भर्खरै :

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ६५

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ६५

जिल्ला प्रशासन कार्यालय सुर्खेत
२०८२ भदौ २३ गते वीरेन्द्रनगर घण्टाघर चोकमा अन्दाजी १५००/२००० जेनजी युवाहरूको भेला भएको थियो । भदौ २४ गते दिउँसोबाट राजधानीलगायतका जिल्लामा भएको क्षतिको समाचारका कारण सुर्खेत सदरमुकाममा पनि आन्दोलन उग्र हुँदै गएको थियो । सोही दिन दिउँसो वीरेन्द्रनगर ६ हटियालाइनमा रहेका नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी, रा.प्र.पा., राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरू आगजनी गरिएको थियो । उक्त आगजनीको क्रममा नेकपा माओवादी पार्टी कार्यालयको छतमा रहेका ६ जना आन्दोलनकारीहरूलाई सुरक्षाकर्मीद्वारा उद्धार गरिएको थियो । आन्दोलनरत पक्षले दमकलमा ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएको थियो ।
उग्र भिडले सुरक्षाकर्मीको आग्रहलाई बेवास्ता गरी वीरेन्द्रनगर नगरपालिका, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उच्च सरकारी वकिल कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा निवास, सीटी हल, जिल्ला समन्वय समितिको कार्यालयलगायत सङ्घीय तथा प्रदेश मन्त्रालय तथा कार्यालयहरूमा तोडफोड गरे । भिडले नापी कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालयमा तोडफोड, आगजनी र लुटपाट तथा मुख्य न्यायाधिवक्ताको कार्यालयका सवारी साधनमा पनि आगजनी गरे ।
भदौ २४ गते २२ः०० बजेसम्म नेपाली सेना परिचालन हुन नसक्दा सोही समयमा आगजनी तथा लुटपाटबाट धेरै क्षति भएको थियो । राति नेपाली सेना परिचालनपश्चात् अवस्था सामान्य रह्यो ।
आन्दोलनमा व्यक्तिगत र राजनीतिक प्रतिशोध राखेका व्यक्ति तथा आपराधिक मनोवृत्ति भएका समूहको समेत घुसपैठ भएको थियो । त्यस्ता व्यक्ति तथा समूहहरू व्यक्तिगत, राजनीतिक दल र सरकारी कार्यालयका घर संरचना तथा सम्पत्तिहरूमा आक्रमण, आगजनी र लुटपाटलगायतका घटना गराउन संलग्न भएको देखिन्छ । जेनजेड समूह, पहिचान नभएका अन्य मानिस, तत्कालीन सरकार बाहिर रहेका राजनीतिक दल र सरकारमा रहेका पार्टीका मान्छेहरूले पनि एक अर्का पार्टीका विरुद्ध संलग्न भएका थिए ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय
आन्दोलन हुनुभन्दा अगाडिदेखि नै प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कमान्ड पोस्ट खडा गरी आन्दोलनको क्रममा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सूचना आदान प्रदान, छलफल र समन्वयसहित संयुक्त रूपमा सुरक्षा फौज परिचालन गरिएको थियो ।
२०८२ भदौ २४ गते नेपाली सेनाका विभिन्न युनिट कालीबहादुर गणको २५० जना, नं. १ राजदल गणको १०५ जना, बिनायक दल गणको १०५ जना, कालिदल गणको १०५ जना गरी जम्मा ५६५ जना फौज परिचालन गरिएको थियो । नेपाली सेनाको कुनै कर्मचारी घाइते भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *