भर्खरै :

संयुक्त राष्ट्रसङ्घद्वारा गाजापट्टीमा जारी इजरायली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घद्वारा गाजापट्टीमा जारी इजरायली आक्रमणको निन्दा

न्युयोर्क, १९ जेठ (क्यूएनए) । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजापट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ । कार्यालयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ ।
लामो समयसम्म चलिरहेको नाकाबन्दीले गाजावासीलाई पर्याप्त आश्रय, औषधि र खाद्यान्न आपूर्तिलगायतका आधारभूत आवश्यकताबाट वञ्चित गरेको जनाइएको छ भने सैन्य अपरेसनको समयमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
इजरायली अपरेसन र पश्चिमतर्फ सैन्य विस्तारको निरन्तरताको बिचमा गाजाको अधिकांश जनसङ्ख्याले विस्थापनको समस्यासँग जुधिरहनुपर्ने अवस्थाको सामना गरिरहेको जनाइएको छ ।
पछिल्लो समयमा निरन्तर जारी गरिएका नयाँ विस्थापन आदेशहरूले गाजा बासिन्दालाई आफ्नो आश्रय स्थान छोड्न बाध्य पारेको र यी घटनाले परिवारलाई थप विस्थापन तथा सीमित क्षेत्रहरूमा धकेल्न बाध्य पारेको कार्यालयले जनाएको छ ।
दीर्घकालीन विस्थापनको समस्यामा बाँचिरहेका गाजानहरूविरुद्ध निरन्तर जारी सैन्य आक्रमण र स्वास्थ्य, शिक्षा, खाद्य उत्पादन र नागरिक पूर्वाधारको विनाशका कारण गाजामा युद्ध अपराधको आयोगबारे चिन्ता बढेको अधिकृत प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारका प्रमुख अजित सङ्घले बताउनुभएको छ ।
सुडानमा अन्तरसामुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ । पश्चिमी सुडानका डार्फुर र कोर्डोफान क्षेत्रहरूमा जारी युद्धका बिच अन्तरसामुदायिक हिंसा बढ्दै गएको तथा हैजाको सम्भावित प्रकोपले मानवीय सङ्कट थप जटिल बनाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयका अनुसार, मध्य डार्फुर र दक्षिण डार्फुर प्रदेशहरूमा प्रतिद्वन्द्वी समुदायबिच भएको झडपमा मानवीय क्षति भएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् । केही परिवारहरू छिमेकी देश चाडतर्फ पलायन गर्न बाध्य भएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, “बढ्दो असुरक्षाले मानवीय सहायता सञ्चालनमा समेत अवरोध पु¥याइरहेको छ । मध्य डार्फुरमा करिब २१ हजार मानिसलाई लक्षित मानवीय गतिविधि झडपका कारण स्थगित गरिएको छ ।”
यसैबिच, पश्चिम कोर्डोफानमा हैजाको आशङ्कित प्रकोप फैलिरहेको छ । आइतबारसम्म ३०० भन्दा बढी आशङ्कित सङ्क्रमित र ७७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
स्वास्थ्य साझेदार संस्थाहरूले प्रतिक्रिया जनाइरहेका भए पनि अत्यावश्यक सामग्री तथा स्रोतसाधनको अभावले उनीहरूको काम प्रभावित भएको बताइएको छ । मार्च महिनामा देशव्यापी हैजा प्रकोप अन्त्य भएको घोषणा गरिए पनि त्यस क्रममा १ लाख २४ हजारभन्दा बढी सङ्क्रमित र तीन हजार ५०० भन्दा बढी मृत्यु भएका थिए ।
वर्षायाम सुरु भएसँगै हैजा तथा पानीजन्य अन्य रोगहरूको जोखिम अझ बढ्ने चेतावनी दिइएको छ। खानेपानी तथा अन्य आधारभूत पूर्वाधारमाथि भइरहेका आक्रमणका कारण स्वच्छ पानीको पहुँच थप कठिन बनेको बताइएको छ ।
गत हप्ता मनाइएको ईद अल–अधा पर्वको अवधिमा पनि डार्फुर र कोर्डोफानका विभिन्न क्षेत्रमा युद्ध चर्किँदा दर्जनौँ सर्वसाधारणको ज्यान गएको जनाइएको छ ।
उत्तर कोर्डोफानको बारा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा एक दर्जन सर्वसाधारण मारिएका, धेरै परिवार विस्थापित भएका तथा मानवीय आवश्यकताहरू बढेको बताइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार पछिल्ला केही दिनमा मात्रै दुई हजार २०० भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । पश्चिम कोर्डोफानको कादाम क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ८ सर्वसाधारणको मृत्यु भएको तथा धेरै घाइते भएका स्थानीय स्रोतहरूले बताएका छन् । त्यस्तै, मध्य डार्फुरको उम दुखुन सहरमा शनिबार भएको अर्को ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई सर्वसाधारण तथा नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न र मानवीय सहायता पहुँच सहज बनाउन पुनः आग्रह गरेको छ । साथै, सुडानका लागि आवश्यक २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिल वर्षको मध्यसम्म आइपुग्दा २२ प्रतिशत मात्र वित्तीय सहयोग प्राप्त भएकोले थप अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *