एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
- असार २१, २०८३
वडाध्यक्षको डायरीबाट
रातको समय थियो । करिब रातको एघार बजिसकेको थियो । म मोबाइलमा समाचार सुन्दै भोलिको लागि कार्यतालिका बनाउँदै थिएँ । मोबाइलमा एक जना साथीको लगातार फोन आयो । उनी एक ठेकेदारका कर्मचारी थिए । उनको नाम हरि पौडेल (नाम परिवर्तित) हो । आफ्नो वडामा प्रदेश सरकारले बाटो चौडा र स्तरोन्नतिका काम गरिरहेको थियो । वडाध्यक्षको हैसियतले आफ्नो वडा भित्रको विकास निर्माण कार्य भएको हुँदा मैले समन्वय गर्ने काम गरिरहेको थिएँ । यो मेरो नैतिक तथा पदीय दायित्वभित्र पर्दछ । यसरी बाटोको स्तरोन्नति भएको करिब छ महिना भइसकेको थियो । अचानक कर्मचारी साथीको फोन आइरहेको हुँदा पक्कै निर्माणमा समस्या भयो होला भनी फोन रिसिभ गरेँ । रातमा आउने प्रायः कलदेखि म सतर्क हुन्थेँ किनकि रातमा आउने प्रायः कल नकारात्मक घटनाको हुने गर्दछ । फोन रिसिभ गर्ने बित्तिकै उहाँले भन्नुभयो, “वडाध्यक्षज्यू नमस्कार ¤ यतिबेला फोन गरेकोमा माइन्ड नगर्नुहोला । सा¥है आपत् परेकोले मात्र फोन गर्दै छु । तपाईँको टोलमा भइरहेको निर्माण कार्यमा अलि समस्या आयो । हाम्रा केटाहरूले भोलिदेखि रिटेनिङ पर्खाल निर्माण गर्नको लागि ल्याएको ढुङ्गा खसाल्ने क्रममा अलि गल्ती गरेजस्तो छ । तपाईँको वडावासीको घरको मूल गेटमा नै ढुङ्गा खसालेको रहेछ । घरधनीका छोराहरूले मेरो काम गर्ने केटाहरूलाई पिट्न खोजे रे । म पनि तपाईँको टोलबाहिर छु । तत्काल आउन सम्भव छैन । तपाईँ जनप्रतिनिधि भएकाले र घर पनि नजिकै भएकोले तपाईँको वडावासीलाई सम्झाउनुप¥यो । मेरा केटाहरूले माफी माग्दा नि भएन भन्छ । तपाईँ गएर एकचोटि बुझ्नुप¥यो । नभए त मेरा केटाहरूले पिटाइखाने भयो । अनि ढुङ्गा खसाल्न आएका चार वटा ट्रिपरहरू पनि बाटोमै रोकेका छन् रे । तपाईँ एकचोटि गइदिनुप¥यो ।”
विषयको गम्भीर्यतालाई ध्यान दिएर म तत्काल त्यहाँ गएँ । मेरो घरबाट जम्मा पाँच मिनेटको बाटो थियो । त्यहीँ भएर म तत्काल त्यहाँ पुगेँ । त्यहा पुग्दा त चार वटा ट्रिपरलाई बाटोमै रोकिएको थियो । राति आएका दस वटा गाडी जाममा परेको थियो । जाममा परेको गाडीका प्यासेन्जरहरू कराइरहेका रहेछन् । तीन चार जना युवा केटाहरू ठेकेदार र ड्रात्रलाई गाली गर्दै रहेछन् । मैले एक साइडमा आफ्नो बाइक रोकेर के भयो भाइहरू हो, म यस वडाको वडाध्यक्ष हुँ, छलफल गरेर समस्या समाधान गराँैला भनी प्रस्ताव राखेँ । मेरो कुरा सुने बित्तिकै ती केटाहरू झन् ठुलो स्वरले कराउन थाले । एक जना केटी पनि कराउँदै थिइन् । उनीहरू म वडाध्यक्ष भन्ने थाहा पाएपछि झन्नै रिसाएर भन्न थाले, “हामीलाई वडाध्यक्ष आएर के मतलब ! ठेकेदारको पक्षमा पनि वडाध्यक्षले बोल्ने हो ? तिमीले ढुङ्गा किन मेरो घर अगाडिको ढोकामा खसाल्न दिएको ? तिमी वडाध्यक्ष भएर त्यति पनि कमनसेन्स छैन ? भोलि बिहान पाँच बजे नै अफिस जानुपर्छ । मेरो घरमा चार पाँच वटा बाइक छ । एउटा बुलेट बाइक छ । भोलि बिहान पाँच वटा मोटरसाइकल कसरी निकाल्ने ? बाटो छोड्नु पर्दैन ? ढुङ्गा झार्न लाग्दा हामी ठुलो स्वरले कराएर बाटो अगाडि नझार र अलि उता झार्नुस् भनेर भन्दा पनि नमानी बाटै अगाडि झार्नु कतिको न्याय सङ्गत हो ? हाम्रो पसल छ । भोलि पसल खोलेर व्यापार गर्नुपर्दैन ? विकास निर्माण ग¥यो भन्दैमा हाम्रो रोजीरोटी नै खोस्ने ढङ्गले काम गर्ने ? यसरी ढुङ्गा राख्न पाइन्छ ? के तिम्रो नैतिकताले दिन्छ ? अनि वडाध्यक्ष भएर त्यही मान्छेको पक्षमा बोल्ने हो ? हामी त यो ढुङ्गा नहटाएसम्म चारवटा ट्रिपर कुनै पनि हालतमा जान दिनेछैन । जेसुकै गर्नु हामीलाई मतलब छैन । अहिल्यै डोजर ल्याएर वा हातले ढुङ्गा हटाएर बाइक जाने बाटो खोल्नुस अनि मात्र ट्रिपर जान दिने हो । होइन भन्ने यो जाम यहाँ रात भर हुन्छ । कुनै पनि गाडी जान दिने छैन । अहिले नै पन्ध वटा जति गाडी जाम भइसकेको छ । भोलि केही भयो भने वडाध्यक्षले जिम्मा लिनुपर्छ ।”
हुन पनि ट्रिपर ड्रात्रले अलि गल्ती गरेको देखियो । तर, त्यस भाइहरूका घरको बाटो पुरै बन्द थिएन । आधी बाटो खुलै थियो । अलि मेहनत गरे सजिलै बाइक लान सकिन्थ्यो । उनीहरू ड्रात्रले उनीहरूको कुरा नमानी ढुङ्गा खसालेको हुँदा रिसाएका थिए । मैले त्यहाँको वास्तविकता नियालेँ । गाडीका प्यासेन्जरहरू पनि कोही कराउन थाले । एउटा गाडीमा जन्तीका मानिसहरू थिए । उनीहरूमध्ये कोही पिएर आएका थिए । उनीहरू पनि रिसाएर ट्रिपर किन बाटोमा रोकेको भनी कराउन थाले । मैले तिनै जना भाइ र बहिनीलाई एकदम नरम भाषामा भनेँ, “तपाईँहरूको रिस पनि जायज छ । अनि माग पनि जायज छ । तपाईँको घर अगाडि बाटो नै बन्द हुने गरी ढुङ्गा खसाल्न नहुने हो । गल्ती भयो । काम गर्ने क्रममा कहिलेकाहीँ गल्ती हुन्छ । त्यसैलाई इस्यु बनाएर तिललाई पहाड बनाउनु हुँदैन । ड्रात्रको तर्फबाट म पनि तपाईँहरूसँग माफी माग्छु । यहाँ हाम्रो विवादको विषय भनेको बाटो बन्द हुने गरी ढुङ्गा खसाल्यो भन्ने हो । अनि किन हामीले यत्रो दस पन्ध वटा गाडी बिचैमा जाममा राख्ने ? तपाईँको बाटो म अहिले नै खोल्न लगाउने प्रयास गर्छु । तर, यी गाडीहरू जान दिनुस् । मैले आफै गल्ती स्वीकार गरेपछि कमसेकम तपाईँहरू पनि असम्बन्धित मान्छेलाई दुःख दिनु हुन्न भने कुरामा सहमति गर्नुस् ।”
मेरा कुरा सुनेर उनीहरू जाम खोल्न तयार भए । त्यसपछि मैले चारवटै ट्रिपरलाई अगाडि ल्याएँ र खुला ठाउँमा राख्न लगाएँ । त्यसपछि जाम खुल्यो र अरू सबै गाडी गए । रातको समय भएकोले त्यहाँ अब पाँच छ जना मात्र मानिस बाँकी रहे । मैले ती भाइहरूलाई समस्या कसरी समाधान गर्ने भनी विचार दिन अनुरोध गरेँ ।
त्यत्तिबेलासम्ममा उहाँहरूको रिस अलि कम भइसकेको थियो । मैले उनीहरूको रिसलाई अझै कम गर्नको लागि हरि पौडेललाई कल गरेर जसरी भए पनि डोजर अहिल्यै पठाउन र ढुङ्गा हटाई दिन अनुरोध गरेँ । त्यसपछि ती भाइहरूलाई डोजर आउन अलि समय लाग्ने र अलिबेर कुर्न अनुराधे गरेँ । त्यसपछि मैले उनीहरूको घर अगाडि निर्माण कार्यबारे छलफल सुरु गरेँ ।
आफू त्यस दिन दिउँसो उनीहरूको बुबासँग बसेर घर र बाटो नाप जाँच गर्न आएको र त्यही नापअनुसार रिटेनिङ वाल बनाउन डोजरले सिमाना खनेको कुरा बताएँ । बुबाले आफूलाई धेरै सहयोग गरेको पनि बताएँ । हुन पनि दिउँसो त्यही भाइहरूको घर अगाडि नापजाँच गरेको थिएँ । साथै मापदण्डमा परे नपरेको सबै हेरेको थिएँ । मैले अरु पनि सबै यस योजनाबारे विस्तृत रूपमा आफ्नो कुरा राखेँ । त्यतिबेलासम्म उहाँहरू तीन जना शान्त हुनुभयो । एक जना भाइले मलाई भन्नुभयो, “तपाईँ त मेरो शिक्षकजस्तो लाग्यो । तपाईँले मलाई म दस कक्षा हुँदा सामाजिक अध्ययन विषय पढाउनुभएको थियो । तपाईँ अहिले वडाध्यक्ष हुनुभएको रहेछ । मलाई थाहा नै भएन । हामीले सरलाई धेरै नराम्रो भनेछ । हामीलाई माफ गर्नुहोला । आजलाई तपाईँ घरमा जानुस् । डोजर अहिले यति राति किन बोलाउनु प¥यो र ¤ हामी जसरी नि भोलि बिहान बाइक लग्छु । बिहानै मात्र डोजर पठाएर बाटो खोलिदिनुभए पनि हुन्छ सर । तपाईँलाई यति राति दुःख दिएकोमा माफ गर्नुहोला सर ।” उसको कुराले म उनको शिक्षक कुनै बेलाको रहेछु भन्ने ज्ञान भयो । वास्तवमा म वडाध्यक्ष हुनुअघि शिक्षक थिएँ । त्यो भाइ मेरो पूर्वविद्यार्थी होला भनी अनुमान गरँे । तर मलाई त्यस विद्यार्थीको पहिलेको कुरा याद भएन । तर पनि मैले भनँे, “होइन ड्रात्रले गल्ती गरेकै हो । तर पनि कामको सिलसिलामा गल्ती हुनु स्वाभाविक हो । डोजर आइपुग्नै लागेको खबर छ । आजै म बाटो खोलिदिन्छु । तपाईँहरू चिन्ता नलिनुस् । विकास निर्माणका कार्य गर्दा सकभर जनतालाई मर्का नपर्ने गरी गर्ने हो । त्यही भएर म यति राति भए पनि आएको हुँ ।” उनीहरूले भने, “होइन सर गल्ती जसको भए पनि तपाईँ घर जानुस् र आराम गर्नुस् । हामी यहाँ जे भए पनि गराँैला । बरु चिया खाएर जानुस् सर । हाम्रो व्यवहारलाई माइन्ड नगरिदिनु होला ।” त्यसपछि मैले चिया खाएँ र करिब रातको एक बजे घर पुगेँ ।
घर पुग्नेबित्तिकै सुत्न खोजेँ तर निद्रा लागेन । पत्रिका पढ्न खोजँे । तर, मलाई पढ्न मन लागेन । रातको करिब एक बजिसकेको थियो । यत्तिबेला के निद्रा लाग्नु र भनेजस्तो लाग्यो । मेरो मनमा धेरै कुरा खेल्न थाल्यो । टोलमा पनि थरीथरीको मान्छे हुँदोरहेछ । सानो गल्तीलाई पनि ठुुलो बनाएर मानिसहरू कसरी पेल्दा रहेछन् । गल्ती भयो भन्दैमा रातभरि गाडी जाम गर्ने धम्की पो दिँदो रहेछ । रिस उठ्यो भन्दैमा यसरी मानिसलाई धेरै पेल्नु हुँदैन थियो । काम गर्ने सिलसिलामा धेरै थोरै गल्ती हुनु स्वाभाविक हो । तर यसरी नराम्रोसँग ड्रात्र विचरालाई गाली गर्नु हुँदैन जस्तो लाग्यो । मानिसहरू स्वार्थी हुन्छन् । आफ्नै कुरा मात्र ठीक हो भनी सोच्दो रहेछ । अरुलाई गलत सोच्दो रहेछ । तर, पनि मानिसलाई साँचो कुरा बताएपछि समस्या समाधान गर्न सकिन्छ भन्ने आत्मविश्वास ममा भयो ।
Leave a Reply