माक्र्सवाद, साहित्य र वास्तविकता – १
- आश्विन १७, २०८३
कुनै पनि राष्ट्र विकास गर्नको लागि त्यो राष्ट्रको आर्थिक अवस्था दरिलो हुनु आवश्यक छ । हाम्रो देश नेपालको आर्थिक स्रोतमा जलस्रोत, कृषि र पर्यटन विकास अति महत्वपूर्ण छ । पर्यटन विकास हाम्रो देशमा रहेको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा र रीतिरिवाजमा भर पर्दछ । नेपालमा विभिन्न मठमन्दिर र सांस्कृतिक पर्व वा जात्राहरू विभिन्न वंश हुँदै लिच्छवि कालबाट विकास भएको पाइएको छ । लिच्छविकालका राजाहरूले यहाँका सांस्कृतिक मठमन्दिर रीतिरिवाजका साथै भक्तपुरका जीवितदेवी नवदुर्गा भवानीको जात्रा पनि सञ्चालन गरेका थिए । केही समय बन्द रहेको उक्त जात्रा मल्ल वंशका राजा सुवर्ण मल्लले सञ्चालन गरेको इतिहासमा पाइन्छ । हालसम्म जात्रा सञ्चालन गर्दै आएको छ । भक्तपुरबाहेक विभिन्न स्थानमा लगेर जात्रा सञ्चालन भइरहेको छ । वर्तमान समयमा जात्रा सञ्चालन गर्न निकै समस्या रहेको छ । तीमध्ये प्रमुख समस्याहरू निम्नबमोजिम छन् ः
– जात्रामा देखाइने नृत्य (नाच), भाषा र मन्त्रहरू (गीत) प्रत्येक देवगणहरूको छुट्टाछुट्टै हुने हुँदा सोबारे नयाँ पुस्तालाई बुझाउने, सिकाउने सक्षम गुरुहरू (प्रशिक्षक) अभाव हुँदै गएको र गुरुको रूपमा रहेका प्रशिक्षकहरूको उचित पारिश्रमिक नहुनु ।
– देवगणहरू स्वयम्ले आफ्नै खर्चमा पटकपटक भोज खुवाउनुपर्ने र जात्रा सञ्चालन गर्न आवश्यक सामानहरू
(पशु–पन्छी बलि, पूजा सामान) बन्दोबस्त गर्नुपर्ने हुँदा अधिक आर्थिक भार पर्ने ।
– वर्षमा ९ महिना ङालाकेगु (माछा मार्ने) जात्रामा निरन्तर लाग्नुपर्ने र बाँकी ३ महिना त्यतिकै बस्नुपर्ने । यो समयमा अन्य व्यवसाय वा काम गर्न असहज हुने र काम पनि नपाउने ।
– साना बालकहरूसमेत जात्रामा जानुपर्ने बाध्यताले विद्यालय जान नसकिने र शिक्षाबाट वञ्चित हुने ।
यो जात्रा सञ्चालन गर्न आवश्यक छुट्टै कोषको व्यवस्था भए जात्रा सञ्चालन गर्न सहज हुन्छ कि भनी नवदुर्गा देवगण गुठीको नाममा बनमाला परिवारले आफ्नै केही रूपैयाँ राखेर र विभिन्न चन्दादाताहरूसँग सहयोग मागेर कोषको स्थापना गरेको थियो । सो कोषबाट गुरु स्थापना गरी देवगण बन्ने नयाँ पुस्तालाई सहज भएको छ । हाल यो समिति नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिको रूपमा रहेको छ । यस समितिका सदस्यहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छ ।
– कुनै कार्य समितिका सदस्यहरूले अन्तर्वार्ता दिँदा, कुनै लेखहरू लेख्दा त्यसबारे सत्यतथ्य र कुनै लेखको लेखकको आधार र इतिहास भएको बारे मात्र जानकारी दिँदा राम्रो हुने ।
– यो जात्रा सञ्चालन गर्न विभिन्न नृत्य, भाषा, मन्त्र (गीत) बारे वास्तविक दक्ष व्यक्तिहरूलाई सत्यतथ्य नृत्यहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने ।
– जात्रा सञ्चालन गर्नको लागि पहिलादेखि नवदुर्गाको नाममा राखिएको जग्गाको संरक्षणका साथै कोषको रकम बढाउँदै जानुपर्ने ।
हाल कार्य समितिका सदस्यहरूले नवदुर्गा भवानीको नृत्य, भाषा, मन्त्रहरू (गीत) पछिसम्मका पुस्तालाई सिकाउँदै जानुपर्छ र नवदुर्गा व्यवस्थापन कोषमा आर्थिक सहयोग बढाउन ध्यान दिनुपर्छ ।
नवदुर्गा भवानीको जात्रा पछिसम्म संरक्षण गर्नको लागि नेपाल सरकार र स्थानीय सरकारको पनि दायित्व हो । नेपाल सरकार र स्थानीय सरकारले यो जात्रा संरक्षण गर्न अति आवश्यक छ ।
यस नवदुर्गा भवानीका नृत्यहरू सिकाउन भनपा वडा नं. ७ मा निर्माणाधिन नवदुर्गा अःखछेँ (नृत्य प्रशिक्षण घर) को लागि सबैले आ–आफ्नो क्षेत्रबाट आर्थिक, भौतिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछ ।
(लेखक बनमाला समाजका संस्थापक हुनुहुन्छ ।)
Leave a Reply