स्थानीय बीउ संरक्षणमा सरकारको उदासिनता किन ?
- असार २१, २०८३
भक्तपुर नगरपालिकाले आफ्नो परम्परा, कला र संस्कृति जोगाउँदै विश्वसामु जुन गौरवपूर्ण मानक स्थापित गरेको छ, त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ । विशेषगरी हाम्रा पुराना दरबार स्क्वायर, मन्दिर र ऐतिहासिक सम्पदाहरूको संरक्षणमा नगरपालिकाले देखाएको तदारुकताले हामी नगरवासीको शिर सधैँ उच्च बनाउने गरेको छ । विकास र सम्पदाको संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउने नगरपालिकाको यही कार्यशैलीको अपेक्षा हामीले नगरका अन्य विकास निर्माणका योजनाहरूमा पनि राख्नु स्वाभाविक हो । यसै सन्दर्भमा, ‘देको मिबा आवास योजना’ अन्तर्गत खोला छेउमा हालै सम्पन्न भएको कालोपत्रे सडकले उक्त क्षेत्रको मुहार नै फेरेको छ, जुन हामी सबैका लागि खुसीको कुरा हो । सडकको संरचना अहिले पनि बलियो नै छ तर व्यवस्थापनको अभावमा यो सुन्दर सडकले भोगिरहेको नियतिप्रति हामी चिन्तित छौँ ।
सडकको छेउछाउका पेटीहरू अहिले यति धेरै घाँस र झारले पुरिएका छन् कि पैदलयात्रीहरू हिँड्न नसक्ने अवस्था छ । जब पानी पर्छ निकासका लागि बनाइएका ड्रेन र इनलेटहरूमा माटो र घाँस भरिएर पानीको बाटो नै थुनिएको छ । यसले गर्दा पानी पर्दा सबै मेनहोलहरू बन्द भएर सडकभरि पानी जमेर पोखरी बन्छ, जसले गर्दा भर्खरै बनेको कालोपत्रे पिचको आयु छिट्टै सकिने खतरा छ । त्यसमाथि सडकका कतिपय भागमा मेनहोलका ढक्कनहरू हराउँदा वा नहुँदा ती खाल्डाखुल्डीहरू पैदलयात्री र मोटरसाइकल चालकका लागि खतरा बनेका छन् । अँध्यारोमा हिँड्ने क्रममा दुर्घटना होला कि भन्ने डर हामीमा छ । सडक बत्तीको अभावले गर्दा कतिपयले अँध्यारोको फाइदा उठाउँदै जथाभावी फोहोरका बोराहरू फ्याँक्ने गरेका छन् ।
उक्त आवास योजनाभित्रै निर्माण गरिएका ठुलठुला टहराहरू फोहोरमैला सङ्कलन केन्द्रको रूपमा प्रयोग भइरहेको देखिन्छ, जसले गर्दा त्यहाँ वरिपरि दुर्गन्ध फैलिएर वातावरण नै असहज बनेको छ । आवास योजना भनेको मानिसहरूको बसोबासका लागि निर्माण गरिएको क्षेत्र हो । यदि ती टहराहरू फोहोरमैला सङ्कलन केन्द्र नै हुन् भने मानिस बसोबास गर्ने ठाउँमा यस्तो कार्यका लागि नगरपालिकाले अनुमति दिएको हो वा होइन ? यदि यो प्रक्रिया कानुनी छैन वा यसले जनस्वास्थ्यमा असर पारिरहेको छ भने सरोकारवाला निकायले यस्ता कार्यलाई अविलम्ब हटाउने वा व्यवस्थित गर्नेतर्फ ध्यान पु¥याउनु आवश्यक देखिन्छ ।
हामी स्थानीय बासिन्दाहरूले पनि सार्वजनिक सम्पत्तिप्रति आफ्नो दायित्व भुल्न नहुने हो । ‘यो नगरपालिकाको सम्पत्ति हो, उनीहरूले नै बनाइहाल्छन् नि’ भन्ने सोचले गर्दा सार्वजनिक सम्पत्तिको संरक्षणमा कमजोरी देखिन्छ । सार्वजनिक सम्पत्ति भनेको हामी सबैको साझा सम्पत्ति हो भन्ने चेतना हामीमा हुनु जरुरी छ । यस विकासलाई दीर्घकालीन रूपमा सुन्दर र सुरक्षित बनाइराख्न नगरपालिकाको तर्फबाट पनि थप अभिभावकत्वको अपेक्षा हामीले गरेका छौँ । आशा छ, सम्बन्धित निकायले समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै, निर्माण मात्र होइन, संरक्षण र व्यवस्थापनलाई पनि विकासको अभिन्न अङ्ग मान्दै हाम्रो क्षेत्रलाई थप व्यवस्थित र स्वस्थ बनाउन पहल गर्नेछ ।
– एक सचेत स्थानीय बासिन्दा, भक्तपुर
Leave a Reply