पढाइको राजनीति – १
- असार ५, २०८३
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल :
२०८२ भदौ २३ गतेको आन्दोलनअघि जेनजीहरूले प्रयोग गरिरहेको Reddit, Discord, X लगायतका सामाजिक सञ्जालबारे सशस्त्र प्रहरी बलको सूचना सङ्कलन प्रणाली र सङ्गठनात्मक संरचनाबाट कुनै रिपोर्टिङ भएको थिएन । संसद् भवनमा आक्रमण हुनेबारे ठोस पूर्वसूचना नभए पनि विश्लेषणको आधारमा बानेश्वर क्षेत्रलाई उच्च सुरक्षा चुनौती भएको क्षेत्रको रूपमा राखिएको थियो । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिनुपूर्व यसबाट उत्पन्न हुने सुरक्षा चुनौतीका सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालसँग कुनै राय–सल्लाह लिएको थिएन ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जारी गरेको कफ्र्यु आदेशपछि जिल्ला सुरक्षा समिति/प्रमुख जिल्ला अधिकारी एवम् सबै सुरक्षा निकायसँग समन्वयात्मक ढङ्गले स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाबमोजिम कार्य गर्न निर्देशन दिएको थिएँ । सशस्त्र प्रहरी बलको तर्फबाट अन्तर्राष्ट्रिय प्रहरी मानक र मानव अधिकार मापदण्ड उल्लङ्घन हुने गरी घातक गोली प्रहार भएको छैन, हवाई फायरिङ भएको थियो ।
भदौ २३ गतेको घटनापश्चात् प्रधानमन्त्रीसमक्ष सुरक्षा प्रमुखहरूको ब्रिफिङ भएको थियो । भदौ २४ गते बिहान हामी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थियौँ । भिड नियन्त्रण, सुरक्षा चुनौती, सार्वजनिक स्थलमा आगजनी, तोडफोड र लुटपाटको स्थितिबारे अवगत गराएपछि प्रधानमन्त्रीले घटनाको गम्भीरता स्वीकार गर्दै सुरक्षा निकायहरूबिच समन्वयमा थप प्रभावकारिता ल्याउन निर्देशन दिनुभएको थियो ।
भदौ २३ र २४ गतेको आन्दोलनमा बल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट एसएलआर १० नाल, ग्यासगन ४ नाल, गोली र सशस्त्र प्रहरी बल नं. ९ पशुपति बाहिनी मुख्यालय काठमाडौँबाट एसएलआर ११ नाल, ग्यासगन २ नाल, एसएमजी १ नाल र गोलीसमेत हराएकोे छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल :
भदौ २३ गते बिहानैदेखि एम्बुलेन्समा आगजनी, ढुङ्गामुढा, हातपात तथा भित्री सुरक्षा घेरातर्फ धकेल्ने गतिविधि सुरू भएपछि सशस्त्र प्रहरीको तर्फबाट हवाईफायरमात्रै भएको हो । प्रदर्शनकारीहरूको मृत्युमा सशस्त्र प्रहरीको कुनै भूमिका छैन ।
भदौ २४ गते उपत्यकामा सुरक्षाकर्मीको न्यून सङ्ख्या, कमजोर भौतिक संरचना तथा फिल्डमा खटिएका अधिकांश जनशक्ति अन्य महत्वपूर्ण स्थानमा व्यस्त भएको कारण लुटपाट तथा आगजनी नियन्त्रणमा चुनौती पैदा भयो । शान्तिपूर्ण भिडमा बाह्य समूह प्रवेश गरी उन्माद फैलाएको कारण पनि आन्दोलन हिंसात्मक र ध्वंसात्मक बनेको हो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ :
भदौ २३ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट कफ्र्यु आदेश जारी भइसकेको अवस्थामा खटिएका कमान्डरले स्थानीय प्रशासन ऐनले तोकिदिएको अधिकार प्रयोग गरी अन्तिम बलस्वरूप इन्सास राइफलबाट १० राउन्ड र एसएलआरबाट ९ राउन्डसमेत जम्मा १९ राउन्ड हवाईफायर गरेको जानकारी वाहिनीको कन्ट्रोलमार्फत मलाई रिपोर्टिङ भएको थियो ।
बल प्रयोगसम्बन्धी निर्णय व्यक्तिगत जिम्मेवारी र फिल्डमा भएको वास्तविक परिस्थितिको मूल्याङ्कनअनुसार लिन सकिने प्रक्रियाअनुसार नै अगाडि बढाइएको थियो । न्यूनतम बल प्रयोग र अन्य विकल्पहरूले स्थिति नियन्त्रणमा लिन सक्ने सम्भावना समाप्त भइसकेपछि ठुलो आकारको र आक्रामक भिडलाई नियन्त्रण गर्न अन्तिम उपायका रूपमा गोली प्रहार गर्नु अपरिहार्य थियो ।
२४ गते बिहानैदेखि भिड ठुलो हुँदै गएपछि हिंसात्मक प्रवृत्तिहरू देखा पर्न थाले । एकैसाथ धेरै संवेदनशील बिन्दुहरूमा आक्रमण हुन थालेपछि बल विभाजन र प्राथमिकता निर्धारण कठिन बनेको थियो । मद्दतका लागि प्रयोगमा आएका दुईवटा ट्रकमा समेत हिंस्रक भिडले आगजनी गरिदियो । उपत्यका प्रहरी कार्यालयमाथि प्रदर्शनकारीहरूले आक्रमण गर्दा त्यहाँ खटिएका नेपाल प्रहरीका केही सुरक्षाकर्मी कार्यालय छोडेर अन्यत्रै गए । सशस्त्र प्रहरीबाट शान्ति सुरक्षा गर्ने गराउने सिलसिलामा ग्यास सेल ६०० राउन्ड, ब्ल्याङ्क राउन्ड २१० र लाईभ राउन्ड १४० प्रहार गरियो । तर, उक्त प्रहारबाट मानवीय क्षति भएको छैन । ड्युटीमा खटिएका १४१ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
Leave a Reply