भर्खरै :

नेपाल र भारतको युवा आन्दोलन : दुई दृष्टिकोण

नेपाल र भारतको युवा आन्दोलन : दुई दृष्टिकोण

भारतमा हालै देखिएको विद्यार्थी आन्दोलन केवल परीक्षा प्रणालीविरुद्धको आक्रोश थिएन, यो त आफ्नै भविष्य बचाउन सडकमा उत्रिएका युवाहरूको घोषणा थियो । परीक्षा प्रश्नपत्र चुहावटबाट सुरु भएको असन्तुष्टि केही दिनमै पारदर्शिता, जवाफदेहिता, रोजगारी र सुशासनको राष्ट्रिय बहसमा रूपान्तरण भयो । सामाजिक सञ्जाललाई हतियार बनाएको भारतीय युवा पुस्ताले पार्टीको झण्डाभन्दा आफ्नो भविष्यको झण्डा बोकेर आन्दोलन ग¥यो । अन्ततः सरकारमाथि ठुलो दबाब सिर्जना भयो, शिक्षामन्त्रीले पद त्याग्नुप¥यो । यस आन्दोलनले एउटा सन्देश स्पष्ट रूपमा दियो – जब युवाको भविष्यसँग खेलबाड हुन्छ, युवा केवल दर्शक बनेर बस्दैन; उनीहरू परिवर्तनको नेतृत्व गर्न सडकदेखि सामाजिक सञ्जालसम्म एकजुट हुन सक्छन् ।
युवाहरूको आन्दोलनको एउटा प्रमुख विशेषता भनेको हेरेर बस्नुभन्दा सहभागी हुन चाहने इच्छा हो । युवाहरू मुद्दा–आधारित आन्दोलनमार्फत न्याय, एकता र विकासका अवधारणालाई पुनःपरिभाषित गर्न चाहन्छन् । युवाहरू पछाडि बस्न चाहँदैनन् । उनीहरू निर्णय हुने ठाउँमै उपस्थित भएर अगाडि के हुन्छ भन्ने कुरा आकार दिन चाहन्छन् ।
यस आन्दोलनको सबैभन्दा उल्लेखनीय र शक्तिशाली पक्ष भनेको यसको अभूतपूर्व एकता थियो । भारतजस्तो विविधतापूर्ण देशमा जहाँ धर्म, जात, भाषा र क्षेत्रीय पहिचानलाई राजनीतिमा बारम्बार प्रयोग गरिन्छ, त्यही देशका विद्यार्थीहरूले ती सबै विभाजनलाई पन्छाएर साझा उद्देश्यलाई प्राथमिकता दिए । हिन्दू, मुस्लिम, सिख, इसाई, दलित, आदिवासी, उच्च जात, निम्न जात, उत्तर र दक्षिण – सबै पृष्ठभूमिका विद्यार्थीको एउटै आवाज बन्यो । उनीहरूको साझा परिचय कुनै धर्म, जात वा राजनीतिक विचारधारा थिएन† उनीहरूको साझा परिचय थियो, ‘आफ्नो भविष्यको रक्षा गर्न चाहने विद्यार्थी ।’ यही एकताले आन्दोलनलाई असाधारण शक्ति प्रदान ग¥यो ।
प्रधानमन्त्री मोदीको ‘सरकार आन्दोलनको दबाबमा सजिलै झुक्दैन र मन्त्रीहरूको राजीनामा हुँदैन’ भन्ने अहङ्कार पनि चकनाचुर भएको छ । युवाहरूले उठाएको आन्दोलनको विषय र सान्दर्भिकतालाई लिएर शिक्षा अभियन्ताको रूपमा प्रसिद्धि पाएका सोनमा वाङचुकसमेतको अनसन र समर्थनले गर्दा युवा आन्दोलनले सरकारलाई थप दबाब सृजना ग¥यो । अन्ततः सरकार रक्षात्मक अवस्थामा पुग्यो र शिक्षामन्त्रीको राजीनामा आयो । यसले एउटा महत्वपूर्ण सन्देश दियो – लोकतन्त्रमा कुनै पनि सरकार जतिसुकै शक्तिशाली वा आत्मविश्वासी किन नहोस्, जनताको सङ्गठित र शान्तिपूर्ण आवाजलाई सधैँ बेवास्ता गर्न सकिँदैन ।
सरकारका लागि यो केवल केही विद्यार्थीको विरोध रहेन, बरु सम्पूर्ण युवा पुस्ताको साझा असन्तुष्टि र चेतावनी बन्यो । धेरै विश्लेषकका दृष्टिमा, यही व्यापक एकताले आन्दोलनलाई यस्तो प्रभावशाली बनायो कि यसले केन्द्र सरकारमाथि अभूतपूर्व दबाब सिर्जना ग¥यो । यस आन्दोलनले एउटा गहिरो सन्देश पनि दियो – जब भविष्यको प्रश्न उठ्छ, धर्म, जात, भाषा र क्षेत्रका विभाजनभन्दा माथि उठेर पनि युवा पुस्ता एकजुट हुन सक्छ ।
यस आन्दोलनको अर्को रोचक पक्ष थियो Cockroach Janta Party (CJP) को उदय । नाम सुन्दा व्यङ्ग्यजस्तो र झण्डै बिजेपीसमेत सुनिने यो समूह कुनै परम्परागत राजनीतिक दल थिएन । यो सामाजिक सञ्जालबाट जन्मिएको युवाहरूको अभियान थियो, जसले आफूलाई यस्तो पुस्ताको प्रतीकका रूपमा प्रस्तुत ग¥यो, जसलाई बारम्बार बेवास्ता गरिए पनि सजिलै समाप्त गर्न सकिँदैन । ‘साङ्लो’ (Cockroach) लाई उनीहरूले एउटा प्रतीक बनाए – जुन कठिनभन्दा कठिन परिस्थितिमा पनि बाँच्न सक्छ । त्यसैले उनीहरूको सन्देश थियो, “हामीलाई बेवास्ता गर्न सकिन्छ तर समाप्त गर्न सकिँदैन ।” यही प्रतीकात्मक सन्देशले लाखौँ युवासँग भावनात्मक सम्बन्ध जोड्यो । सामाजिक सञ्जाल, व्यङ्ग्य, मीम, हास्य र रचनात्मक अभियानमार्फत उनीहरूले आन्दोलनलाई परम्परागत नाराभन्दा धेरै प्रभावशाली डिजिटल आन्दोलनमा रूपान्तरण गरे । आजका युवाहरू केवल सडकमा होइन, डिजिटल संसारमा पनि जनमत निर्माण गर्न सक्षम छ भनेर देखायो ।
‘Cockroach’ शब्द आन्दोलनकारीले आफैँ रोजेका थिएनन् । भारतका तत्कालीन प्रधानन्यायाधीशले अदालतको सुनुवाइको क्रममा प्रयोग गरेको ‘Cockroach’ भन्ने टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भयो । त्यसपछि युवाहरूले त्यही शब्दलाई अपमानको प्रतीक होइन, प्रतिरोध र एकताको प्रतीकमा रूपान्तरण गर्दै ‘Cockroach Janta Party (CJP)’ को अवधारणा अघि सारे । जुन शब्दले युवालाई होच्याउन खोजिएको ठानियो, त्यही ‘Cockroach’ शब्दलाई भारतीय युवाहरूले प्रतिरोध, व्यङ्ग्य र एकताको प्रतीक बनाउँदै ‘Cockroach Janta Party’ को जन्म गरायो ।
नेपाल र भारतको युवा आन्दोलनः दुई दृष्टिकोण
यस घटनाले दक्षिण एसियाको युवा राजनीतिबारे पनि एउटा रोचक घटना तुलना गर्न प्रेरित गर्छ । नेपालका युवाहरूले बङ्गलादेशको आन्दोलनबाट सरकार परिवर्तनको प्रेरणा खोजे भने भारतका युवाहरूले आन्दोलनमार्फत परीक्षा प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने दबाब सिर्जना गरे । यी आन्दोलनहरूको ऐतिहासिक सन्दर्भ, उद्देश्य र राजनीतिक अवस्था फरक–फरक थिए, त्यसैले तिनीहरूलाई एउटै मापदण्डमा हेर्न मिल्दैन । तर, एउटा समानता अवश्य देखिन्छ – आजका युवाहरू आफ्नो भविष्यको प्रश्नमा चुप लागेर बस्न तयार छैन । उनीहरूले सडक, सामाजिक सञ्जाल र लोकतान्त्रिक दबाबमार्फत आफ्नो आवाज सुनाउन सिकेका छन् ।
नेपाल र भारतीय युवा आन्दोलनको भिन्नता दुवै देशका कन्टेन्ट क्रिएटरहरूमा पनि देखियो । भारतमा धेरै सिर्जनाकर्ताले आन्दोलनको उद्देश्यसँगै सामाजिक स्थिरता, राष्ट्रिय हित र जिम्मेवार नागरिकताको पक्षमा बहस गरे । नेपालमा भने केही कन्टेन्ट क्रिएटरहरूले उत्तेजना बढाउने काम गरे । सामाजिक सञ्जाल आज केवल सूचना आदान–प्रदान गर्ने माध्यम होइन, जनमत निर्माण गर्ने शक्तिशाली उपकरण बनेको छ । त्यसैले, तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित सामग्रीको महत्व झन् बढेको छ ।
भारतको आन्दोलनले अर्को महत्वपूर्ण पाठ पनि दियो । आन्दोलनकारीहरूले सरकारमाथि निरन्तर दबाब सिर्जना गरे तर व्यापक हिंसा र सार्वजनिक सम्पत्तिको विनाशबाट आन्दोलनलाई सकेसम्म टाढा राख्ने प्रयास गरे । आन्दोलनका क्रममा विभिन्न प्रकारका उत्तेजना वा घुसपैठका प्रयास पनि भएका थिए । यसका विपरीत, नेपालका पछिल्ला आन्दोलनबारे उठेका धेरै प्रश्नहरू सूचना प्रवाह, राज्य संयन्त्रबिचको समन्वय अभाव थियो । सही सूचना समयमा नपुग्नु, परिस्थिति गलत रूपमा मूल्याङ्कन हुनु र समन्वय कमजोर हुनुजस्ता कारणले तनाव बढ्दै गयो र अन्ततः दुःखद अवस्था सिर्जना भयो । यसले आन्दोलन व्यवस्थापनमा गुप्चतर विभागबाट प्राप्त हुने तथ्यपरक सूचना, जिम्मेवार नेतृत्व र संस्थागत समन्वयको अपरिहार्यता देखाउँछ ।
अन्ततः विदेशी आन्दोलनबाट प्रेरणा लिनु स्वाभाविक हो तर प्रेरणासँगै त्यसको सन्दर्भ, आफ्नै देशको यथार्थ र सम्भावित परिणामलाई पनि उत्तिकै गम्भीरतापूर्वक बुझ्न सकियो भने मात्र आन्दोलन परिवर्तनको माध्यम बन्छ, विनाशको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *