भर्खरै :

जातीय र धार्मिक राजनीतिले द्वन्द्व निम्त्याउँछ

जातीय र धार्मिक राजनीतिले द्वन्द्व निम्त्याउँछ

सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ भन्ने मान्यता नेमकिपाको हो । जातीय राजनीति गर्न नहुने नेमकिपाको दृष्टिकोण हो । जातीय राजनीतिले द्वन्द्व बढ्छ, जाति–जातिबिच झगडा भएर हिंसात्मक गतिविधि हुन्छ । नेमकिपाले स्थापनाकालदेखि सिद्धान्त र विचारको राजनीति गर्दै आएको छ । देशका अरु दलले सिद्धान्त र विचारको राजनीति नगरेका कारण बेलाबखत जातीय द्वन्द्व भएको जनताले भोग्दै आएका छन् । नेमकिपाले जातीय प्रदेशको सट्टा प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेशको नामकरण गर्न सडक र सदनमा आवाज उठाउँदै आएको हो । संविधानसभाको निर्वाचनताका पनि नेमकिपाले जातीय रूपमा प्रदेशको नामकरण नगरी गण्डकी, वाग्मती, लुम्बिनीजस्ता प्राकृतिक स्रोत र साधनको आधारमा नामकरण गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो । सर्वसाधारण जनता सिद्धान्त र विचारमा नभिजेकै कारण अहिले सुनसरीमा जातीय द्वन्द्व भइरहेको छ । सामाजिक सद्भाव बिग्रेको छ ।
जातीय द्वन्द्व चर्केरै सुनसरी र मोरङमा विरोध प्रदर्शन भयो । बजार बन्द भयो । सवारी साधनमा तोडफोड भयो । आगजनी भयो । बजारमा भएको प्रदर्शनले अराजक र उच्छृङ्खल गतिविधि भयो । प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप ग¥यो । आतङ्कित गतिविधि, आगजनी, तोडफोड र प्रहरी दमनको कारण कफ्र्यु जारी गर्न बाध्य बनाइयो† सेना परिचालन गरियो । सुनसरी र मोरङको मुख्य मुख्य बजारमा भाला, लाठीसहित प्रदर्शनकारीहरू सडकमा उत्रे । यो राम्रो सङ्केत होइन । मङ्गलबार प्रकाशित पत्रिकाहरूमा ‘कप्तानगञ्ज साम्प्रदायिक झडपमा एकको मुत्यु’, ‘देवानगञ्जमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग’, ‘देवानगञ्ज गोलीकाण्डपछि सीडीओदेखि सुरक्षा प्रमुखसम्म हेरफेर : कफ्र्युको अवज्ञापछि सेना परिचालन’, ‘सुनसरीमा कफ्र्यु : एकजनाको मृत्यु, २१ घाइते’, ‘डिजे बाजा विवादले अशान्त कप्तानगञ्ज : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान’, ‘सुनसरी देवानगञ्ज घटना : सद्भावका लागि आह्वान’ शीर्षकका विभिन्न समाचारहरू छापिए ।
घटना सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ स्थित कप्तानगञ्जमा आइतबार राति भएको थियो । विवाद हिंसामा परिणत हुँदा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका ४ का २५ वर्षीय ओमप्रकाश मेहताको निधन भएको थियो । मङ्गलबार पनि एकजनाको निधन भएको सञ्चारमाध्यममा आयो । सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएर समस्या समाधान हुने होइन न त छानबिन समिति गठन गरेरै समाधान हुने हो । यसकारण, सिद्धान्त र विचारको राजनीति नभएरै अराजक या उच्छृङ्खल गतिविधि भइरहेको हो । जातीय द्वन्द्वले देश, समाज र जनताको हित गर्दैन । जातीय द्वन्द्वबाटै साम्प्रदायिक भावना फैलिन्छ । त्यो हिंसामा परिणत हुन्छ । यसले देश र जनताको धनजनको क्षति हुन्छ ।
संविधानसभाको निर्वाचनताका जातीय प्रदेशको माग भएको थियो । ‘एक मधेस एक प्रदेश’ नभए देशै नरहने, तराई टुक्रा गर्ने र काठमाडौँ उपत्यकामा नाकाबन्दी गर्ने चेतावनी दिइएको थियो । यो देशविरोधी विचार हो† उद्घोष हो । सुनसरीमा भइरहेको प्रदर्शन कुनै सिद्धान्त र विचारको फरक मतको कारण भएको होइन । त्यो एक प्रकारको धार्मिक झगडा हो । यस्ता धार्मिक झगडाको हिंसात्मक गतिविधि हुन सक्ने सम्भावना देखेर नेमकिपाले प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेश विभाजन गर्नुपर्ने र सबै प्रदेशको सन्तुलित विकास गर्न प्रदेशमा हिमाल, पहाड र तराईको भूमि समावेश गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो ।
कुनै पनि स्थानमा धार्मिक, जातीय र साम्प्रदायिक भावना फैलाउनु हुँदैन, कसैलाई फैलाउने अवसर दिनु हुँदैन । युवा, विद्यार्थी तथा सर्वसाधारण जनतालाई सिद्धान्त र विचारबाट सुसूचित पार्नुपर्छ । वर्गीय शत्रु र वर्गीय मित्रबारे थाहा दिनुपर्छ । सामन्त, शोषक, जमिनदार, जालीफटाहाहरूले गर्ने शोषण, दमन, अन्याय, अत्याचारको विरुद्ध लड्ने भावनाको विकास गर्नुपर्छ । देश र बहुमत जनताको हित हुने समाजवादी व्यवस्था ल्याउन देशका राजनीतिक दलहरू विशेषतः कम्युनिस्ट पार्टीहरू आमूल परिवर्तनको निम्ति गाउँ–ठाउँ र बस्ती–बस्ती पुगेर पूर्वाधार तयार गर्दै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *