लोकेश्वर साकोसको १९ औँ साधारणसभा तथा छैटौँ अधिवेशन
- आश्विन १७, २०८३
भक्तपुर, १७ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत लाभांश पारित गर्दै आफ्नो २९ औँ वार्षिक साधारणसभा शनिबार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न गरेको छ ।
साधारणसभाका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले नौ बाजाको धुनमा सहरकारीको उद्घाटन गर्दै हरेक प्रस्ताव साधारणसभाबाट छलफल, संवाद र बहसका माध्यमबाट पारित गर्नु नै साधारणसभाको महत्व रहेको बताउनुभयो ।
सरकारले सबै सहकारीलाई कमाइ खाने धन्दाका रूपमा हेर्दै विभिन्न नीति तथा निर्देशन ल्याउँदा बहुसङ्ख्यक जनताबाट स्थापित सामुदायिक सहकारीहरू समस्यामा परेको उहाँले बताउनुभयो । एउटा नीति कार्यान्वयनमा नआउँदै अर्को नीति जारी हुनु सरकारको दूरदृष्टिको अभाव भएको उहाँको भनाइ थियो ।
बैङ्क डुब्नुको कारण सहकारीलाई ठानेर सहकारीप्रति आक्रामक रूपमा नीति तथा निर्देशन ल्याइएको बताउँदै उहाँले देशको आवश्यकता र जनताको समस्या माधान गर्नेबारे पर्याप्त ज्ञान नभएको उल्लेख गर्नुभयो । विदेशको शिक्षाले नेपाली जनताको चाहनाअनुसार काम गर्न नसकेको बताउँदै उहाँले सहकारीमा थुप्रिएको तरलताको लगानी व्यवस्थापनका लागि सरकारले चासो नदेखाएको बताउनुभयो ।
देशमा सुशासनका नाममा विभिन्न नीति तथा नियम परिवर्तन गरिए पनि वर्तमान सरकारले देश निर्माणभन्दा बिगार्नेतर्फ बढी महत्व दिएको उहाँको आरोप थियो । वर्तमान सरकार उच्च घरानाबाट सञ्चालित भएकोले सामुदायिक सहकारीलाई निमोठ्ने किसिमका नीति ल्याइएको उहाँले बताउनुभयो ।
समस्याग्रस्त सहकारीको प्रभावकारी अनुगमन गर्न सरकार असफल भएको बताउँदै उहाँले अनावश्यक नीति, नियम र मापदण्डको पालना गर्न बाध्य बनाउने प्रवृत्तिविरुद्ध सहकारीसम्बद्ध विभिन्न सङ्घसंस्थाले सामूहिक रूपमा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सधैँ पैसालाई मात्र हेर्न नहुने बताउँदै संस्था सञ्चालन गर्ने व्यक्तिमाथि कुनै प्रश्न नउठ्ने गरी भक्तपुर बचतले ‘सहकारिता : लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई २५ वर्षदेखि सार्थक तुल्याउँदै काम गरिरहेको बताउनुभयो ।
प्राधिकरणले ल्याएका विभिन्न नीतिका कारण संस्था सञ्चालन गर्ने पदाधिकारीको अभाव हुनसक्ने बताउँदै उहाँले सम्भव भएसम्म सदस्यहरूसँग आवश्यक छलफल गरी एक–एक पाइला अघि बढाउने स्पष्ट पार्नुभयो । सहकारी संस्थालाई सङ्कुचन गर्न, बन्द गर्न वा बैङ्कमार्फत कारोबार गर्न बाध्य पार्ने किसिमका निर्देशन आएको बताउँदै उहाँले समग्र सहकारी अभियानका लागि संस्थाले सम्बन्धित निकायमा आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ.व. २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८३/०८४ को अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वले लेखा सुपरिवेक्षण समितिको आ.व. २०८२/०८३ को प्रतिवेदन, सचिव जगनाथ प्रजापतिले आ.व. २०८२/०८३ को जोखिम विश्लेषण प्रतिवेदन तथा बाह्य लेखापरीक्षक एस. भण्डारी एन्ड एसोसिएट्सले आ.व. २०८२/०८३ को एनएफआरएसअनुसार तयार गरिएको बाह्य लेखापरीक्षण प्रतिवेदनबारे चर्चा गर्नुभएको थियो ।
सभाले आ.व. २०८३/०८४ का लागि एनएफआरएससम्बन्धी कार्यका निम्ति बी.आर.बी.एस. एन्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट विजय सुकुपायोलाई नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सहकारी ऐन, २०७४ को दफा ६९ अनुसार आ.व. २०८२/०८३ को संरक्षित पुँजी फिर्ता कोषको रकम सदस्यहरूलाई वितरण गर्ने, स्थिरीकरण कोषको रकम जगेडा कोषमा पठाउने, आ.व. २०८२/०८३ को सामुदायिक विकास कोषको रकममध्ये ५० प्रतिशत भक्तपुर आदर निकेतनलाई सहयोग गर्ने तथा आ.व. २०८२/०८३ को शेयर लाभांश करसहित १५ प्रतिशतका दरले प्रदान गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, माइन्युट प्रमाणीकरणलगायतका प्रस्तावसमेत सभाले पारित गरेको छ ।
कार्यक्रममा आ.व. २०८२/०८३ मा असल ऋणी हुन सफल ३ सय ४७ जना ऋणीको नाम घोषणा गरिएको थियो । व्यवस्थापक सत्यनारायण साँयजुले असल ऋणी हुन सफल सबैलाई संस्थाले २०८३ भदौदेखि २०८३ साउन सम्म ०.५० प्रतिशत ब्याजदर छुट दिने निर्णय गरेको जानकारी दिनुभयो ।
सभाको दोस्रो चरणमा सदस्यहरू केदार कुसी, विष्णुभक्त कुसी, रामकाजी खाइजू, रवीन्द्रप्रसाद कुसी, सत्यनारायण प्रजापतिलगायतले राख्नुभएको जिज्ञासाको अध्यक्ष निर्मल प्रजापति, कोषाध्यक्ष रामप्रसाद प्रजापति र सचिव जगन्नाथ प्रजापतिले जवाफ दिनुभएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले स्वागत मन्तव्य राख्दै प्राधिकरणले ल्याएका विभिन्न नीति तथा निर्देशनप्रति असहमति जनाउनुभयो ।
कार्यक्रममा १० महिने तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीहरूले नौ बाजाको प्रस्तुति तथा फाकंदली नाच प्रस्तुत गरेका थिए ।
Leave a Reply