भर्खरै :

माक्र्सवाद, साहित्य र वास्तविकता – १

  • आश्विन १७, २०८३
  • राल्फ फक्स
  • विचार
माक्र्सवाद, साहित्य र वास्तविकता – १

माक्र्सवाद र साहित्य
माक्र्सवाद एक भौतिकवादी दर्शन हो । यसले पदार्थको प्राथमिकतामा विश्वास राख्तछ । यसको के विश्वास छ भने संसारको अस्तित्व हामीभन्दा बाहिर र हामीबाट स्वतन्त्र हुन्छ । तर, माक्र्सवाद सम्पूर्ण पदार्थलाई परिवर्तनशील एवं इतिहासयुक्त मान्दछ र कुनै पनि वस्तुलाई स्थायी तथा अपरिवर्तनीय मान्दैन । सत्रौँ शताब्दीका अङ्ग्रेज लेखकहरूमा विरलै मात्र त्यस्ता होलान्, जसको विचार जीवनसम्बन्धी भौतिकवादी दृष्टिकोणसित मेल नखाओस्, यद्यपि भौतिकवादका बारेमा उनीहरूको दृष्टिकोण माक्र्स र एङ्गेल्सकै जस्तो भने थिएन नै । आफ्नो दार्शनिक विचारहरूको प्रेरणा रैबिले र मोन्टेनबाट लिने शेक्सपियरले जीवनको माक्र्सवादी दृष्टिकोणमा कुनै अनर्थको कुरो भेट्टाउने थिएनन् । अठारौँ शताब्दीका अधिकांश भागमा ब्रिटेनका अनेकौँ महानतम लेखक जीवनको भौतिकवादी दृष्टिकोणलाई अपनाउन केही पनि आनाकानी गर्दैनथे ।
तर, आज यस्तो छैन । एक शताब्दीभन्दा बढी समयदेखि यस्तो छैन । आजको साहित्यिक पत्रकारले भौतिकवाद र कल्पना एकसाथ रहन सक्तैनन् भनेर विरोधभाव प्रकट गर्दछ । यस्तो नभएमा, तिनको दृष्टिमा यसको परिणाम सृजन होइन; बरु फोहोरी एक उत्पात हुनेछ । यो एउटा एकदमै विचित्रको र विकृत दृष्टिकोण हो । अन्यथा कुनै कल्पनाशील लेखकका लागि विशेषतः उपन्यास लेखकका लागि, भौतिकवादी दृष्टिकोणलाई अँगाल्नुभन्दा स्वाभाविक कुरो अरू के हुन सक्तछ र ?
‘सत्ता चेतनाको नियन्ता हो’ – पदार्थ र आत्माका बिचको मूल सम्बन्धको माक्र्सवादी व्याख्या यही नै हो । कलाकारले यस दृष्टिकोणलाई मानोस् कि नमानोस् तर उसको सृजनात्मक कार्यको आधार यही हुन्छ । किनभने, सम्पूर्ण काल्पनिक सृष्टि सृष्टिकर्ता रहने वस्तुजगत्कै प्रतिबिम्ब हो । यो काल्पनिक सृष्टि वस्तुजगत्सित उसको सम्पर्क तथा जगत्का वस्तुहरूप्रतिको उसको प्रेम वा घृणाको परिणाम हो ।
रङ्ग र प्रकाशहरूको चमकदमक, किसिम–किसिमका रूप र आकृति, जीवनको सुगन्ध, वायुहरूको प्रवाह, पशुजीवन र यसरी नै मानव जीवनको पनि भौतिक सौन्दर्य वा भौतिक भद्दापन, वास्तविक पुरुष र नारीहरूको सुष्टिकर्ता स्वयम् पनि यसमा सामेल छ– काम, विचार र सपनाहरू, यी सबै त कलाका बीज वस्तुहरू हुन् ।
मिल्टन कवितासँग तीन कराको माग गर्दथे – ‘त्यो सीधासादा, संवेदनशील र गहिरो चाहनामा घोलिएको होस् ।’ संवेदनशीलता नभएको कला– त्यस्तो कला जसको वस्तुजगत्को बोधसित, इन्द्रियगोचर वस्तुहरूसित कुनै अभिरुचि हुँदैन – कुनै कला नै होइन, वास्तवमा त्यो कलाको छाया पनि होइन । सृजनात्मक प्रक्रियाको गाँठी कुरो सृजनकर्ता र बाह्य यथार्थका बिचको सङ्घर्षमा यस यथार्थलाई नियन्त्रण गर्ने र त्यसको पुनर्सजन गर्ने आवश्यकतामा निहित हुन्छ । तर, यसमा के आपत्ति गर्न सकिन्छ भने ‘के माक्र्सवादले कलाकृतिहरूलाई आर्थिक आवश्यकताहरू तथा आर्थिक प्रक्रियाहरूको प्रतिबिम्ब मात्र हुन्’ भन्ने दाबी गर्दैन र ?
अहँ, यो माक्र्सवादी दृष्टिकोण होइन । वास्तवमा यो उन्नाइसौँ शताब्दीको प्रत्यक्षवादी मतका केही भौतिकवादीहरूको दृष्टिकोण थियो । माक्र्सको द्वन्द्वात्मक भौतिकवादसित यसको कुनै सरोकार छैन । जीवनका अधिभूत प्रक्रियाहरू – कलात्मक सृजन पनि तिनमा एक हो– र जीवनका भौतिक आधारका बिचको सम्बन्धका बारेमा आफ्ना विचारहरूलाई माक्र्सले राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान भन्ने आफ्नो सुप्रसिद्ध पुस्तकको भूमिकामा पूर्ण प्रस्टताका साथ वर्णन गरिसकेका छन् । उनको भनाइ छ :
“जीवनका भौतिक साधनहरूको उत्पादनका तरिकाले सामाजिक, राजनीतिक र बौद्धिक जीवनका सम्पूर्ण प्रक्रियालाई निर्धारित गर्दछन् । मानिसहरूको चेतनाले तिनको अस्तित्वलाई निर्धारित गर्दैन, यसको उल्टो उनको सामाजिक अस्तित्वले नै तिनको चेतनालाई निर्धारित गर्दछ । आफ्नो विकासको एक अवस्था विशेषमा समाजमा उत्पादनका भौतिक शक्तिहरू उत्पादनको वर्तमान सम्बन्धहरूसित टक्कराउन थाल्दछन् अथवा यसलाई कानुनको भाषामा व्यक्त गर्दा ती साम्पत्तिक सम्बन्धहरूसित टक्कराउन थाल्दछन्, जसअन्तर्गत ती पहिले कार्यरत थिए । उत्पादनका शक्तिहरूको विकासका रूपहरूबाट परिवर्तित भएर ती सम्बन्ध तिनका बन्धन हुन पुग्दछन् । अनि सामाजिक क्रान्तिको एउटा युगको उद्घाटन हुन पुग्दछ । आर्थिक आधारहरूमा परिवर्तनसहित त्यसको सम्पूर्ण भीमकाय माथिल्लो बनोट पनि, न्यूनाधिक तीव्रताले परिवर्तन हुन थाल्दछ । यस्ता क्रान्तिहरूबारे विचार गर्दा हामीले उत्पादनका आर्थिक परिस्थितिहरूको–पदार्थविज्ञानजस्तै जसलाई एकदमै सही–सही परीक्षण गर्न सकिन्छ र कानुनी, राजनीतिक, धार्मिक, कलात्मक वा दार्शनिक, सङ्क्षेपमा सैद्धान्तिक रूपहरूका बिच–जसमा मानिसहरूले यस द्वन्द्वको चेतना पाउँछन् र त्यसलाई सङ्घर्षको माध्यमबाट समाधान गर्दछन् – सधैँ नै अन्तर गर्नुपर्दछ ।”
माक्र्सको निस्सन्देह के विश्वास थियो भने जीवनको भौतिक विधानले अन्ततोगत्वा बौद्धिक विधानलाई निर्धारित गर्दछ । तर, उनले एकछिनका लागि पनि कहिल्यै यी दुईका बिचको सम्बन्धलाई सीधा, सरल र यन्त्रवत् विकसित हुने ठानेनन् । यदि उनका अघि कसैले पुँजीवादले सामन्तवादको ठाउँ लिने भएकोले ‘पुँजीवादी’ कलाले चाँडै नै सामन्तवादी कलाको ठाउँ ग्रहण गर्दछ र सम्पूर्ण महान् कलाकार परिणामतः नयाँ पुँजीवादीवर्गका आवश्यकताहरूलाई सीधै प्रतिबिम्बित गर्न थाल्दछन् भनेको खण्डमा उनले यसलाई हाँसेर उडाइदिने थिए । न त उनी जस्तो यसपछि प्रकट हुनेछ, उत्पादनको पुँजीवादी तरिका सामन्ती तरिकाभन्दा प्रगतिशील हुन्छ, त्यसैले पुँजीवादी कला सामन्तवादी कलाभन्दा सधैँ नै उच्च स्तरको हुनुपर्दछ र ग्रीस र रोमका दास–राज्यहरूको अथवा प्राचीन पूर्वीय राजामहाराजाहरूको कलाको तुलनामा सामन्ती कलाको सिंहासन माथिल्लो हुनुपर्दछ भन्ने कुरालाई नै मान्दथे । यसरी सतही तथा विकृत विचारहरूको माक्र्सवादको समग्र आत्मासित टाढाको पनि साइनो छैन ।
समाजको भौतिक आधारमा भएका परिवर्तनहरूलाई आर्थिक इतिहासज्ञले पदार्थविज्ञानलाई जस्तै सही–सही रूपमा परीक्षण गर्न सक्तछ भन्ने माक्र्सको भनाइ बिलकुल ठीक छ (यी परिवर्तनहरू वैज्ञानिक रूपले निर्धारण हुन्छन् भन्ने यसको अर्थ होइन) । तर, जीवनको माथिल्लो सामाजिक तथा आत्मिक अधिरचनामा भइरहेका परिवर्तनहरूलाई त्यस्तो कुनै वैज्ञानिक नापजोख हुन सक्तैन । परिवर्तन हुन्छन्, मानिसहरूलाई तिनको बोध हुन्छ, नयाँ र पुरानाका बिच द्वन्द्वलाई उनीहरूले आफ्नो मस्तिष्कमा ‘समाधान’ गर्दछन् । तर, यो समाधान उनीहरूले अतीतको उत्तरदान पाएका विभिन्न किसिमका भारीहरूबाट थिचिएर, बहुधा अस्पष्ट रूपमा तथा मानिसका मस्तिष्कमा घटिरहेका परिवर्तनहरूलाई सहज रूपबाट जान्न नसकिने तरिकाबाट गर्ने गर्दछन् ।
उदाहरणका लागि, फ्रान्सको क्रान्तिद्वारा सम्पन्न सामाजिक र आर्थिक परिवर्तनहरूको अभिव्यक्ति कोड नेपोलियनका रूपमा भएको साँचो हो । तर, यस तथ्यको जानकारीले स्वयम्मा कोड नेपोलियनलाई प्रस्ट पार्दैन । यसका लागि फ्रान्सको इतिहास र क्रान्तिभन्दा पहिले त्यस देशमा वर्गहरूको सम्बन्धलाई बुझ्नु पनि आवश्यक हुन्छ । यसका लागि फेरि स्वयम् क्रान्तिको विकासक्रम र वर्गसम्बन्धहरूमा त्यसले जे परिवर्तन ल्यायो, त्यसलाई जान्नु पनि जरुरी हुन्छ र सबभन्दा बढी नेपोलियनको फौजी तानाशाहीलाई जान्नु अनिवार्य हुन्छ । अनि मात्र नेपोलियनकालमा सूत्रपात भएको कोड नेपोलियन कसरी नयाँ बुर्जुवा समाज तथा फ्रान्सको औद्योगिक क्रान्तिको कानुनी अभिव्यक्ति थियो भन्ने कुरा जान्न सकिन्छ । अनि कानुन विचारगत माथिल्लो बनोटको सम्भवतः सबभन्दा बढी प्रभावशाली अङ्ग हो, उत्पादनका तरिकाहरूमा परिवर्तनअनुसार यो अत्यन्त सजहजताका साथ बदलिन्छ । तर, कलाको आधारसित धेरै टाढाको सम्बन्ध हुन्छ र परिवर्तनको त्यसमाथि धेरै कम सजिलो गरी प्रभाव पर्दछ ।
एङ्गेल्सले सन् १८९० मा जे.ब्लान्कलाई लेखेको आफ्नो चिठीमा यस सन्दर्भमा ज्यादै जोडदार शब्दमा आफ्नो मत प्रकट गरेका थिए :
इतिहासको भौतिकवादी धारणाअनुसार वास्तविक जीवनमा उत्पादन र पुनरुत्पादन नै अन्ततः इतिहासको निर्णयात्मक तत्व हन्छन् । यसभन्दा बढी दाबी न माक्र्सले गरेका छन् न मैले नै गरेको छु । त्यसैले कसैले यसलाई बङ्ग्याएर आर्थिक तत्व नै एक मात्र निर्णयात्मक तत्व हो भन्दछ भने उसले त्यसलाई एउटा निरर्थक, निराधार र काम नलाग्ने भनाइ बनाउनेछ । आधार आर्थिक स्थिति हो, तर माथिल्लो बनोटका विभिन्न तत्व – वर्गसङ्घर्ष तथा त्यसबाट उत्पन्न परिणामहरूको राजनीतिक रूप, सफल युद्धपछि विजयी वर्गले निर्माण गरेको विधान आदि–कानुनका रूप– र कतिसम्म भने युद्धरत पक्षहरूको मस्तिष्कमा परेका यी सम्पूर्ण वास्तविक सङ्घर्षहरूका प्रतिक्रियाहरू, राजनीतिक, कानुनसम्बन्धी र दार्शनिक सिद्धान्त, धार्मिक विचार र अझ अघि विकसित भएका रूढिग्रस्त पन्थहरूको रूपमा तिनको परिणति यी सबैले ऐतिहासिक सङ्घर्षको विकासक्रममा आफ्नो प्रभाव पार्दछन् र अनेकौँ दृष्टान्तमा तिनको रूप निर्धारित गर्नमा सबभन्दा बढी भूमिका निर्वाह गर्दछन् । यी सम्पूर्ण तत्वहरूमा क्रिया–प्रक्रिया चलिरहन्छ । यसमा आकस्मिक घटनाहरूको अन्तहीन पङ्क्तिका बिच (अर्थात् त्यस्ता घटनाहरूका बिचको अन्तरसम्बन्ध एकदमै टाढाको हुन्छ वा सम्बन्धलाई सिद्ध गर्न एकदमै असम्भव हुन्छ र हामी त्यसलाई नभएको ठानेर उपेक्षा गर्न सक्तछौँ) आर्थिक प्रक्रिया अन्ततः आवश्यक तत्वका रूपमा अघि आउँछ । यस्तो नहुँदो हो त इतिहासका कुनै पनि वाञ्छित कालमाथि उक्त सिद्धान्तको प्रयोग गणितको साधारणभन्दा साधारण योगभन्दा पनि बढी सहज हुन पुग्दथ्यो ।
त्यसैले एकातिर माक्र्सवादले आर्थिक कारणहरूलाई नै कुनै परिवर्तनको अन्तिम र निर्णयात्मक प्रकरण मान्दछ भने अर्कातिर ‘भावगत’ प्रकरणले पनि इतिहासको क्रमलाई प्रभावित गर्न सक्तछन् भन्ने कुरालाई, कतिसम्म भने परिवर्तनका रूप (रूप मात्र) लाई निर्धारित गर्नमा तिनको भूमिका प्रमुखसमेत हुन सक्तछ भन्ने कुरालाई अस्वीकार गर्दैन । माक्र्सवादले कलात्मक रचनाजस्ता मानवचेतनाका आत्मिक तत्वको महत्वलाई कम मूल्याङ्कन गर्दछ भन्नु खालि माक्र्सवादको उपहास गर्नु हो । यसरी नै माक्र्स कलाकृतिहरूलाई भौतिक तथा आर्थिक प्रकरणहरूको प्रतिबिम्ब मान्दथे भनेर दाबी गर्नु माक्र्समाथि ठट्टा गर्नु हो । उनले त्यस्तो कहिल्यै ठानेनन् । धर्म, दर्शन वा परम्पराले कुनै कलाको रचनामा ठुलो योगदान पु¥याउन सक्तछ, कतिसम्म भने यीमध्ये कुनै एकको वा अरू ‘भावगत’ तत्वको सम्बन्धित कृति विशेषको रूप निर्धारणमा प्रमुख भूमिका हुन सक्तछ भन्ने कुरो उनी राम्ररी नै जान्दथे । तर, जेबाट एउटा कलाकृतिको रचना हुन्छ ती सबै तत्वमा, आर्थिक प्रक्रियाले मात्र अन्ततः अनिवार्य प्रकरणको रूपमा आफूलाई प्रकट गर्दछ । जे कुरालाई माक्र्स र एङ्गेल्स ऐतिहासिक परिवर्तनहरूका निम्ति साँचो मान्दथे, कलात्मक रचनाहरूका लागि पनि उनीहरू त्यसलाई सत्य मान्दथे ।
माक्र्सवादका विरुद्ध के आपत्ति गरिन्छ भने यसले व्यक्तिको भूमिकालाई मान्दैन, यसलाई माक्र्सवादले खालि त्यस्तो निराकार आर्थिक शक्तिहरूको सिकार ठान्दछ, जसले त्यसलाई भाग्यचक्रको अनिवार्यतासहित एक निश्चित अन्ततिर धकेल्दछन् । यस धारणाअन्तर्गत बाह्य भाग्यले मानवलाई एक अनिवार्य अन्ततिर डो¥याउँदै छ कि छैन, कलाकृतिको रचना असम्भव छ कि छैन भन्ने विषयमा हामी यहाँ केही कुरा गर्दैनौँ । कालभिनिज्मले सायदै कहिल्यै महान् कलाको रचना गरेको होस्, तर भाग्य र प्रलयको धारणाको श्रेय यसलाई प्राप्त छ– ग्रीक दुःखान्त नाटक र हार्डीका कृतिहरू मात्र यी दुई उदाहरणको हामी यहाँ उल्लेख गर्दछौँ । फेरि पनि उपर्युक्त आपत्ति वास्तवमै माक्र्सवादी दृष्टिकोणले प्रस्तुत गरेको भए सही हुन सम्भव थियो । कम्तीमा पनि के हो भने यो आपत्ति पश्चिमी जगत्का महान् कलाको मानवतावादी परम्परासित अनुप्राणित छ र त्यसैले श्रद्धायोग्य छ । यद्यपि, यो आपत्ति एउटा ठुलो भ्रममा आधारित छ ।
कारण के भने माक्र्सवाद व्यक्तिलाई अस्वीकार गर्दैन । यसले जनसमुदायलाई आर्थिक शक्तिहरूको दुर्निवार माखेसाङ्लोमा फसेको मात्र देख्तैन । के साँचो हो भने केही माक्र्सवादी साहित्यिक कृतिहरूले विशेषतः केही ‘सर्वहारा’ उपन्यासहरूले–मन्दबुद्धिका आलोचकलाई यस्तै हुन्छ भन्ने विश्वास लिन मौका दिए । तर, यसमा कमजोरी सम्भवतः ती उपन्यासकारहरूको हो, जो आफ्नो विषयको महत्ताअनुरूप माथि उठ्न सकेनन्, उनीहरू प्रकृतिलाई परिवर्तन गर्न र नयाँ आर्थिक शक्तिहरूको रचना गर्ने प्रक्रियाका क्रममा स्वयम् आफूलाई रूपान्तरण गर्ने मानवको चित्रण गर्न योग्य सिद्ध हुन सकेनन् । माक्र्सवाद मानवलाई आफ्नो दर्शनको केन्द्र मान्दछ । किनभने, यसले एकातिर भौतिक शक्तिहरूले मानिसलाई परिवर्तन गर्न सक्तछन् भन्ने दाबी गर्दछ भने अर्कातिर अति प्रस्ट रूपमा के पनि घोषणा गर्दछ भने मानवले नै भौतिक शक्तिहरूलाई रूपान्तरण गर्दछ र यस क्रममा उसले आफ्नै पनि रूपान्तरण गर्दछ ।
मानव र उसको विकास माक्र्सवादी दर्शनको केन्द्रबिन्दु हो । मानव कसरी परिवर्तित हुन्छ ? बाह्य जगत्सित उसको के सम्बन्ध छ ? यिनै प्रश्नहरूको उत्तर माक्र्सवादका संस्थापकहरूले आविष्कार गरेर निकालेका हुन् । माक्र्सवादी दर्शनको रूपरेखा दिनु यहाँ मेरो अभीष्ट होइन । तर आउनुस्, इतिहासको एक सक्रिय साधनको रूपमा, मानवको बारेमा काम गर्दो र जीवनसित सङ्घर्ष गर्दो मानवको प्रश्नका बारेमा एकैछिन हामी छलफल गरौँ । किनभने यो एउटा त्यस्तो मानव हो, जो एकैपटक कलाको सृजनकर्ता पनि हुन्छ र कलाको पात्र पनि । इतिहासमा व्यक्तिको भूमिकाका बारेमा एङ्गेल्सको व्याख्या यस किसिमको छ ः
“इतिहासले आफ्नो निर्माण कसरी गर्दछ भने अन्तिम परिणाम सधैँ अनेक व्यक्तिगत इच्छाशक्तिहरूको द्वन्द्वबाट उत्पन्न हुन्छ र यी इच्छाशक्तिहरू पनि प्रत्येक जीवनका अनगिन्ती विशेष परिस्थितिहरूद्वारा निर्मित हुन्छन् । यसरी परस्पर द्वन्द्वरत अनगिन्ती शक्तिहरूले, शक्तिहरूका समानान्तर चतुर्भुजहरूका अनेकौँ शृङ्खलाहरूले एउटा परिणामलाई, ऐतिहासिक घटना जन्माउँछन् । यसलाई पनि एउटा त्यस्तो शक्तिको उपजको रूपमा हेरिनुपर्दछ, जसले आफ्नो समग्र रूपमा, निश्चेतन तथा सङ्कल्पहीन कार्य गर्दछ । यसको कारण के छ भने सङ्कल्प वा इच्छा गर्ने प्रत्येक व्यक्तिका लागि अरू सबै बाधक हुन्छन् र परिणामस्वरूप कसैले पनि इच्छा नगरेको कुरा प्रकट हुन्छ । यसरी अतीतको इतिहास एक प्राकृतिक प्रक्रियासरह अघि बढ्छ र तत्वतः गतिको समान नियमहरूबाट शासित हुन्छ । तर, यस तथ्यबाट के निष्कर्ष निकाल्न हुँदैन भने व्यक्तिगत इच्छाशक्तिहरू– यीमध्ये प्रत्येकले त्यही चाहन्छ, जसका लागि उसको आफ्नो भौतिक गठन तथा बाह्य परिस्थितिहरू र अन्तिम रूपमा आर्थिक परिस्थितिहरू (उसका निजी र आमरूपमा समाजका परिस्थितिहरू) ले बाध्य पार्दछन् –ले आफ्नो इच्छित वस्तु प्राप्त गर्दैनन्, तिनको मूल्य शून्य बराबर हुन्छ । बरु, ती इच्छाशक्ति एउटा सामूहिक मध्यवर्तीमा, एक सामूहिक परिणाममा विलय हुन्छन् । तीमध्ये प्रत्येकले परिणाममा योगदान दिन्छ र त्यही मात्रामा त्यो त्यसमा निहित हुन्छ ।”
यो केवल इतिहासज्ञहरूका लागि काम लाग्ने नभएर उपन्यासकारका लागि पनि (आख्यानकार सबैका लागि पनि–सं.) काम लाग्ने सूत्र हो । किनभने उपन्यासकार जीवनको युद्धक्षेत्रमा अन्य इच्छाशक्तिहरूसित व्यक्तिगत इच्छाशक्तिको द्वन्द्वको प्रश्नबाट पृथक रहन सक्तैन र रहनु हुँदैन । मानवका सबै इच्छाहरूको पूर्ति कहिल्यै हुँदैन† यो मानवको भाग्य हो । तर, यो उसको गौरवको विषय पनि किन हो भने इच्छाहरूको पूर्तिका लागि गरिएका प्रयासहरूको क्रममा मानवले स्वयम् जीवनलाई रूपान्तरण गर्दछ, त्यो सीमितभन्दा सीमित नै किन नहोस् । मानवको भाग्यका बारेमा माक्र्सवादी सूत्र ‘क.०’ हुँदैन, बरु ‘यसको प्रतिकूल प्रत्येकले परिणाममा योगदान दिन्छ र त्यही मात्रामा ऊ त्यसमा निहित हुन्छ ।’
तर इच्छाहरू, आशा–आकाङ्क्षाहरू तथा आवेश–आवेगहरूको यो द्वन्द्व हवाई मानवहरूको द्वन्द्व होइन । किनभने, एङ्गेल्सले कुन कुरामाथि जोड दिन बिर्सेका छैनन् भने मानवका आकाङ्क्षा र क्रियाकलापहरूलाई उसको भौतिक गठन र अन्ततः आर्थिक परिस्थितिहरू – व्यक्तिका निजी परिस्थिति र आमरूपमा समाजका परिस्थितिहरूले निर्धारित गर्दछन् । मानिसको सामाजिक इतिहासमा, फेरि पनि अन्तिम रूपमा आफू जुन वर्गको अङ्ग हो त्यो वर्गका अन्तर्विरोधहरू र द्वन्द्वसहित मनोवैज्ञानिक स्थितिले नै निर्णयात्मक भूमिका निर्वाह गर्दछन् । यसरी प्रत्येक मानवको दोहोरो इतिहास हुन्छ । किनभने, ऊ एकैसाथ सामाजिक इतिहास भएको प्रतिनिधि पनि हो र निजी इतिहास भएको व्यक्ति पनि हो । यी दुईवटामा जतिसुकै प्रत्यक्ष द्वन्द्व देखिए तापनि ती एक एकाइ हुन्, किनभने सामाजिक इतिहासले अन्ततः व्यक्तिगत इतिहासलाई प्रभावित गर्दछ । तर, यसको अर्थ कलाको क्षेत्रमा पनि सामाजिक स्वरूप व्यक्तिगत चरित्रमाथि हाबी हुनुपर्छ भन्ने होइन । फालस्टाफ (शेक्सपियरको नाटक हेनरी चौथो र मेरी वात्स अफ बिन्डसरको ठटेउलो पात्र), डन क्विजोट, टम जोन्स फिल्डिङको उपन्यास टम जोन्सको कथाको नायक, जुलियन सोरेल (स्तान्धालको उपन्यास रातो र कालोको नायक), मोसिए द चाल्र्स (फ्रान्सेली लेखक पु्रस्तको विशाल उपन्यास हराएको समयको खोजी नामक उपन्यासको पात्र) यी सबै प्रतिनिधि पात्र हुन् । तर, यी सबै त्यस्ता चरित्र हुन् जसका सामाजिक विशिष्टताहरूले व्यक्तिलाई मुखर बनाउँछन् र जसका निजी आशा–आकाङ्क्षा, भोक–तिर्खा, प्रेम–इष्र्या र लालसाहरूले सामाजिक पृष्ठभूमिलाई आलोकित गर्दछन् ।
उपन्यासकारले व्यक्तिको भाग्यको कथा त्यतिखेरसम्म लेख्न सक्तैन जतिखेरसम्म ऊ सम्पूर्ण वास्तविकताको यो सुस्पष्ट–सुस्थिर दर्शनबाट पनि सज्जित हुँदैन । उसका पात्रहरूको व्यक्तिगत द्वन्द्वहरूबाट कसरी उसको अन्तिम निष्कर्ष प्रकट हुन्छ । यसका साथै व्यक्तिहरूमध्ये प्रत्येक कसरी त्यस्तो बन्यो, जीवनका ती विविध परिस्थितिहरूका बारेमा प्रस्ट समझ उपन्यासकारमा हुनुपर्दछ । ‘परिणामस्वरूप जे प्रकट हुने हो, त्यसको कसैले पनि चाहना गरेको थिएन ।’ यस वाक्यमा कति सही रूपमा हरेक महान् कलाकृतिको सारतत्व निहित छ । यसले स्वयम् जीवनको रचना प्रणाली र ढङ्गलाई पनि कति राम्ररी व्यक्त गर्दछ । किनभने, कसैले नचाहेको त्यस घटनाका पछि एउटा रचना प्रणाली र ढङ्ग रहेको हुन्छ । रचनात्मक कलाकारका निम्ति माक्र्सवाद वास्तविकतालाई जान्ने एउटा साँचो हो । यसले उसलाई जीवनको रचना प्रणाली र ढङ्गलाई हेर्न सहयोग गर्दछ र जीवनमा प्रत्येक व्यक्तिको स्थिति के छ त्यो बताउँछ । यसले सचेत रूपमा मानवलाई पूर्ण महत्व दिन्छ र यस अर्थमा यो अन्य सबै विश्व–दर्शनभन्दा अधिक मानवतावादी दर्शन हो ।
– ‘उपन्यास और लोकजीवन’ बाट
(स्पेनिस गृहयुद्धमा प्राणाहुति दिने साहित्यकारमध्येका एक राल्फ फक्स (१९००–१९३६) ब्रिटिस उपन्यासकार, जीवनी लेखक, सामाजिक इतिहासकार, पत्रकार, अनुवादक र राजनीतिकर्मी थिए ।)
साभार : माक्र्सवादी साहित्य चिन्तन

Leave a Reply

Your email address will not be published. Required fields are marked *