भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४६

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४६

बादल राईको कागज व्यहोरा :
म आफै आन्दोलनमा सहभागी भएको हो । सुरुमा माइतीघरदेखि बानेश्वरसम्मको भिड शान्त थियो । तर, जब गोली चल्यो अनि भिड आक्रामक भयो । प्रहरी र सशस्त्र प्रहरी पहिलेदेखि नै ड्युटिमा थिए भने आर्मी पछि आएको थियो । बल प्रयोगभन्दा पहिले निषेधित क्षेत्रबारे अलिअलि जानकारी दिएका थिए । ढुङ्गामुढाबाट मेरो टाउकोमा चोट लाग्यो । आन्दोलनमा घुसपैठ पनि भयो । आन्दोलनको मर्मअनुसार परिवर्तन होस् ।
एकता शाहको कागज व्यहोरा :
चाँगुनारायण नगरपालिका वडा नं ४. डिही टोल, उमेर १७ वर्ष, शैक्षिक योग्यता १२ कक्षा पास । चिकित्सा शिक्षा आयोगबाट MBBS मा नाम निकालेर हाल घरमै आराम गरिरहेको छु । २०८२ भदौ २३ गतेको प्रदर्शनमा बानेश्वरस्थित संसद् भवनको दक्षिण गेटमा सहभागी भएको थिएँ । स्कूल युनिफर्ममा भएकोले प्रहरीले हान्दैन भन्ने लागेर अन्य सहभागी भाग्दासमेत नभागी नाराबाजि गरिरहेँ । सो क्रममा सुरक्षाकर्मीले हानेको गोली मेरो बायाँ घुँडामा लागेर घाइते भएँ । हाल घरमै फिजियोथेरापी गराइरहेको छु । मेरो शारीरिक कारणले अन्यत्र अध्ययन गर्न असमर्थ रहेको हुँदा मेरो घर नजिकको KMC मेडिकल कलेजमा अध्ययनको व्यवस्था गराइदिनको लागि माग गर्न चाहन्छु ।
शम्भु दङ्गालको कागज व्यहोरा :
म काठमाडौँ जोरपाटीमा रहेको Nayapost.com को सञ्चालक तथा कार्यकारी सम्पादक हुँ । २०८२ भदौ २३ गते बिहान १० बजे चाबहिलमा रहेको मनास्लु कलेज र सेन्टलरेन्स कलेजबाट निस्किएका विद्यार्थीहरूको जुलुसको भिडियो खिच्दै हामी पुरानो बानेश्वर चोकसम्म पुग्यौँ । बिजुलीबजार पुल छेउ पुग्दा ११ः३० बजेतिर जुलुसले एभरेस्ट होटल अगाडि सुरक्षाकर्मीले राखेको बेरिकेडमाथि धकेल्न सुरु ग¥यो । युवाहरूले बेरिकेड ढालेर बिजुलीबजार पुलतर्फ गुडाएर लगे । अन्दाजी १४ः३० बजे संसद् भवनको गेट छेउमा सुरक्षाकर्मीले हानेको धातुको गोली मेरो बायाँ खुट्टाको गोलीगाँठो छेडेर वारपार भयो । सडकमा तैनाथ दङ्गा प्रहरीको सङ्ख्या थोरै थियो भने संसद् भवनभित्र अत्याधुनिक हतियार बोकेका सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । मेरो खुट्टाको हड्डी पूर्णरूपमा निको हुन अझै १ वर्ष लाग्ने डाक्टरको भनाइ छ ।
प्रकाशबहादुर बोहराको कागज व्यहोरा :
म माइतीघर मण्डलामा १ः४५ बजेतिर सहभागी भएको थिएँ । बानेश्वर चोकस्थित एक नम्बर गेटतिर पुग्दा नपुग्दै एक्कासि मेरो देब्रे खुट्टाको घुँडाभन्दा माथि थाईमा गोली लाग्यो । म आन्दोलनमा सरिक हुनुको उद्देश्य युवा विदेश पलायन हुन नपरोस् भनेर हो । पहिला भिड शान्त नै थियो । बानेश्वरमा मलाई गोली लागेपछि भिड आक्रामक भयो । आन्दोलनमा धेरै नै घुसपैठ भएको थियो ।
भीमबहादुर दमाईको कागज व्यहोरा :
भदौ २३ गते करिब ११ः३० बजे एभरेस्ट होटेलतर्फको सडक हुँदै हजारौँको भिड संसद् भवनतर्फ आयो । त्यसपछि शङ्खमूलतर्फबाट समेत एक हुल आएर सोही हुलमा मिसियो भीडका मान्छेले ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्याँस हानेको हो । प्रहरीले माइकबाट कफ्र्यु लागेको भन्दै थियो । मेरो उपचार खर्चमा कुनै पैसा लागेन ।
सन्तकुमार मेहताको कागज व्यहोरा :
२०८२ भदौ २३ गते प्रदर्शनको दिन नयाँ वानेश्वरस्थित म आफै सञ्चालक रहेको हिमालयन जाभा कफी सपमा थिएँ । दिनको करिब ११ः०० बजेपछि चोकमा मानिसहरूको भिडभाड बाक्लो हुँदै गयो । एभरेस्ट होटल अगाडिको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरू चोकमा जम्मा हुँदै गए । प्रहरीले पानीको फोहोरा, लाठी हान्दै भिडलाई नियन्त्रणमा लिँदै थियो । भिडकै केही मानिहरू संसद् भवनको १ नं. गेट नाघेर भित्र प्रवेश गर्दै थिए । अश्रुग्याँस हानेपछि भिडका मानिसहरू तितरबितर भए । केही प्रदर्शनकारी मेरो पसल छेउछाउ पानी मागेर आँखा सफा गर्दै थिए । करिब दिनको १३ः३० बजे म एक्कासि भुइँमा ढलेँ । मेरो घाँटीमा गोली लागेको रहेछ । अहिले म डाक्टरको नियमित फलोअपमा छु ।
भदौ २४ गतेको आन्दोलनमा राज्य सञ्चालन गर्ने महत्वपूर्ण प्रशासनिक निकाय, विभिन्न मन्त्रालय, सर्वोच्च अदालतसमेतका न्यायिक निकायहरू, निजी सम्पत्ति, प्रहरी कार्यालयहरूमा तोडफोड तथा आगजनी, प्रहरीहरूको निर्मम हत्या, हातहतियार लुटपाटजस्ता विध्वंसात्मक गतिविधि भए । मैले यी कुरा अस्पतालमा उपचारार्थ रहेको अवस्थामा सामाजिक सञ्जालबाट थाहा पाएको हुँ ।
आन्दोलनकारीहरूद्वारा आगो लगाइ घाइते बनाइएकी गीताकुमारी शाहको कागज व्यहोरा :
२०८२/०५/२४ गते म कोटेश्वर चोकस्थित घडी पसलबाट फर्कदै थिएँ । प्रहरी हवल्दार चिजकुमार कुमाललाई आन्दोलनकारीहरूले चारैतिरबाट घेरा हाली धारिलो हतियार, इँटा ढुङ्गा, लाठी, लात्ती, मुक्का प्रहार गरी मार्न खोजेको देखेँ । निजलाई बचाउन खोज्दा मलाई कुटपिट गरे । सो आन्दोलकारीको समूहमा १ जना अं. २२/२३ वर्षकी केटी पनि थिइन् । मैले नहिर्काउनू, नहान्नु भन्दै गर्दा चिजकुमार कुमालले “मलाई बचाउनुस् !” भनी मेरो छेउमा आएर लुक्न खोजे । आन्दोलनकारीहरूले यसलाई जसरी भए पनि मार्नुपर्छ, छाड्नु हुँदैन भन्दै कुटपिट गरिरहेका थिए । मैले निज चिज कुमार कुमाललाई बचाउ प्रयास गर्दा गर्दै पनि आन्दोलकारीहरूले आगो, पेट्रोलजस्तो तरल पदार्थ चिजकुमार कुमाल र मलाई लाग्ने गरी फ्याँकिदिए । उक्त तरल पदार्थ फ्याँक्ने वित्तिकै आगो सल्कियो, त्यसपछि मेरो शरिरमा पुरै आगो बल्यो । सो आगोबाट मेरो शरिरको कपडा जलेकोले म अत्तालिएर हारगुहार गर्दै कपडा खोलेँ । त्यसपछि मलाई कान्तिपुर अस्पताल लगेको थाहा छ, त्यसपछि बेहोस भएछु । कान्तिपुर अस्पतालबाट मलाई काठमाडौँ मेडिकल कलेजमा लगेर उपचार गरिएछ । उक्त आक्रमणबाट मेरो शरिरको करिब ४० प्रतिशत भाग जलेको छ । मेरो दाहिनेतर्फको हात, कुमदेखि पैतलासम्मै जलेको छ । हालसम्म पनि उपचार गराइरहेकी छु, आफै उठेर हिँड्न सक्दिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *