भर्खरै :

एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार

  • असार २१, २०८३
  • लालबहादुर वर्मा
  • विचार
एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार

कोही व्यक्तिले ९४ वर्षको उमेरमा ‘दुनियाँ कसरी बदल्ने’ (हाउ टु चेन्ज द वल्र्ड) नामक पुस्तक लेख्छ र सम्पूर्ण विश्वले त्यस पुस्तकलाई अपरिहार्य ठहर गर्छ भने, त्यसमा यतिखेर मोहभङ्गको शृङ्खला चलिरहेको माक्र्सवादको सान्दर्भिकतामाथि जोड दिइएको नै किन नहोस्, त्यो व्यक्ति निःसन्देह असाधारण प्रतिभा, गहिरो बौद्धिक क्षमता र व्यापक सामाजिक सरोकार भएको मानिस हुनुपर्छ । एरिक हब्सबाम त्यस्तै व्यक्तित्व थिए, जसलाई विश्वकै अद्वितीय इतिहासकार भन्न सकिन्छ । माक्र्सवादप्रतिको उनको निष्ठा जीवनको अन्तिम कालखण्डसम्म रहिरह्यो । यद्यपि, उनी कहिल्यै पनि जडसूत्रवादी रहेनन् र पार्टीहरू एवं तिनका कार्यक्रमहरूको आलोचना गरिनै रहे । उनको वस्तुनिष्ठताको प्रशंसा वामविरोधी इसायाह बर्लिनजस्ता प्रखर समकालीन विचारकहरूले समेत गर्दथे ।
सुनील खिलनानीका अनुसार, एरिक राष्ट्रहरू, साम्राज्यहरू, विचारधाराहरू र आदर्शहरूको उत्थान तथा पतनका प्रत्यक्षदर्शी साक्षी थिए । उनी इतिहासलाई बाँच्ने मात्र गर्दैनथे, लाग्थ्यो उनी सपना पनि इतिहासकै देख्ने गर्थे ।
१७ जून, १९१७ अर्थात् रूसी क्रान्तिको वर्ष, एरिकको जन्म एक जर्मनभाषी आमाको कोखबाट भएको थियो र उनको बाल्यकाल अस्ट्रियामा बितेको थियो । तर, इङ्ग्ल्यान्डमा अध्ययन गर्ने क्रममा उनले अङ्ग्रेजी भाषा मात्र होइन, ज्ञानका विविध शाखाहरूमा यसरी आफ्नो बलियो पकड बनाए कि क्याम्ब्रिज विश्वविद्यालयमा ‘एरिकलाई थाहा नभएको के नै छ र ¤’ भन्ने ख्याति फैलियो ।
उनका हजुरबुबा पोल्यान्डबाट आएर इङ्ग्ल्यान्डमा बसोबास गरेका थिए र यस यहुदी परिवारमा यहुदीहरूको त्यो विशिष्ट गुण प्रचुर मात्रामा थियो, जसअनुसार उनीहरू आफ्नो यहुदी पहिचानको पूर्ण रक्षा गर्दै जुन देशमा बस्छन्, संवेगात्मक रूपमा पूर्णतः त्यहीँकै भएर समाहित हुन्छन् । स्पष्ट छ, यस परिवारले इङ्ग्ल्यान्डको निष्ठापूर्वक सेवा ग¥यो । एरिकको जन्म इजिप्टको अलेक्जान्ड्रिया सहरमा भएको थियो भने हिटलरको बढ्दो प्रभावका बिच अस्ट्रियामा उनको पालनपोषण भयो । समग्रमा भन्नुपर्दा, उनको मानसपटलमा बृहत् इतिहास र माक्र्सवादको जग बाल्यकालमै बसिसकेको थियो । मातापिताको असामयिक निधनले गर्दा उनी आफ्ना काकामाथि निर्भर हुन पुगे, जो बर्लिनमा कार्यरत थिए । हिटलर सत्तासीन भएको घटनालाई एरिकले निकै नजिकबाट नियालेका थिए । तत्पश्चात्, त्यही वर्ष उनका काकालाई इङ्ग्ल्यान्ड पठाइयो र यसरी एरिकको ब्रिटिस बन्ने प्रक्रियाको आरम्भ भयो ।
त्यही समयमा उनी ज्याज सङ्गीत, विशेषगरी ड्युक एलिङ्टनको ब्यान्ड सुनेर मन्त्रमुग्ध भए र यस सङ्गीतसँग उनको जीवनभरको नाता जोडियो । यस विधामा उनी यसरी भिजिसकेका थिए कि वर्षौँसम्म ज्याज सङ्गीतको समीक्षा लेखिरहे र पेङ्ग्विन प्रकाशनले उनको यस साङ्गीतिक चेतमाथि एउटा पुस्तक नै प्रकाशित गरिदियो, जुन उनको व्यक्तित्वको मानवीय र कलात्मक पक्षलाई उजागर गर्न आज पनि उत्तिकै सान्दर्भिक छ ।
विश्वविद्यालयको अध्ययनका क्रममा उनले पुँजीवादको ठुलो सङ्कट ‘महामन्दी’ (द ग्रेट डिप्रेसन) लाई नजिकबाट नियालेर बुझे र पुँजीवादको विकल्पका रूपमा समाजवादप्रतिको उनको विश्वास अझ प्रगाढ बन्यो । जब द्वितीय विश्वयुद्ध सुरु भयो, उनी बाइस वर्षका एक प्रबुद्ध युवा थिए । अन्य युवाहरू जस्तै उनले पनि युद्ध सेवाका लागि आफ्नो नाम दर्ता गराए र रक्षा विभागमा सैनिकहरूका बिचमा रहेर काम गर्ने अवसर पाए । त्यस अवधिमा उनले बेलायतका विपन्न जनतालाई निकै नजिकबाट हेर्ने मौका पाए र उनीहरूप्रति एरिकको मनमा जीवनभर रहने एउटा गहिरो आत्मीय सरोकार जागृत भयो ।
युद्धको समाप्तिपछि एरिकले ‘फेबियन्स’ अर्थात् सुधारवादी समाजवादमाथि अनुसन्धान सुरु गरे र वामपन्थी विचार एवं राजनीतिसँग उनको सम्बन्ध थप सुदृढ हुँदै गयो । द्वितीय विश्वयुद्धपछि चलेको शीतयुद्धको कालखण्डमा, एरिक घोषित रूपमै कम्युनिस्ट भएका कारण क्याम्ब्रिज विश्वविद्यालयमा उनको मनपर्ने प्राध्यापनको जागिर पाउन बाधा पुगिरह्यो । यसै कारणले गर्दा उनी कैयौँ वर्षसम्म अन्य शिक्षण संस्थाहरूमा पढाउन बाध्य भए ।
हब्सबामको पहिलो पुस्तक एउटा सम्पादित कृति थियो– ‘लेबर्स टर्निङ प्वाइन्ट’ (१९४८) । यस पुस्तकमा कम्युनिस्ट पार्टीको स्पष्ट छाप देखिन्थ्यो । तर, सन् १९५६ मा एउटा ठुलो भुइँचालो गयो । सोभियत सङ्घको सरकारले हङ्गेरीमा आफ्नो अनुकूलको सरकार टिकाउने स्वार्थमा सैन्य हस्तक्षेप गरिदियो । यस घटनाले गर्दा विश्वभरका कम्युनिस्टहरूको आलोचना हुन थाल्यो र स्वयम् विचारशील कम्युनिस्टहरूभित्र एक किसिमको अन्तर्मन्थन सुरु भयो । प्रख्यात इतिहासकार क्रिस्टोफर हिलजस्ता धेरै व्यक्तित्वहरूले पार्टीसँगको नाता तोडे । एरिक हब्सबामले पनि सोभियत सङ्घको त्यस सैन्य हस्तक्षेपको कडा आलोचना गरे, तर कम्युनिस्ट पार्टी भने परित्याग गरेनन् । यो चरित्र उनले जीवनभर कायम राखे । उनी पटक–पटक पार्टीका नीतिहरूसँग असन्तुष्ट त हुन्थे, तर उनले पार्टीसँगको आफ्नो सम्बन्ध कहिल्यै विच्छेद गरेनन् । फलस्वरूप, अन्तर्राष्ट्रिय जगतमा उनको छवि एउटा स्वतन्त्र चेत भएको ‘कम्युनिस्ट फ्री थिङ्कर’ का रूपमा स्थापित रहिरह््यो ।
उनको ध्यान सामाजिक इतिहासतर्फ आकर्षित भयो र उनले ‘प्रिमिटिभ रिबेल्स’ मा जनप्रतिकार एवं प्रतिरोधहरूको इतिहास लेख्दै विशेषगरी ग्रामीण क्षेत्रहरूको असन्तोषलाई उजागर गरे । श्रमिकहरूको भूमिकामाथि ‘लेबरिङ मेन’ र त्यसपछि ‘वल्ड्र्स अफ लेबर’ लेखेर उनले यस क्षेत्रको यस्तो इतिहास प्रस्तुत गरे, जुन आफैँमा असाधारण थियो ।
यसैगरी, सन् १९६८ मा प्रकाशित ‘इन्डस्ट्री एन्ड एम्पायर’ एउटा यस्तो पुस्तक थियो, जो दशकौँसम्म लगातार छापिइरह्यो र आज पनि एउटा महत्वपूर्ण सन्दर्भ ग्रन्थका रूपमा रहेको छ । यस पुस्तकमा औद्योगिक क्रान्ति र औपनिवेशीकरण दुवैमा बेलायतको अग्रगामी भूमिकाको गहिरो विश्लेषण र मूल्याङ्कन गरिएको छ ।
सन् १९६२ मा एरिकले आधुनिक विश्वलाई बुझ्ने एउटा बृहत् परियोजना सुरु गरे । यसै क्रममा चार पुस्तकहरूको शृङ्खलामध्ये पहिलो पुस्तक ‘एज अफ रिभोल्युसन’ लेखे । यस पुस्तकमा उनले औद्योगिक क्रान्तिलाई तेस्रो विश्वका लागिसमेत महत्वपूर्ण मानेका छन् । क्रान्तिहरूलाई युरोपमा मात्र सीमित राख्ने सङ्कुचित प्रवृत्तिबाट इतिहास लेखनलाई मुक्त गराउनु नै उनको मुख्य प्रयास थियो । यस शृङ्खलाका अन्य तीन पुस्तकहरू हुन् ः ‘एज अफ क्यापिटलिज्म’, ‘एज अफ एम्पायर’ र ‘एज अफ एक्स्ट्रिम्स’ । यी चारै वटा पुस्तकहरू हिन्दीमा पनि उपलब्ध छन् (प्रकाशकः संवाद प्रकाशन) । उनले एक किसिमले समकालीन इतिहास पनि लेखे, किनभने अन्तिम पुस्तकमा सन् १९९१ सम्मका विस्तृत विवरणहरू समेटिएका छन् । सम्पूर्ण विश्वका असङ्ख्य तथ्यहरूलाई सन्दर्भका रूपमा जोड्दै एउटा संश्लिष्ट विश्व–परिप्रेक्ष्य प्रस्तुत गर्नु अत्यन्तै असाधारण कार्य हो, जसलाई एरिकले आफ्नो प्रखरता, सामाजिक सरोकार र अथक परिश्रमद्वारा सहजै प्रस्तुत गरिदिए । यी पुस्तकहरू प्राज्ञिक जगत्लाई मात्र लक्षित गरेर लेखिएका थिएनन् । यिनलाई उच्च स्तरका लोकप्रिय पुस्तकहरूको श्रेणीमा राख्न सकिन्छ । कुनै जमानामा टायनबीको पुस्तक ‘स्टडी अफ हिस्ट्री’ लाई बुद्धिजीवीहरूका बिच ‘स्टेटस सिम्बोल’ (सामाजिक प्रतिष्ठाको प्रतीक) मानिन्थ्यो । आज यी चारै पुस्तकहरू जुनसुकै प्रबुद्ध व्यक्तिका लागि अपरिहार्यजस्तै बनेका छन् – एउटा ‘इन्टेलेक्चुअल स्टेटस सिम्बोल’ का रूपमा ।
कुनै पनि इतिहासकारका लागि यति मात्र गरिदिनु पनि सन्तोषजनक उपलब्धि मानिन्थ्यो, तर उनी त बृहत्तर सामाजिक सरोकार भएका एक जीवन्त सर्जक थिए । उनले इतिहासबोधका साथ आफ्ना समकालीन समाजका विविध पक्षमाथि निरन्तर लेखहरू लेखिरहे र तिनको गहिरो प्रभाव पनि प¥यो । जब उनले वर्तमान श्रमिक आन्दोलन सुरुवाती दिनमा गरिएको अपेक्षाअनुरूप भूमिका खेल्न असक्षम भएको तथ्य औँल्याए, तब कम्युनिस्ट पार्टीहरूले उनीप्रति नाक खुम्चाए । बेलायतको युद्धोत्तर कालको लेबर पार्टीले उनलाई सधैँ सम्मान ग¥यो, यद्यपि उनी त्यस पार्टीका नीतिहरूसँग सधैँ असन्तुष्ट नै रहन्थे । टोनी ब्लेयरले त आफ्नो प्रधानमन्त्रीकालमा एरिकलाई ‘उनी युरोपको अन्तरात्मालाई झक्झकाइरहन्छन्’ भन्दै सम्मानितसमेत गरेका थिए ।
उनले साधारण ठानिएका मानिसहरूभित्रको असाधारणतालाई नियाल्दै ‘अनकमन पिपुल’ लेखे र सन् २००२ मा प्रकाशित आफ्नो आत्मकथालाई ‘इन्ट्रेस्टिङ टाइम्स’ नाम दिए । सोभियत सङ्घको विघटनपछिको दुर्दशा र अमेरिकी पुँजीवादको उन्मत्त उद्घोषहरूका बिच, यदि कुनै विचारक–इतिहासकार माक्र्सवादप्रति पूर्ण आस्था राख्दै आफ्नो समयलाई ‘चाखलाग्दो’ (इन्ट्रेस्टिङ) भन्छ भने, उनको त्यो अदम्य आशावादिताले पाठकमा एक सङ्क्रामक उत्साह पैदा गर्दछ । नब्बे वर्षको उमेरमा उनले ‘ग्लोबलाइजेसन ः डेमोक्रेसी एन्ड टेररिज्म’ लेखेर आफू समकालीन समस्याहरूमाथि अझै पनि तीक्ष्ण नजर राखिरहेको कुरा प्रमाणित गरे ।
उनलाई शारीरिक र मानसिक रूपमा चुस्त राख्न उनकी दोस्रो पत्नी म्यारलिनको विशेष योगदान थियो । उनी एरिककी एउटा असाधारण मित्र र सहयोगी मात्र थिइनन्, बरु उनको जीवन्त रुचिलाई पनि राम्रोसँग बुझ्दथिन् । जीवनको भरपूर आनन्द लिने एरिकका लागि स्वादिष्ट र सुपाच्य भोजन बनाउनमा पनि उनलाई महारत हासिल थियो । त्यसैले त उनी ९३ वर्षको उमेरमा पनि निरन्तर भाषण दिन्थे, बीबीसीमा कार्यक्रम प्रस्तुत गर्थे र विश्वविख्यात ‘हे लिटरेरी फेस्टिभल’ को शोभा बढाउँथे । जीवनको अन्तिम दिनहरूमा उनले यस लोकप्रिय महोत्सवको अध्यक्षता समेत स्वीकार गरेका थिए ।
९० वर्षको उमेरमा पनि आसपासका क्षेत्रमा भाषण दिन जानुपर्दा उनी बसकै यात्रा गर्दथे । इतिहासका तथ्यहरू त उनी विश्वभरबाट सङ्कलन गरेर आत्मसात् गर्थे नै, साथै उनी यात्रा पनि खुब गर्दथे । उनी भारत आएका मात्र थिएनन्, बरु भारतको राजनीति, विशेषगरी त्यहाँको वामपन्थी राजनीतिसँग राम्ररी परिचित थिए । उनी भारत र इरानका ‘मिनिएचर पेन्टिङ’ (लघुचित्र) हरू सङ्कलन गर्ने गर्थे । पछि जब ती कलाकृतिहरूको बजार अत्यधिक महँगो हुन थाल्यो, तब उनका लागि यो सौख पूरा गर्न कठिन बन्दै गयो ।
अन्तमा, उनको अनुवादकका रूपमा यो स्वीकार गर्नैपर्छ कि उनको पाठको जटिलतालाई हिन्दी पाठकहरूसमक्ष उनकै शैलीमा प्रस्तुत गर्नु अन्ततः मेरा लागि असम्भव प्रायः भयो । त्यस अवस्थामा एउटै मात्र विकल्प बाँकी थियो उनको लेखनको मर्म र अन्तर्वस्तुलाई उनको सामाजिक सरोकारसहित पाठकहरूमाझ पु¥याउने प्रयास गर्नु र मैले त्यही नै गरेँ । उनको एउटै अनुच्छेद भित्रका वाक्यहरूले अनेकौँ सन्दर्भहरूलाई समेट्दै साहित्य र सिर्जनशीलताको आनन्द प्रदान गर्छन् । तिनलाई खण्डित गरेर छुट्टाछुट्टै वाक्यका रूपमा प्रस्तुत गर्दा युरोपेली ‘कोर्स–डिनर’ को स्वाद त मिल्न सक्ला, तर भारतीय छप्पन भोगको थालीजस्तो तृप्ति मिल्दैन । तर, हुनसक्छ भविष्यमा कसैले त्यो काम गर्न सकोस्, जुन गर्नमा म अक्षम साबित भएँ ।
अन्तमा, एरिकको योगदानको मूल्याङ्कन गर्नुअघि सरसरी रूपमा उनको सम्पूर्ण लेखनको सारतत्वमाथि दृष्टिपात गर्ने हो भने निष्कर्ष निकाल्न सहज हुनेछ ।
१. औद्योगिक क्रान्तिलाई क्रान्ति त भनिन्थ्यो, तर एरिकले नै ‘एज अफ रिभोल्युसन’ मा फ्रान्सको राज्यक्रान्ति र औद्योगिक क्रान्तिलाई एउटै धरातलमा राखेर त्यस कालखण्डलाई एउटा विशिष्ट पहिचान मात्र दिएनन्, बरु क्रान्तिको विमर्शलाई समेत व्यापकता दिए ।
२. एरिकले सामाजिक लूटपाट (सोसल ब्यान्ड्रिट्री) लाई रेखाङ्कित गर्दै यसलाई एउटा प्रभावकारी सामाजिक परिघटनाका रूपमा व्याख्या गरे ।
३. उनले इतिहासमा काल–विभाजनलाई वर्ष, दशक वा शताब्दीको परम्परागत एकाइमा मात्र हेर्ने निरर्थकतालाई ‘लामो उन्नाइसौँ शताब्दी’ (लांग नाइनटिइन्थ सेन्चुरी) को अवधारणाद्वारा स्पष्ट पारे । उनले देखाए कि जुन परिघटनाहरू सन् १७८९ को फ्रान्सेली क्रान्तिबाट सुरु भएका थिए, ती प्रथम विश्वयुद्धको आरम्भ (१९१४) सम्म निरन्तर चलिरहे । यस प्रकार, ऐतिहासिक अर्थमा उन्नाइसौँ शताब्दी १२५ वर्षको थियो ।
४. जुनसुकै संवेदनशील प्राणी पनि आजको समाजको बर्बरताबाट दुःखी हुन्छ । एरिकले आधुनिक कालमा बर्बरतालाई एउटा ऐतिहासिक तथ्यका रूपमा चिनाउँदै त्यसको अन्तर्निहित अर्थ उजागर गरे । कता न कता यो नृशंसता पुँजीवादसँगै जोडिएको छ ।
५. आधुनिक सङ्गीतमा ‘ज्याज’ एउटा नयाँ र संवेगमयी विधा हो । यसको आवेग र गहनताको विश्वव्यापी स्वीकार्यताले सङ्गीतको सार्वभौमिकतालाई प्रमाणित गरेको छ । एरिक त्यस सङ्गीतका असाधारण प्रशंसक मात्र थिएनन्, बरु एक आधिकारिक समीक्षक पनि थिए । उनले वर्षौँसम्म त्यसमाथि स्तम्भ लेखे र अन्ततः ज्याजमाथिको उनको पुस्तक संसारभरि नै प्रशंसित भयो ।
६. इतिहासकारका रूपमा उनलाई श्रम, श्रमिक र श्रम–आन्दोलनले सुरुवाती दिनहरूमा आकर्षित गरेको थियो । उनले यसको विस्तृत अध्ययन गरे र यसको राजनीतिक विमर्शको विश्लेषण गरे । अन्ततः, उनी यस निष्कर्षमा पुगे कि २१ औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा श्रमिक आन्दोलनले त्यो भूमिका निर्वाह गर्न सकेन, जसको उनीबाट अपेक्षा गरिएको थियो ।
७. अराजकतावाद र साम्यवादको विकास सँगसँगै भएको थियो र एक समय माक्र्स स्वयम् पनि अराजकतावादप्रति आकर्षित भएका थिए । तर, पछि गएर सिद्धान्त र व्यवहारमा दूरी बढ्दै गयो । आजभोलि त कम्युनिस्ट आन्दोलनहरूको असफलता र विघटनपछि अराजकतावाद पुनः चर्चामा आउन थालेको छ । एरिकले आफ्नो साम्यवादी पूर्वाग्रह (झुकाव) का बाबजुद यी दुवै विमर्शको तुलनात्मक अध्ययन गरे ।
८. उनी हङ्गेरीमा भएको सोभियत हस्तक्षेपबाट निकै दुखी भएका थिए । तर, उनले अन्य नेता वा बुद्धिजीवीहरूले जस्तो पार्टी परित्याग गरेनन् । त्यसको १० वर्षपछि जब चेकोस्लोभाकियामा ‘वसन्त विद्रोह’ (प्राग स्प्रिङ) भयो र त्यहाँ पुनः सोभियत सङ्घले सैन्य हस्तक्षेप ग¥यो, तब यसपटक भने एरिकले औपचारिक रूपमै त्यसको विरोध गरे । तैपनि, बेलायती (ब्रिटिस) कम्युनिस्ट पार्टीको अन्त्य नहुन्जेल उनले पार्टी छोडेनन् । उनको सबैभन्दा बढी आलोचना पनि यही कारणले गर्दा भएको हो ।
यस विहंगम सिंहावलोकन पश्चात् अब मूल्याङ्कनको प्रयास गर्न सकिन्छ । सन् २००२ मा दक्षिणपन्थी झुकाव राख्ने पत्रिका ‘स्पेक्टेटर’ ले लेखेको थियो– एरिकलाई ग्रेट ब्रिटेनको मात्र नभएर संसारकै सबैभन्दा महान् जीवित इतिहासकार भन्न सकिन्छ । अर्कोतर्फ, सोभियत सङ्घका मामिलाका विशेषज्ञ (क्रेमलिनोलोजिस्ट) रोबर्ट कन्क्वेस्टका अनुसार, उनी सोभियत सङ्घको वास्तविक परिस्थितिलाई नमान्ने पूर्वाग्रहबाट ग्रस्त छन् (म्यासिभ रियालिटी डिनायल) । टोनी जुडको धारणा निकै स्पष्ट छ, ‘एरिक अरूले भन्दा राम्रोसँग बुझ्छन् र उत्कृष्ट लेख्छन् । यदि उनी जीवनभर कम्युनिस्ट पार्टीको सदस्य नबनेका भए, सम्भवतः उनी बीसौँ शताब्दीका सबैभन्दा महान् इतिहासकार मानिने थिए ।’ तर, आफ्नो आत्मकथामा एरिकले प्रस्ट रूपमा भनेका थिए, ‘म ऐतिहासिक चेत चाहन्छु– सहमति, पुष्टि वा सहानुभूति होइन ।’ वस्तुनिष्ठता र वैचारिक प्रतिबद्धता बिचको द्वन्द्व अक्सर उजागर भइरहन्थ्यो, तर त्यो केवल कम्युनिस्टहरूको सन्दर्भमा मात्र देखिन्थ्यो । ‘गार्जियन’ का सम्पादक मिलि ब्यान्डको मूल्याङ्कनलाई कसले नकार्न सक्छ र– ‘एरिकले इतिहासलाई आइवरी टावरबाट बाहिर निकालेर सर्वसाधारण मानिसहरूको जीवनको धरातलमा ल्याएर उभ्याइदिए ।’
साभार : ‘कथांतर’ बाट अनुदित ।
– ‘दायित्वबोध डटकम’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *