पन्ध्रदिने ‘बोटल आर्ट’ तालिम सम्पन्न सीपलाई व्यवसायसँग जोड्नुपर्ने
- जेष्ठ १९, २०८३
भक्तपुर, १९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको दुईदिने ई–कमर्स तालिम सम्पन्न भयो ।
तालिम समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वर्तमान समय डिजिटल प्रविधिको युग भएकोले समयअनुसार आफूलाई परिवर्तन गर्न नसक्ने व्यक्ति वा व्यवसाय पछाडि पर्ने बताउनुभयो । उहाँले व्यापार–व्यवसायमा पनि डिजिटल माध्यमको प्रयोग बढ्दै गएको उल्लेख गर्दै अनलाइन व्यवसायको युगमा व्यवसायीहरू त्यसमा अभ्यस्त हुन आवश्यक रहेको बताउनुभयो ।
उनले ई–कमर्स तालिमले व्यवसाय सञ्चालनका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै आफ्नो व्यवसाय कानुनबमोजिम सञ्चालन गर्न र व्यवसायसँग सम्बन्धित कानुनी ज्ञान राख्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
समस्या र चुनौतीदेखि डराएर सफलता प्राप्त नहुने भन्दै सफल व्यवसायीहरू पनि धेरै असफलतापछि सफल बनेको उदाहरण छ भन्दै प्रमुख प्रजापतिले आफ्नो व्यवसायको गहिरो अध्ययन गरी आत्मविश्वासका साथ अगाडि बढ्न सुझाव दिनुभयो । व्यापारको उद्देश्य नाफा कमाउनु भए पनि अस्वस्थ प्रतिस्पर्धाले व्यवसायको प्रतिष्ठासमेत गुम्न सक्ने भएकोले व्यवसायीबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।
नेपाल सम्भावनाले भरिपूर्ण देश भएको उल्लेख गर्दै उहाले सीप र उद्यमशीलता भए बेरोजगार हुनुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले उद्यमशीलता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नुका साथै व्यवसाय गर्न चाहनेहरूलाई ऋण सहयोगसमेत उपलब्ध गराउँदै आएको जानकारी दिँदै नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले तालिमबाट सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीलाई आग्रह गनुभयो । जिल्लाको आवश्यकताअनुसार तालिम सञ्चालन गरिएको जानकारी दिँदै उहाले स्टार्टअप व्यवसायलाई सहयोग पु¥याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले उत्साहपूर्ण सहभागितासहित तालिम सफलतापूर्वक सम्पन्न भएको बताउँदै सिकाइको प्रक्रिया उमेरसँग नरोकिने उल्लेख गनुभयो । वर्तमान समयमा मोबाइलमै संसार सीमित भएको र विश्व बजारमा प्रतिस्पर्धा गर्न ई–कमर्स ज्ञान अपरिहार्य बनेको धारणा राख्नुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घकी निवर्तमान अध्यक्ष रोशनीमाया धौबञ्जारले तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा उतारेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै यसले सहभागीको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गनुभयो ।
तालिम संयोजक अनिल शिवाकोटीले ई–कमर्समार्फत अनलाइन पसल सञ्चालन गरी आम्दानी बढाउने ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
तालिमका सहजकर्ता तथा प्रशिक्षक सञ्जीव ढावाले वर्तमान समयमा ई–कमर्स तालिमको सान्दर्भिकता बढ्दै गएको उल्लेख गर्दै छोटो अवधिको तालिम भए पनि सहभागीलाई आवश्यक आधारभूत ज्ञान प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी निजन बासुकला र रेस्मी हालेयोले डिजिटल युगमा ई–कमर्ससम्बन्धी ज्ञान अत्यन्त उपयोगी रहेको अनुभव सुनाउँदै आगामी दिनमा पनि यस्ता व्यवहारिक तालिमको अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजेन्द्र प्रजापतिले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने उद्योग तथा वाणिज्य कार्यालय, प्रशिक्षक, सहभागी तथा सम्पूर्ण आयोजक टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो भने सङ्घका विश्वराम दुवालले पनि बोल्नुभयो ।
समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Leave a Reply