यो भाँडभैलो र अस्थिरताबाट तिब्बती इतिहासको सबैभन्दा परिवर्तनकारी बौद्धिक आन्दोलन उठ्यो । विलक्षण विद्वान र समाज सुधारक जे सोङ्खापा (सन् १३५७–१४१९) ले मठ प्रणालीलाई नयाँ जीवन दिन खोजे । यो प्रणालीमा राजनीतिक पुँजी हुने उनको विचार थियो । उनले गेलुग परम्परा (सदाचारी पथ) को स्थापना गरे । यसलाई ‘पहेँलो टोपी’ धारा पनि भनिन्छ । सोङ्खापाले ब्रह्मचर्य र मठको आचारसंहितालाई कठाइसाथ लागु गरे । साथमा जीवन्त दार्शनिक बहस र थकानपूर्ण तर्क प्रणालीको अध्ययनलाई जोडियो ।
गेलुग परम्पराले योग्यता र शैक्षिक प्रतिभामा जोड दियो । विकासको नौलो लहर सुरु भयो । ल्हासानजिकै यसका तीन प्रसिद्ध विश्वविद्यालय स्थापना भए – गेन्देन, सेरा र द्रेपुङ । तिनलाई मिलाएर ‘तीन महायान’ भनिन्छ । यी तीन नगर विश्वविद्यालयमा तिब्बती पठारका हजारौँ भिक्षुको घुइँचो लाग्न थाल्यो । यसले गर्दा ल्हासा आसपास बलियो सांस्कृतिक र आध्यात्मिक शक्ति केन्द्रित भयो । बिस्तारै नयाँ राजनीतिक व्यवस्थाको भूराजनीतिक आधार तयार भयो ।
ल्हासाको राजगद्दी : दलाई लामाको धर्मतन्त्रको उदय (१६–१७ औँ शताब्दी)
तिब्बती पठारको भाग्य कोर्ने घटना सन् १५७८ मा भयो । सोनाम ग्यात्सो फैलिँदो गेलुग धाराका प्रतिभाशाली गुरु थिए । उनी तुमेद मङ्गोल शासक अल्तान खानलाई भेट्न लामो यात्रामा गए । विगतमा जस्तै उनी मङ्गोल दरबारसँग गुरु–संरक्षक सम्बन्ध जोड्न चाहन्थे । अल्तान खान धर्मगुरुको आध्यात्मिक शक्ति देखेर औधि प्रभावित भए । फर्किने बेला राजाले सोनाम ग्यात्सोलाई ‘दलाई’ पदवी दिए । मङ्गोल भाषामा यसको अर्थ ‘महासागर’ हुन्छ । असीम विवेक भएको बुद्धिलाई दलाई भनियो । सोनाम ग्यात्सोले आफ्ना अघिल्ला दुई अवतारलाई जनाउन यो पदवीको प्रयोग गरे । यसरी गेलुग परम्पराको आध्यात्मिक रक्षकका रूपमा दलाई लामाको औपचारिक वंश सुरु भयो ।
वास्तविक भूराजनीतिक मोड गवाङ लोब्साङ ग्यात्सोको पालामा आयो । इतिहासमा उनलाई ‘महान् पाँचौँ’ दलाई लामा (सन् १६१७–१६८२) भनिन्छ । उनी काग्यु परम्पराको आड पाएका राजा त्साङसँग तितो र घमासान गृहयुद्धमा थिए । यत्तिकैमा उनले एउटा साहसी कूटनीति अपनाए । उनले मङ्गोल सरदार गुशरी खानसँग सैन्य गठबन्धन बनाए ।
मङ्गोल घोडचढी सेनाको बलमा गुशरी खानले त्साङको फौजलाई हराए । यसरी योजनाबद्ध रूपमा गेलुग परम्पराका प्रतिद्वन्द्वी गुटहरू सखाप भए । सन् १६४२ मा गुशरी खानले तिब्बती पठारको सार्वभौम नियन्त्रण पाँचौँ दलाई लामाको हातमा सुम्पे । दलाई लामा एकीकृत तिब्बतका दुवै लौकिक र अलौकिक शासक बने । यो नयाँ व्यवस्थालाई संस्थागत गर्न पाँचौँ दलाई लामाले गादेन फोद्राङको स्थापना गरे । यो एक अति नै केन्द्रीकृत धार्मिक सरकार थियो । उनले ल्हासाको पोताला दरबारको शिलान्यास गरे । प्राचीन राजधानीमा एउटा भव्य किल्लाबन्द विहारको निर्माण भयो । पोताला दरबार सर्वोच्च राजनीतिक र धार्मिक सत्तालाई जनाउने ठोस स्मारक बन्यो ।
साम्राज्यका छायाँहरू : छिङ वंशको प्रभाव (१८–१९ औँ शताब्दी)
पाँचौँ दलाई लामाले हासिल गरेको निरङ्कुश सत्ताको आयु छोटो रह्यो । १८ औँ शताब्दीको आरम्भमा तिब्बत पुनः सङ्कटमा प¥यो । उत्तराधिकारीको अभाव, राजनीतिक हत्याकाण्ड र बाह्य आक्रमणका कारण तिब्बत सङ्कटको भुमरीमा फस्यो । जुङ्गर मङ्गोलहरूले ल्हासामा लुटपाट मच्चाए । त्यसको दस वर्षपछि नेपालका गोर्खालीहरूले प्रमुख विहार र मठमा लुटपाट गरे । यसपछि तिब्बती नेतृत्वले क्षेत्रीय महाशक्तिसँग सैन्य सहायता माग्यो । मन्चु वंशको शासन रहेको छिङ साम्राज्यले ठुलो र सफल प्रत्याक्रमण ग¥यो; तिब्बतमा रहेका आक्रमणकारीहरूलाई भगायो । यसपछि उसले तिब्बती पठारमा बलियो राजकीय अधिकार जमायो ।
संरक्षकको आफ्नो भूमिकालाई बलियो बनाउन छिङ दरबारले तिब्बतको ल्हासामा दुई राजकीय दूत वा अम्बा राख्यो । यी अम्बाको रक्षार्थ त्यहाँ स्थायी सैन्य छाउनी थिए । तिब्बतको विदेश नीति, व्यापार र सीमा रक्षालाई उनीहरू नजिकबाट नियाल्थे ।
गोर्खाली युद्धपछि चीनका सम्राट छियनलोङले तिब्बती कुलीनहरूबिच मौलाइरहेको भ्रष्टाचारलाई तारो बनाए । सन् १७९३ मा उनले सुनौलो ठेकी प्रणाली लागु गरे । यसको लागि चिनियाँ माटोको ठेकीमा विभिन्न नाम राखेर दलाई लामालगायत उच्च अवतारहरू छनोट गरिन्थ्यो । चिनियाँ अम्बाको रोहोबरमा यो छनोट हुन्थ्यो । यो छत्रछायाँका आफ्नै सीमा थिए । छिङ वंशले भूराजनीतिक र कतिपय प्रतीकात्मक मामिलामा बलियो पकड राख्थ्यो । तर, तिब्बतको वास्तविक आन्तरिक राजकाज अथवा त्यहाँका विशालकाय मठ, मौजा, कर सङ्कलन, कानुन र प्रशासन गान्देन फोद्राङ र तिब्बती कुलिनहरूको स्वतन्त्र नियन्त्रणमा चल्थ्यो ।
विस्मृत स्वतन्त्रता : २० औँ शताब्दीको आरम्भ (सन् १९१२–१९५०)
सन् १९११ मा भूराजनीतिमा बदलाव आयो । सिनहाइ क्रान्तिले छिङ वंशको शासन समाप्त भयो । लगत्तै तिब्बती पठारमा पेकिङको राजकीय पकड खुकुलो भयो । यही ऐतिहासिक अवसर छोपेर १३ औँ दलाई लामाले पूर्ण स्वतन्त्रता दाबी गर्ने कार्यमा लागिपरे । उनले छिङ सरकारका अम्बा र फौजलाई राजधानीबाट निकाला गर्ने चाँजो मिलाए । सन् १९१३ को फेब्रुअरी १३ गते उनले तिब्बत पूर्णतः स्वतन्त्र भएको फर्मान जारी गरे । यसको लागि उनले चीन दरबारसँगको ‘गुरु–संरक्षक’ सम्बन्ध तोडेको औपचारिक घोषणा गरे ।
त्यसपछिका ३८ वर्ष तिब्बतले एक सार्वभौम राष्ट्रका रूपमा पूर्ण स्वायत्तताको अभ्यास ग¥यो । ल्हासा सरकारले पासपोर्ट जारी ग¥यो, आफ्नै टक चलायो, हुलाक सेवा सञ्चालन ग¥यो, ससानो स्थायी सेना राख्यो र हिउँ चितुवाको तस्बिरयुक्त झन्डा फहरायो । (यी यावत कार्यमा तिब्बतको व्यापारमा आँखा गाढिबसेका अङ्ग्रेजहरूको उक्साहटले काम गरेको थियो । अनु.)
बल्लतल्ल हात परेको स्वतन्त्रताले भूराजनीतिक आधार पाएन । किनभने, कुनै पनि विदेशी शक्तिले औपचारिक कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय समर्थनका लागि हात बढाएन । (लेखकले यहाँ तत्कालीन तिब्बतलाई मान्यता दिलाउन बेलायतले गरेको भरमग्दुर प्रयासलाई बेवास्ता गरेका छन् । अनु.) तिब्बतको एकान्त नीतिको वास्तविक कारण तिब्बती नेतृत्व आफै थियो । शक्तिशाली र रुढीवादी मठाधीश शासकहरू आधुनिकीकरणका कडाविरोधी थिए । उनीहरू वैदेशिक गठबन्धनको विरोधमा थिए । विदेशीहरूले परम्परागत बौद्ध मूल्यमान्यतालाई बिथोल्लान् र आफ्नो विशेष सेवासहुलियत खोस्लान् भन्ने डर थियो । अन्तर्राष्ट्रिय सम्बन्ध जोड्नुको साटो उनीहरूले तिब्बतलाई भित्रभित्रै खुम्च्याए । वरिपरिका साम्राज्यहरू बदलिइरहेको स्थितिबिच वास्तविकता उल्टिँदै थियो । खासमा उनीहरू एकदम खुला र असुरक्षित हुँदै थिए ।
जनगणतन्त्र चीनको आँधीबेहरी आयो (सन् १९५०–१९५९)
सन् १९४९ मा जनगणतन्त्रको स्थापना भयो । यसले क्षेत्रीय राजनीतिको मुहार नै फे¥यो । सन् १९५० को अक्टोबर महिनामा जनमुक्ति सेनाले जिनशा नदी त¥यो । उसले चाम्दोमा तिब्बती फौजलाई हरायो । स्थिति असन्तुलित भएको देखेर युवा उमेरका १४ औँ दलाई लामाले समत्न्दा अगावै राजाधिकार पूर्णतः आफ्नो हातमा लिए ।
सन् १९५१ मा एक तिब्बती प्रतिनिधि मण्डल पेइचिङ पुग्यो । १७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भयो । तिब्बतलाई औपचारिक रूपमा जनगणतन्त्र चीनमा समाहित गरियो । चीन सरकारले तिब्बतको परम्परागत प्रणाली, दलाई लामाको स्थान र धार्मिक स्वतन्त्रता जोगाइदिने भयो ।
तर, तनाव बढ्दै गयो । भूमिसुधार र भूदासप्रथा उन्मूलन गर्दा ठुलो प्रतिरोध भयो । प्रतिरोधले सशस्त्र द्वन्द्वको रूप लियो । सशस्त्र प्रतिरोधमा बाह्य शक्तिले भूमिका खेलेका थिए । खासगरी अमेरिकाको गुप्तचर निकाय ‘सीआईए’ यसमा सक्रिय थियो । ल्हासामा भएको विद्रोहलाई जनमुक्ति सेनाले अन्ततः दबायो । गञ्जागोल स्थितिबिच १४ औँ दलाई लामा आफ्ना हजारौँ भक्तजनसहित हिमालय छिचोलेर भारत पुगे ।
आधुनिक मोर्चा : सन् १९५९ देखि आजसम्म
सन् १९५९ को विद्रोहपछि भूराजनीतिक परिदृश्य सदाका लागि फेरियो । सयौँ वर्ष पुरानो तिब्बतको परम्परागत सरकार पूर्णतः विघटन भयो । यसले गर्दा सन् १९६५ मा औपचारिक रूपमा तिब्बत स्वायत्त क्षेत्र स्थापना गर्ने बाटो खुल्यो ।
यो पुनः संरचनाले तिब्बतको सामाजिक पदानुक्रमलाई जरैबाट उल्ट्याइदियो । अघिका भूदासहरूले कानुनी रूपमै चिनियाँ नागरिकको दर्जा पाए । इतिहासमै पहिलोपल्ट उनीहरूले मतदानमा भाग लिए । यो सामाजिक आर्थिक रूपान्तरणलाई विभिन्न ऐतिहासिक तस्बिरहरूमा देख्न सकिन्छ । चिनियाँ अधिकारीहरूले खाली खुट्टा मतदानस्थलसम्म आएका महिलाहरूका तस्बिरहरू आज पनि उत्तिकै जीवन्त लाग्छन् ।
सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) ताका विभिन्न मठ, धर्मग्रन्थ र धार्मिक स्मारकहरूमाथि तिब्बतभरि नै क्षति पुगेको साँचो हो । तर, यस्ता घटना चीनभरि नै भइराखेका थिए ।
अध्यक्ष माओको शासनपछि चीनले भौतिक पूर्वाधारको निर्माण र विकासमा ठुलो लगानी ग¥यो । सन् २००६ मा छिङ्घाइ–तिब्बत रेलमार्ग खुल्यो । यसले ल्हासालाई चीनको राष्ट्रिय रेल सञ्जालसँग जोड्यो । यसले गर्दा आर्थिक वृद्धि, सहरीकरण र पर्यटनमा ठुलो उभार आयो ।
आज तिब्बत अन्तर्राष्ट्रिय भूराजनीतिक बहसको एक केन्द्र बनेको छ । चीनका राजनीतिक विपक्षीहरूले यो बहसको लगाम समाएका छन् । चीन सरकारले जनताको जीवनस्तर, स्वास्थ्य पहुँच, गरिबी निवारण र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएको छ । पोताला दरबारलाई जीर्णोद्दार गर्ने काम भइरहेको छ ।
दलाई लामाको विलास र साधारण तिब्बतीको कठिनाइ
पोताला दरबार १४ जना दलाई लामाहरूमध्ये धेरैको शीतकालीन आवास थियो । आज यसको स्याहार सम्भार गरिएको छ । ५० युआनको नोटमा यही दरबारको चित्र अङ्कित छ । चीनका आलोचकहरूलाई थाहा छ कि छैन !
पोताला दरबारको सुनौलो काया देखेर म अचम्मित भएँ । अरबौँ मूल्य पर्ने सुनले पोताला दरबारका भित्ताहरू रङ्ग्याइएको छ । दुःखको कुरा त्यहाँ तस्बिर लिन नपाइने रहेछ । त्यो झिलिमिली देखेर म कायल भएँ ।
तैपनि, मनमा कतै अँध्यारो छाइरह्यो । इतिहासको संग्रहालयमा राखिएका तस्बिरहरू एकदम सजीव थिए । खाली खुट्टा हिँडिरहेका भूदासहरू निर्मम जाडोमा लुगलुग कामेजस्ता लाग्थे । लाग्यो, मालिकका नजरमा तिनीहरू फगत किराफट्याङ्ग्रा थिए । मालिकहरूको सनकले उनीलाई बजारमा किन्न, बेच्न र अपमान गर्न सकिन्थ्यो । यो ‘पवित्र’ स्वर्णपुरी र खुला आकाशमुनि छटपटाइरहेको जीवनबिच ठुलो खाडल थियो । मैले यी दुई दृश्यलाई एक ठाउँमा राख्नै सकिन ।
ग्रामीण तिब्बतमा परिवार, आवश्यकता र बहुपति प्रथा
अब म तीन पतिकी पत्नी र पाँच सन्तानकी आमामा फर्किन चाहन्छु । चीन सरकारले बहुपति प्रथालाई उत्साहित गर्दैन । तैपनि, आधिकारिक रूपमा चीनले यो प्रथालाई विकट क्षेत्रको कठोर यथार्थबाट जन्मेको पारिवारिक संरचना मान्छ । प्रतिबन्ध लगाएर यो प्रथा नहट्ने बरु जनताको जीवनस्तर उकासेर मात्र यो यथार्थ बदल्न सकिने चीन सरकारको आधिकारिक बुझाइ हो ।
ती महिलासँग बिहे गर्न चाहने पुरुष परिवारले उनलाई दाइजोमा २० वटा चौरी गाई दिनुपरेको रहेछ । सामान्य परिवारका लागि यति खर्च धान्न हम्मेहम्मे थियो । किनभने, त्यो परिवारका अरू छोरा पनि थिए । त्यसैले सबै छोराका लागि दाइजो तिर्न सकिन्नथ्यो । त्यसैले एउटा व्यवहारिक उपाय निकालियो । परिवारले २० वटा चौरी त ति¥यो । तर, बदलामा महिलाले जेठो छोरा मात्र नभई बाँकी दुई भाइसँग पनि बिहे गर्नुपर्ने भयो ।
यसरी तीन छोरा भएको परिवारले आफ्ना ४० चौरी बचत ग¥यो । अर्कोतिर, सबै छोराको बिहे पनि भयो र वंश चल्ने भयो । बिहेको तीन वर्षभित्र उनले एउटा सन्तान जन्माउनुपर्ने हुन्थ्यो । नत्र उनलाई माइतीघर नै फर्काइने थियो । माइत फर्केपछि उनले कुनै बौद्ध मठमा गएर आजीवन भिक्षुणीको जीवन बाँच्नुपर्ने थियो ।
उनका सन्तानले सबैभन्दा जेठा पतिलाई ‘बाबा’ भन्छन् भने बाँकी दुई पतिलाई ‘काका’ भन्छन् । प्रत्येक पतिको आआफ्नै सुत्ने कोठा छन् । रातमा पत्नीले जुन पतिसँग सुत्ने हो, उसको ढोकाबाहिर आफ्नो जुत्ता छोड्छिन् । त्यो चिन्ह देखेपछि अन्य पतिले उनलाई बिथोल्नुहुँदैन भन्ने बुझ्छन् । मैले उनलाई कुन सन्तान कुन लोग्नेको हो भनेर कसरी छुट्याउनुहुन्छ भनी सोधेँ । उनले ‘थाहा छैन’ भनिन् । यद्यपि, उनले परिवारमा सबैजना शान्तिपूर्वक बाँचिरहेको बताइन् । आमाबुबाहरू काममा व्यस्त भइरहनुपर्ने हुनाले सन्तानको हेरचाह हजुरआमाले गर्छिन् ।
आवश्यकता नै आविष्कारकी आमा हुन् । परिवारसँग फ्रिज नहुनाले उनीहरूले दूधलाई चाँदीको हाँडीमा राख्छन् । त्यसलाई हप्तौँसम्म जोगाउन सकिन्छ । यी हाँडी र चाँदीका अन्य भाँडा उनका लोग्नेहरूले बनाएका हुन् । खेतीपातीबाहेक यो परिवारले हस्तकलाको काम पनि गर्छ । आगन्तुकहरूको चासो दिएको हुनाले उनीहरूले नयाँ काममा हात हालेका हुन् । फ्रिज र अन्य आधुनिक सरसुविधाहरू अब उति टाढा छैनन् ।
साना कृषकहरूसँगै मैले ठुला आधुनिक गतिविधि पनि देखेँ । झट्ट हेर्दा साना किसानहरू साधारण देखिन्छन् । तर, उनीहरूको जीवन दरिद्र नै भने छैन । बरु उनीहरू स्वाबलम्बी देखिन्छन् । ठुला आधुनिक खेती गर्नेहरू बढी समृद्ध हुने नै भए ।
साना हुन् वा ठुला खेतीपातीमा मेसिनको प्रयोग तीव्र गतिमा बढ्दै छ । ट्याक्टर र अन्य कृषि औजारको पर्याप्त प्रयोग भइरहेको छ ।
कृषिका नौला विधिहरूले कुनैबेला एकदम सकसपूर्ण र असम्भव लाग्ने खेतीपातीलाई सहज तुल्याएको छ । खेतको उत्पादकत्व बढेको छ । प्रविधिको सहाराले कुनै बेला बाँझा रहेका खेतहरू हरियापरिया भएका छन् ।
तिब्बतले कृषि र व्यापारमा बढोत्तरी देख्दै छ । साथमा त्यहाँ साना उद्योगधन्दा र नयाँ औद्योगिक क्षेत्रको निर्माण पनि बढ्दै छ । यिनकै आसपास नयाँ आवासीय क्षेत्रहरूको विकास हुँदै छ ।
तिब्बतको ग्रामीण श्रम, उद्योग र आवास क्षेत्रले मलाई अचम्मित पारे । तर, सँगै मलाई तिब्बतको अर्को पाटोले झनै कायल बनायो । तिब्बतको दैनिक जीवनमा सर्वत्र आध्यात्मिकता पोखिएको पाउँदा म चकित भएँ ।
मैले विश्वका धेरै ठाउँ घुमेको छु । तर, तिब्बती जनताको गहिरो धार्मिक आस्था देखेर म स्तब्ध भएँ । यस्तो आस्था मैले अन्त कतै देखेको थिइन ।
सयौँ वर्षसम्म तिब्बतमा धर्म, कठोर वातावरण र धार्मिक शासन आपसमा गाँसिएर एउटा सग्लो जीवनको निर्माण भएको थियो । त्यसैले तिब्बतीहरूको भक्तिभाव असाध्यै गहिरो छ । यी तीन पक्षलाई तिब्बतमा अलग्गै मानिन्न । बौद्ध जीवन पद्धति उनीहरूको दैनिक जीवनमा पग्लेको छ । तिब्बतीहरू यथार्थलाई यही चस्माले हेर्छन् । उनीहरू मन्त्र जप्दै माने घुमाउँछन्, पवित्र मार्गहरू (कोरा) मा हिँडडुल गर्छन् । पूर्ण शरीरले यात्रा गर्ने चलन पनि छ ।
आस्था विभिन्न कर्मकाण्डमार्फत प्रकट हुन्छ । तर, यी कर्मकाण्डहरू दैनिक जीवनसँग अभिन्न छन् । पाको उमेरका महिलाहरू सुस्तरी मन्त्र भट्याउँदै घन्टौँसम्म मठमन्दिरको परिक्रमा गर्छन् । तीर्थयात्रीहरूले पहाड र मठमन्दिरलाई फेरो मारी बनाइएका कोरामार्गको यात्रा गर्छन् । यसरी दुवै लामो र छोटो दूरीको तीर्थयात्रा गर्न सकिन्छ । कोही भक्तजन एकदिने यात्रामा जान्छन् भने कसैले सयौँ र कहिलेकाहीँ हजारौँ दिनको यात्रा पनि गर्छन् । पूरै शरीर पसारेर गरिने यस्ता यात्रालाई शुद्धी र विनम्रताको अभिव्यक्ति मानिन्छ । लामो परम्पराका कारण यी अभ्यासहरू आज गतिमान प्रार्थनाको स्वरूप बनेका छन् । शरीर, श्वास र आस्था एउटै भक्तिधारामा उनिएका छन् ।
तिब्बतीहरू प्राचीन आत्मवादमा विश्वास गर्छन् । आसपास प्रकृतिमा सर्वत्र कुलदेवता र आत्माहरू देख्छन् । यसले उनीहरूको आध्यात्मिक पाटो बलियो बनाएको छ । त्यहाँको धार्मिक वातावरण विदेशमा पनि चर्चा र आशङ्काको विषय बन्ने गरेको छ । चीन सरकारले उनीहरूका कर्मकाण्डमा कुनै दबाब दिएको मैले त पाइन । आधुनिक युगमा यी विश्वासको सचेत संरक्षण आफैमा सांस्कृतिक पहिचान बनेको छ । तीव्र सामाजिक परिवर्तनबिच तिब्बती पहिचान कायम छ ।
म जस्तो विदेशी यात्रीका लागि तिब्बती भिक्षुहरूबिच हुने बहस अनौठो लाग्यो । मठमन्दिर र विहारका पटाङ्गिनीमा हुने यी बहस भिक्षु शिक्षाका मूल आधार रहेछन् ।
एक भिक्षुले उठेर भटाभट दार्शनिक प्रश्नहरू तेस्र्याउँदै जोडजोडले ताली पिटे । तल बसेका भिक्षुले फटाफट जवाफ दिनुप¥यो । विभिन्न तर्क र उदाहरण दिएर उनले आफ्ना जवाफलाई बलियो पारे । बलियो अडान, हातको चाल र चर्को ताली आक्रामकताका चिन्ह होइनन् । बरु बहसलाई ऊर्जावान र तर्कलाई जोडदार बनाउन तथा प्रतीकात्मक रूपमा अन्योल ‘चिर्न’ बनाइएका उच्च प्रविधि हुन् । यी बहस देखावटी वा नाटकीय होइनन् । बरु यिनले तर्कशक्ति तिखार्छन्, दार्शनिक बुझाइ गहिरो पार्छन् र बुद्धिलाई एकदम स्पष्ट बनाउँछन् ।
(बाँकी अर्को अङ्कमा ।)
स्रोत : कोभर्ट एक्सन म्यागेजिन
अनुवाद : सम्यक
Leave a Reply