भर्खरै :

पन्ध्रदिने ‘बोटल आर्ट’ तालिम सम्पन्न सीपलाई व्यवसायसँग जोड्नुपर्ने

पन्ध्रदिने ‘बोटल आर्ट’ तालिम सम्पन्न सीपलाई व्यवसायसँग जोड्नुपर्ने

भक्तपुर, १९ जेठ । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको सहकार्यमा सञ्चालित पन्ध्रदिने बोटल आर्ट (बोटल कला) तालिम उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि कुस्माले वाग्मती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत यो सीप विकास तालिम सञ्चालन गरिएको जानकारी गराउँदै परम्परागत तालिमभन्दा फरक प्रकृतिको ‘बोटल आर्ट’ तालिम सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कार्यालयले मात्र कार्यक्रम गर्दा लक्षित वर्गसम्म पुग्न कठिन हुने भएकोले विभिन्न सङ्घ–संस्थाहरूसँग सहकार्य गरी विभिन्न तालिम गोष्ठी मेला महोत्सवहरूको आयोजना गर्दै आएका छौँ । यस कार्यक्रमको सफल संयोजनका लागि भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ परिवारप्रति आभार व्यक्त गर्दछु ।”
उद्योग तथा वाणिज्य कार्यालयका अधिकृत राजेन्द्र सुवेदीले सीप हासिल गर्नु नै अन्तिम उपलब्धि नभएको बताउनुभयो । उहाँले तालिमलाई प्रगतिको ‘भ¥याङ’ सँग तुलना गर्दै भन्नुभयो, “तालिमले मार्गप्रशस्त गर्छ, तर माथि चढ्ने काम स्वयं व्यक्तिको हो । घरमै बसेर फुर्सदको समय सदुपयोग गरी निरन्तर अभ्यास गरेमा मात्र यसले आर्थिक लाभ दिन्छ ।”
सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले तालिमको सफल आयोजना र आगामी योजनाबारे बोल्दै यो तालिमले खेर गइरहेका शिशा बोटललाई पुनः प्रयोग गर्दा वातावरण प्रदर्शन पनि कम हुनुका साथै थोरै लगानीमा राम्रो प्रतिफल दिने व्यवसाय बन्ने कुरा बताउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले तालिमले सहभागीहरूको सृजनशीलता र आर्थिक पाटोमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो । विभिन्न सङ्घ संस्थाले दिने एकैखाले तालिमभन्दा भिन्न प्रकारको तालिम दिन उद्योग तथा वाणिज्य कार्यालयले सहकार्य गर्नुभएकोमा आभार व्यक्त गर्दै उहाँले हालै मात्र परम्परागत उद्योगलाई परम्परादेखि नवप्रवर्तन कार्यक्रम गरी सञ्चालनमा रहेको परम्परागत उद्योगको परम्परा यथावत राखी सो उद्योगलाई कसरी प्रविधिसँग जोडेर जीवन्त राख्न सकिन्छ भन्ने विषयमा संवाद कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो ।
प्रशिक्षक उमेश नकर्मीले प्रशिक्षणको अनुभव र सहभागीहरूको उत्साहबारे जानकारी गराउँदै यो कला हस्तकलाअन्तर्गत पर्ने भएकोले जति बढी लगनशील भई अभ्यास गरियो त्यति राम्रो उत्पादन हुने यो एउटा उपहार दिन मिल्ने भएकोले बजारमा धेरै माग हुनुका साथै राम्रो कला भर्न सक्नेलाई विदेशमा समेत अवसर मिल्ने बताउनुभयो ।
प्रशिक्षार्थी करुणा कायस्थ तालिमले आफूहरूमा नयाँ आत्मविश्वास जगाएको सीप विकास र उद्यमीकरणलाई प्रोत्साहन गरेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका सह–सचिव सुमित्रा श्रेष्ठले तालिमको औचित्य तथा सङ्घको उद्देश्यबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *