सरकारले सबै सहकारीलाई कमाइ खाने धन्दा ठानेर नीति ल्याउन नहुने
- आश्विन १७, २०८३
भक्तपुर, १७ असोज । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २८ औँ वार्षिक साधारणसभा शनिबार कमलविनायक बैङ्क्वेटमा सम्पन्न भयो ।
साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ संस्थापक सदस्य चन्द्रबहादुर बासीले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो ।
सभामा शुभकामना मन्तव्य राख्दै नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले सहकारीको लक्ष्य सदस्यहरूको आर्थिक, शैक्षिक, सांस्कृतिक स्तर उठाउन र समाजको सामूहिक हितको निम्ति काम गर्ने हुनुपर्ने बताउँदै श्रमजीवी साकोसजस्ता समुदायमा आधारित सहकारी त्यसतर्फ उन्मुख रहेको बताउनुभयो ।
उहाँले शासक दलहरूको संरक्षणकै कारण सहकारी ठग र सहकारीको बचत हिनामिना गरेकाहरू जेलमा नभई खुलमखुला घुमेर ऐसआराम गरिरहेका र बचतकर्ता सर्वसाधारण जनताले दुःख पाइरहेको बताउनुभयो ।
श्रमजीवी साकोसका सल्लाहकार एवं संस्थापक अध्यक्ष गणेशभक्त सितिखुले समुदायमा आधारित सहकारीमा मात्र सदस्य बनेर बचत गर्नुपर्नेमा जोड दिँदै बढी ब्याजदरको लोभमा गैरस्थानीय सहकारीमा बचत गरेकाहरूको बचत सहकारी सञ्चालकहरूले नै हिनामिना गरेको धेरै घटना छन् भन्नुभयो ।
संस्थाका पूर्वअध्यक्ष गणेशलाल फोजूले सहकारीहरूलाई नियमित गर्ने कानुन रहे पनि त्यसलाई कार्यान्वयन गर्न सरकारी निकायहरू सक्रिय नहुँदा सहकारीमा अपचलन बढेको हो भन्नुभयो ।
अर्का पूर्वअध्यक्ष बिकुलाल सुवालले सहकारीलाई सही स्थितिमा राख्न सहकारी सदस्यहरू आफै सजग र सक्रिय रहनुपर्ने उहाँले बताउनुभयो ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष गोविन्दराम त्वानाबासुको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीनारायण कुसाथाले स्वागत, सचिव नारायणप्रसाद लागेले प्रगति प्रतिवेदन वाचन, कोषाध्यक्ष हरिभक्त हामोले आव २०८२/०८३ को आयव्ययको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्रप्रसाद दुवालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दिवङ्गत सदस्यहरू तथा भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा भोलाछेँ सांस्कृतिक समूहका सांस्कृतिक कलाकारहरूले ध्याचु नृत्य, लाहुरे नाचलगायत सांस्कृतिक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा असल बचतकर्ता, असल बालबचतकर्ता र असल ऋणीहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
Leave a Reply