हुन पुगेको मिसिल प्रमाणबाट देखिएको छ । २५ गते कारागारबाट भाग्ने प्रयास गर्दा सुरक्षाफौजको गोली लागी बाल सुधार केन्द्र नौबस्ती बाँके, रामेछाप कारागार र सिन्धुली कारागारसमेतका १० जना बालबन्दी तथा कैदीबन्दीहरूको मृत्यु भएको पाइन्छ ।
गैरकानुनी रूपमा कारागारबाट भागेर घर–समाजमा पुगेका कैदीहरूले पुनः अपराध गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भए । यसले नागरिकहरू असुरक्षित हुने अवस्था सृजना भएको छ । अनुसन्धान समितिले उल्लेखित घटनाबारे रवि लामिछाने तथा उक्त कारागारका प्रशासक (जेलर) सत्यराज जोशी र कारागार व्यवस्था विभागका महानिर्देशक लिलाप्रसाद शर्मालाई समेत बुझेको पाइयो । कार्यालयको अधिकार क्षेत्रभन्दा बाहिरबाट रवि लामिछानेको सहयोगी र समर्थकले ‘लामिछानेलाई छोड्नुपर्छ’ भन्ने दबाब दिएपछि ‘डर, त्रास र धम्कीका बिच पत्रमा सहीछाप भएको हो’ भन्ने कारागार प्रशासक (जेलर) को बयान र “जेलरले मलाई बोलाई पत्र दिई तपाईँ बाहिर गए जेलको सुरक्षा हुन्छ भनी मलाई छोडेको हो” भनी रवि लामिछानेले बयान गरेको देखिन्छ । यी दुई बयान एक आपसमा बाझिएको देखियो । कारागार प्रशासनले आफूले दबाबमा उक्त पत्रमा हस्ताक्षर गरेको हो भनी बयानमा उल्लेख गरे पनि सो विषयमा तत्कालै कहीँकतै बोलेको वा जानकारी गराएको पाइएन । ३०,६४० जना कैदीबन्दीहरूमध्ये १३,५८५ कैदीबन्दी र बालसुधार गृहबाट ९७४ जना बालबिझ्याइकर्ताहरू कारागारबाट भागेका छन् । आम नेपाली नागरिकहरूको मानव अधिकार उल्लङ्घन हुने कार्यमा रवि लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ ।
माथि उल्लेखित घटनाको समग्र परिस्थिति र मिसिल संलग्न प्रमाणको विश्लेषण गर्दा भदौ २४ गतेको घटना २३ गतेको घटनाबाट प्रभावित आक्रोशित व्यक्तिहरूले सुरु गरेको देखिए पनि २४ गतेको घटनाको प्रकृति अवस्था एकै समयमा एकै उद्देश्य लिई देशैभरि भएको देखिन्छ । यी घटना पूर्वयोजनाअनुसार
सङ्गठित रूपमा गरिएको आपराधिक कार्य हुन् । अतः भदौ २४ गतेको घटनाको कारण ३ जना नेपाल प्रहरीका कर्मचारीहरूको प्रदर्शनकारीहरूद्वारा कुटपिट गरी हत्या भयो । राजनीतिक दलका नेता तथा कार्यकर्ता सुरक्षा निकायका कर्मचारीहरूसमेत माथि साङ्घातिक आक्रमण भए । सो दिनमा प्रदर्शनकारीद्वारा गरिएको आगजनीमा परी २१ जनाको मृत्यु भयो । सोमध्ये ९ जनाको पहिचान भयो भने १२ जनाको अझै पहिचान हुन सकेको छैन । सोही घटनामा प्राध्यापक रवि लक्ष्मी चित्रकारलगायत कैयौँ व्यक्ति जलेर गम्भीर घाइते भए । देशैभरि अर्बौँको धन–सम्पत्ति तोडफोड तथा आगजनी भई नोक्सान भएको देखिँदा उक्त दिनका प्रायः सबै घटनालाई आपराधिक गतिविधिको रूपमा हेरी सम्बोधन गर्नुपर्ने देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *