भर्खरै :

शिक्षा, खेलकुद र स्वास्थ्यलाई सँगसँगै अगाडि लानुपर्ने

शिक्षा, खेलकुद र स्वास्थ्यलाई सँगसँगै अगाडि लानुपर्ने

भक्तपुर, २१ असार । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को खेलकुद उपसमितिको आयोजनामा अन्तरसहकारी जिल्लास्तरीय भेन्ट्रान्स डबल ब्याडमिन्टन प्रतियोगितामा अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रथम भयो ।
आइतबार सम्पन्न सेमिफाइनल र फाइनल खेलको अवलोकन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, खेलकुद र स्वास्थ्यलाई सँगसँगै अगाडि लानुपर्ने बताउनुभयो । उहाँले खेलकुदले शरीर स्वस्थ रहने बताउँदै भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ क्षेत्रमा उल्लेखनीय कार्य गर्नुका साथै खेलकुद क्षेत्रलाई पनि माथि उकास्न विभिन्न खेलकुद गतिविधि गरिरहेको स्पष्ट पार्नुभयो ।
यस्तो कार्यमा नगरपालिका र सहकारीबिच एकआपसमा सहयोग गर्दै अगाडि बढ्नुपर्ने उहाँको जोड छ । उहाँले अन्य सहकारीहरूले पनि भक्तपुर बचतले जस्तै अतिरिक्त क्रियाकलापहरू गर्दै जानुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले कुनै पनि संस्था अग्रगामी भई अगाडि बढ्न संस्थाको आर्थिक गतिविधिले मात्र नपुग्ने उल्लेख गर्दै समाज र देशको विकासमा टेवा पुग्ने गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । संस्थाले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्रसँग सम्बन्धित गतिविधिहरू गर्दै आएको र आगामी दिनमा पनि सञ्चालन गर्दै जाने उहाँको भनाइ छ ।
भक्तपुर नगर खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रलाई माथि उकास्न आवश्यक भूमिका निर्वाह गर्दै आएको बताउँदै सहकारी संस्थाहरूले खेलकुद गतिविधिहरू सञ्चालन गर्नु उदाहरणीय रहेको बताउनुभयो । देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने एउटा माध्यम खेलकुद भएकाले स्थानीय युवा र विद्यार्थीहरूलाई समेटी यस्तो गतिविधिलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।
असार २० र २१ गते भएको उक्त प्रतियोगितामा २१ वटा टीम सहभागी रहेको छ । ४५ वर्षमाथि उमेर समूहका डबल भेन्ट्रान्स प्रतियोगितामा अनमोल साकोसका खेलाडी दीपक बस्नेत र युवराज श्रेष्ठको टोली उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम हुन सफल भयो । खेलाडी टीकाबहादुर थापामगर र देनराज घिसिङको प्रदर्शनमा चण्डेश्वरी साकोसले द्वितीय स्थान हासिल गरेको छ भने शुभकामना साकोसका रणबहादुर एरी र नारायण थापाको टोलीले तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै, सङ्गम साकोसबाट राधेश्याम ख्याजु र राजेश घेमोसुको टोली सान्त्वना भयो ।
अतिथि प्रजापतिले प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल टोलीलाई ट्रफी र मेडलसहित क्रमशः रु.१०,०००।–, रु.६,०००।–, रु.४,०००।– र रु.२,०००।– तथा सहभागी टोलीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
खेलकुद उपसमितिका संयोजक राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य क्यारिन्डा खयरगोली, अन्तर्राष्ट्रिय ब्याडमिन्टन रेफ्री राधेश्याम मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *