भर्खरै :

कम्युनिजमको अर्थ

– कृष्णदास श्रेष्ठ
कम्युनिज्म भन्ने शब्द ‘कम्युनिस’(Communis) भन्ने ल्याटिन शब्दबाट आएको हो र त्यसको अर्थ हो–‘साझा’ । यस अर्थको आधारमा हामी कम्युनिज्म (साम्यवाद) लाई यसरी परिभाषित गर्नसक्छौं । कम्युनिज्म भनेको त्यस्तो स्थिति हो, त्यस्तो व्यवस्था हो, जसमा जमिन, खानी, कारखाना, उत्पादनका सबै साधनहरू सम्पूर्ण जनताका साझा सम्पत्ति रहन्छन् । लेनिनको शब्दमा, कम्युनिष्ट समाज भनेको त्यस्तो समाज हो, जसमा जमिन, कारखाना आदि सबै चिजहरूमा साझा मालिकत्व रहन्छ र मानिसहरू साझा रुपमा काम गर्छन् ।
मानव समाजको आदिम रुप साम्यवादी थियो, जहाँ कुनै वर्गहरू थिएनन्, निजी सम्पत्ति थिएन, मानिसद्वारा मानिसको शोषण भन्ने थिएन, कुनै राज्य थिएन र सबैजना मिलेर साझा रुपमा काम गर्दथे । समयको क्रममा, सो आदिम साम्यवादी व्यवस्थाको अन्त्य भयो र अनि क्रमिक रुपले दास व्यवस्था, सामन्ती व्यवस्था र पूँजीवादी व्यवस्था देखा परे, जुन उत्पादनका साधनहरूको निजी मालिकत्व अर्थात् निजी सम्पत्तिमाथि आधारित व्यवस्था हुन् । श्रमिक जनताको शोषण तथा उत्पीडनको आधारमा उभिएका उक्त व्यवस्थाहरू रहेका अवधिहरूमा पनि कम्युनिष्ट विचारको अस्तित्व र त्यसलाई समर्थन गर्नेहरू रहेका थिए । तर माक्र्सपूर्वको अवधिमा अस्तित्वमा रहेको कम्युनिष्ट विचार वैज्ञानिक थिएन, बरु भावुक वा काल्पनिक थियो, तर त्यसमा महत्वपूर्ण विकास र प्रगति भएको थियो । तसर्थ, ऐतिहासिक दृष्टिबाट भन्ने हो भने वैचारिक रुपले कम्युनिज्मको विकास काल्पनिक हुँदै आधुनिक (वैज्ञानिक) कम्युनिज्ममा भएको छ र सो विकासको सिलसिलामा उक्त विकासले निकै परिमार्जित, आधुनिकीकृत र बहुआयामिक चरित्र धारण गरेको छ ।
आधुनिक कम्युनिज्म भनेको माक्र्स र एंगेल्सद्वारा प्रतिपादित कम्युनिष्ट विचारधारा हो अर्थात् माक्र्स र एंगेल्सका दार्शनिक, आर्थिक तथा राजनीतिक सिद्धान्तहरूबाट निर्देशित कम्युनिज्म हो । उक्त सिद्धान्तहरूमा आधारित भएपछि कम्युनिज्मले वैज्ञानिक चरित्र हासिल ग¥यो र त्यसैले त्यसलाई वैज्ञानिक कम्युनिज्म (वैज्ञानिक समाजवाद) भनिएको हो । यसका मुख्यतः तीन रुप छन् । कम्युनिज्म एउटा सामाजिक व्यवस्था हो, कम्युनिज्म एउटा सिद्धान्त हो र साथै कम्युनिज्म एउटा आन्दोलन हो, विशाल जनताको आन्दोलन हो । त्यसबारे चर्चा गरौं ।
व्यवस्थाका रुपमा कम्युनिज्म भनेको एउटा सामाजिक–आर्थिक व्यवस्था हो, जसमा जमिन, खानी, कारखाना आदि उत्पादनका साधनहरू सामूहिक मालिकत्वअन्तर्गत रहन्छन्, कुनै वर्ग वा समुदायको अस्तित्व नरहने कारणले गर्दा त्यहाँ राज्यको अस्तित्वको आधार रहँदैन र कुनै राज्य भन्ने कुरा रहने छैन । त्यो वर्गहीन, शोषणरहित समाज रहन्छ । मानिसहरू साझा रुपमा काम गर्छन् र उक्त समाजमा वितरण यस सिद्धान्तअनुसार हुन्छ– हरेकबाट उसको सामथ्र्यअनुसार, हरेकलाई उसको आवश्यकतानुसार । यसको अर्थ हो, यो समाज समृद्ध र सुसम्पन्न रहनेछ ।
यसरी व्यवस्थाका रुपमा लिंदा, कम्युनिज्म भनेको विद्यमान सामाजिक आर्थिक सम्बन्धहरूको क्रान्तिकारी रुपान्तरण र त्यसका आधारमा अहिले विद्यमान सम्पूर्ण मानवीय चिन्तन र सांस्कृतिक तथा नैतिक मूल्य–मान्यताहरूको क्रान्तिकारी–करण हो र त्यसैले त्यो मानव जातिको ऐतिहासिक विकासको एउटा महान् क्रान्तिकारी फड्को रहन्छ । उक्त सामाजिक व्यवस्थामा मानिसहरूको सम्पूर्ण जीवन, तिनीहरूको जीवनशैली, तिनीहरूको चिन्तन र व्यवहार सबै कुरामा आमूल परिवर्तन हुनेछ । यस महान् रुपान्तरणको प्रक्रिया सर्वहारा वर्गले राज्यसत्ता आफ्नो हातमा लिने कार्यबाट सुरु हुन्छ र सो प्रक्रिया एउटा निरन्तर क्रान्तिको रुपमा चल्छ । वर्तमानबाट उपरोक्त चहकिलो भविष्यतर्फ पुग्नेबीचको अवधिमा, सर्वहारा वर्गको अधिनायकतन्त्र एउटा आवश्यक र अनिवार्य सङ्क्रमण बिन्दु रहन्छ र कम्युनिष्ट समाजको निर्माणपछि उक्त अधिनायकतन्त्र आफैं बिलाएर जान्छ । यसलाई माक्र्सले सारगत रुपमा यसरी व्यक्त गरेका छन्, ‘क्रान्तिकारी समाजवाद, साम्यवाद भनेको क्रान्तिको निरन्तरताको घोषणा हो र त्यसमा सर्वहारा वर्गको वर्गीय अधिनायकत्व सामान्य वर्ग विभेदहरूको उन्मूलनका लागि सो विभेदको आधार रहेका सबै उत्पादनमा सम्बन्धहरूको उन्मूलनका लागि, सो विभेदको आधार रहेका सबै उत्पादनमा सम्बन्धहरूको उन्मूलनका लागि उक्त सामाजिक सम्बन्धको परिणाम रहेका सबै विचारहरूको क्रान्तिकारीकरणको लागि आवश्यक सङ्क्रमण बिन्दु हो ।’

लेखकः कृष्णदास श्रेष्ठ


व्यवस्थाका रुपमा कम्युनिज्म कुनै पनि मुलुकमा पूर्णरुपले बनिबनाउ भएर अस्तित्वमा आउने कुरा होइन । त्यो त सम्बन्धित मुलुकको विशिष्ट ठोस ऐतिहासिक स्थितिलाई, त्यसको ऐतिहासिक विकासको स्तरलाई आधार बनाएर ऐतिहासिक रुपले विकसित हुँदै अस्तित्वमा आउने स्थिति हो । उदाहरणका लागि, पुँजीवादी दृष्टिले विकसित मुलुकहरूमा कम्युनिष्ट समाजको निर्माण समाजवादी रुपान्तरणमार्फत हुन्छ भने अविकसित सामन्ती वा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकहरूमा त्यसले नौलो जनवादी क्रान्तिमार्फत समाजवादमा र अनि समाजवादमार्फत आफूलाई स्थापित गर्दछ । आफ्नो बाह्य तथा भित्री विरोधहरूसित निरन्तर जुध्दै, आफ्नो प्रगतिको बाटोमा आरोह–अवरोध तथा पछि हटाइलाई बेहोर्दै र अनेकौं खुड्किलाहरू पार गर्दै त्यसले आफूलाई स्थापित गर्छ ।
सिद्धान्तको रुपमा कम्युनिज्म भनेको मानिसको शोषणको विरुद्ध विश्वका श्रमिक जनताको मुक्तिको महान् लक्ष्य र सो लक्ष्यको व्यावहारिक उपलब्धिका लागि आवश्यक अवस्थाहरूको तयारी र अपनाउनुपर्ने बाटोको निर्देशन हो । शोषित–पीडित जनताको मुक्तिको चाहना र त्यसको पूर्तिको लागि तिनको सङ्घर्षको भावनालाई त्यसले प्रतिनिधित्व गर्छ । एंगेल्सको भनाइअनुसार, “कम्युनिज्म भनेको सर्वहारा वर्गको मुक्तिका अवस्थाहरूसम्बन्धी सिद्धान्त हो । कम्युनिज्मलाई यथार्थमा परिणत गर्नका लागि चाहिने वस्तुगत र मनोगत अवस्थाहरूको वैज्ञानिक व्याख्या–विश्लेषण र उपयुक्त बाटोको निर्धारण हुनु एउटा आवश्यकता हो र सो काम सिद्धान्तको हैसियतबाट कम्युनिज्मले गर्दछ । यस दृष्टिबाट कम्युनिज्म भनेको सर्वहारा वर्ग र अन्य श्रमिक जनताले शोषण र उत्पीडनबाट वास्तविक मुक्ति कुन अवस्थाहरूमा र कुन उपायहरूबाट हासिल गर्नसक्छन्, त्यससम्बन्धी निर्देशन र शिक्षा हो । माक्र्स र एंगेल्सद्वारा प्रतिपादित वैज्ञानिक साम्यवादका जुन निर्देशक सिद्धान्तहरू छन्, ती भावना र कल्पनामा आधारित नभएर मानव जातिको ऐतिहासिक विकासका वस्तुगत नियमहरूमाथि आधारित छन् । त्यसले ती समाजवादसम्बन्धी अन्य विचारहरूभन्दा (काल्पनिक समाजवाद आदि) उच्च वैज्ञानिक तथा सही छन् । धेरै पहिले माक्र्सले १८४४ को आर्थिक, वैज्ञानिक तथा सही ‘पाण्डुलिपि’ नामक आफ्नो कृतिमा यस्तो विचार व्यक्त गरेका थिए । “कम्युनिज्म भनेको यस्तो तत्कालीन भविष्यको आवश्यक ढाँचा र गतिशील सिद्धान्त हो ।” यसरी कम्युनिष्ट सिद्धान्तको मुख्य वास्तविक परिस्थितिलाई बुझ्न र द्वन्द्वात्मक रुपले रणनीति र कार्यनीतिको प्रतिपादन गर्न र ठोस अवस्थाहरूको ठोस विश्लेषण गरी सही बाटो र उपाय निर्धारित गर्न दिशानिर्देश गर्नु हो ।
सिद्धान्तको हैसियतबाट कम्युनिज्मले आफ्नो विरोधी विचारहरूसित निरन्तर जुध्नु परेको छ र अविरल रुपमा जुध्दै आएको छ । जहाँसम्म विरोधी विचारहरूसितको त्यसको सङ्घर्षको सवाल छ, उक्त वैचारिक सङ्घर्षमा त्यसले अन्तिम विजय हासिल गरिसकेको छ किनभने आफ्नो वैज्ञानिकता, न्यायोचितता र विश्वसनीयताको कारणले विचारका रुपमा त्यो अजय छ । विश्वका करोडौं–करोड जनतालाई आफ्नो प्रभाव तथा पकडमा पारिरहेको दृष्टिबाट विचार गर्ने हो भने त्यो एउटा सबल भौतिक शक्तिको रुपमा विद्यमान छ । अहिले पुँजीवादी र निम्न पुँजीवादी विचारधाराहरूले आफूलाई आफ्नै वैचारिक आधारमा प्रस्तुत नगरिकन समाजवादी वा माक्र्सवादीको जामा लगाएर प्रस्तुत गरिरहेको जुन तथ्य हामी देखिरहेका छौं, त्यो तथ्य स्वयं नै त्यसको सबलता र अजयताको ठोस प्रमाणीकरण हो । लोकतान्त्रिक समाजवाद, संशोधनवाद आदि त्यसका उदाहरण हुन्, किनभने लोकतान्त्रिक समाजवाद भनेको पुँजीवादी समाजवादभन्दा अर्को केही होइन र संशोधनवाद एक प्रकारले पुँजीवादी विचारधारा हो ।’
आधुनिक कम्युनिज्मको दर्शन वर्तमान युगका सबभन्दा समुन्नत वैज्ञानिक दर्शन, द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वात्मक भौतिकवादी तरिकाको प्रयोग गरेर, कम्युनिष्ट सिद्धान्तले श्रमिक मानवजातिको मुक्ति सङ्र्घषको सम्पूर्ण आयामको उचित रुपमा प्रतिनिधित्व गरेको छ ।
कम्युनिज्म भनेको सिद्धान्तमात्र होइन, एउटा आन्दोलन पनि हो । शोषण, अन्याय–अत्याचार तथा हरप्रकारको उत्पीडनको अन्त्यको लागि वर्गविहीन समृद्ध समाजको निर्माणको लागि लामो समयदेखि चलिआएको श्रमिक जनगणको आन्दोलनको विस्तारित तथा विकसित रुप हो । यो जबसम्म मानिसद्वारा मानिसको शोषण तथा उत्पीडन कायम रहन्छ, तबसम्म यो आन्दोलन चलिरहन्छ । महान् सामाजिक–आर्थिक रुपान्तरणका लागि चल्ने कुनै पनि आन्दोलनको रुप र आकार बन्दै जान्छ, त्यसको परिधिको विस्तार हुँदै जान्छ र त्यसमा झन्–झन् बढी सङ्ख्यामा जनता सचेत र सङ्गठित रुपबाट संलग्न हुँदै जान्छन् । आन्दोलनका रुपमा कम्युनिज्ममा पनि यो कुरा लागू रहेको छ । हामीले कुन ऐतिहासिक तथ्यलाई देखाएका छौं भने कम्युनिष्ट आन्दोलन अनेकौं मोड र घुम्ती हुँदै र समय–समयमा अनेकौं पछि हटाइलाई बेहोर्दै अघि बढेर आएको छ र साथै आफ्नो ऐतिहासिक अग्रगतिमा त्यसले अनेकौं महान् सफलता र विजयहरूको रेकर्ड पनि कायम गरेको छ । अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा विभिन्न रुपमा चल्दै आएको यस आन्दोलनको सङ्गठन र नेतृत्व सर्वहारा वर्गले (कम्युनिष्ट पार्टीमार्फत) गर्दै आएको छ ।
आन्दोलनको रुपमा कम्युनिज्म भनेको सामाजिक, राजनीतिक तथा सा·ठनिक व्यवहारको विषय हो । व्यवहारिक कार्यबाही र सङ्घर्षको कुरा हो । यो कम्युनिज्मले आफ्नो लक्ष्य, अर्थात् नयाँ संसारको निर्माण गर्ने लक्ष्यलाई यथार्थमा फेर्नका लागि गर्ने सङ्घर्षको कुरा हो । यो सङ्घर्ष निकै कठिन र जटिल छ, यहाँ विभिन्न कार्यक्षेत्रमा कम्युनिज्मले ज्यादै विविध र जटिल स्थितिसित व्यवहार गर्नुपर्ने हुन्छ, निकै धूर्त, षड्यन्त्रकारी, सङ्गठित शक्तिहरूसित लड्नु परेको हुन्छ । वर्तमान समाज निकै जटिल छ, यहाँ विभिन्न वर्ग, पार्टी तथा शक्तिहरू आ–आफ्ना स्वार्थ लिएर सक्रिय छन् । यहाँ नाना थरीका विचार तथा प्रवृत्तिहरू छन् अन्तरविरोधहरू छन् । स्वार्थका टक्करहरू छन् र यहाँ पाइला–पाइलामा नयाँ कुराहरू, नयाँ समूहहरू, नयाँ विचारहरू देखापर्ने गर्छन् । अझ अर्को कुरा के भने, कम्युनिज्मले विभिन्न क्षेत्रहरूबाट आफ्नो भित्र प्रवेश गरेका गलत तत्व, दृष्टिकोण तथा प्रवृत्तिहरूसित सङ्घर्ष गर्दै अघि बढ्नुपर्ने हुन्छ । यसरी त्यसले पाइला–पाइलामा अनवरत रुपले सङ्घर्षमा लाग्नुपर्छ । त्यस स्थितिमा कम्युनिष्टहरूले बडो सुझबुझका साथ, कुशलतापूर्वक र कामकाजी ढङ्गबाट र परिस्थतिमा हुने कुनै फेरबदलअनुसार नीति तथा कार्यनीति तय गर्दै अघि बढ्नु जरुरी रहन्छ । यस सम्बन्धमा माक्र्सले निम्न विचार व्यक्त गरेका छन् ।
‘निजी सम्पत्तिको विचारको उन्मूलन गर्नका लागि कम्युनिज्मसम्बन्धी विचार एकदमै पर्याप्त छ । वास्तविक निजी सम्पत्तिको उन्मूलन गर्न वास्तविक कम्युनिष्ट कार्यबाहीको खाँचो पर्छ । इतिहासले त्यसतर्फ लैजानेछ र आन्दोलन जसलाई सिद्धान्तको रुपमा हामीले एउटा सर्वोच्च आन्दोलनको रुपमा जानिसकेका छौं, त्यो आन्दोलन वास्तवमा एउटा अति कठोर तथा दीर्घकालीन प्रक्रिया बन्नेछ ।’
नौलो सामाजिक व्यवस्था, क्रान्तिकारी सिद्धान्त र जनआन्दोलनको रुपमा कम्युनिज्म आफूभित्र मानवजातिको उज्यालो भविष्य लिएर निरन्तर गतिशील छ । आफ्नो गतिमा त्यसको जस्तोसुकै दमन, अन्तध्र्वंस तथा पछि हटाइहरू बेहोर्नुपर्ने भए पनि अन्तिम विजय त्यसकै हुनेछ । वर्तमान युगमा सबै बाटाहरूले कम्युनिज्मतर्फ लैजान्छन्, किनभने कम्युनिज्म मानव जातिको अहिलेको गन्तव्य हो, तात्कालीन भविष्य हो ।
(लेखक पाका कम्युनिष्ट नेता हुनुहुन्छ ।–सं)

One response to “कम्युनिजमको अर्थ”

  1. Rakesh Khadka says:

    नेपालमा भएको नेपाली काङ्ग्रेस को नीति, नियम र इतिहास बारे पनि सम्पादन गर्नु पर्यो सर्🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *